Traditional Gurung culture, Nwaran.

गुरुङको मौलिक संस्कारः

गुरुङको मौलिक संस्कार अनुसार गरिने न्वारन, अन्नप्राशन, ब्रतबन्धन, गुन्यू चोली, पुटपुटे र घरपैचो आदि ।  

choga DB Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, (गुरुङको मौलिक संस्कार अनुसार गरिने न्वारन, अन्नप्राशन, ब्रतबन्धन, गुन्यू चोली, पुटपुटे र घरपैचो) आदि  शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ समुदायमा यो मौलिक संस्कार किन र कसरी गरिन्छ भन्ने विषयमा यो लेख मार्फत संक्षिप्त जानकारी हुने छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

नेपालका जात जातिहरु मध्येमा गुरुङको परम्परागत रुपमा रहेको मौलिक सांस्कृतिको पृष्टभूमिलाई अध्ययन र अनुसन्धान गरी हेर्दा, अलि पृथक मात्र होइन, अत्यन्तै समृद्ध रहेको पाइन्छ । जस्मा रोधीँ गीति काव्य घाँटु, सोरठी, नौगर, हुरी, चाड, पर्व, हट बजारमा दौतरी मिल्ने युवा युवतीहरुबीच दोहोरी गीत गाउँने, आपासी सदभाव बृद्धि गर्ने र पूmपु चेली र मामा चेलाबीच वैवाहिक सम्बन्ध हुन सक्ने यी जातिहरुको मौलिक विशेषता रहेका छन् ।       
   
१. न्वारन (मीँत्यैब):
न्वारनलाई गुरुङ भाषामा मीँत्यैँब भन्दछन् । मानिस सामाजिक प्राणी भएको हुनाले आपासमा चिनजान गर्नका लागि सबभन्दा पहिले नामबाट परिचय गरिने भएकोले आमाको कोखबाट जन्मिए पछि सर्वप्रथम मीँत्यैँब क्रिया गरिन्छ । यो क्रियालाई आफ्नो कुल परम्परा अनुसार तीन, पाँच, सात वा नौ दिनमा गरिन्छ । यो चोख्याउने क्रियालाई नै न्वारन भन्दछन् । प्रत्येक समाजमा न्वारनको प्रकृया हुन्छ । तर, जातीय संस्कार र संस्कृतिको आधारमा विभिन्न नाम, संस्कार र बिधिबिधानमा भने फरक हुन सक्दछन् ।    
   
सबभन्दा पहिले सामग्रीहरु तयार गरिन्छ । सामग्रीहरुमा एक मानाको भात पकाएर कुल देउताको नाउँमा हिदम् ‘कैँदु’ वा तोर्मा बनाउने र थालमा राख्ने । थालको वरपर फलपूmलहरु राख्ने । हिदम् कैँदुको धाँटीमा एउटा रिपु र चारवटा तुनु राख्ने । एउटा लोटामा चोखो पानी तयार पार्ने । अब सामग्रीहरु तैयार पारिसके पछि बच्चालाई चोखो पानीले नुहाइ दिइ पूर्व दिशातिर फर्काएर तीन पटकसम्म ‘थरोथरो’ भनेर सुर्यको दर्शन गराउनु पर्छ । यसो गराउनुको अर्थ सुर्यको तेज जस्तै ओजपूर्ण र पराक्रमी हुन सकोस भन्ने मान्यता रहेको पाइन्छ । 
   
त्यस दिनमा लम, लामा, ख्लेप्रेँगुरु बोलाई स्वस्ति शान्ति गर्ने । गुरुहरु उपलब्ध हुन नसके घरको मूलीले कुल देवताको स्वस्ति वाचन गरी सुनपानी आदि छर्काएर घर शुद्ध गर्ने । त्यसपछि, कन्याहरुलाई सेतो टीका लगाइ दिइ दक्षिणादि प्रदान गर्ने ।

