Gurung Buddhism ।। गुरुङ बुद्धिजम ।।

Gurung Buddhism ।। गुरुङ बुद्धिजम  ।।  

नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा गुरुङ बुद्धिजम के हो ? यसको परम्परागत (लिनेज) कहाँ छ ? यो कुन सम्प्रदायबाट झरेको हो ? भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिने छ । कल्याण मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला गुरुङ बुद्धिजमबाट उठान गरिनेछ । 

गुरुङ बुद्धिजमको बोरमा सत्य र सान्दर्भिक कुरा उठाउनु पर्दा, पुण्य भूमि कुशी नगरबाट उठान गर्न उपयुक्त ठान्दछु । किनभने, तथागत गौतम बुद्धले २६०० वर्ष पहिले कुशी नगरमा महापरिनिर्वाण लिने पूर्वसन्ध्यामा भिक्षु आनन्दलाई दोश्रो पटक “अप्पो दिपो भव संस्कार दर्पण बुद्ध दर्शन” भनेर धर्मोपदेश गरेका थिए । अर्थात मेरो कारणमा शोक नगर । मेरो जिवनको मूल उद्देश्य पूर्ण भैसक्यो । आफ्नो दिपक आफै बन्नु । परिवर्तित समाज र संस्कारको आवश्यकता हेरी धर्मोपदेश गर्नु तथागतको अन्तिम उपदेश थियो । यो भनाइ कति सान्दर्भिक, मौलिक र तर्कसंग छ ? कल्याण मित्रहरुले बुझ्ने प्रयास गर्नु होला । 
   
तथागतले महापरिनिर्वाण प्राप्त गरेको तीन महिना पछि राजगिरमा प्रथम संघायन भयो । यसरी, द्धितीय र तृतीय संघायन हुदै, बुद्ध शासनको भिक्षु महासंघ हिनयान र महायान मार्गमा बिभाजन हुन पुगे । समय बित्दै गयो । सातौं सताब्दीको प्रथम दशकबाट जम्बु द्धीपमा मुसलमानहरुको आक्रमन हुन थाल्यो । यही क्रममा नालन्द विश्वविद्यालयमा पनि आगलागि भयो । यस दुःखत घट्ना पछि महायानी संस्कृतिले तिब्बतमा ञिङम सम्प्रदायको रुपमा स्थापना हुन सफल भयो । यही सम्प्रदायनै ‘खेमायान’को मूल प्रवेशद्धार हो भन्ने कुरा गुरुङको माउ भाषा र बसाइ सराइँको मार्ग चित्रले स्पष्ट गरेको देखाउँदछ ।  

१. गुरुङ बुद्धिजम के हो ?
सर्वप्रथम ‘गुरुङ बुद्धिजम’ के हो ? यो परम्परा कुन मत वा सम्प्रदायबाट प्रभावित छ ? यसको प्रवेशद्धार कहाँ छ ? परम्परागत सम्बन्ध (लिनेज) कहाँ छ ? यस बारेमा संक्षिप्त भए पनि खुल्ला छलफल हुन आवश्यक छ । त्यसैले, आजको मूल विषयमा प्रवेश गर्नु भन्दा पहिले, विद्धान पाठकहरुलाई के निवेदन गर्न चाहन्छु भने, गुरुङ जातिको आफ्नो छुट्टै भाषा, संस्कार र संस्कृति छ । त्यही भाषा र संस्कार हाम्रो मौलिक पहिचान हो । अब, कुरा के आउछ भने, बुद्धिजमलाई गुरुङ भाषामा के भन्ने ? शब्द कोषमा हेर्दा, योसंग ठ्याक्कै मिल्ने शब्दहरु छैनन् । पार्यवाची शब्दहरु पाउन पनि कठिन छ । किनभने हाम्रो भाषाले साहित्यको उचाइ लिइ सकेको अवस्थनै छैन । त्यसैले, यो विषय, प्रसंग र भावको आधारमा ‘तमू बौद्धक्ष्या’ प्रस्ताव गरिएको छ । 

हामीहरुले स्पष्टसंग बुझ्नु पर्ने कुरा के छ भने, बुद्धिजममा महायान, हिनयान, बज्रयान र तन्त्रयान जस्तै प्रत्येकयान पनि छन् । महायान भनेको धेरै मानिसहरु र समुह अटाउने ठुलो जहाज हो । हिनयान भनेको अलि सानो हो । प्रत्येकयान भनेको नितान्तै निजि यान हो । अर्थात अहिलेको २१औं सताब्दीको सभ्य भाषामा भन्ने हो भने निजि कार जस्तै हो । प्रत्येक यानमा कर्मकाण्डहरु गर्दा, स्थानीय जात जातिको मौलिक संस्कार अनुसार अभ्यास गरी बौद्ध सूत्रहरुलाई आवश्यक अनुसार बाचन गरिन्छ । यो बैकल्पिक यान हो । गुरुङ भाषामा यसलाई ‘खेमायान’ पनि भन्न सकिन्छ ।   
   
महायानी संस्कृतिमा सयौँ मतहरु छन् । प्रत्येक मतको आ–आफ्नै बिधिबिधानहरु छन् । कुनैले अर्हतको मार्गलाई पार्थमिकता दिन्छन् भने कसैले आनन्दभूमि, कसैले प्यूरलैण्ड, कसैले लफिङ, कसैले परम्परागत संस्कारलाई महत्व दिन्छन् । यस मध्ये ‘गुरुङ बुद्धिजम’ भन्ने एउटा मत वा सम्प्रदाय पनि छ । यसलाई गुरुङहरुले अभ्यास गर्दछन् भन्ने अर्थमा बुझ्नु पर्दछ । समग्रमा ‘गुरुङ बुद्धिजम’ भनेको गुरुङ समुदायको जन्मदेखि मृत्युसम्मको जिवन पद्धतिलाई गतिशील बनाउने मूल आधार हो । यो भावको मौलिक गहिराइलाई चोगको चोगत्व, साहित्यको स्रष्टा, ज्ञानको ज्ञानी, लामाको लामात्व, भिक्षुको भिक्षुत्व, समाधिको साधकले मात्र राम्रोरी बुझ्न सक्दछ । किनभने, उनीहरुले मात्र समधिबाट प्राप्त हुने परम् आनन्दको अनुभव राम्ररी गर्न सक्दछ । 

२. गुरुङ बुद्धिजमको उद्देश्यः
अब, ‘गुरुङ बुद्धिजम’को उद्देश्यको बारेमा पनि संक्षिप्तमा छलफल गरौं । हामीहरु सबैलाई थाहानै छ कि यसको मूल आसय भनेको, २१औं सताब्दीको सभ्य समाजको जिवन पद्धतिलाई सुख, शान्ति र सरल बनाउने भुमण्डलीकरणको कोसे ढुंगा हो । अब हामीहरुले स्पष्टसंग बुझ्नु पर्ने कुरा के छ भने, बुद्ध भनेको बोध धातुको विशेषण र इजम भनेको वाद हो । वाद भनेको गतिशील सिद्धान्त हो ।                                       
यो सिद्धान्तमा आस्था, श्रद्धा र विश्वास राख्ने हजारौ, लाखौं र कराडौंको संख्यामा सकारात्मक चिन्तन मनन गर्ने अर्हत, भन्ते, महस्थवीर, भिक्षु, भिक्षुनी, खेन्पो, खेगी, योगी, योगिनी, आचार्य, प्राचार्य, साधक, अध्यता, लामा, लमिनी, आनी, श्रमनेर, श्रावक, उपासक, उपासिका र गृहस्तीहरु गतिमान भैरहेका हुन्छन् । 

