सत्य कथा र व्यथा 'मेरो जिवन दर्शन'

सत्य कथा र व्यथा 'मेरो जिवन दर्शन' 

choga DB Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हो । ब्लग लेख्ने मेरो दैनिकी मात्र नभएर नियतीनै भैसक्यो । साथीहरुको मात्र कति लेख्नु ? आज आफ्नै कथा र व्यथा लेख्न थालेको छु । मेरो जिवनको अतीतदेखि वर्तमानसम्मको यर्थात ‘बसाइ सराइँको सत्य, कथा र ब्यथा’को उकाली ओरालीहरुलाई आत्मबृतान्तको र्शिषकमा ब्लक मार्फत पाठकहरुलाई पस्केको छु । यो कथा ब्यथाको दृष्यहरु काल्पनिक कत्ति पनि होइन । मैले खुद गरेको, भोगेको यर्थातताको आधारमा हुबहु लेख्ने प्रयास गरेको हुँ । लेखाइको क्रममा शब्दहरुको चयन सही हुन नसक्नु र बारम्बार दोहोरिरहनु मेरो लेखन यात्राको काँचोपन हो भनि सम्झिदिनु । मैले कसैलाई खुसी पार्न वा रिझाउनका लागि यो कथा लेखेको होइन । आफ्नो किलो थलो छाडेर बसाइ सराइँ गर्ने मानिसहरुको बास्तविक सत्य, कथा र व्यथाहरु कति दर्दनायक हुन्छ ? मेरा सन्तान र दरसन्तानहरुलाई पनि जानकारी होस् भन्नका लागि यो आत्मबृतान्त लेखेको हुँ । आफन्तहरुलाई पनि घत लागेमा शेयर गर्नु होला । यो अमुल्य हो ।    

मेरो राशीको नाम दुर्ग बहादुर हो । चलन चल्तिमा धिरबहादुर र गाउँले भाषामा धिर, धिरे वा धिरु पनि भन्छन् । बाउ बाजेको नामले गर्दा, साहुहरुले पनि रिन पत्याइ हाल्ने भएकोले छिछिछि ... आफन्तहरुले मलाई पछाडिबाट रिनबहादुर पनि भन्छन् रे ! जापानिजहरुले तमुयामा, अंग्रेजी साथीहरुले जोन पनि भन्दथे । प्रवास भासिन थाले पछि विदेशी साथीहरुले धिर भनेर उच्चारण गर्न असजिलो महसुश भएकोले, सजिलोको लागि छोटकारीमा डीबी लेख्ने गरेको छु । आज भोली नामको अगाडि ‘चोग’ भन्ने विशेषण पनि भिरेको छु । यो ‘चोग’ भन्ने शब्द गुरुङ भाषामा प्रचलित बिशेषण हो । जसको भावार्थ भाषा, संस्कार र संस्कृति जान्ने भन्ने हुन्छ । यो शब्द कसैको दयमायाले बक्शिस पाएको हैन । गुरुङ भाषाको विद्यार्थी भएको नाताले आफैले भिरेको हुँ । जे होस, काम गतिलो नगरे पनि नाम चाहि धेरै छन् । प्रत्येक नामको पछाडि कुनै न कुनै अर्थ त लुकेकै छ । त्यही अर्थहरुलाई आत्मवृतान्त मार्फत बिस्तारै खुलाउने प्रयास गरेको छु । 

मलाई मन पर्ने र नपर्ने सबै आफन्तहरुले ध्यान पूर्वक सुन्नुहोस्, अब म सत्य कथा ब्यथाको पोको पुन्तुरहरु बिस्तारै खोल्दै सुनाउदै जाने छु । हतास र हतार नगर्नु होस् । यदि तपाइँ पनि आफ्नो जीवनमा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने, यो मेरो असफलताको कथालाई बिस्तारै ध्यान पूर्वक पढनु होला । असफलताको प्रत्येक सिँढीमा सफलताको सूत्र झल्किने छ । आँध्येरोमा जुनकिरी चम्किने छ । निरास मनमा नविन उर्जा सञ्चार हुनेछ । त्यो उर्जाको बलमा नविन समाजको परिकल्पना हुने छ । त्यहीबाट तपाइँको यात्रा अबिराल हुने छ । यही कथा भित्र सुख र समृद्धि दुबै एकसाथ प्राप्त हुने छ । तर, प्राप्त भएका समृद्धिलाई बिस्तारै सञ्चय पनि गर्दै जानुहोला । अब, तपाइँको हातमा एउटा कापि, कलम र थैलो हुन आवश्यक छ । किनभने, लेख्नु पर्ने ठाउँमा लेख्दै जानुहोस् । सुख र समृद्धि कहाँकहाँ पाउनु हुन्छ ? त्यसलाई टपक्क टिप्दै थैलोमा हाल्दै जानुहोस् । बुद्धिमानलाई इसारा काफी हुन्छ भनेझै नक्कल गर्नलाई पनि अक्कल चाहिन्छ । कुरा बुझ्नु होस् । आँखा चिम्लेर ध्यानमा बस्नुहोस् । सबै देख्नु हुन्छ । यो भगवान बुद्धको चमत्कारी सूत्र हो ।          
   
मेरो जन्म गण्डकी अञ्चल (तमुवान)को लमजुङ जिल्ला साबिक बाग्लुङपानी गाउँ विकास समिति वडा नं ५ हाल ख्होलासोँथर गाउँपालिका वडा नं १, नजरे साम्रोँ बेसीमा पिता नामबहादुर गुरुङ (कर्म ह्रप्तेन) र माता गुनि मायाबाट सम्वत २०११ साल भदौ १५ गते मंगलवारको दिन प्रात भुरभुरे उज्यालो हुने समयमा भैसी गोठमा भएको थियो रे । यो कुरा आमाले मलाई सुटुक्क भन्नु भएको थियो । मेरो बर्ग घोडा, राशी मिन, मेवा आगो र हावा मित्र भन्छन् । तर, स्वभाव बिल्कुल बिपरित छ । 
My birth place Samro village.
   
भदौरेहरु धेरै दुख्यासी हुन्छ तापनि निष्ठवान र विचार प्रधान भएको हुन्छ भन्ने कुरा मैले छानो छदै आमाको मुखबाट बारम्बार सुनेको थिए । मेरो जीवनमा पनि हुबहु त्यस्तै भएको अनुभूति भयो । संयोगै भनौं वा विधाताले पनि यस्तै लेख्यो ? त्यो त केही भन्न सकिन्न ! किनभने खप्पर फोरेर हेर्न सक्ने मेरोमा क्षमतै भएन !   
   
मैले कखग पढने र लेख्ने काम मेरो आफ्नै बाजे काली बहादुरसंग घरैमा सिके । त्यसपछि श्री जनज्योति प्रार्थमिक विद्यालय, बाग्लुङपानीमा कक्ष १मा भर्न भए । घरबाट विद्यालयसम्म जाँदा एक घन्टाको ठाडै उकालो चढनु पथ्र्याे । साँझा फेरी एक घन्टाको ओरालो झर्नु दैनिकी थियो । वर्षातको याम र झरी बतासको समयमा बन भित्रको रातो माटाकोे बाटो कति चिप्लो हुदो हो ? चिप्लो बाटो र जुगा घारीमा आवत जावत गर्न कति असहज थियो ? तैपनि पढाइमा निरन्तरता दिए । त्यहाँ, ५ कक्षासम्मको पढाइ सकेर श्री दरबार हाइ स्कूल, गाउँशहरमा कक्ष ६मा उग्लिए । पछि श्री अमर माध्यमिक विद्यालय खुदीबाट माध्यमिक तहसम्म शिक्षा प्राप्त गरे । अब यसले बाहुनको नाक काट्छ भन्थे, बुढापाकाहरु । के अर्थमा त्यसो भनेका थिए ? त्यो कुरा मैले त्यस बेला बुझ्न सकिन । अहिले बुझेर के गर्नु ? हगी सक्यो दैलो देख्यो । अब यो उखानको कुनै तुक छैन !    
   

