२०५२ सालदेखि गुरुङ समुदायमा पौष १५ ‘ल्हो तोब’ अर्थात बर्ग फेरिनेको ठाउँमा ‘ल्होछार’को नामबाट हर्षोल्लास साथ नयाँ वर्ष मनाउदै आएका छन् । केही वर्ष यतादेखि राजधानी काठमाडौँको खुल्ला मञ्च टुँडीखेलमा यो विशाल दृष्य देख्न पाइन्छ । गुरुङहरुको उन्नति, प्रगति, भातृत्व, मैतृत्व र एकतामा यस पर्वले सकारात्मक सन्देश दिएको छ ।
यर्थाततामा, भन्नु पर्दा, म गुरुङ भाषाको विद्यार्थी भएको नाताले शब्दहरुको संक्षिप्त भाव विश्लेषण गर्ने प्रयास गरेको छु । किनभने शब्द भित्र भाषाको प्राण हुन्छ । ती प्राणमा विषय अनुसारको भाव सलल बगेर त्यहाँ भन्न खोजेको विषय वस्तुलाइ स्पष्ट रुपमा प्रतिविम्बित हुनु पर्दछ । त्यसैले, भावार्थको सवालमा शब्दको भाव विश्लेषण कुन हदसम्म सही छ भन्ने कुरा पाठकहरुले मुल्याङकन गर्न आवश्यक हुन्छ ।
उदाहरणको लागि, ‘ल्हो तोब’ भन्ने शब्दको भावार्थलाइ बिचार गर्दा, ‘ल्हो भनेको बर्ग र तोब भनेको फर्कनु, अर्थात एउटा बर्गबाट आर्को बर्गमा स्थान्तरण हुनु हो । यस अर्थमा हेर्दा, ल्होतोबले परिवर्तन भएको अर्थ बुझाउद छ ।
दोस्रोमा, ‘ल्होछार’ शब्दको सन्दर्भमा बुझ्दा, २०५२ सालमा ललितपुरमा आयोजित ‘तमू छोँज धीँ’को प्रथम राष्ट्रिय महाधिवेशनले ‘ल्होछार’ शब्दको प्रचलनमा ल्याएको भन्ने मेरो बुझाइ छ । ‘ल्होछार’को भावार्थ अनुसार ल्हो भनेको बर्ग र ‘छार’ भनेको नयाँ हुन्छ । अर्थात समग्रमा नयाँ वर्ष भन्ने बुझिन्छ ।
तेस्रोमा, ‘ल्होसार’ शब्दको भावार्थलाइ हेर्दा, ल्हो भनेको बर्ग र सार भनेको एक ठाउँबाट आर्को ठाउँमा स्थान परिवर्तन गर्नु हो । यो शब्दले पनि आफ्नो विषयमा सही भाव प्रकट गर्दछ ।
समाग्रमा हेर्दा, ‘ल्होतोब, ल्होछार र ल्होसार’कोबीचमा शब्दहरु अलग अलग भए तापनि अन्तर भावले पार्यावाचीको रुपमा रहेको पाइन्छ । तर, भाषाको प्रयोग र छनौट गर्दा, व्याकरण्को नियमानुसार चल्नु पर्छ । उपरोक्त तीनवटा शब्दहरुलाइ व्याकरणको नियम अनुसार हेर्दा, ‘तोब’ले कक्ष परिवर्तन गरेको, ‘छार’ले नयाँको स्वरुप दिएको र ‘सार’ले नयाँ स्थान लिएको भन्ने अर्थ दिन्छ । उपरोक्त शब्दहरुको पहिचान गर्दा, ‘तोब र सार’ले निश्चित क्रिया गरेका छन् र ‘छार’ले नयाँ रुपमा प्रस्तुत गरेको हुनाले ‘छार’ चाहि विशेषण हुन । गुरुङ भाषाको नियम अनुसार विशेषनको प्रयोग नामान्तमा हुन्छ । जस्तैः ल्होछार । यहाँ ल्होले नामको र छारले विशेषणको अवस्था बुझाउदा छ । विद्धान पाठकहरुले बुझ्नु पर्ने कुरा के छ भने, हाम्रो नयाँ वर्षलाइ क्रिया वा विशेषण कुन रुपमा लिदा उपयुक्त हुन्छ ? भाषागत रुपमा शब्दलाइ केलाउदा, क्रिया भनेको कर्म र विषेशण भनेको उपलब्धी हुन् ।