त्यसैले, आज भन्दा, २६०० वर्ष पहिले, गौतम बुद्धले प्रतिपादन गरेको चार आर्यसत्य, पञ्चशील, अष्टमार्ग, प्रतित्यसमुत्पाद र यसको मूल चुरी मानिएको (कार्य कारण) कारण र परिणमको सिद्धान्त आजसम्म पनि जिवितै रहिआएको छ । यो धर्तिमा मानव जाति रहुन्जेलसम्म पनि रहने छन् । किनभने, प्रत्येक वस्तुको व्युत र च्युतमा (कारण र परिणाम) हुन्छन् । तर, कतिपय अवस्थामा हामीहरु यसबाट अनभिज्ञ रहने गरेकाछौं । के कारणमा कहिले, कहाँ के भएको थियो ? किन भयो ? कस्ले गर्यो वा गरायो ? अहिले के हुँदै छ ? र अब के हुन्छ ? यो सबै कारणको हामीहरुलाई तत्काल जानकारी थिएन र हुदैन । यही हो अज्ञानता भनेको । त्यसैले, प्रतित्यसमुत्पादको अन्त्य पनि अज्ञानमै हुन्छ । जहाँबाट अन्धकार शुरु हुन्छ । अन्धकार भनेको प्रकाशमा परम् अतिक्रमण हो । निराकार हुनु हो । जहाँ आकार प्रकारको कुनै अर्थ रहदैन । यसलाई मापन गर्न पनि सकिदैन । तर, सत्य त यही हो कि, यही अन्धकार भित्र आफ्नो मौलिक पहिचानलाई सुरक्षित गर्दै निर्वाण मार्ग खोज्ने ‘गुरुङ बुद्धिजम’को मूल उद्देश्य हो । 

३. ञिङम मतको गुरुपरम्पराः 
ञिङम मतको गुरुपरमपरा कहाँ छ भनेर बुझ्ने क्रममा ञिङम सम्प्रदायको संस्थापक वज्रमहागुरु पद्मसम्भवको बारेमा थोरै कुरा जान्न आवश्यक हुन्छ । बज्रगुरु पद्मसंभावको जन्म पाकिस्तानको हिमाली क्षेत्रमा अवस्थित धनकोषा तालको कमलबागमा एउटा ब्राह्मन परिवारमा भएको थियो । उनको पालन पोषण र शिक्षा दीक्षा उडिसाको धनानन्द राजपरिवारमा भयो । उनी युवास्थामै वज्रयान मार्गको प्रखर आचार्य भए । त्यसैले, भारत वर्षको सवभन्दा पुरानो नालन्द विश्वविद्यालयमा वज्रयान मार्गको आचार्य भए । बज्रयान भनेको प्राकृतिको गर्भबाट उत्पन्न भएका उत्कृष्ट र मौलिक धातुहरुको सही अर्थमा उपयोग र बुद्ध वचन भित्र गुड रहस्य मानिएका मन्त्रलई तन्त्र साधनाबाट योग सिद्धि गर्ने उत्कृष्ट मार्ग हो । यसको अभ्यास अत्यन्तै जटिल हुन्छ । बज्रयानको साधकहरुलाई बज्राचार्य र योगी पनि भनिन्छ । 
   
हिमाली राज्य तिब्बतको ३३औं राजा श्रोङचन गम्पोको राज्याभिषेक भए पछि इसाको ६२४मा नेपालको राजा अंशुवर्माकी पुत्री राजकुमारी भृकुटीलाई विवाह गरे । उनले दाइजोमा स्वर्ण बुद्धको प्रतीमा लेगेकी थिइन् । यहीबाट तिब्बतको राजदरबारमा बौद्ध धर्मको प्रवेश भयो । यसैगरी, चीनको राजकुमरी वेनचेङलाई पनि विवाह गरे । तिब्बतियन बौद इतिहासमा भृकुटीलाई (हरित तारा र वेनचेङलाई श्वेत तारा)को नामबाट सम्मान गरिन्छ । 
   
राजा श्रोङचन गम्पोले प्राज्ञ ‘थोमि सम्बोथा’को नेतृत्वमा १० जनाको वरिष्ट प्राज्ञिक टोलीलाई भारतको नालन्द विश्वविद्यालयमा बौद्ध दर्शनको अध्ययन गर्न पठाए । उक्त टोलीले १० वर्षसम्म नालन्दमा बौद्ध दर्शनको अध्ययन गरेर फर्के पछि सम्भोट लिपिको विकास ग¥यो । 
   
तिब्बतको राजा त्रिसोन (ठिशेङ) देचेनले बुद्ध धर्मको प्रचार प्रसार गर्न नालन्द विश्वविद्यालयको आचार्य पद्मसम्भवलाई राजकीय निमन्त्रणा गरे । ७४३ इसको गृष्म ऋतुमा आचार्य पद्मसम्भव, शान्तरक्षित, कमलशील, दिपंकर र महानन्द आदि नेपालको भूमिहुदै तिब्बत पुगे । राजा त्रिसोन देचेनको परामर्श अनुसार बुद्ध दर्शनको प्रचार प्रसार भयो । 
   
बुद्ध दर्शनलाई विधिवत रुपमा पठनपाठन गर्न सर्वप्रथम ‘सामलिङ’ गुम्बा स्थापना भयो । यसबाट बुद्ध दर्शनको जग बलियोसंग बस्यो । यो गुम्ब तिब्बतको सबभन्दा पुरानो स्कूल हो । यसलाई ‘ञिङम’ मत, स्कुल वा सम्प्रदाय भन्दछ । ‘ञिङम’ मतको स्थापना गर्ने समयमा प्राज्ञिक स्तरमा बृहत छलफल गरी सामाजिक जनजिवनको मुल्य र मान्यतालाई मध्यनजर राख्दै बुद्ध दर्शनको बाचन गरी, स्थानीय संस्कारमा आधारित जातीय संस्कारको अभ्यास गर्ने ‘ञिङम’ मतले मुख्य आधार लियो । त्यसो भएको हुँदा, यो मतले तिब्बतमा लोकप्रियता प्राप्त गर्याे । 
   
राजा ठिशेङ देचेनको शासनकालमा संस्कृत भाषामा रहेको बुद्ध दर्शन ‘त्रिपिटक’लाई १०८ जनाको प्राज्ञिक समूहले तीन वर्षको समय लगाएर तिब्बतीयन भाषामा भाव अनुवाद ग¥यो । यस समूहमा भारत, चीन, काश्मीर र स्थानीय लामाहरुको पनि सहभागीता थियो । यही अनुवादबाट तिब्बतीयन साहित्यको विकासमा बलियो जग बस्यो ।    
   
तिब्बतमा बुद्ध धर्मको बिकासको लागि गुम्बाहरुको स्थापना हुन थाल्यो । प्रत्येक गुम्बाले नयाँ नयाँ मतको स्थापना ग¥यो । यसरी स्थापन भएका मतहरुमा ञिङम, कग्यु, साक्य र गेलुक हुन् । बज्रगुरु पद्मसंभाव (७५०) ञिङम मतको संस्थापक । मार्पा चोकी लोदरो (१०१२—१०९९), कग्यु मतको संस्थापक । खोन खोन्चोक ग्येल्पो (१०३४—११०१), साक्य मतको संस्थापक । र जे. श्रोङ खापा (१३५७—१४१९), गेलुक मतका संस्थापक हुन् । यसरी, तिब्बतमा बिकास भएका मतहरुलाई लामावाद भन्दछन् । ञिङम, कग्यु र शाक्य सम्प्रदायले रातो र गेलुक सम्प्रदायले पहिचानको लागि पहेलो रंगको टोपि लगाउछन् ।  
   
यसरी, महायानी परम्परामा बिकास भएको मतहरुलाई हेर्दा, तिब्बतमा ञिङम, कग्यु, साक्य र गेलुक सम्प्रदयको बिकास भएको देखिन्छ । अहिले आएर बोन सम्प्रदाय पनि थपिएको छ । कुनै समय लाङदर्म भन्ने राजाको पालमा बुद्ध धर्म विरुद्धमा बोन धर्मले टाउको उठाउने प्रयास भएको थियो । अर्थात लाङदर्म राजाले राजदरबारमा बुद्ध धर्मले धार्मिक शोसन गरेको हुनाले, उप्रान्त तिब्बतको राजकीय धर्म बोन धर्म हुने कुरा आदेश गरेको थियो । 
   
यो आदेशबाट गुम्बा र लामा गुरुहरु माथि अत्यचार हुन थाल्यो । त्यस बखतका चर्चित लामा ल्हालुङ पल्गि दोर्जे गुफमा साधना गरी बसेका थिए । उनका अनुयायीहरुले बृतान्त कुरा बताए पछि, लामा गुफाबाट सिधै उडेर राजदरवार पुगे । चर्चित लामा अचानक दरबार भित्र आएको देखेर राजा लाङदर्म हडबडाए । लामाको योग साधनाको अगाडि उनको सुरक्षाकर्मीहरु निस्कृय भएको कटु सत्य पनि उनले मनमनै स्विकार गरे । तर, उनी राजा भएकाले राजामा हुनु पर्ने अहंकार पनि प्रदर्शन गर्यो । तर, लामाको अगाडि उनको केही चलेन । लामाले उनलाई चेतवनी दियो कि, बुद्ध धर्मको बिरुद्धमा आदेश दिने राजाको एक हप्ता भित्र मृत्यु हुन्छ, लामाले भन्यो । लामा गुरुले योग सिद्धी प्राप्त गरेका थिए । उनको अगाडि राजा लाङदर्म पानी जस्तै सिथिल भए । एक हप्ता पछि उनी आफ्नो मातृभूमि आम्दो गए । सन् ८४२मा त्यही उनको मृत्यु भयो । 
   