मेरो किशोर अवस्थाको समयमा लाहुरे प्रथाले शिखर चुमिरहेको थियो । डाक्टर, इन्जिनियर र प्राध्यपक हुनुमा भन्दा, लाहुरे हुनमा गौरव अनुभव हुन्थ्यो, गुरुङ समुदायमा । त्यसैले, उच्चा शिक्षा अध्ययन गर्ने इच्छा हुँदाहुँदै पनि लाहुरे हुन पुगे । हाई स्कुलको ९ र १० कक्षाको विद्यार्थीहरुले नेबी संघको बिरासत धान्नै पथ्र्यो । त्यही बिरासत वापत बीपी कोइरालाको प्रजातन्त्रिक समाजवाद र हिन्दु राष्ट्रवादको कोरा दर्शन मेरो रगतको कनकनमा बगिरहेको थियो । यसैको प्रभावले गर्दा, मलाइ लाहुरेको नुन पानी पनि पचेन ! एक दसकको लाहुरे जीवन त्यागेर घर फर्किए । तर, परिस्थिति प्रतिदिन प्रतिकुल हुँदै गाएकोले कुइरोको कागझै दिशा विहिन भए ! कसरी जिबिका चलाउने भन्ने विषयमा त्यसै रुमलिए ? नयाँ बुद्धि केही पलाएन !

समय र परिस्थिति प्रतिकुल भए पछि आफन्तहरु पनि टाढिन्दै गए । नजिकको नातागोताहरु पनि टाढाकोझै लाग्न थाल्यो । मैले भनेका साधारण कुराहरु पनि आफन्तहरुलाई जटिल हुदै गए । मेरो कुरा कसैले नसुने पछि मैले जिवनमा पहिलो पल्ट एक्लोपनको महशुस गरेँ । तर, यसले मलाई असाधारण उर्जा दियो । जिवनमा केही पाउनका लागि मनोक्रान्ति गर्न आवश्यक छ भन्ने कुराको अनुभूति भयो । तर, मनोक्रान्ति कसरी गर्ने ? आमाको लागि कालो अक्षर भैसी बराबर भएकोले उनलाई दर्शनको ज्ञान थिएन । बाबा चाहि लामागुरु हुनुहुन्थ्यो । नाम कटुवा छोराको अल्लारे जीवन, प्रजातन्त्रिक समाजवाद र खोक्रो राष्ट्रवादको नारा, कागलाई बेल पाकेझै भयो । वाकौ न निलौ, आपतै थियो मेरो बाबालाई । यो कुरा मलाई राम्ररी थाहा थियो । म यसलाई प्रमाणित गरेर देखाउने चहान्थे तर, समय अनुकुल थिएन । 

साँच्चै भन्ने हो भने, त्यस ताका म लगायत मेरा थुप्रै साथीहरु प्रजातन्त्रिक समाजवाद र हिन्दु राष्ट्रवादमा चुर्लुम्म डुबिसकको थियो । हुन पनि प्रजातन्त्रको नाउँमा स्वतन्त्रता, समाजवादको सिद्धान्तमा सबैलाई समान हक अधिकार । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । कति उत्कृष्ट नारा ! चिसो रगतलाई पनि भल्भल्ति उमालि दिने कस्तो उग्र राष्ट्रवाद ! प्रतिबन्धित नेपााली कांग्रेसले पनि बेलाबखतमा अनुकुलता हेरी, यही उग्र राष्ट्रवादको नारालाई मौन समर्थन गर्दै, सीमानामा शसस्त्र द्धन्द, टिमुरबोटे कान्डा र अनेकौं बितन्डहरु मच्चाएर हजारौं कार्यकर्ताहरु गुमाएर बौलाएका थिए । यही बौलाहटमा बिराट नगरबाट जहज अपहरण गरी ठुलो धनराशी लुटे । जनताको आड भरोसा बोक्नु पर्ने नेपाली काँग्रेस पार्टीले अपहरणकारी बिल्ला झुन्डाए निर्वासित भए ।     
 
Chitra Maya Gurung.
त्यस बखत प्रनेपाली कांग्रेसको दुरदशा यस्तो थियो । कसैलाई नमिठो गालि गर्न पर्यो भने, तिम्रो घरमा कांग्रेस पसोस भन्ने गर्थे । फेरी पनि तत्कालिन परिस्थितिलाई सन्तुलन मिलाउदै, जीवन यात्रालाई सहज बनाउन सहयात्रीको आवश्यक थियो । त्यसैले, मालिङ गाउँको उदु गुरुङको छोरी चित्रमाया गुरुङलाई जीवन साथी रोजे । परम्परागत रीतिमा मागि विवाह भयो । सुरेन्द्र, शुष्मा र नरेन्द्रको जन्म भयो । विधाताले नचाहे पछि के लाग्छ र ! शुष्मा र नरेन्द्रको अल्पायु भयो । पुत्रपुत्रि शोकले श्रीमती र मलाई मर्महत बनायो । दिउसै सूर्यास्थ भएर पैतलाबाट धर्ति खस्किएको जस्तो अनौठो अनुभव भयो ! मनभरी पिडै पिडाको भारी बोकेर पनि बाँच्नका लागि गन्तब्य र मार्गहरु खोज्ने क्रम निरन्तर जारी रहयो । यही क्रममा श्रीमतीले कति चोट र हन्टर खाइन ! गनि साध्य छैन । त्यसैले, मैले उनलाई कहिल्यै सोधिन ! 

सम्वत २०३६ सालमा नेपालमा पहिलो पटक ‘निर्दल वा वहुदल’ भनि जनमत संग्रह भयो । चेतनाको विकासले मात्र प्रजातन्त्रिक समाजवाद र राष्ट्रवादको बिकास हुन सक्दछ । त्यसबाट सामाजिक रुपान्तरणका साथै आर्थिक उन्नतिको मार्ग पनि खुल्न सक्दछ भन्ने मान्यताको नारा बोकेर ‘भावना भित्र सफलता खोज्दै’ जनमत संग्रहमा चुर्लुम्म होमियो । राष्ट्रको ढिकुटी रित्यायर निर्दलले पञ्चायति नाक राखे । तर, नेपाली जनताको चेतनामा घाम लाग्यो । बसाइ सराइँ, व्यापार र व्यवसायमा बृत्तिबिकास भयो । नयाँ नयाँ नगरहरुको अस्तित्व देखिन थाल्यो । मार्सी धान फल्ने फाँट खेतहरुमा नगरको परिकल्पन र प्लटिङ हुन थाल्यो । फाँट खेतहरु मासिए पछि रक्सौलको बासी तरकारीहरु सिधै पहाडीको भान्समा पुगे । सस्तो देखिने तर, गुनस्तरहिन र विषादी तरकारीले नेपालीहरुको औसत आयुमा बन्चरो हान्यो । यो कुरा लामो समय पछि समाज शस्त्रीहरुको अध्ययनले बतायो । तर, त्यस समय नेपाली समाजतन्त्र ओरालो लागिसकेको थियो ।  
   
