गुरुङ (तमू) भाषा सिक्नुहोस् पुस्तकको समिक्षाः
![]() |
choga Amar Lem Gurung. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । चोग अमर लमे गुरुङद्धारा रचना गरिएको (गुरुङ (तमू) भाषा सिक्नुहोस्) नामक उत्कृष्ट पुस्तकको पाठकीय समिक्षा पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।
कास्की जिल्ला घान्द्रुक ८, डाँडा गाउँ गहिरी गाउँ (म्रुँम्चु बारघर) नयाँ संघिय संरचना अनुसार अन्नपुर्ण गाउँ पालिका हाल, बेलायत निवास गर्नु हुने विद्धान लेखक ‘चोग अमर प्रसाद लेम गुरुङ’ (नेपालेको कान्छा)ले अत्यन्तै मेहनतसाथ लेख्नु भएको ‘गुरुङ (तमू) भाषा सिक्नुहोस्’ नामक पुस्तक सिरानदेखि पुच्छारसम्म सरसर्ति पढे । पुस्तक अत्यन्तै उपयोगी लाग्यो । गुरुङ भाषाको क्षेत्रमा कलम चलाउनु हुने चोग अमरलाई मेरो सादर नमस्कार । पुस्तकको संक्षिप्त समिक्षाको रुपमा, मेरो अनुभव र अन्तरात्मको अभिव्यत्तिहरुलाई निम्न बुँदामा राख्न चहान्छु ।
१. प्राय जसो गुरुङहरुले भन्ने गरेको सुनिन्छ कि, गुरुङ भाषामा धेरै फरक छ । त्यसैले, सिरानदेखि पुच्छारसम्म शब्द शब्दहरु सबै केलाएर पढने प्रयास गरे । त्यसको भाव, समय, शब्द अर्थ र रचनाहरुलाई केलाएर हर्ने कोशिस पनि गरे । तर, मैले उत्तरी लमजुङ र घान्द्रुक गाउँमा बोलिने गुरुङ भाषाको शाब्दिक अर्थमा खासै केही पनि फरक पाएन । तर, पाठकहरुलाई के स्मरण गराउन चहान्छु भने, अमर लेम गुरुङ भाषा प्रशिक्षक पनि हुनुहुन्छ र पूर्व प्रअ पनि हुन् । भाषामा राम्रो दखल भएको मैले अनुभव गरेको छु । उनले भाइबर समूहमा सञ्चालन गरेको (जीसीसी) गुरुङ भाषा कक्षाको पाठमा टोपीको एउटा उदाहरण पनि दिनु भएको थियो । जस्तैः लमजुङ जिल्लामा टोपीलाई (मल्खु) भन्दछ । तर, त्यही मल्खुलाई कास्कीको अधिकांश गाउँहरुमा (कुले) भन्दछन् । (मल्खु र कुले) बाहेक (कली, कुल्या, पुलु, पुले, मुलु, मलु) आदि पनि भन्दछन् भनेर फरक प्रसंगको शिर्षकमा जुलाई २४, २०१९ को पाठमा प्रकाशन गर्नु भएको थियो । अब तपाइँ आफै भन्नुहोस् त, गुरुङ भाषामा एउटै बस्तुको कति धेरै नाम छ ? एउटै टोपीको आठवटा नाम छ । यस अर्थमा भन्नु पर्दा, गुरुङ भाषा कति समृद्ध रहेछ त ! कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाए झै यस्तो समृद्ध भाषा हुदाहुदै पनि हामीहरु अल्मलिरहेका छौं । यो हाम्रो मातृ भाषा प्रतिको बितृष्णाको कारण हो । यस विषयमा हामी गुरुङहरु सचेत हुन आवश्यक छ ।
२. गुरुङ भाषाको बारेमा अध्ययन र अनुसन्धान गर्न चहानु हुने जो कोहि पनि विद्यार्थी र विद्धानका लागि सब भन्दा पहिले यो भाषाको विकासक्रम कसरी भयो ? भन्ने बारेमा राम्रो जानकारी हुन आवश्यक छ । किनभने, गुरुङ भाषाको विकासक्रमलाई हेर्दाः