लामा दोर्जेको जन्म ड्रोम्टो गुङमोचे, पूर्वि ल्हासामा भएको थियो । उनले युवा अवस्थामै अर्हत बिमलमित्रसंग दीक्षा लिएका थिए । उनी योग साधना र आकास मार्गबाट उडन सक्ने ऋद्धिबलमा प्रख्यात भए । उनी समालिङ गुम्बाको नवौं (महन्त) महागुरु थिए ।  केही इतिहासकारहरु के विश्वास गर्छन भने, लामा दोर्जेले छल गरेर तीर हानी राजाको हत्या गरेका हुन् । तर, यो कुरा सत्य होइन । गुरुको योग साधनाको प्रभाव देखेर राजा अत्यन्तै भयभित भएका थिए । यही भय उनको मृत्यको कारण बन्यो । यो घट्ना पछि सन् १९५९सम्म अर्थात १,११७ वर्षसम्म बुद्ध धर्मको अपार बृद्धि बिकास भयो । यो धर्म आज संसार भरी शान्ति र समृद्धिका लागि एकछत्र फैलिएका छन् । 
   
यसै गरी, चीनमा सिन, हन, चन, तिन्ताइ, सिन्तो, शिगाव, हाउयान आदि सम्प्रदायको विकास भएको देखिन्छ । जापानमा जेन बुद्धिजमका सम्प्रदायहरुमा रोकसु, जोतिसु, होस्सो, सन्रोन, केगोन, रिस्सु, कुशासु, तेन्दाइ, शिन्गोन, कामाकुरा, जोदोशु, जिशु, रिन्जाइ, सोतो, ओबाकु, फुकेशु, निचिरेन आदि रहेका छन् । यसैगरी, कोरियामा वोन बुद्धिजम । थाइलैन्ड, बर्मा, लवास, कम्बोडिया, भेतनाम, श्रीलंका र भारतमा दक्षिणी बुद्धिजममा मौलाएको थेरपाद र महास्थबीर परम्पराको प्रचलन रहेका छन् । समग्रमा अध्ययन गरी हेर्दा, बुद्ध वचनलाई पूर्विय समुदायमा धर्मको रुपमा धारणा गरेको पाइन्छ भने, पश्चिमी देशहरु विशेष गरी अमेरिकामा ‘उत्कृष्ट जिवन पद्धति’को रुपमा अभ्यास गरेको देखिन्छ ।
   
अब, हाम्रो राजधानी काठमाडौं उपत्यकाको आदिवासी नेवारी समुदायलाई पनि बुझ्ने प्रयास गरौं । नेवारी समुदायमा हिन्दु र बुद्ध धर्म दुबैमा आस्था राख्दछन् । बुद्धमा पनि हिनयान र बज्रयान प्रमुख रहेका छन् । बज्रयानलाई बज्राचार्यहरुले नेवारी संस्कारको आधारमा चलाएका छन् । बज्राचार्य भनेको बज्रयानको आचार्य हुन् । छोटकारीमा बज्राचार्य वा गृहस्ति भिक्षु पनि भनिन्छन् । यसलाई नेवारी बुद्धिजम भनिन्छ । उनीहरु एक आपासमा भात्रित्व, मैत्रित्व, सामाजिक सदभाव र सह–अस्तित्वलाई स्विकार गर्दै, मानसम्मान गर्ने गर्दछन् । यही कारणले गर्दा, नेवारी समुदायमा आन्तरिक खिचौलो र मतभेद खासै देखिदैन । 
   
यसरी, ञिङम परम्पराबाट आफ्नो मौलिक पहिचान झल्किने गरी झरेको ‘गुरुङ बुद्धिजम’ र बोन धर्म मान्ने ‘प्येल्हु संघ’ले पनि आपासमा भातृत्व, मै्रत्रित्व र सह–अस्तित्व स्विकार गरी भाषा र संस्कार जस्ता जातिय पहिचानको सवालमा सह–कार्यका लागि एउटै मञ्चमा उभिन आवश्यक छ । तर, कतिपाय सवालमा आपासी समझदारी कायम गर्नका लागि खेगी, पैडी, चोगीकोबीचमा प्राज्ञिक छलफल र सम्वाद हुन अत्यन्तै आवश्यक देखिन्छ ।

(क) ञिङम सम्प्रदायको गुरु परम्परा (लिनेज)लाई सरसर्ति हेर्दा, गुरुरिन्पोर्चे पछिको मर्यादा क्रममा नुब्चे सांगे येशे रिन्पोचे, टुम्ज शाङत्रोन, ड्रिमेड कुङ्ग, चासुम लिङप आदि गुरुहरुको तिथि मिति खोज्नेक्रम निरन्तर रहनेछ । रोङजुम चोगी जाङपो (१०४०–११५९), पत्रुल रिन्पोचे (१८०८–१८८७), डुडजाम लिङप (१८३५–१९०४), मिफन रिन्पोचे (१८४६–१९१२), डुड्जोम जिग्ड्रल येशे दोर्जे (१९०४–१९८७), दिल्गो खेन्चे (१९१०–१९९१), त्रुलशिक रिन्पोचे (१९२३–२०११), ताक्लुङ चेत्रुल रिन्पोचे (१९२६–२०१९), जुर्मे कुनजाङ वाङग्याल (१९३०–२००८), मिन्ड्रोलिङ ट्रिचेन (१९३०–२००८), डुड्जोम रिन्पोचे (१९८७), दिल्गो खेन्चे रिन्पोचे (१९८७), खेन्चेन पाल्देन शेरब (१९३८–२०१०), पेनोर रिन्पोचे (१९३२–२००९), काथोक गेशे रिन्पोचे (१९५४–२०१९), डो«गचेन रिन्पोचे (१९६४–२०१९), आदि रिन्पोचे गुरुहरु ञिङम परम्परामा आदरणीय रहेका छन् । 
   
ञिङम परम्परामा बज्रगुरु पद्मसंभाव पछिको चर्चित महासिद्धिगुरु पेनोर रिन्पोचे ९ज्ज् एभलयच च्ष्लउयअजभ० को जन्म मार्च २७, १९३२ मा तिब्बतको खाम क्षेत्रमा भएको थियो । उनको कुण्डलीको नाम द्रुब्वाङ पद्म नोर्बु रिन्पोचे हो । उनलाई पल्चेन दुस्पा र अर्हत बिमलमित्रको अवतारको रुपमा लिइन्छ । उनको पुर्ख कर्म थेग्चोङ ञिङपो हो । त्यस बखतको ञिङम परम्परामा उनले युवा अवस्थमै ख्याति कमाएका थिए । उनी पलयुर परम्पराको कर्म कुचेनको धर्माधिकारी, ११औं गद्दिसिन
                                   
तेस्रो पद्म नोर्बु र तेस्रो ञिङम परम्पराको प्रमुख भए । उनी पाँचौं ड्रोग्चेन रिन्पोच, थुब्तेन चोस्की दोर्जे, खेन्पो ङावङ पेलजेङ, थुब्तेन चोस्की दावा र कर्म थेग्चोङ ञिङपोको प्रशिक्षक थिए । उनले सन् १९८५ मा प्रथम पटक अमेरिकाको भ्रमण गरेका थिए । त्यस पछि सन् १९८८, १९९८ र २००२ मा पनि पटक पटक भ्रमण गरिरहे । यस दौरान, ओरेगन, क्यलिफोर्निय, न्युयोर्क, डीसी आदिको भ्रमण गरे । उनी ञिङम सम्प्रदायको प्रशिक्षक, अग्रगामी योगी, ऋद्धि र महासिद्धिगुरु थिए । उनको मृत्यु मार्च २७, २००९मा भारतिय समय अनुसार साँझको ९ः३० बजे, नामड्रोलिङ गुम्बा मैसुर, भारतमा भएको थियो ।  
                                       