Chitra maya Gurung.
अखिर भावनामा रमाउने आदर्शवादीहरुले दिउसै सप्न देख्ने भन्ने कुरा त खासै नौलो कुरा होइन । त्यसैले, मैले पनि स्वावलम्वि भएर स्वदेशमै केही गर्नु पर्छ भन्ने भावनाबाट अभिप्रेरित भएर घरेलु उद्योगबाट व्यवसायिक यात्रा आरम्भ गरे । त्यसपछि क्रमैसंग अन्नपूर्ण होटल एण्ड रेष्टुरेन्ट, साम्रोँ बागवानी, भिजिट नेपाल रेष्टुरेन्ट, हिमाली क्लब, लमजुङ इन्टरप्राइजेज प्रा.ली., इस्टार ऐजुकेशन प्रा.ली., हिमाद्रि ट्रेकिङ एण्ड एक्सपिडिशन प्रा.लि. र फोर स्टार प्रा.ली., आदि सञ्चालन गरे । 
   
यसैगरी, लामा वंशवली प्रकाशन समिति र लमचुँ प्रतिष्ठान जस्ता गैर सरकारी संस्था पनि जन्माए । यस दौरान दर्जनौं निजि कम्पनीहरु र गैर सरकारी संघ संगठनहरुमा सकृया भएर काम पनि गरे । तर, यस दौरानमा कमाएको भन्दा दुगुणा गुमाए ! त्यसैले, रित्तो हात र तितो अनुभव मात्र मेरो निजि अंशमा शेष रहन आयो । मेरो अवस्था देखेर मेरो श्रीमतीलाई कस्तो अनुभव भयो होला ! सायद, विधाताले उनलाई यही उपहार पो दिन चाहेको थियो कि ! केही भन्न सकिन्न ? 
   
मेरो आदर्शवादी स्वभिमानमा लाहुरेको नुन पानी पनि पचेना । मातृ भूमिको उर्वरा माटोमा सञ्चालन गरेको व्यवसायहरु पनि एक पछि अर्को धरासायी हुँदै गए । चारैतिर असफलताको पर्खालले घेर्दै ल्यायो । प्रतिकुल परिस्थितिका कारण पारिवारिक मनमुटाव र वाकयुद्धले कानुनि रुप लियो । बिस्तारै परिवार भित्र पानी बाराबार भएर सम्बन्ध चिसियो । केही विषयले अदालती स्वरुप पनि लियो । हुन त जीवन सफल र असफल दुइ पाटाको एउटै सिक्का हो । त्यसैले, असफलताको पाटा भित्रैबाट सफलताको मार्ग खोजि गर्नु न्यायिक सिद्धान्त पनि हो । तर, यो सिद्धान्तलाई मन्थन गर्ने मसंग समय थिएन । तत्काल बाँच्नका लागि मेरो निम्ति बैदेशिक रोजगार मात्र एउटा बिकल्प बाँकी रहेको थियो । 
   
choga DB Gurung & Chitra maya Gurung.

त्यसैले, केही समय तितो पिरो कसरत गरे पछि जीवनको उत्तरार्धमा RCI: Royal Caribbean International.भन्ने अमेरिकी पानी जहाज (क्रुज) कम्पनीमा सुरक्षा गार्डको काम पाए । तर, सामाजिक जर्जरता भित्र उम्रि सकेको ‘आर्थिक क्यान्सर’को बीजलाई हरियो डलरको कमाइले पनि थेग्न सकेन । प्रतिफलः समस्याको पोको दिन प्रतिदिन बढदै राजधानीको फोहोर मैलाझै चुलियो । तत्काल व्यवस्थापन गर्न नसक्दा जटिल क्यन्सर बन्यो ।  
   
यस दौरान देशमा मओवादीको दस वर्षे शसस्त्र द्धन्दको कारण राजनीतिमा उथल पुथल आए । परिवारका सदस्यहरुलाई शारीरिक एवं मानसिक चोट, चन्द आतंक, कार्यलयमा आगलागी र वाक युद्धका कारण अर्ध भूमिगत रहनु पर्ने परिस्थिति भयो । मेरो आर्थिक क्यान्सरको कारण परिवारलाई सिस्नुको झ्याङमा बास बस्न विवस बनायो । यस्तो त्रासिद, भयवाहक, कहलीलाग्दो क्षण र प्रतिक्षणहरु कति दर्दनायक र पिडादायक थियो ? शब्दमा उतार्नै कठिन छ ! यदि कुनै साथीहरु पनि यस्तो भूमारीमा फसेका थिए भने मात्र मेरो भावना राम्ररी बुझ्न सक्ने छन् ।  
   
संवत २०६२/६३को जनआन्दोलन पछि मनमनै प्रवासीने अठोट गरे । यही विकराल समस्याको पोको भित्रैबाट समाधानको उपाय खोज्न अवसर र चुनौतिहरु दुबैको एकै साथ सामना गर्दै, नयाँ कर्म भूमिको खोजिमा सन् २०१२ मा सपरिवार अमेरिका आएँ । हुन त अमेरिका पनि स्वर्ग चै होइन रहेछ ? तर, यहाँ आफ्नो योग्यता र क्षमताको आधारमा अवसरहरु खोज्न र रोज्न भने पाइदो रहेछ । मैले जीवनको पाठशालामा सिकेको लामो अनुभवको मुल्य र मान्यताको प्रमाण–पत्रले यहाँको श्रम बजारमा पतुरको भाउ पनि पाएन ! तर, पनि हातमुख जोर्नका लागि आफ्नो श्रम काफि थियो । 

उपल्लो अनुच्छेदमा मैले भनिसके कि अमेरिका पनि स्वर्ग चाहि होइन रहेछ ! अव प्रश्न आउछ कि स्वर्ग चाहि कहाँ छ त ? कुन ठाउँमा हो ? कस्तो छ ? आजसम्म कतिजना मानिसहरु स्वर्ग गएर आए ? यो बारेमा पनि छोटो चर्चा गरौं । किनभने, हाम्रो समुदाय लोकमा बसेर अलोकिक कुरा गर्न माहिर छन् । त्यसैले, संसारमा प्रचलित धार्मि समुदायका अग्रजहरु र धर्मगुरुहरुले स्वर्गको बारेमा चर्चा र परिचर्चा गरेका छन् । आ–आफ्नै खालको दर्शन र दार्शनिक व्याख्या र विश्लेषण छन् । लोकिक शब्द र विषय वस्तुहरुमा अलोकिक रंग पोतिएका छन् । जुन कुरा बिज्ञानको प्रयोगशालाले सिद्ध गर्न सकेको छैन । बिज्ञानले पुष्टि नगरेका विषयहरुमा छलफल गर्न अप्ठेरो छ । तर, मानवको मन भित्र आस्थाको केन्द हुन्छ । जहाँ विश्वास र भरोस हुन्छ । त्यसैले, लोकमा बसेर अलोकिक कुरामा पनि विश्वास र भरोसा गर्न थाले पछि, यसको अगाडि बिज्ञान पनि चुपचाप बस्न बाध्य हुन्छन् । तर, संक्षेपमा मैले बुझेको र जानेको स्वर्ग चाहि आफ्नै घर हो । जहाँ हामीहरु सुरक्षित र आनन्दसंग बसेका छौं । किनभने हाम्रो घर सतप्रतिशत निजि हो । यो विषयमा धेरै तर्क गरिरहनु पर्दैन । स्वयं अनुभव गरी हेर्नु । अनुभव पछि तपाइँले पनि सहमति जनाउनु हुनेछ । आफन्तलाई पनि अनुभव गर्न सुझाव दिनु हुनेछ । यो कुरा सत्य हो । घाँम जस्तै छर्लङग छ । पानी जस्तै सङलो छ । घाँस जस्तै हरियो छ । मन जस्तै विशाल छ । यो कुरा भगवान बुद्धको ‘लोक अलोक’ सूत्रमा उल्लेखित अंश हो । यसको गहिराइ बुझ्नका लागि बुद्ध दर्शनमा अलिकति भिज्नु पर्छ । किभने, समुन्द्रमा नखेल्ने मानिसले हतपत मोति टिप्न अलि कठिनै हुन्छ । मेरो कुरा सुनेर खिन्न नहुनु । म जे भन्छु, सही भन्छु । जे लेख्छु, सही लेख्छु । यही कारण मेरो बृत्तिबिकास हुन सकेन ।   
 