(१) मूल भाषा भोट भाषा (फ्है क्योए) ।
(२) हिमाली भाषा (चोँ क्योए) ।
(३) तल्लो भाषा (लोँ क्योए) ।
(४) गुरुङ भाषा (तमू क्योए)को विकास भएको देखिन्छ ।
(५) अलिखित रुपमा रहेको गुरुङ भाषामा नेपाली खस भाषाको प्रभावबाट भाषाबाट भाषी, भाषिका, स्थानीय लय, रानी, बानी, रस, रबस र थेगोको समेत प्रयोग हुन थाल्यो । यस बाहेक आगन्तुक, प्रभावित र क्षेत्रिया भाषाको प्रभाव पनि त्यतिकै बलियो देखिन्छ ।
![]() |
Honor of choga Amar Lem Gurung. |
३. अब यिनै २ नं बुँदामा लेखिएका १ देखि ५ सम्मका बुँदाहरलाई विचार गरेर हेर्नुहोस् त, गुरुङ भाषाको बास्तविक अवस्था कस्तो रहेछ ? उदाहरण्को लागि लममजुङ जिल्लाको घनपोखरा गाउँमा बुढापाकाहरुले बोल्ने गुरुङ भाषा, म समिक्षक आफैलाई पनि पुरा बुझ्न गाह्रो हुन्छ । किनभने ती बुढापाकाहरुले भोट भाषा र हिमाली भाषाको प्रयोग बढि मात्रमा गर्ने गर्दछन् । प्राज्ञ डा. जगमान गुरुङले एउटा मन्तब्यमा भन्नु भएको थियो कि, गुरुङको मूल पुरेत ध्याप्रेँहरुले पनि (चोँ क्योए) र (लोँ क्योए)मा वेद पाठ गर्ने गर्दछन् । (चोँ क्योए)मा बुझ्न अलि गाह्रो हुन्छ । तर, (लोँ क्योए)मा गरेका पाठहरु धेरे बुझ्न सकिन्छ भन्नु भएको थियो ।
४. अर्को कुरो लेखक अमर लेमले लेख्नु भएको ‘गुरुङ (तमू) भाषा सिक्नुहोस्’ नामक पुस्तकमा विशुद्ध धान्द्रुकको स्थानीय भाषाको आधारमा लेखिएको छ । अलिखित रुपमा रहेको घान्द्रुकको भाषालाई प्रथम पटक लिखित रुपमा ल्याउदा स्थानीय लयहरुको हुबहु शब्दको उच्चारण गर्न पनि कठिन हुन्छ । यस्ता समस्याहरुको समाधान अगामी संस्करणमा सम्पादन गर्नु हुनेछ, भन्ने विश्वास लिएको छु ।
५. भाषाविदहरुको भनाइ अनुसार भाषालाई जटिलबाट सरलतिर, लामो शब्दबाट छोटो शब्दमा, गह्रुङगोबाट हलुकातिर जान सकेमा शब्दको प्रयोग र उच्चारण गर्न सजिलो हुन्छ । सजिलो भए पछि जनजिब्रोमा झुन्डिन्छ । जनजिब्रोमा झुन्डिएको शब्दले लोकप्रियता पाउदछ । कालन्तरमा त्यो भाषा समृद्ध हुदै जान्छ भन्ने भनाइ रहेको पाइन्छ । यो भाषा शास्त्रको सिद्धान्तमा आधारित सुत्र हो ।
६. उदाहरणको लागि लमजुङ जिल्लामा बोलिने दुइ वटा शब्दको उच्चारणलाई घान्द्रुक गाउँको उच्चारणसंग तुलना गरी हेरौँ । लमजुङमा तिमीलाई (क्योँ) र भाषालाई (क्योए) भनेर मध्यम स्वरमा उच्चारण गरेको पाइन्छ । तर, त्यही शब्दलाई घान्द्रुक गाउँमा (क्ही) र (क्युई) भनेर गह्रुङ्गो र आरोह दिएर उच्चा स्वरमा उच्चारण गरेको पाइन्छ । वास्तबमा यी दुबै शब्दहरुको व्युत्पति, भाव र अर्थ एकै हुन् । तर, स्थानीय लय, रानी, बानी, रस, सवस र थेगोको कारण हलुंगो, गह्रुङ्गो, मध्यम र उच्चा स्वरमा