४. गुरुङ बुद्धिजमको गुरुपरम्पराः
गुरुङ बुद्धिजमको गुरुपरम्परा कहिलेदेखि कसरी भयो भन्ने सन्दर्भमा भन्नु पर्दा, गुरुङहरुको माउ संस्था ‘तमू ह्युल छोँजधीँ’ (गुरुङ राष्ट्रिय परिषद)ले मिति २०७७ असार १३ गते शनिबारको दिन आयोजना गरेको तमू समुदायमा “खेगी, पैडी र चोगीको भूमिका” विषयक ‘जूम तमू सम्वाद’ श्रंखला सातौमा श्रोत व्यक्तिको रुपमा, नेपाल प्रज्ञा प्रतिष्ठनको उपकुलपति प्राज्ञ डा. जगमान गुरुङले उक्त लेकचर वा प्रवचनमा भन्नु भएको थियो । हाम्रो गुरुङहरुको तोताँ स्योताँ, स्रुति परम्परामा मन्यता के छ भने, ‘ख्होला–सोँपे्र–ठ्हो’मा ‘टु ख्लेपृ’को खे ‘ओनरे ख्लेपृ’ले तमू भाषामा भन्ने र थरी लामाका पुर्खा ‘ख्होइडु लामा’ले चाँहि भोटे भाषाको उमी लिपिमा लेख्यो भन्ने मान्यता रहेको छ । त्यसो भए पछि, त्यहाँ ‘ओनारे ख्लेपृ’ र ‘ख्होइडु लामा’कोबीचमा मित्रता र सहकार्य भयो । त्यसैले, ख्लेपृले जसरी जसरी आर्गु गर्छ, लामाले पनि त्यही अनुसार गर्दै आयो । जस्माः भाइ छोँस, म्हिन्कु, खेगी, मावली, म्हो, क्यक्या, ख्होक्यू, थोक्यू, अलँ, प्ल, क्रमू, क्रेगी, क्रसा, ह्रित्येँब, अस्तु ल्याउने, दौथर पढने, पच्युसंग मिलेर लास सेलाउने, स्यर्ग नाच्ने, आर्धु सेलाउने टचैँ गरी ख्लेपृको जस्तै गरी आर्धु (पए) हुन थाल्यो । 
   
यसरी, ‘ख्होइडु लामा’ले तिब्बती लामा बुद्ध धर्मलाई अध्ययन गरी आफ्नोपनमा ढालेर कसरी संस्कार गरेका थिए त ? त्यसलाई राम्रोरी बुझे पछि मात्र ‘गुरुङ बुद्धिजम’ भनेको के हो भन्ने बारेमा जानकारी हुन्छ । तिब्बती बुद्ध धर्म अनुसार लामा गुरुहरुले गर्ने कर्मकाण्डहरुलाई सर्लक्क अपनायो भने, त्यो ‘गुरुङ बुद्धिजम’ होइन । तर, तिब्बतियन बुद्धिजमलाई राम्रोसंग जानेर बुझेर, गुरुङको मौलिक संस्कार अनुसार गरिने कर्मकाण्डलाई ‘गुरुङ बुद्धिजम’ भनिन्छ । ‘ख्होला–सोँप्रेँ–ठ्हो’मा यही संस्कारको बिकास भयो । 
   
यही गुरुपरम्पराको निरन्तरताबाट गुरुङ समुदायमा बुद्ध दर्शनको गहिरो प्रभाव बस्यो । तर, त्यस बखत पढेलेखेका गुरुहरु थिएन । मौखिक रुपमा बाचन गर्ने परम्परा बस्यो । यसलाई पोँङब भनिन्थ्यो । ख्होइडु लामाको शेख पछि पोँङबको गुरुपरम्परा चल्दै आयो । 

ख्होइडु लामा पछि पैमऊँ ग्याल, चसँ, त्हक्र हुदै नाम ग्याल लामा नारफुमा पुग्यो । यही गुरुपरम्परालाई निरन्तरता दिन गुरुङ लामाहरु नारफु गएर लामा विद्याको अध्ययन गरी फर्कन्थे । यो क्रम संवत २०२७ सालसम्म कायमै थियो । यही गुरु चेला परम्पराको नाताले नारको सेठी लामा, लाठा लामा र रिन्चे पासङ लामा गुरुङ (नारफुमा प्रधान पञ्च थिए) उनको लमजुङ १० थर डाँडामा राम्रो यजमानी थियो । २०५६ मा क्यन्सरका कारण लमजुङ बेसीशहरमा देह त्याग गरे । 

५. ञिङम सम्प्रदायको प्रभावः
यसरी, तिब्बतमा बिकास भएको लामावादले ‘अप्पो दिपो भव संस्कार दर्पण बुद्ध दर्शन,’ भन्ने सिद्धान्तको जगमा लगभग हजार वर्षसम्म बुद्ध धर्मको संरक्षण गर्न सफल भए । तर, समय सधै एकनास हुदैन । सन् १९५९को मार्चमा १४औं दलइ लामा हजारौं तिब्बतियनहरु सहित भारत निर्वासन हुन वाध्य भए पछि हजारौ वर्षसम्म मौलाएको लामावादको जग हल्लियो । समय र परिस्थिति अनुसार तिब्बतियन लामावादले भारतको धरमशालामा स्थानीय हावापानी र धरातल सुहाउदो नयाँ ल्हासाको व्यवस्थापन मिलाएर विश्व शान्तिका लागि अभियान चलाए ।
   
यसरी, सन् १९५९ पछि बिभिन्न नाकाहरु हुदै तिब्बतीयन शरणार्थीहरु नेपाल झर्नेक्रम सुरु भयो । पोखराको पृथ्वीचोकको पश्चिम क्षेत्रमा तिब्बतीयन शरणर्थीहरुको बिशाल शिबिर थियो । यसरी, शरणार्थीहरु झर्ने क्रममा उनीहरुसंगै विद्धान लामाहरु पनि झरे । ती लामाहरु अधिकांश ‘ञिङम’ सम्प्रदायका गुरुहरु थिए । यही कारणबाट गुरुङ लामाहरुमा ‘ञिङम’ सम्प्रदायको प्रभाव भुसको आगोझै भित्रभित्रै सल्कियो ।

६. ञिङम सम्प्रदायको विशेषताः
अब ‘ञिङम’ सम्प्रदायको विशेषताको बारेमा पनि छोटो चर्चा गरौं । ‘ञिङम’ भनेको गुरुङ भाषाको माउ भाषा हो । अर्थात ‘ञिङम’ भन्नाले जेठो, प्रमुख, प्रधान, विशेष, उत्कृष्ट, मौलिक वा स्थानीय भन्ने भावार्थलाई बुझाउदँछ । मत वा सम्प्रदाय भनेको बज्रमहागुरु रिन्पोचे पद्मसम्भवले तिब्बतमा स्थापना गरेको सबैभन्दा जेठो स्कूल हो । यो मत स्थानीय बोन संस्कृतिमा आधारित मौलिक परम्परा र बुद्ध दर्शनको संगमबाट बिकास गरिएको स्थानीय मत हो । 
   
यो मतमा प्रवर्जित हुने लामाहरुले भिक्षु बाहेक साधारण अवस्थामै पनि ‘पञ्चशील’ ग्रहण गरी गृहस्ति भिक्षुकै अवस्थाबाट विद्धता प्राप्त गरी कर्मकाण्ड गर्दछन् । ज्ञानकाण्ड र कर्मकाण्ड दुबैलाई प्राथमिकता दिने यो मतको विशेषता हो । यो मतमा बुद्ध दर्शन बाचन गरी स्थानीय जात जातिको संस्कार र संस्कृति अनुसार कर्मकाण्ड गरिन्छ । ञिङम पनि प्रत्येकयान जस्तै हो । त्यसैले, अन्य मतहरु भन्दा, सजिलो र लोकप्रिय भएको पाइन्छ । 