यति काम भैसके पछि पुरोहितले शास्त्रबाट बच्चाको नाम जुराउँछ । नाम जुराए पछि पहिलो पल्ट आमाले जुराएको नामबाट बच्चालाई बोलाउँनु पर्छ । त्यस बखत पुरोहित उपलब्ध हुन नसके उपनाम राखेर पनि बोलाउनु पर्छ । त्यसपछि, सबैले त्यही नामबाट बोलाउनु पर्छ । नामाकरणको काम सकिए पछि दीर्घायुका लागि घाँटीमा रिपु, हात खुट्टामा तुनु लगाइदिने र नाक कान छेड्ने काम पनि गर्न सकिन्छ । यति कार्य सकिए पछि हिदम् कैँदु प्रसादका रुपमा खाने । गुरुङको परम्परागत मौलिक संस्कारमा यसरी ‘मीँत्यैँब’ क्रिया सम्पन्न गरिन्छ । त्यस पछि साधारण चियापान, जलपान र खानपिन गरी हर्ष र उल्लासकासाथ रमाइलो कार्यक्रम पनि गर्न सकिन्छ ।  
   
२. अन्नप्राशन (कैँइत्यैँब):
अन्नप्राशनलाई गुरुङ भाषामा (कैँइत्यैँब) भन्दछन् । गुरुङको रीतिथितिमा बच्चा जन्मिए पछि छोरीको भए पाँच महिनामा र छोराको भए ६ महिनामा राम्रो दिन वार पारेर कैँइत्यैँब गर्ने चलन छ । कैँइत्यैँब भनेको बालकलाई प्रथम पटक ‘अन्नप्राशन वा भात खुवाउँनु’ हो । गाउँ र ठाउँ अनुसार यस प्रथालाई भात खुलाइ पनि भन्दछन् । उक्त समयमा बच्चाको लागि मिठो मसिनो खाना तयार पारेर चाँदीको थालमा सुनको चम्मचले बालकलाई बाबा आमाले पहिलो पटक खाना खुवाउदछ । त्यस पछि, मावलीहरुले सुस्वास्थ्य, दीर्घायु र मंगलमयको कामना गर्दै सेतो टिका लगाइ उपहार दिइ बधाइ दिन्छन् । क्रमैसंग उपस्थित परिवारजन र इष्टमित्रहरुले पनि टीका लगाइ दिइ उपहार दिने चलन पनि रहेका छन् । अन्नप्राशनको समयमा पनि जलपान र खानपिन गरी रमाइलो कार्यक्रम गरिन्छ । 
   
३. ब्रतबन्धन वा चुडा कर्म (क्ष्यवर):
ब्रतबन्धन वा चुडा कर्मलाई गुरुङ भाषामा (क्ष्यवर) भन्दछन् । गुरुङको जातीय संस्कारमा क्ष्यवर गर्ने तेश्रो कर्म हो । क्ष्यवर छोराको मात्र गरिन्छ । छोराको उमेर तीन, पाँच वा सात वर्ष पुगे पछि बिजोर वर्षमा राम्रो दिनवार पारेर आफ्नो मावलीले कपाल काटी दिने क्रियालाई क्ष्यवर भन्दछन् । यो क्ष्यवर कर्म गर्दा, बाख्रालाई घाँस हाल्न बनाउने टार्नो जस्तो बनाएर टार्नोमा मुश्रे कटुसको घाँस हलेर घाँटीमा दाम्लोले बाँधेर कपाल काटी दिन्छन् । मामाले कपाल काटी सके पछि दाम्लो फुकाएर, अब तिमि ठुलो भइसक्यो तिम्रो हातबाट पनि भात पानी चल्ने र पूजाआजा चल्छ भनेर टोपी लगाइ दिन्छ । त्यस पछि आमा बाबा र परिवारजनले रिपु लगाइ दिइ स्याइ स्याइ गरी दीर्घायुको शुभआशिक दिन्छन् । गुरुङको क्ष्यवर र हिन्दुमा चुड कर्म वा ब्रतवन्ध गर्ने क्रियाको बिधिबिधानमा फरक देखिए तापनि मूल सार एउटै हो । 
   
४. गुन्यू चोली (ङ्योए चोलो):
गुन्यू चोलीलाई गुरुङ भाषामा (ङ्योए चोलो) भन्दछन् । गुरुङको सामाजिक संस्कारमा छोरीले यौवन अवस्थामा प्रवेश गर्न थाले पछि राम्रो दिन बार पारेर प्रथम पटक गुरुङ भेषभूषाद्धारा सिंगारिन्छे । यस प्रकृयालाईनै ङ्योए चोलो संस्कार भनिन्छ । ङ्योए चोलो दिने संस्कारमा पुरोहितबाट स्वस्ति शान्ति गरी मावलीहरु, छोरीचेलीहरु, भाइवन्धुहरु र इष्टमित्रहरु सबैलाई आमन्त्रण गरेर आशीर्वादका साथै टीका लगाइ दिइ सानो तिनो उपहार दिने चलन पनि रहेका छन् । उक्त दिन जलपान र खानपिन गरी रमाइलो कार्यक्रम गर्दछन् ।  
   