ल्होछारको विशेषताको रुपमा भन्नु पर्दा, यो पर्व नयाँ वर्षको पावन अवसरमा मनाइने भएको हुनाले छरिएर रहेका परिवारका सदस्यहरु पनि पारिवारिक भेटघाटका लागि अ–आफ्ना वास स्थानमा फर्कने प्रयास गर्दछन् । गुरुङहरुको प्राचीन संस्कार अनुसार आफ्नो पुरेतहरु पच्यु, ख्लेपँ्रे र लामागुरुहरुबाट स्वस्ति शान्ति गरी मंगल, सुखवती र द्रव्य सुत्रको पाठ गरी रिपु लगाएर नयाँ कामहरु थालनी गरेमा सफलता प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
अर्को कुरो, परिवारजन भित्र कुनै कारणबस मनमुटाव भएर तितो मिठो हुन गएमा पनि यस पावन अवसरमा सबै भेला भइ आ–आफ्नो कमी कमजोरीहरुलाइ आफैले आत्मसमिक्षा गरी एकै हारमा बसेर भोज खाए पछि आपासी सदभावमा वृद्धि भएर पारिवारिक मेलमिलाप हुने र भावनात्मक एकताबाट कार्यगत एकताको प्रतिफल प्राप्त गर्न सक्ने यस पर्वको सकारात्मक पक्ष हुन् । यसका साथै पर्वमा प्रतिष्ठित साहु महाजनहरुले आफ्नो औकात अनुसारको आर्थिक सहयता प्रदान गरी प्रतिष्ठा कमाउने सवालमा तछाँड मछाड गर्दछन् । यो पावन अवसरमा दिइने दान दातव्यहरुको प्रतिफल आफ्ना मातृ पितृहरुले समेत प्राप्त गर्न सक्ने र आफुले सुगति प्राप्त गरे पछि पनि दानको प्रभावले स्वर्ग बास पाउँन सक्ने बुद्ध वचनको दान सुत्रमा उल्लेख गरेको पाइन्छ ।
ल्होछार शब्दको व्युत्पत्ति दुइवटा शब्दहरुको रचनाबाट भएको छ । ल्हो = वर्ग र छार = नयाँ अर्थात नयाँ वर्ष भन्ने भावार्थ हुन आउँछ । यो दिन पृथ्वीले आफ्नो कक्ष परिवर्तन गर्ने भएकाले त्यही दिन गुरुङहरुले नयाँ वर्ष मनाउने गरेका हुन् । तमू पार्कमा १२ ल्होहरु छन् । ती ल्होहरु यस प्रकार छन् ।
१. चि ल्हो = मुसा वर्ग (निम्युँ ल्हो) २. लोँ ल्हो = गाई वर्ग (म्य ल्हो)
३. तो ल्हो = बाघ वर्ग (चिदो ल्हो) ४. हँे ल्हो = बिरालो वर्ग (न्वार ल्हो)
५. मुफ्रि ल्हो = गरुड वर्ग (क्व्रे ल्हो) ६. सफ्रि ल्हो = नाग वर्ग (फ्हुरी ल्हो)
७. त ल्हो = घोडा वर्ग (तडा ल्हो) ८. ल्हु ल्हो = भेडा वर्ग (क्युउ ल्हो)
९. प्र ल्हो = बाँदर वर्ग (तिम्युँ ल्हो) १०. च्ह्य ल्हो = चरा वर्ग (निमी ल्हो)
११. खि ल्हो = कुकुर वर्ग (नक्यु ल्हो) १२. फो ल्हो = मृग वर्ग (फो ल्हो)