७. पोँङब मतको लामाहरुको अवस्थाः 
अब, पुरानो पोँङब मतको लामाहरुको बारेमा पनि छोटो कुरा गरौं । पोँङब भनेको प्राकृतिवाद हो । गुरुङ भाषामा बोनलाई (पोँङब) भन्दछ । पोँङब भनेको मुखाकर रुपमा बाचन गर्ने स्रुतिवेद हो । संवत २०२७ सालसम्म गण्डकी प्रदेशमा यही परम्पराको संस्कार मौलाउँदै थियो । हामीहरु सबैलाई थाहानै छ कि, पोँङब मतको लामाहरुले पनि मुकुटको प्रतिक उग्र्यान लगाउद छन् । गुरुङ भाषामा यो उग्र्यानलाई (ह्रिङ) भन्दछ । यो (ह्रि) भनेको आत्मा हो, जहाँ परमात्माले बास गरेको हुन्छ । त्यही परमात्माबाट ज्ञानको प्रज्जवलित प्रकाशको उदय हुन्छ । अर्थात त्यही प्रज्जवलित प्रकाशको अर्को नाम हो ‘बुद्धतत्व,’ जहाँबाट ज्ञान, प्रज्ञा, करुणा र आनन्दको सितल लहर अविराल बग्दछ । ‘ङ’ भनेको पाँच हो । तर, यस प्रसंगसंग जोडिएर भन्नु पर्दा, लामाहरुले शिरमा लगाउने मुकुट, उग्र्यान (ह्रिँङ) पञ्च बुद्धको प्रतिक हो । जस्माः अशोभ्य पूर्व, रत्नसंभाव दक्षिण, अमितभ पश्चिम, अमोधासिद्धि उत्तर र वैरोचन केन्द्रमा मुखाकृत रहन्छन् । परम्परागत लामा र ख्लेपृ संस्कारमा (ह्रिङ) परम्परा यथावतै देखिएकोले दुवै खेगीहरुमा परस्पर सम्बन्ध एकदमै नजिक रहेको अनुमान गर्न सकिन्छ । यो ध्रुब सत्य हो । 
   
गुरुङको दाह संस्कार र पितृकार्य (पए) गर्दा काटमार गर्ने चलन थियो । समयको माँग अनुसार, पुरानो परम्पराका लामागुरुहरुले पनि चार आर्यसत्य, पंचशील, अष्टमार्ग र प्रतित्यसमुत्पादको मूल चुरी (कारण र परिणाम) बुझिसके पछि हिजो काटमार गर्ने लामाहरु पनि ञिङम मतमा प्रवर्जित हुन थाले । ञिङम मतको प्रचार प्रसार गरे तापनि गुरुङहरुले यसको वास्तविक चुरी बुझ्न सकेनन् । त्यसैले, परम्परागत लामा र ञिङम मतका लामाहरुबीच लामो समय शितयुद्ध चल्यो । तर, ञिङम मत सामाजिक मुल्य र मान्यता अनुसार रहेकोले गुरुङहरु शहरीयकरण हुने बखतमा यो मत एकदमै अनुकरणीय साबित भयो ।  

८. बसाइ सराइँको लहरः 
संवत २०३६ सालको जनमत संग्रह पछि गुरुङ समुदायमा पनि बसाइ सराइँको लहर चल्यो । समय अनुसार अवसरको खोजिमा शहरीकरण हुन थाल्यो । समय र परिस्थिति अनुसार गुरुङहरु शहर बजारमा बसोबास गरे तापनि आफ्नो संस्कृति र संस्कारहरु यथावतै राख्न खोजे । तर, बाजरको साँगुरो ठाउँमा कतिपय संस्कारहरु अनुकूल हुन सकेनन् ।    
   
उदाहरणकाः लागि बाजरको साँगुरो ठाउँमा बसेका परिवारले अन्त्येष्टि र पितृकार्य गर्दा, लामा कहाँ राख्ने ? अलँ कहाँ गाड्ने ? स्यर्ग कहाँ नाच्ने ? प्ल कहाँ नचाउने ? पाहुँनाहरु कहाँ राख्ने ? यावत कुराको समस्याहरुले गर्दा मावली, भाइभतहहरु र घरका चेलीवेटीहरु मात्र गुम्बामा गएर (पए) गर्ने परम्परा हुन थाले । समय र परिस्थिति अनुसार अन्त्येष्टि र पितृकार्य (पए) गर्दा, गुरुङहरुले चाहेर वा नचाहेर पनि यो संस्कारको अवलम्बन गर्नु पर्ने बाध्यात्मक अवस्था श्रृजना हुन आयो । यो अवस्थाले गर्दा, प्रचलित मतले गुरुङ समाजमा सामाजिक मान्यता प्राप्त ग¥यो । 

९. गुरुङ बुद्धिजमको विशेषताः
अब ‘गुरुङ बुद्धिजम’को विशेषताको कुरा गर्दा, बुद्ध धर्मको महायानी मार्गमा सयौं सम्प्रदायहरु छन् । प्रत्येक सम्प्रदायले पूजापाठ गर्दा, आ–आफ्नै बिधिबिधान अनुरुप गर्दछन् । यसैगरी ‘गुरुङ बुद्धिजम’को पनि आफ्नै पद्धति छन् । यसमा सर्वप्रथम आफ्नै (खे)पितृ र (मा)मातृलाई बन्दना गरिन्छ । त्यसपछि आफ्नो कुलदेवता, इष्टदेवता, कोँरुँब, त्हङेदेवता, ह्योँदेवता, सिद्धिदेवता र आफुले निवास गरेको स्थानको आसपासमा रम्ने बस्ने सिल्दो, नाल्दो, थाने, माने, देवी, देवता, देउराली, भयारी, नाग, नागिनी, यक्ष, गन्दर्भ, किन्नर देवपित्र, इष्टमित्रहरु र छरछिमेक सबैलाई पुकारी अर्घम, पुष्पम, धूप्पम, दीपम, नैवेतम, सर्व परिकार महापञ्च अमृत स्वाहा भनि नमन गरिन्छ । सबैलाई यथास्थानमा सम्मान गरिन्छ । गुरुङहरुको कुल परम्परामा यही चलन छ ।   
   
मैले यो कुरा किन गरेको हो भने, म बुद्धको कारणले जन्मिएको होइन ? यसको अर्थ, मैले बुद्धको चरित्र, प्रज्ञा, शील, समाधि, ध्यान र विशेषतामा प्रश्न उठाएको पनि होइन । तर, कुन व्यक्ति कुन जात वंशको हो ? उनले आफ्नो कुल परम्परा कसरी मान्छन् ? यो उनको व्यक्तिगत कुरा हो । वंश परम्परामा भर पर्ने कुरा हो । यो कुरा त घाम जस्तै सत्य हो । जून जस्तै शितल हो । पानी जस्तै तरल हो । धाँस जस्तै हरियो हो । सबैले मनन गर्ने पर्छ ।  

म कुन समयमा, कुन कुलमा जन्मिएको थियो ? त्यो मेरो इच्छा अनुसार भएको थिएन । परिस्थितिको मिलन बिन्दु थियो । तर, जहाँ म जन्मिए उनैलाई मैले माता पिता माने । उनैको कुलमा मेरो परिचय भयो । उनको सामाजिक र आर्थिक हैसियत के थियो ? मैले प्रश्न उठाउन मिल्दैन । किनभने, उनैको कारण मेरो जन्म भयो । नौ महिना पेटमा, नौ महिना अंगमा र नौ महिना काखमा हुर्किएर अमृत सेवन गरेको हुँ । यो सबै कुरा मैले कसरी बिर्सिन सक्छु ? मैले यो कुरा बिर्सिए भने, म अहिले सिधै नरक भासिन्छ । ममा मानवता समाप्त हुन्छ । चेतना शुन्य हुन्छ । पशुत्वमा झर्छ । अनि फेरी यो सबै कुरा गर्नुमा कुनै तुक रहदैन ।                                       
   
मेरो कुरमा केही दम छ भने, मनन गर्नु होला । आज म जुन स्थानमा छु, मेरै माता, पिता, कुल, भाइ खलक, मावली, फुपूचेली, दिदीबहिनी, इष्टमित्र, कुलकुटुम्ब, नातागोता, छर छिमेक र प्रथम गुरुको कारणले हो । वहाँहरुनै मेरो वास्तविक धरातल हो । यसलाई मैले कोटीकोटी बन्दना गर्छु । मैले बुद्धको दर्शन त सुनेको थिए । तर, प्रत्यक्ष रुपमा त पचास वर्षको उमेरदेखि मात्र संगत गर्न थाले । बुद्ध वचन सत्य रहेछ । तर, पूर्ण सत्य चाहि होइन रहेछ । किनभने, आधा संसार त उनको बिचारसंग सहमत छैन नि ? 
                                  