आरोह अवरोह दिएर उच्चारण गरेको पाइएको छ । यो दुइ वटा उच्चारणहरुमा कुन चाहि ठिक बेठिक भन्ने कुरामा भन्दा, मूल विषय भनेको कस्तो उच्चारण गर्दा, हाम्रो भाषाको मौलिक भावनालाई प्रतिविम्ब गर्न सक्दछ ? भाषाको क्षेत्रमा अध्ययन, अनुसन्धान गरेका र गरिरहेका विद्यार्थी, प्राज्ञ र विद्धानहरुले चिसो दिमागले सोँचेर बुझेर कदम चाल्नु पर्ने आजको आवश्यकता रहेको महशुस गर्दछु ।
![]() |
Learn Gurung language. |
७. साँचै भन्नु पर्दा, गुरुङ भाषाको क्षेत्रमा कलम चलाउने चोग, प्राज्ञ र विद्धान लेखकहरुको खडेरी नै परेको छ । यस्तो अवस्थामा कस्ले के लेख्यो, भन्नु भन्दा पनि, कस्ले के विषयमा कति स्रोतहरु संकलन गरेका छन् त्यो महत्वपुर्ण विषय हो । त्यसैले लेखक ‘चोग अमर प्रसाद लेम गुरुङ’को यो प्रयास सह्रनिय र प्रसंश योग्य ठान्दछु ।
८. मैले बुँदा नं ६ मा उल्लेख गरेको प्रसंग अर्थात शब्दहरुको व्युत्पति, भाव र अर्थ एकै भए तापनि स्थानीय लयका कारण हलुंगो, गह्रुङ्गो, मध्य र उच्चा स्वरमा आरोह अवरोह दिएर उच्चारण गरेको पाइएको छ । यसो हुनको एउटै कारण छ, त्यो हो, ‘लिपि’ । लिपिको माध्यामबाट मात्र भाषामा एकरुपता आउन सक्दछ । यो ध्रुब सत्य हो । यसलाई सबै भाषा प्रमीहरुले मनन गर्न आवश्यक छ ।
हुन त म भाषाविद, प्राज्ञ, समलोचक र समिक्षक केही पनि होइन । लमजुङको लेकाली गाउँमा जन्मिएको गुरुङको छोरो हुँ । ढिडो खाएर भाङ्ग्र लाएर हर्किएको हुँ । यसैमा मलाई गौरब पनि छ । सानै उमेरदेखि गाउँमै हर्किएको हुनाले मातृ भाषा प्रति न्यानो माया ममता छ । त्यसैले, अलिखित गुरुङ भाषालाई लिखित गर्न आवश्यकता महशुस भएकोले भाषाको क्षेत्रमा रुचि पनि रहेकाले प्रत्येक लेखकले लेखेको गुरुङ भाषालाई सावधानी पूर्वक पढने र बुझ्ने प्रयास गर्छु । यही सिलसिलामा चोग अमर लेम गुरुङले रचना गर्नु भएको (गुरुङ (तमू) भाषा सिक्नुहोस्) भन्ने पुस्तकलाई पनि पढने अवसर पाए । पढिसके पछि मनमा लागेका उकुस मुकुसहरु पाठकीया समिक्षाको रुपमा यो छोटो समिक्षा मात्र गरेको हुँ ।
गुरुङ (तमू) भाषा सिक्नुहोस् नामक पुस्तक अत्यन्तै उत्कृष्ट छ । यस पुस्तकको पाठकीय समिक्षा तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? भाषाको बिकासको लागि उत्कृष्ट रचनाहरुको सृजना कसरी गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
अन्तमा, लेखक चोग अमर लेमको भाषा क्षेत्रमा निरन्तर कलम चलाउदै जान सफल होस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छु !
चोग डीबी गुरुङ भाष, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन ।
4/12/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.