तितो सत्यमा भन्नु पर्दा, यहाँ सामाजिक जीवन भने रहेन छ ! लोग्ने र स्वास्नीकोबीचमा पनि हप्तमा एक पटक मात्र संगै भात खाने अवसर मिल्दो रहेछ ! यहाँ त खाली भौतिक सुख सुबिधाको बाजार मात्र रहेछ ! जुन सुबिधाहरु द्रव्य बजारमा सहजै उपलब्ध हुन सक्दछ । बाँदरलाई भीरै रमाइलो भन्ने नेपाली उखानझै, यो यान्त्रिक जीवन पनि मलाई भालुको कम्पट जस्तै भयो !        


मेरो श्रीमती चित्रमायाको शैक्षिक योग्यता नभए पनि उनले जीवनको पाठशालाबाटै व्यवहरिकता सिके । “शिक्षा प्रधान होइन, योग्यता प्रधान हो ।” त्यसैले, उनले आफ्नो योग्यताको प्रदर्शन गर्दै मेरो प्रत्येक यात्रामा आवश्यकता अनुसारको उर्जा दिने प्रयास गरिन् । रेस्टुरेन्टको पनि अनुभव संगालेकीले पाकवानमा पोक्त छिन् । असध्यै मिठो पकाउछिन् ! मलाई घरैमा रेस्टुरेन्ट भएको अनुभव हुन्छ ! यस्ती पोराखी श्रीमतीको कारणलेनै आजा मैले आफ्नो आत्मवृतान्त लेख्ने अवसर पाएको हुँ ! मैले जीवनकालमा गरेका उपलव्धीहरुमा केही श्रेष्ठ गुण र पुण्य रहेछन् भने त्यसको श्रेय र प्रसिद्धिको हकदार पनि उनीनै हुन् । 

मेरो बचपन देखिको रुचि अध्ययन, भ्रमण, लेखन, जीवन दर्शन, रचनात्मक र श्रृजनात्मक विघामा थियो । जसलाई मैले साधना गर्न सकेन । यो मेरो दुर्भाग्य थियो । तर, सपरिवार अमेरिका आइसके पछि मलाई आफ्नो भाषा, साहित्य, भेषभूषा, धर्म, कर्म, संस्कार र संस्कृतिले पिरोल्न थाल्यो । 

मेरो कुल धर्म पोँब हो । पोँब भनेको सु्रति परम्परा अनुसार चल्ने (The Bible of oral transmission) हो । पहिचान धर्म भने गुरुङ बुद्धिजम हो । यसो भन्नको अर्थ गुरुङको मौलिक संस्कारमा आवश्यकता अनुसार बुद्ध दर्शनको सूत्र पाठ गरेर कार्मकाण्ड गर्नु हो । यो भौतिक सुबिधाको विशाल मैदानमा मेरो पहिचान हराउने त होइन ? किनभने “भाषा हराए संस्कृति हराउछ । संस्कृति हराए संस्कार हराउछ । संस्कार हराए पहिचान हराउछ ।” त्यसैले, श्रम बजारमा जोतिए पछि बाँकि रहन आएको फाल्तु समयलाई भाषा र संस्कृतिलाई जगेर्न गर्ने कार्यमा समर्पित भएँ । उपलव्धी जे जस्तो भए तापनि आत्म सन्तुष्टि भएको छ । लेखन कार्यमा अपुग भएका शेष भागलाई भावि सन्ततिहरुले निरन्तरता दिदै जाने छन् भन्ने कुरामा आशावादी छु । 
Gurung language & culture.

गुरुङ भाषा र साहित्यमा स्नातक मेरो योग्यता हो । जिउनाका लागि कर्मा प्रधान ।  अभिव्यक्तिहरुः Gurung School at YouTube. त्यसपछिका समयलाई रचना र श्रृजनामा खर्चिए । प्रकाशित कृतिहरुमाः लमचुँ जर्नल २०५४, लालिगुरास २०५५, नयाँ अर्थतन्त्र २०५८, तमू क्योए दे प्यक्ष्या २०७२, Immigration Booklet 2004, Above the Cloud 2005, Gangway Operation RCI 2007. अप्रकाशित कृतिहरुमा तमू ताँफुँछोँ (शब्दकोश), न्हेस (ऐतिहासिक उपन्यास), प्रवास (उपन्यास), नजरे गाउँको नम्जु पैगीलमहरुको वंशबृक्ष, गुरुङ बुद्धिजम, Fairyland, Novel and Festivals in the America.  
   

हाम्रो जिवनमा सबैले सफलतै सफलता हात पार्न चाहन्छन् । तर, सन्जोक त्यस्तो नहुनु पनि सक्छ । किन यस्तो हुन्छ त ? यस बारेमा पनि केही छलफल गरौं । सर्वप्रथम जिवनलाई कसरी बुझ्ने ? तपाइँले कसरी बुझ्नु भएको छ ? यो हाम्रो बुझाइमा फरक हुन्छ । बुझाइले दृष्टिकोण दिन्छ । दृष्टिकोणले यर्थात धरातल देखाउछ । यर्थात धरातल देखिए पछि कुन अवस्थामा कहाँ कहिले कसरी जिउने भन्ने बारेमा केही कुरा सोँच्न र बुझ्न सकिन्छ । किनभने हाम्रो जिवन दुइवटा अलग अलग पाटाहरुले निर्माण गरेका छन् । एउटा भौतिक शरीर जस्लाई बिज्ञान भन्दछ । बिज्ञानको निरन्तर बिकास हुन्छ र एउटा सिमामा पुगे पछि बिनास हुन्छ । त्यही बिज्ञान भित्र ज्ञान हुन्छ । जसलाई आत्मा भनिन्छ । अर्थात बिज्ञान भित्र ज्ञान र ज्ञानबाट मनोबिज्ञानको उत्पति हुन्छ ।  

अब हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने, जिवन भनेको जिउने कला हो । जिउने कसरी त ? भात खाएर जिउने कि पानी पिएर जिउने ? सवाल उठनु स्वभाविक हो । तर, स्पष्टसंग बुझ्नु पर्ने कुरा के छ भने, अधिकांश सम्पन्न राष्ट्रहरुमा १८ वर्षको उमेरलाई वयस्क (Young) मानिन्छ । यो उमेरदेखि प्रत्येक मानिसहरु स्वतन्त्र हुन्छन् । तर, स्वतन्त्र हुनका लागि सर्वप्रथम स्वतन्त्रको परिभाषा राम्ररी बुझ्न जरुरी छ । शब्द कोषमा जुनसकै तरिकाले परिभाषित गरिए तापनि, साधारण भाषामा स्वतन्त्र भनेको आफ्नो इच्छा अनुसार शिक्षा लिनु, हिँडडुल गर्नु, निवास गर्न, काम गर्नु, खानु, पिउनु र बिनदास भोग बिलास गर्नु भन्ने बझिन्छ । 