मैले पनि त पचास वर्षसम्म मेरै माता पिताको आड भरोसामा उभिएर यहाँसम्म आए ! यसको मुल्य र मान्यता खोइ ? पुत्रपुत्री प्रतिको वहाँहरुको लगानिको प्रतिफल खोइ ? त्यसैले, यदि पूर्ण सत्य कहीकतै केही छ भने, मेरो लागि मेरो माता र पिता बाहेक अरु कोही पनि हुन सक्दैन । यो कुरा मृत्य जतिकै सत्य हो । त्यसपछि त्रिरत्नको बन्दना गर्दछु । किनभने मैले बुद्धलाई भगवान हैन, गुरु मानेको छु । इष्ट मानेको छु । त्यस पछि ख्होइडु लामाको बन्दना हुन्छ । किनभने, ख्होइडु लामा ‘गुरुङ बुद्धिजम’को प्रथम गुरु हुन् । त्यसैले, उनको बन्दना गरे पछि मात्र अरु पूजापाठको बिधि आरम्भ हुन्छ । 
   
गुरुङ बुद्धिजममा जिवित र मृत गरी दुइ अवस्थामा कर्मकाण्ड गरिन्छ । जस्तैः जिवित कर्महरुमा न्वारन, क्षेवर, पुटपुटे, गुन्यूचोली, विवाह, घरपैचो, खेमा नाँब (स्याउ थेँब), फैलु नाँब, ह्योँ नाँब, ह्राँह्रीत्हेँ आदि प्रमुख रुपमा गरिन्छन् । यी पूजाहरुको आ–आफ्नै आवश्यकता र महत्व रहेका छन् । यस बाहेक, मृतकको नाउँमा परम् आनन्दको अनुभूति होस् भन्नका लागि पितृलोकको कामना गर्दै, मृतकको नाउँमा पितृकार्य (पए) अन्तिम श्रद्धान्जली गरिन्छ । यस कार्यमा लामाहरुले बौद्ध दर्शनमा आधारित सूत्रहरुको पाठबाट स्वस्ति शान्ति गर्दछन् । तर, संस्कारको हकमा भने गुरुङ संस्कार अनुसार गर्ने गर्दछन् । (पए) भनेको मृतात्मालाई पवित्र गर्ने धार्मिक प्रकृया हो । 
   
आजभोली च्याङबर जलाउने र टुन्डा गर्ने चलन पनि देखिएको छ । यस बारेमा खेगी, चोगी र पैडीहरु बसेर छलफल हुनु पर्छ । यहाँनिर हामीहरुले स्पष्टसंग बुझ्नु पर्ने कुरा के छ भने “बुद्ध दर्शन भित्र गुरुङ संस्कार होइन, गुरुङ संस्कारलाई आवश्यक पर्ने सूत्रहरु वाचन गरी, संस्कार गर्ने ‘गुरुङ बुद्धिजम’को मौलिक परम्परा हो । यसमा खेगी, मावली, भाइभतह, छोरीचेली, म्हो, मबु चिरेर सगुन हेर्ने, स्यर्ग, क्रसा, क्रमू, क्रेगी, प्ल, अलँ, दौथर पूजा र सुद्धि गर्ने आदि गरिन्छ । यसरी स्थानीय संस्कारहरुको आधारमा कर्मकाण्ड गर्दा, गुरुङको मौलिक पहिचानको संरक्षण पनि हुने र बुद्ध दर्शनको बाचन पनि हुने भएकोले छापावाला सुनबाट आफ्नो चाहना अनुसारको गहना बनाए जस्तै उत्कृष्ट उपलब्धि हुने अवस्था देखिन्छ । 
   
यसबाट के पुष्टि हुन्छ भने, संस्कार र दर्शनको संगमबाट एउटा नविन बिज्ञानको उत्पति हुन्छ । जसमा ज्ञान, बिज्ञान र मनोबिज्ञान सहित पूर्णरुपमा समावेश गरिएको हुन्छ । यसरी उपयोग गर्दा, त्यसबाट प्राप्त हुने उत्कृष्ट गुण र स्वभावलाई धर्मको रुपमा धारणा गर्न सकिन्छ । यसरी, स्थानीय मतको महत्व दिने अवस्थाहरु महायानी मार्गको उत्कृष्ट विशेषता हुन् । त्यसैले, २१औं सताब्दीको सभ्य गुरुङ समूदायका लागि यो ‘गुरुङ बुद्धिजम’को मौलिक भावना समय सापेक्ष छ कि छैन ? खेगी, पैडी र म्हिक्रेँ चोगीहरु बसेर छलफल गर्न आवश्यक देखिन्छ ।  

(क) गुरुङ बुद्धिजमको गुरुपरम्पराः 
गुरुङहरुको सामाजिक सभ्यताको केन्द्र भनेर परिचित ‘ख्होला–सोँप्रे–ठ्हो’बाट परम्परागत रुपमा अबिछिन्न चलेर आएको ‘गुरुङ बुद्धिजम’को आदिलम ख्होइडु गुरुको गुरुपरम्पराबाट झरेका लामा गुरुहरु निम्न अनुसार रहेको बिभिन्न माध्यामबाट बुझ्न आएको देखिन्छ । 
   
आदिलम ख्होइडु गुरुङ, ख्होला–सोँप्रे–ठ्हो । पैमऊँ ग्याल, ख्होला–सोँपे्र–ठ्होबाट (लमचुँ) लमजुङ । लम (नम) चसँ गुरुङ, पैगीलामाको खे लमजुङबाट नम्जु, कस्की गएको । लम त्हक्र ग्याल गुरुङ, पोँजुकोँ, (लमचुँ) लमजुङ । लम नाम ग्याल गुरुङ, लमजुङबाट नारफु, मनाङ गएको । लामा सेठि पासङ लामा गुरुङ नार, मनाङ । लामा लाठा पासङ लामा गुरुङ नार, मनाङ ।  लामा सुब्बा शेरजंङ गुरुङ, मन्जङ, लमजुङ । लामा रिन्चे पासङ गुरुङ, (पूर्व प्रधान पञ्च, नारफु गाउँ पञ्चायत), मनाङ । लामा खबेल मान गुरुङ नजरे, लमजुङ (१९४७–२०२१), वरिष्ट लामा सिँह बहादुर गुरुङ पुमा, लमजुङ, (००००), तीनपुस्ते अवतारी लामा बुद्रिमान गुरुङ, रापासिँ, लमजुङ (१९७९–२०२४), (१८०० खोला, चामे र रापसिँ), लामा सन्तोक गुरुङ लामागाउँ, लमजुङ (००००), लामा छ्यलाँ गुरुङ हिले, लमजुङ (००००), लामा बालसिँ गुरुङ (पूर्णे लामा) ताङतिङ, कास्की (००००), लामा बिर गुरुङ, ताङतिङ, कास्की (००००), लामा ओम गुरुङ, ताङतिङ, कास्की (००००), लामा उमर बहादुर कपुर गाउँ, लमजुङ (००००), लामा गोपि गुरुङ बेसीसाम्रो, लमजुङ (१९८९–२०५७), लामा कर्म ह्रप्तेन गुरुङ, प्रमुख ह्युल्स ह्योँ गुम्बा, बेसीशहर (१९८८–२०६६), लामा उमर गुरुङ, प्रमुख बौद्ध आर्धो सदन, रामघाट, पोखरा (००००), आदि लामा गुरुहरु ‘गुरुङ बुद्धिजम’को गुरुपरम्परामा आदरणीय रहेका छन् । आदिलम ख्होइडु लामा गुरु पछिको गुरुङ लामा गुरुहरुको नाम, थर, वतन र अन्य बिवरणहरुको लागि बिभिन्न अध्ययन अनुसन्धान हुदैछ । स्रोत प्राप्त भए पछि वहाँहरुको बिवरण क्रमश थपिदै लगिने छ ।                                      