५. दीर्घायु पूजा (पुटपुटे):
यो पुटपुटे गुरुङ भाषाको मौलिक शब्द हो । छोराको उमेर पाँच, सात वा नौ वर्षको हुदा, मावलीहरु र भाइभतहरुबाट दीर्घायुको लागि शुभ आशीक दिने क्रिया गरिन्छ । यो क्रिया गर्दा, रातभर मावलीहरु र भाइभतहहरुले रमाइलो नाचगान गरी बिहाना कर्तालाई दीर्घायुको शुभ अशिक दिन्छन् । शुभ अशिक दिँदा, लयवद्ध भाषामा रागको गीत गाउने र नृत्य कर्मीहरुले पनि पूmलपाती र दक्षिणा हालेको थाल समाएर कर्ताको टाउकोमा छुवाउँदै मन्द गतिको नृत्यबाटै दीर्घायुको शुभ अशीक वा अशिमलँ दिन्छन् । गुरुङको मौलिक संस्कृतिमा यो पुटपुटे गर्ने कार्य जेठो छोराको मात्र हुने भएकोले यो चाहि स्वैच्छिक कर्म हो ।
   
यो क्रिया स्वैच्छिक भएकाले प्राय पुगिसरी भएका परिवारहरुले मात्र सामाजिक प्रतिष्ठाका लागि यो पुटपुटे गर्दछन् । यो शब्द गुरुङ भाषाको मौलिक शब्द हो । यो शब्दको व्युत्पति पुल्पुलिएको अवस्थामा गरिने भएकोले पुल्पुलेबाट शब्द अपभ्रंश हुदै पुटपुटे हुन आएको संभावना देखिन्छ । यो पुटपुटे अथवा आशिर वचनबाट बालकलाई दीर्घायुको लागि अनुमोदन गर्नु भन्ने हुन्छ । यो पुटपुटेको पावन अवसरमा सम्पूर्ण उपस्थित भाइबन्धुहरु, मावलीहरु, चेलीवेटीहरु र इष्टमित्रहरुले इच्छा अनुसारको दान प्रदान गरी भोज ग्रहण गर्ने प्रचलन रहेको छ । 

६. घरपैचो (धीँ सोँब):
यो घरपैचोलाई गुरुङ भाषामा (धीँसोँब) भन्दछ । मानिस सामाजिक प्राँणी भएकाले जन्मी, हुर्की, पडे, लेखेर ठूलो मान्छे भए पछि पेसा वा व्यवसाय गरेर सामाजिक प्रतिष्ठा कमाउने प्रत्येक मानिसभित्र दब्बिएर बसेको असीमित इच्छा आकांक्षाहरु रहेका हुन्छन् । त्यसैले, धन अर्जन गरे पछि नयाँ घर बनाउँछन् । नयाँ घर बनाइसके पछि प्रथम पटक घर प्रवेश गर्ने दिनलाई घरपैँचो भन्दछन् । घरपैँचो गर्दा, नयाँ घरमा पुरोहित बोलाई स्वस्ति वाचन र ग्रह शान्ति गरी पवित्र गरिन्छ । यो पावन अवसरमा आफ्ना इष्टमित्रहरु सबैलाई आमन्त्रण गरी भोज भतेर खाने र रमाइलो नाचगान गरी खुसियाली मनाउँदछन् । साँझ घरको रखोबार गरी, ह्योँ खुब अर्थात ‘लक्ष्मी तारा वा मणिह्योँखारा पाँङग्रेस्यो’को पूजा गरी साह राख्ने ढुंग्रोमा हालेर राख्नु पर्छ । भोली पल्ट एक दिन घर बार्नु पर्छ । घर बार्नु भनेको एक दिन कुनै प्रकारको लेनदेन नगर्ने र घरबाट अन्यत्र बास बस्ने गरी पनि नजाने बिधान हो । त्यो दिन पाहुनाहरुलाई पनि प्रबेश निषेध गरिन्छ । यस्तो कृयालाई गुरुङ संस्कारमा घर बार्ने भन्दछन् ।

गुरुङको मौलिक संस्कारको वारेमा प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? कहाँ के परिमार्जन गर्न आवश्यक छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेको कमिकमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक । 

चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् ।
4/10/2020.
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.