उदाहरणको लागि तपाइँलाई स्वतन्त्र थियो । त्यसैले, रक्सी खाने आदत बस्यो । रक्सी पिउने तपाइँको दिनचार्य बन्यो । सबैलाई थाहानै छ कि, रक्सी भनेको मादक पदार्थ हो । मादक भनेको मद लाग्ने तरल पदार्थ हो । यो मद सेवन गर्ने बित्तिकै पुक्लुकै मरिहाल्छ भन्ने चाहि पककै पनि होइन । यसरी किन मर्दैन भने, यो पदार्थमा मन्द गतिको विषादि हुन्छ । यसैले, मद सेवन गरे पछि दिमागको गति मन्द अर्थात ढिलो हुन्छ । दिमागको नसाहरु गतिहिन भए पछि, चेतना शुन्य हुन्छ । चेतना शुन्य हुने अवस्थामा उनले राम्रो, नरम्रो, मेरो, तेरो, आफ्नो, पराइ, नातागोता, भातृत्व, मातृत्व कुनै पनि पद र प्रतिष्ठाको महत्व दिन सक्दैन । पशुको जस्तो एकोहोरो व्यवहार गर्न थाल्छन् । उनको गतिबिधिहरु सामाजिक आचारण भन्दा बिपरित हुन्छन् । जुन समाजलाई स्विकार्य हुदैन । यस प्रकारको गतिबिधिबाट उनी घर, परिवार र सामजिक दृष्टिबाट तल झरेर पतुर भैसकेको हुन्छ । तर, उनले त्यो अनुभव गरेको हुँदैन । यो घर, परिवार र समाजमा मेरो अस्तित्व के छ ? हेक्का राख्न पनि सक्दैन । किनभने उनलाई जतिखेर पनि पिउने चक्करमै हुन्छ । यो मदको लतले गाजिसके पछि उनले नपिइ हुँदैन । पिए पछि मानवताबाट पशुमा झर्छ । पशुबाट तल झर्ने ठाउ कहाँ छ ? एउटै ठाउँ हो यमपुरी । तर, मदको नसा नउत्रेसम्म यमपुरीको ढोका पनि खुल्दैन । किनभने यमपुरीको पनि आफ्नै दण्डबिधान हुन्छ ।

यस्तो बिक्राल अवस्थामा बिनासकारी शत्रुसंग सावधान रहनु परम् आवश्यक हुन्छ । तर, शत्रु कहाँ छ ? शत्रु को हो ? हतास मनस्थितिमा शत्रुको पहिचन गर्न कठिन हुन्छ । आपतको घडीमा मानिस बिबेक शुन्य हुन्छन् । शत्रुको सही पहिचान हुन सकेन भने परिस्थिति उल्टोपाल्टो हुन्छ । यो हो कि ? त्यो हो कि ? मनस्थिति उग्र रुपमा तरंगित हुन्छ । त्यसैले, मन शान्त भएर सोँच्ने प्रयास गर्नु होस् । बास्तवमा, हाम्रो असली शत्रु हाम्रै मन भित्र लुकेको उग्र मनस्थिति हो । जो भय र त्रासका कारण तृष्णामा तरंगित भैरहन्छ । त्यसैले, मन शान्त र स्थिर गरेर सोँच्न सक्यो भने, बास्तविक चित्र सामुन्ने आउछ । बास्तविकताको पहिचान भए पछि सोही अनुसार कारवाही गरिन्छ र जटिल समस्यबाट पनि सुरक्षित अवतरण गर्न सकिन्छ । यो शान्त मनस्थितिको मूल सूत्र हो । यसलाई सबैले मनन गर्न अति आवश्यक छ ।  
यस्तो अवस्थामा उनको अगाडि दुइवटा बिकल्प मात्र बाँकी रहन्छ । एउटा डिप्रेशनको सिकार वा चरित्र निर्माणको लागि पुनः मनोक्रान्ति गर्ने । मनोक्रान्ति भनेको आफैमा नयाँ परिवर्तन गर्नु हो । यो परिवर्तनले चरित्रमा शद्धिकरण ल्याउछ । त्यहीबाट नविन यात्राको थालनी हुन्छ । नविन समाजको परिकल्पन गर्न सकिन्छ । यो कुरा कुनै दर्शन वा वाद होइन । मैले लामो समय मादक पदार्थ सेवन गरेको बिल्कुलै निजि अनुभव हो । त्यसैले, मादक पदार्थ सेवन गर्ने मित्रहरुका लागि के सुझाव दिन चाहन्छु भने, तपाइँले मादक पदार्थ सेवन गर्नु । तर, मादक पदार्थले तपाइँलाई सेवन गर्यो भने सामाजिक र आर्थिक अस्तित्व दुबै एकसाथ समाप्त हुन्छ । मेरो पनि यही भएको थियो । अहिले मनोक्रान्तिको जगमा यहाँसम्म आइपुगेको छु । त्यसैले, जिवनको भोगाइलाई दर्शनको रपमा आफ्नो अनुभव शेयर गरेको हुँ । यसबाट तपाइँले केही सिक्न सक्यो भने सडक, सदान, समाज, महल र वादबाट पनि धेरै माथि उठ्न सक्नु हुनेछ । एक पटक अज्माएर हेर्नु । जिवनमा असम्भाव भन्ने कुरा केही पनि छैन ।  

मेरो गाउँले हिसाबमा बुझाइ के छ भने, मानवको श्रृष्टि कसरी, कहिले र कहाँ भयो भनेर चर्चा गर्दा, लाखौं करोडौं वर्ष पहिलेको प्राकृतिको अवस्थालाई अध्ययन गर्नु पर्ने हुन्छ । त्यसैले, यति लामो अध्ययन गर्ने मसंग सामर्थ छैन । यो कुराको मेरो जन्मसंग कुनै विशेष सम्बन्ध पनि छैन । तर, एउटा कुरा, हामी सबैको लागि लागु हुने कुरा के हो भने, जुन वंश, जाति, परिवार र समयमा हामी जन्मिन्छौं, त्यो हाम्रो अधिकारमा हुँदैन र थिएन । तर, आफुले कस्तो चरित्र निर्माण गर्ने ? कस्तो कर्म गर्ने ? त्यो हाम्रो आफ्नै पौराखमा निर्भर हुन्छ । सफल व्यवसायि बन्ने कि ? कलाकार बन्ने कि ? लेखक बन्ने कि ? अभियान्ता बन्ने कि ? असल नागरिक बन्ने ? यदि हामीले अठोट गरेमा न्यूनतम कुराहरु प्राप्त गर्न सकिन्छ । मैले लेखक बन्ने प्रयास गरे । ‘हेरी पोर्टर’को जस्तो चर्चित लेखक बन्न नसके पनि, मनको तरंगहरुलाई संकलन गरी लेख्न सक्ने त भएँ नि ? त्यसैले त यो सत्य कथा र व्यथा लेख्दै छु । अझै कति लेखिन्छ थाहा छैन । 