१०. गुरुङ बुद्धिजमको सिताँः
गुरुङहरुको मौलिक संस्कार अनुसार गरिने पितृकार्य ‘पए’मा मावलीबाट अन्तिम श्रद्धान्जलीको लागि आएको क्रमूक्रेगी (आस्योँप्युरी) जसलाई सर्वप्रथम, म्होले स्पष्ट गरी (सिताँ)मा फलाक्नु पर्छ । म्हो (ज्वाइ)ले नजानेको अवस्थामा उनको अनुमतिले अरु जान्ने बुझ्ने मानिसले पनि फलाक्न सक्दछ । गुरुङ बुद्धिजमको लागि सिताँ फलाक्दा— यो क्रमूक्रेगी र अस्योप्युरीको सथमा तिम्रो फलन मावलीले ल्याएको सगुन भोकलाग्दा खानु, तिर्खलाग्दा पिउनु, जाडोहुँदा ओड्नु, थकाइलाग्दा बिसाउनु, डरलाग्दा साथी गर्नु, आँध्यरोहुदा उज्यालो गर्नु र बाटो नपाउँदा सोध्नु । यो अस्योँप्युरीको पुण्यको प्रभावले, बाटोमुनी बाटोमाथि नअल्मलिकन सरर पितृलोक गएर आफ्नो मातृ पितृहरुसंग झ्याम्मिन जानु । तिम्रो कर्म फलले गर्दा, कदम कदाचित पितृलोक जादा कुनै बाधा अड्चन भएमा भूत, प्रेत, पशु, र पिचास योनिमा जन्म लिन नजानु । यदि जन्म लिने तृष्णै भएमा आफ्नै कुलमा पुनः जन्म लिन आउनु आमा वा आपा रिन्पोचे भनि सगुन चढाउद छ । 

यो (सिताँ) भनेको मृतकको आत्माले पुण्य प्राप्त होस भनि निर्वाणको कामना गर्दै फलाक्ने सूत्र हो । यसरी, फलाकेर दिवंगत पितृलाई पुनस्मरण गराएर वैकल्पिक मार्गको चयन गराउने ‘गुरुङ बुद्धिजम’को मौलिक विशेषता हो । यही विशेषताको कारण ‘गुरुङ बुद्धिजम’ पृथक भएर पनि मौलिक रुपमा उत्कृष्ट मानिएको हो । यही उत्कृष्टताको कारण गुरुङ समुदायमा अविछिन्न मौलाउदै आएको छ । 
   
आर्को व्यवहारिक कुरा के छ भने, भुमण्डलिकरण्को प्रभावमा परेका एकल गुरुङ परिवार जहाँ दाह संस्कारको समयमा लामा उपलब्ध हुन नसक्ने अवस्थामा पैडी र चोगीले पनि उपरोक्त ‘गुरुङ बुद्धिजम’को (सिताँ) बाचन गरी तत्कालिन अवस्था हेरी अर्घम, पुष्पम, धुपम, दीपम, नैवेतम सर्वपरिकार महा पञ्च अमृत स्वाहा । यति (सिताँ) बाचन गरी अन्तिम दाह संस्कारको कार्य गर्न सकिन्छ । यसरी, दाह संस्कार गर्दा, कपाल, दाह्रिजुंग र आाखिभौ काट्ने । यति कार्य सम्पन्न भए पछि भोलिपल्ट अस्तुधातुलाई मावलीको साथमा पवित्र नदीमा सेलाउँने । तेश्रो दिनमा चोख्याउने । चोख्याएको दिनदेखि यो पवित्र ग्रन्थ ‘गुरुङ बुद्धिजम’ पढने । यो पढेपछि भवसागरको कुरा बुझिन्छ । बुझे पछि तिमी फेरी झलस्य बिउझिने छ । बिउझिए पछि के गर्ने ? के नगर्ने ? के राम्रो के नराम्रो ? कत्र्तव्यको जानकारी हुनेछ । फेरी पनि सामाजिक सदभावलाई सन्तुलन बनाउनका लागि अनुकुलता हेरी गुम्बामा गएर पितृको नाउँमा लाख बात्ति बाल्न सकिन्छ । मूल कार्य भनेको यति मात्र हो । 
   
गुरुङको पुरानो चलन अनुसार पितृ कार्यको अन्तिम कर्म (पए) गरेर कुलेबृद्धि लोकेकृति गर्ने भनिन्छ । तर, २१औं सताब्दीको परिवेशमा छोटो, मिठो, सजिलो र समय सुहाउदो ‘गुरुङ बुद्धिजम’ अभ्यास गर्दा उपयुक्त हुन्छ । किनभने, पितृ कार्य (पए) गरे मात्र स्वर्ग जाने, नगरे नरक जाने, यो कुरा सत्य होइन । आस्था, श्रद्धा र विश्वासको भरमा मात्र संसार चल्दैन । प्राज्ञ डा. जगमान गुरुङको भनाइ अनुसार (रहिव्या रहिकिर्या) गुरुङको संस्कारमा विवाह र पितृकार्य (पए) गर्न चाहेमा जतिखेर पनि गर्न सकिन्छ । यही सुगमता ‘गुरुङ बुद्धिजम’को विशेषता हो ।                                            
                                     

११. विद्यमान अवस्थाः
अहिलेको विद्यमान अवस्थमा नयाँ पुस्ताका हाम्रा पुज्यनिय लामा गुरुहरुले पनि विशेष कखग सम्प्रदायबाट उच्च शिक्षाको दीक्षा लिएर आउनु भएका छन् । विद्धता र प्राज्ञिकता हाँसिल गर्नु भएको छ । गुरुङ समुदायको लागि यो अत्यन्तै सुखद अवस्था हो । तर, कुन लामाले कुन चाँहि सम्प्रदायबाट दीक्षा दिएका हुन् । कुन चाँहि हिदम खेलाएका छन् । कुन चाँहि मोलम र सूत्रको पाठ गरेका छन् ? त्यो विषयमा दाताहरुलाई जानकारी पनि हुदैन । चासो र सरोकार पनि छैन । किनभने ‘गुरुङ बुद्धिजम’को लागि निश्चित पाठ्याक्रम पनि निर्धारण भैसकेको छैन । तर, मत ञिङम परम्पराबाट झरेको हुनाले, ‘दोमाङ’मा रहेका उत्कृष्ट सूत्रहरु जस्तैः दीर्घायु सूत्र, रत्न सूत्र, मंगल सूत्र, भुमिदान सूत्र, भेडा पालन सूत्र, नाग सूत्र, दुर्गति सूत्र, पाप देशना सूत्र, प्रज्ञापारमिता सूत्र र महामारी सूत्र आदि महत्वपूर्ण छन् । यस विषयमा छलफल गरी सकार्न सकिन्छ ।       
   
आज भोली, हाम्रो समुदाय र सामाजिक सञ्जालमा बारम्बर के कुरा सुनिरहेको छ भने, पितृपूजा (पए) वा अन्य कर्मकाण्डहरु गर्दा, यो गर्नु पर्दैन, त्यो गर्नु पर्दैन, कपाल खुर्काउनु पर्दैन, मोर मिछाँ गर्नु पर्दैन । मावली, चेलीवेटी, म्हो चाहिदैन, प्ल गर्नु पर्दैन, ७ दिन भन्दा पहिले च्याङबर जलाउन हुदैन । मुुर्छमा हुन्छ । सातसात दिनमा टुन्डा गर्नु पर्छ, ४९ दिन भित्र पितृपूजा समापन गरिसक्नु पर्छ आदि आदि भनेर बन्देज गरिएको पनि सुनिन्छ । के यो कुराहरु वास्तवमा गर्न नहुने काम कुरानै हुन् त ? अथवा गर्न हुदैन भनेर कुनै सूत्रमा उल्लेख गरिएको छ ? वा गर्यो भने के हुन्छ ? पितृलोक जान्छ वा मत्र्यालोक जान्छ ? यसको प्रमाण कोसंग छ ? मेरो जिज्ञास के हो भने, “गुरुङको सामाजिक संस्कारको लागि खेगी हुन् कि ? खेगीको लागि सामाजिक संस्कार हो ?” यो कुरा मैले अलि बुझ्न सकेको छैन । 
                                   
यस सन्दर्भमा मैले लेखेको सबै कुराहरु ठिक हो भन्न खोजेको पक्कै पनि होइन । हामी ‘बुद्धिजम’मा आस्था राख्ने आस्थवान कल्याण मित्रहरु मिलेर थपघट गरी हामीलाई चाहिने जतिको बाना मिलाएर राख्न सके हाम्रो ‘गुरुङ बुद्धिजम’ उत्कृष्ट मत बन्न सक्दछ । यो हामी सबैको साझा दायित्व हो । यसमा हामी चुक्न हुँदैन । मैले त, आदिलम ख्होइडु गुरुबाट चलि आएको गुरुपरम्परालाई क्रमवद्ध रुपमा उठाउन मात्र खोजेको हुँ । मैले कुनै व्यक्ति वा समुदायलाई होच्याउने, घोच्याउने र प्रतिशोधको भावनाबाट अभिप्रेरित भएर लेखेको होइन । यदि कसैलाई कहिँ कतै चोट पुग्न गएमा क्षमा प्रार्थी छ । 