उपरोक्त मन्तव्यलाई मनन गरी हेर्दा, प्रत्येक मानिसले जन्म लिए पछि बाँच्नका लागि एउटा न एउटा कला त लिएर आएकै हुन्छ । जसलाई नैसर्गिक कला भनिन्छ । तर, यसको पहिचान र बिकास कसरी हुन्छ ? यो कुरा स्पष्टसंग भन्न त सकिदैन । किनभने, नाभिमा बिना छ । त्यहीबाट सुगन्ध आउछ भन्ने सत्य कुरा कस्तुरीले कहिल्यै पनि थाहा पाउन सकेन । त्यसैले, सुगन्धको खोजिमा जिवनभर भौतारिरहेको हुन्छ । हाम्रो जिवनको सत्य पनि यही हो । मेरोमा नैसर्गिक कला के छ ? थाहा पाउनै सकिदैन । यदि थाहा पाउन सकिने भए त बुद्धनै हुने थिए । त्यसैले, बाँच्नका लागि बाँदरझै एउटा हाँगाबाट आर्को हाँगामा, एउटा डालीबाट आर्को डालीमा कुत्दाकुत्दै रात पर्छ । अनि भीरमा गएर टुक्रुक्क बस्छ र बिहनीको प्रतिक्ष गर्छ । मेरो पनि दिनाचर्य यही थियो । मेरामा भएको कलालाई मैले कहिल्यै चिन्न सकिन ! जिवनको उत्तराद्र्धमा आएर धमिलो अवस्थामा चिने । अब के गर्नु र ! सूर्यास्त हुने बेला भैसक्यो । फेरी सूर्य देवको पुनः दर्शनका लागि पुनरजन्मै लिनु पर्छ । यो संभाव छ कि छैन, भन्नै सकिन्न ! तर, निर्वान मार्गमा गए पछि एक पटक हेर्ने प्रयास चाहि गर्ने छु । ॐ निर्वन मार्गय नमो ।   

जीवनकालमा मैले उत्तरी ध्रुवको सीमाना अलस्का र दक्षिणी ध्रुवको सीमाना न्यूजिलैण्डसम्मको भ्रमण गरेर ब्रम्हाण्डको एक फेरो पुरा गरेको छु । त्यसैले कतिवटा देशको भ्रमण भयो भनेर गन्ती गर्नै सकिन्न । जिवन कालमा समाजसेवा, व्यापार, पर्यटन व्यवसाय र उद्योगको अनुभाव पनि गरे । तर, पटक पटकको असफलताको कारणबाट धेरै चोट पनि खाँए । चोटै चोटले गर्दा, धेरै पाठ्ठिए पनि । आज भोलि त सानोतिनो चोटको त कुनै दुखाइ नै हुँदैन !       
My family, wife, daughter and son.

मेरो छोरा बुहारी, छोरी ज्वाइ सबै पढेलेखेका छन् । यतिको पढाइले आफ्नो जिबिका चलाउन सकिन्छ । मलाई विश्वास छ, छोरा बुहारी र छोरी ज्वाइले अमेरिकाको सामाजिक र आर्थिक स्तर अनुसार उन्नति प्रगति गरेर बाउ बाजेको नाम धान्ने छन् । बाउ बाजे भन्दा जान्ने बुझ्ने हुने छन् ! उनीहरुलाई मेरो अर्शिवाद छ ।         

Alina & Surendra.
मेरो जिवनको महत्वपूर्ण समय बसाइ सराइँको तितो अनुभवले गाँजेको छ । बसाइ सराइँ गर्दा, चल सम्पत्ति बाहेक अचल सम्पत्तिको हकमा नगन्य मुल्य हुने र नयाँ स्थानमा गहिरो खाल्डो पुर्नु पर्ने हुँदा, आर्थिक रुपले बोझिलो त हुनेनै भयो । यस बाहेक नयाँ ठाउँमा बसाइ सराइँ गर्दा, त्यहाँका रैथानेहरुले हरुवा, चरुवा र भतुवाहरु आए भनेर हेप्ने चेप्ने पनि गर्ने भएकाले सहअस्तित्व कायम राख्नका लागि भातृत्व र मैतृत्वको सूत्र एकदमै कण्ठै पार्नु पर्ने हुन्छ । कहिकतै सानोतिनो कमिकमजोरीहरु हुन गयो भने पनि, त्यसले ठुलै जोखिम मोल्नु पर्ने अवस्था मैले बेलाबखत भोग्दै आएको छु । यही हो हरुवा, चरुवा र भतुवाको कथा व्यथा । यही व्यथाले गर्दा, चिनीको स्वादमा पनि शंका गर्नु पर्ने अवस्था हुँदोरहेछ । यो मेरो निजि अनुभव हो । 

यसरी, समयको माँग र आवश्यकता अनुसार मैले नजरे साम्रोबेसीदेखि सदरमुकाम बेसीशहर, बेसीशहरदेखि राजधानी काठमाडौ, काठमाडौंदेखि बिपरित भूगोल अमेरिकामा आए । अमेरिका आए पछि आफु बसेको माटोको भावनालाई सम्मान गर्दै, यहाँको स्थानीय हावापानी, पर्यवरण, सामाजिक संस्कार, खानपान, संस्कृति र अमेरिकी संधीया प्रणीलीको बारेमा धेरथोर बुझ्नु आवश्यक भएकोले राष्ट्रपति बारक ओबामादेखि डोनल्ड ट्रम्पसम्मको नीति तथा कार्यक्रमहरु बुझ्ने प्रयास गरे । बारक ओबामाको पालामा विश्वको राजनीतिक र व्यापारिक केन्द्र अमेरिकै रहेछ भन्ने हिसाबले बुझेको थिए । साथै प्रजातन्त्रिक समाजवादको व्यवहारिक र सुन्दर पक्ष पनि अमेरिकामै भएको अनुमान गरेको थिए । तर, ओबामा पछि डोनल्ड ट्रम्पको उग्र राष्ट्रवाद उदाए पछि अमेरिकाको बैदेशिक नीतिमा मात्र नभएर घरेलु राजनीतिमा पनि चरम उथलपुथल भयो । म राष्ट्रवादको विद्यार्थी भएको नाताले मातृभूमि प्रतिको प्रेम र कृतज्ञता राष्ट्रवादको धार अलग अलग हो भन्ने कुरा मलाई पूर्ण जाकारी थियो । त्यसैले, डोनल्ड ट्रम्पको उग्र राष्ट्रवादमा (ह्वाइट सुप्रिमेसी) नश्लवादको रंग घोलिएको प्रभाव देखे पछि त्यस्तो राष्ट्रवादले श्रेष्ठता र निचताको बिभेद उर्मादछ भन्ने कुरा ३५ वर्ष पहिल्यै राम्ररी परिचित थिए । यसमा मैले कसैसंग पनि छलफलै गर्न परेन । 

सर्वसाधरण मानिसहरुले झ्वाट्ट सुन्दा र बुझ्दा राष्ट्रवादको कुरा अत्यन्तै मिठो हुन्छ । भावनासंग प्रसंग र सन्दर्भहरु मिलाउदा, अत्यन्तै भाबुक र ममर्मिक हुन्छ । राष्ट्रवादीहरुले छनोट र प्रयोग गर्ने उत्कृष्ट शब्दहरुले सर्वसाधरणलाई लट्ठैसंग लठ्याउछन् । चिसो रगतलाई पनि भल्भल्ति उमालि दिन्छन् । तर, जुन राष्ट्रवादले बिभाजन गर्छ, त्यो खोक्रो राष्ट्रवाद हो । हिटलरले पनि त्यही भनेका थिए । नाजीहरुको रगत पनि नीलो हुन्छ । तर, हिटलरको गोएबल खेती लामो समय टिक्न सकेन । 

अहिले विश्व समुदाय कोरोनाको महामारीले आतंकित भएका छन् । अमेरिका प्रथम स्थानमा रहेको छ । अबको विश्व राजनीतिको केन्द्र, “बुढो बाध अमेरिका र तन्नेरी बाध चीन”को आन्तरिक सन्तुलनमा निर्भर रहने हुँदा, (रोड एण्ड बेल्ट भरसेज एसिया पेसेफिक) रणनीतिमा कुन देश शक्तिशाली हुने हो ? केही भन्न सकिन्न । केही समय त पर्खनै पर्छ । २०२०को अमेरिकी राष्ट्रपतिय चुनावले माहौल कतातिर लैजान्छ ? सबैको ध्यान यसैमा केन्द्रीत छ । सेतो नश्लवादले तन्नेरी बाधसंग लड्न सक्छ कि सकदैन ? यही लडाइँको हारजितमा अमेरिकी जनताको भाग्यको छिनोफानो हुनेछ । 

उपरोक्त भनाइहरुलाई राम्रोरी केलाएर बुझ्नु होस् । मेरो असफल जिवनको तितो अनुभवहरुलाई राम्रोसंग बुझ्ने प्रयास गर्नु भयो भने, पाठकहरुले सारमा केहीनकही त पक्कै पाउनु हुनेछ । यदि तपाइँ सफल हुनुहुन्छ भने, मेरो जीवनीमा अमिलो पिरो बाहेक केही पाउने छैन । तर, सफलता पाउन चाहनु हुन्छ भने, निम्न सूत्रहरुलाई दोहराई तेहराई पढनु होला । त्यही सूत्र भित्र सफलताको सिढी पाउन सक्नु हुने छ । यदि मैले यी सूत्रहरु १० वर्ष अगाडि पाएको भए आज म सडकपति हुने थिएन । के गर्नु र ? बेलैमा चेतनामा धाम लागेन !

सफलताको सूत्रः १. तपाइँले जे काम गर्दैहुनुहुन्छ ? त्यसलाई अत्यन्तै मेहनत गरेर गर्नुहोस् । यसरी गरिएका काम, संख्यामा, गुणमा, चरित्रमा र आकारमा अरुको भन्दा फरक देखिने छ । यही फरकबाट तपाइँको मुल्याङकन हुनेछ । २. आफ्नो किलो थलो छाडेर बाहिर जाने सोँच नगर्नु होला । यदि बसाइ सराइँको चपेटामा पर्नु भयो भने, आर्थीक बोझ हुनेछ । नयाँ स्थानका रैथानेहरुले हरुवा, चरुवा र भतुवा भन्दा पनि सहनु पर्ने छ । ३. समयको माँग, आवश्यकता र बजार व्यवस्थापन बुझ्नु अति आवश्यक छ । ४. कमाइको दस प्रतिशत बचत गर्नु होस् । ५. दस प्रतिशतको दस वर्षे बचतलाई (मूलधन, समय र माँग)लाई सूत्र अनुसार गुणा गरेर हेर्नु । प्रतिफल तत्कालै पाउनु हुने छ । उदाहरणको लागि तपाइँको कमाइ महिनामा हजार रुपैय छ । हजारको दस प्रतिशतले एकसय बचत हुन्छ । एक वर्षको बाह्रसय भयो । दस वर्षको मूल धन बाह्र हजार हुन्छ । बैंकमा फिक्स डिपोजिट राख्यो भने पनि सालाखाला पाँच वर्षको समयमा डबल हुन्छ । तर, बचत भएको मूलधन कुनै न कुनै बस्तुमा बजारीकरण हुन आवश्यक छ । जस्तैः शेयर बजार, घडेरी, सुन खरिद आदि । संसरमा जनसंख्याको अपार बृद्धि हुन थाले पछि बस्तु बजारको माँग र आपुर्तिमा एक्कासी बृद्धि हुन्छ । यसरी बृद्धि भए पछि बजारमा तरंग आउछ र मुल्य बृद्धि आकासिन्छ । त्यसरी बृद्धि हुन आउने तरलता बिस्तारै सञ्चित हुदै गए पछि दस वर्षको अन्तरालमा लगभग दस गुणा बृद्धि भएको देखिन्छ । दस गुणा भनेको एक लाख हो । तर, बजार मुल्यामा पचास प्रतिशतले उकालो लागिसकेको हुन्छ । त्यो मोटो रकमले पुनः बजारको माँग र आपूर्तिलाई सन्तुलन मिलाउदै जान सकियो भने, छोटो समयमै धनपति हुन सक्ने सजिलो उपाए रहेको छ । यो सूत्र अत्यन्तै सरल र बजारको मौलिक रुपामन्तरण अनुसार बुद्धि हुने हुँदा, थोरै जोखिममा धेरै उपलब्धि प्राप्त गर्न सकिन्छ । यो सूत्र सही छ वा छैन भनेर कसी लगाउनका लागि कुनै अर्थशास्त्रीहरुसंग छलफल गरिरहनु पर्दैन । तपाइँले केवल दस वर्ष अगाडिको बजार मुल्यालाई राम्रोसंग केलाएर हेर्नसके पनि पर्यप्त हुन्छ । यही हो मैले अनुभव गरेको तितो सत्य भित्र लुकेको सुनौलो सूत्र ।  

मैले ‘गुरुङ बुद्धिजम’ नामक पुस्तकको अन्तिम सम्पादन गर्ने क्रममा जिवनको वास्तविक सत्य बोध भयो । त्यसैले, मेरो जिवन साथी, छोरा बुहारी, छोरी ज्वाइ, परिवारजन, भाइभतह, इष्टमित्र, कुलकुटुम र शुभेच्छुकहरुलाई के भन्न चाहन्छु भने, मैले गर्न खोजेको सबै गर्न नसके पनि सकेको सबै गरे । उपलब्धि के भयो ? जिवन साथीलाई थाहा छ । मलाई मातृभूमिमै अनुकुल भएको भए, प्रवासीने थिएन । जिवनको उत्तराद्र्धमा मसंग अब मौलिक संस्कार बाहेक अरु के नै छ र ? त्यसैले, गुरुङको मौलिक संस्कारलाई अलिकति भए पनि झल्काएर ‘गुरुङ बुद्धिजम’को २२ खण्डको १० बुँदामा उल्लेख गरेको (सिताँ) राम्रोसंग सुनाएर दाह संस्कार गराइ दिनु । भोलि पल्ट मेरो अस्तुधातु पवित्र नदीमा बगाइ दिनु । यति काम सकिए पछि “गुरुङ बुद्धिजम” नामक पवित्र ग्रन्थ एक पटक राम्रोसंग पढ्नु । यो पबित्र ग्रन्थ पढिसकेपछि तिमी स्वयम् भ्रमजालबाट विउझिने छ । बिउझिए पछि संसार देख्ने छ र बुझ्ने छ । मैले कल्याण मित्रको संगत गरिसकेकोले, मेरो पितृकार्य (पए) वा कुनै अतिरिक्त कर्मकाण्ड गर्नु आवश्यक छैन । यो मेरो अभिलाषा हो । परिवारले सानो मन गर्नु पर्दैन । पितृकार्य (पए) गरेर स्वर्ग जाने, नगरेर नर्क जाने भन्ने कुरा सत्य होइन । सत्य किन होइन भने, स्वर्ग गएको प्रमाण–पत्र कसैसंग पनि छैन । आस्था र विश्वासको भरमा संसार चल्दैन । यदि छोराबुहारी र छोरीज्वाइलाई “कुले बृद्धि र लोकेकृति” गर्ने इच्छा भएमा आफ्नो औकात अनुसार अनुकुलतामा दिन दुःखिहरुको सेवामा दान गर्न उत्तम हुनेछ । मेरो कुरामा केही तर्क छ वा सान्दर्भिक लागेमा शुभेच्छुकहरुले पनि एक पटक अजमाएर हेर्न सक्नु हुन्छ । जिवन कालमा आफैले केही कुरा अजमाएर हेर्न सक्यो भने मात्र अनुभव हुने हो । अनुभवको दृष्टिले हेर्न सक्यो भने, संसार छर्लङग देखिन्छ । 