१२. अवतारको अवधारणाः
अवतार भनेको पुनस्मृति हो । अर्थात पूर्व जुनिको कुराहरुलाई पनि पुनःस्मरण गर्न सक्ने अद्धितिय प्रणाली हो । यसलाई साधरण भाषामा पुनर्जन्म भन्दछ । तिब्बतियन लामावादमा आधारित भार्दो (प्हर्दो)को सिद्धान्त अनुसार आत्माले शरीरलाई त्यागे पछि ४९ दिन भित्र कुनैन कुनै योनिमा अर्को रुप धारण गरिसकेको हुन्छ । 
   
यसरी, रुप धारणा गर्नु भनेको अवस्थाहरुको परिवर्तन हुनु हो । जस्तै उएटा बीज माटोमा झरे पछि केही समय माटो भित्रै विभिन्न रंग र अवस्थाहरुमा परिवर्तन हुन्छ । त्यसपछि, सानो टुसाको रुपमा उम्रदै आउँछ । त्यस समयको माटो, हावा, पानी र तत्कालिन समय, परिस्थिति अनुसार विरुवाको अवस्थामा क्रमिक विकास हुँदै आउछ । यसलाई नै व्युत्पतिको नियम भन्दछ । यही व्युत्पति अवतारको अवधारणा हो ।     
   
यसरी विरुवाको विकासक्रममा पनि विभिन्न अवस्थाहरुको रुप धारण गर्दै जान्छ । समय अनुसार विरुव वृक्षको अवस्थमा बिकास भए पछि, निश्चित समय भोग गर्छ । ऋतु अनुसार बृक्षमा पूmल फुल्छ, खेल्छ र त्यसबाट पुनः बीजको विकास हुन्छ र माटोमा झर्छ । परिपक्क भएका बीजहरु ऋतु अनुसार फेरी नयाँ अवस्थाको बिकास हुदै आउछ । 
   
त्यो रुखले एउटा निश्चित समयको भोग पुरा भए पछि बुढो रुख आफै ढल्छ वा ढालिन्छ । रुखले मुढाको रुप लिन्छ । त्यसलाई आवश्यकता अनुसार टुक्राइन्छ । उत्कृष्ट गुण र खोट नभएका सग्लो भागलाई थाम, दलिन, सरा, भाटा, फाटा र फलेगको रुपमा तैयार गरिन्छ । ती फलेगलाई आवश्यकता अनुसार स–साना भागमा टुक्राएर फर्निचर, फिक्सचर र सजावटका लागि कला कृतिहरुको आकार प्रकारमा बिभिन्न वस्तुहरु उत्पाद गरिन्छ । बाँकी रहेका शेष भागहरु चारकोल र इन्धनको रुपमा प्रयोग गरिन्छ । इन्धनबाट खरानीको रुपमा परिणत हुन्छ । खरानी माटोमा मिल्छ । यसबाट पुनः बिरुवा उत्पादन गर्न उर्जा दिन्छ ।                                       

यसरी, प्राकृतिको जिवन चक्रको सिद्धान्त अनुसार माटोबाट उम्रिएको रुख कालान्तरमा माटैमा विलाउँछ । एवं रीतले रुप र अवस्थाको विकास निरन्तर भैरहन्छ । यसरी, नै आत्माले पनि एउटा शरीरलाई निश्चित समय भोग गर्छ । भोग सकिए पछि त्यो शरीरलाई त्यागेर दियोको रुपमा उड्दै अर्को शरीरमा प्रवेश गर्ने अनुकुलता खोज्छ । यसरी, अनुकुलता खोज्ने क्रममा समय र परिस्थिति अनुरुप नयाँ रुप र अवस्थाको बिकासक्रम निरन्तर भैरहेका हुन्छन् । तर, हामीले यी अवस्थाहरुको वारेमा सुष्म अनुभव गर्न सकिरहेको हँुदैन । त्यसैले, हामी मानव भएर पनि मानविय बिकास क्रमको शुष्म अवस्थाहरुलाई स्पष्टसंग बुझ्न सकेको हुँदैन । 
   
यही हो अज्ञानता भनेको । तथागत बुद्धले पूर्वानुस्मृति र व्युत्पतिको मूल सारमा यही कुरालाई बारम्बार दोहोराउनु भएको छ । यसै प्रशंगलाई आधार मान्दै महाजातकको कथालाई पनि उजागार गर्नु भएको छ । महाजातकमा हजार जातक कथा छ । ती सबै बुद्धको पूर्वजातक कथाहरु हुन् । कतिपाय आलो काँचो दार्शनिकहरुले पुनर्जन्म वा अवतारमा प्रश्न उठाउनु भएको छ ? तर, ध्यान र साधनाबाट समाधिको नजिकै पुगे पछि सबै प्रश्नको उत्तर पाउनु हुने छ ।  
   
यसरी भवसागरको अटुट चक्रको नियमलाई गहिरिएर हेर्दा, आत्माले एउटा शरीर त्यागेर अर्को शरीरमा प्रवेश गरी समय अनुकुल रुप र अवस्थाको बिकास गरिरहेको हुन्छन् । यस अर्थमा हेर्दा, प्रत्येक मानिसको पुनर्जन्म भैरहेको हुन्छ । तर, सचेत अवस्थामा हुँदाहुँदै त्यो जीवात्मा कतै नबिसाइकन सिधै नयाँ शरीरमा प्रवेश भयो भने, त्यो शिशुको शारीरिक एवं बौद्धिक बिकासको साथसाथै पुनर्जन्मको कुराहरु पनि बिस्तारै स्मरण हँुदै आउँछ । यो ध्रुब सत्य हो । 
                                      
यसरी, पुनर्जन्मको कुरा स्मरण हुने मानिसलाई अवतार वा पुनर्जन्म लिएको भनेर भन्दछन् । सर्वसाधरण मानिसहरुले पुनर्जन्म लिएको हुन्छ । तर, महात्माहरु, ठूला धर्मगुरुहरु र लामागुरुहरुले अवतार लिएको भनिन्छ । बोधिसत्वहरुले महाअवतार लिएका हुन्छन् । यसरी, पुनर्जन्म र अवतारको अवधारणामा विद्धत्ताको मात्र फरक हुन्छ । मूल भाव र सार तत्वमा केही फरक हुँदैन । 
   
एक छिन सोँच्नुहोस् कि तपाइँ रातभर सुतेर बिहना उठे पछि, हात मुख धोएर ध्यानमा बस्नुहोस् । अनि हिजो दिनभर आफुले गरेका कामहरुलाई राम्रोसंग नियालेर एक पछि आर्को गरी, बिस्तारै संझनु होस् त ? तपाइँले पूर्ण रुपमा स्मरण गर्न सक्नु हुन्छ । तर, कुनैकुनै घटनाहरु भने पूर्ण रुपमा स्मरण नहुन पनि सक्दछ । किनभने यी सबै स्मरणहरु समय र अवस्थामा निर्भर रहने गर्दछन् । कुनै पनि काम भैरहेको अवस्थामा कर्ता पूर्ण रुपमा सचेत भएको हुनु पर्छ । सचेत नभएको अवस्थामा गरिएका क्रियाहरुको ठिक ठिकसंग स्मरण नहुन पनि सक्दछ । 
   
अवतारमा पनि यही क्रियाहरुको प्रभाव रहन्छन् । भवसागरको चक्र प्रणालीलाई अध्ययन गरी हेर्दा, प्रत्येक मानिसले पुनर्जन्म लिएकै हुन्छ । फरक भनेको स्मरण र विस्मरण मात्र हो । तुशिता भुवनमा निवास गर्ने ‘श्वेतकेतु’ बोधिसत्वले पनि यही अवस्थामा लुम्बिनी शालाबागमा महामायाको कोखबाट बुद्ध अवतार लिएका थिए । गुरुङ बुद्धिजमको अवधारणा कस्तो लाग्यो ? प्रस्तुत विषयमा कहिकतै कुनै कमि कमजोरीहरु रहेमा विद्धान पाठकहरुले मन खोलेर प्रतिकृया लेख्नु होला । यहाँको प्रतिकृया महत्वपूर्ण रहनेछ ।  

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
Last up date on Sep 14, 2020.



SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.