अहिले म मासाच्यूसेट राज्यको चेल्सी शहरमा बसेको छु । डाउन टाउन बोस्टन शहरसंग कुहिनो जोडिएको हुनाले, सार्वजनिक यातायातको राम्रो सुबिधा छ । लामो लकडाउनले गर्दा, धरैमा थन्किएको छु । अलि मूँड चल्दाखेरि गुरुङ भाषा, साहित्य, परम्परागत संस्कार, जिवन दर्शन र गुरुङ बुद्धिजमको उत्कृष्ट संगालोलाई ब्लग मार्फत प्रकाशन गर्ने कार्यमा रमाइरहेको छु । बाँकी रहेको फाल्तु समयमा लमजुङ जिल्लाको सामुदायिक रेडियो मस्र्याङदी ९५ मेगहर्समा एक वर्षसम्म “गुरुङ संस्कृति पुस्ता हस्तान्तरण कार्यक्रम” सञ्चालन गरे । अहिले साप्तहिक ‘प्रवासी सुस्केरा’ चलाउदै छु । हेरौं कतिसम्म चलाउन सकिन्छ ? अहिले सम्पूर्ण विश्व समुदाय कोरोना महामारीले आतंकित बानएका छन् । सामाजिक जनजिवन र आर्थिक अवस्था सबै लथालिङग भएका छन् । अबको मानव समुदायले कोरोनासंगै लडेर, बसेर, खेलेर बाँच्न सिक्नु पर्ने अवस्था देखिन्छ । यो साँढे छ दशकको उकालो यात्रामा राम्र नराम्र कामहरु धेरै भोकिसके । अव त, नाति नातिनीहरुको मुख हेर्ने र निर्वान मार्ग खोज्ने बाहेक अरु खासै रहर पनि छैन ! जय निर्वान मार्ग ।  

चोग डीबी गुरुङ, चेल्सी, अमेरिका ।
Last up date on  September 14, 2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

2 टिप्पणियाँ:

  1. चोग डीवी गुरुङ्ग तमू जाती वारेका प्रखर ज्ञाता हुनु हुन्छ । जुन कुरा वहाँका प्रकाशित “तमू क्योए दे प्यक्ष्या” अप्रकाशित ताँफुँछों शव्दकोष, न्हेस ऐतिहासिक उपन्यास, नजरे गाउँ सहित नम्जु पैंगिलमको वंश वृक्ष, गुरुङ्ग वुद्धिजम जस्ता लेखन कलाहरुवाट प्रष्ट हुने देख्दछु ।
    जीवनलाई तपाईले कसरी वुझनु भएको छ ? यो हाम्रो बुझाइमा फरक हुन्छ । बुझाइले दृष्टिकोण दिन्छ । दृष्टिकोणले यर्थात धरातल देखाउछ । यर्थात धरातल देखिए पछि कुन अवस्थामा कहाँ कहिले कसरी जिउने भन्ने बारेमा केही कुरा सोँच्न र बुझ्न सकिन्छ । किनभने हाम्रो जिवन दुइवटा अलग अलग पाटाहरुले निर्माण गरेका छन् । एउटा भौतिक शरीर जस्लाई बिज्ञान भन्दछ । बिज्ञानको निरन्तर बिकास हुन्छ र एउटा सिमामा पुगे पछि बिनास हुन्छ । त्यही बिज्ञान भित्र ज्ञान हुन्छ । जसलाई आत्मा भनिन्छ । अर्थात बिज्ञान भित्र ज्ञान र ज्ञानबाट मनोबिज्ञानको उत्पति हुन्छ ।
    वहाँको सक्षमताको कसी यस्ता विचारवाट प्रष्टिन्छ ।
    अब हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने, जिवन भनेको जिउने कला हो । जिउने कसरी त रु भात खाएर जिउने कि पानी पिएर जिउने ? सवाल उठनु स्वभाविक हो । तर, स्पष्टसंग बुझ्नु पर्ने कुरा के छ भने, अधिकांश सम्पन्न राष्ट्रहरुमा १८ वर्षको उमेरलाई वयस्क (Young) मानिन्छ । यो उमेरदेखि प्रत्येक मानिसहरु स्वतन्त्र हुन्छन् । तर, स्वतन्त्र हुनका लागि सर्वप्रथम स्वतन्त्रको परिभाषा राम्ररी बुझ्न जरुरी छ । शब्द कोषमा जुनसकै तरिकाले परिभाषित गरिए तापनि, साधारण भाषामा स्वतन्त्र भनेको आफ्नो इच्छा अनुसार शिक्षा लिनु, हिँडडुल गर्नु, निवास गर्न, काम गर्नु, खानु, पिउनु र बिनदास भोग बिलास गर्नु भन्ने बझिन्छ ।
    भन्ने जस्ता दर्शन पनि अझै फलदायक वन्ने नै भयो ।
    २०५२ देखी ६२, ६३ सम्म विपरित धारको राजनैतिक आस्था वोकी उद्योग धन्दा व्यापार व्यवसाय गरी अएकालाई के कस्तो व्यवधान सहनु परेन होला ? आफु ऋण वहादुर वन्नु भएको छ, सत्य कथा लेख्नु भएको छ । जुन सोह्रैआना सत्य एवं कहालि लाग्दो छ ।
    त्यस्तै त्यस्तै जटिल समस्य भोगको म जस्ता पारखीहरुको रौं जिङ्गरिङ्ग भएर उम्रन्छ । त्यस्तो अनुभूति गरिएकै हो । यस्तो समस्य भोगेका कतिपय पिडित हामी मध्ये हाम्रै विच कति जना हुन पनि सक्छन । हामी सवैको रोग एउटै थियो, नजिकवाट नियालेका कतिलाई सर्व विदितै कुरा थियो ।
    संयोगले हामीहरुको गन्तव्य पनि एउटै देश वनेको रहेछ । त्यसैले त दुःख सुख साटने र एक अर्कोले दुःख पोख्ने भाँडो पाएका छौ । हाम्रो समयमा ुभतले खाजा खाएकै हो । ठयाक्कै एउटै आस्ता नवोकिएको भए पनि धार्मिक तथा राष्टवादी विचारधारा भने मिल्दो जल्दो भएकेले संङ्गै मिलेर अभियन्ताले झैं संगै अगाडी वढने अवसर मिलेको छ । सकेसम्म जाने मानेको कुराहरु लेख्ने र सवै समु पश्कने गरेका छौं ।
    यसरी आफनो जीवन कालका भोगाईहरुलाई उधाङ्गै पारेर प्रस्तुत हुनु भएको छ भने परवासमा रहेवसे पनि आफनो मातृभुमी तथा तमू जाती एवं आफनो भाषा धर्म संस्कार र संस्कृतिलाई जगाउँनु भएको छ । भावी सन्ततिलाई हाम्रा पुर्खाले जानी मानी आएको एवं आफुले जानेको कुरा पुश्ताहस्तान्तरण गर्नु पर्ने कर्तव्यलाई नभुली भरमग्दुर प्रयास र प्रयत्न गरी आएको पाउँदा धन्य हो ! डीवी म्हिथेवा वन्नु भएको छ । हामी वहाँलाई सादार सम्मान गर्दछौं । “भवतु सव्व मंगल”
    जय वद्ध ! साध ! साधु !
    अरुण कुमार गुरुङ्ग तथा परिवार फेदिखोला स्याङ्गजा हाल अमेरिका

    जवाब देंहटाएं

If you have any doubt, please let me know your message to help.