यो वर्ग चक्रको सिद्धान्त अनुसार १२ वटा जनवारहरुको नामबाट ल्हो चक्रको गणना गरिन्छ । एउटा चक्र सकिए पछि त्यसलाइ एउटा ल्होकोर मानिन्छ । अर्थात् एउटा ल्होकोरमा १२ वर्षको समय समाप्त भएर १३ वर्षमा उग्लिन्छ । वर्गचक्रको गणना गर्दा घडीको दिशामा गरिन्छ । तर, वर्गचक्र सर्ने क्रिया भने घडीको विपरीत दिशामा हुन्छ । उल्टो घुम्ने सुल्टो गन्ने पार्क चक्रको मौलिक विशेषता हुन् ।
ऐतिहासिक पृष्ठभूमि, आगे नोच्यन ‘खोर्लोह्रिमोर्छे’ ठिनी राज्यको राजा भएपछि राज्यमा दुःख दिने हेरि हेरिनसक्ने, बुझि बुझिनसक्ने अजंगको मान्छे खाने ‘अजिमो फजिमो’ भन्ने भूतलाइ मारे पछि ठिनी राज्य समृद्ध भए । त्यसैले, राजा नोच्यन खार्लोह्रिमोर्छेको शासनकाललाइ ठिनी राज्यको इतिहासमा स्वर्ण युग भनिन्छ ।
त्यस बखत ठिनी राज्यमा पात्रोको विकास भएको थिएन । त्यसैले, वैज्ञानिक ढंगबाट नक्षेत्रहरुको अध्ययन र अनुसन्धान गरी पात्रोको थालनि गर्नका लागि प्राज्ञिकहरुको एउटा टोली बनाइ नक्षेत्रहरुको अध्ययन गर्न अह्राए । ती प्राज्ञिकहरुले सम्पूर्ण नक्षत्रहरुको अध्ययन र अनुसन्धान गरेपछि पौष १५ को राति पृथ्वीले आफ्नो कक्ष परिवर्तन गर्ने थाहा भएको हुनाले, त्यो रात वर्ष भरीको रात मध्येमा सवभन्दा लामो हुने र दिन मध्येमा सवभन्दा छोटो दिन हुने तत्थ्य पत्ता लगाए ।
उक्त तत्थ्य पत्ता लगाए पछि प्राकृतिक पूजा गर्ने बोन धर्मको सिद्धान्त अनुसार चीन र तिब्बतमा प्रचलित वर्ग चक्रको आधारमा एउटा वर्ग जाने र अर्को वर्ग आउने अर्थात ल्हो तोब वा वर्ग फेरिने दिन पच्यु, ख्लेप्रेँ र लामागुरुहरु बोलाइ महाकालको पूजा गरी ग्रह शान्ति गर्ने र पुसको १५ गतेको राती स्योकैँइ खाएर नयाँ वर्ष मनाउँने कार्य आरम्भ गरेका हुन् । यही परम्परा गुरुङ समुदायमा अबिछिन्न रुपमा चल्दै आएको छ ।
सोनाम र ग्याल्पो ल्होछार, आगे तिब्बतमा स–साना राज्यहरु थिए । जहाँ धर्मगुरुहरु धर्म शासक हुने गर्दथे । तिब्बतको इतिहास अनुसार स–साना राज्यहरु एकीकृत हुदै पनि रहे र छुट्टीदै पनि गए । यसरी, छुट्टीने र एकीकृत हुने तिब्बतको राजनीतिक माहोल नै थियो । त्यसै बखत तिब्बतको महागुरु श्रोङ खापाले विभाजित भएर बसेका स–साना राज्यहरुलाइ धार्मिक रुपमा एकीकृत गर्ने उद्देश्यले सन् १४०९ को वसन्त ऋतुको आगमानको पूर्व सन्ध्यमा तिब्बतको राजधानी ल्हासामा शान्ति र एकीकृतको नाउँमा दुइ हप्ते महापूजाको आयोजना गरे । त्यस महापूजामा सम्पूर्ण राज्यहरु र द्धितीय दलइ लामा समेत सहभागी भए । यस महापूजाबाट तिब्बत फेरी सैद्धान्तिक रुपमा एकीकृत भए । तदन्तर, यो दुइहप्ते महापूजा वर्षेनि हुदैरहे । यो पूजाले तिब्बतमा राष्ट्रिय पर्वको रुप लियो र राष्ट्रिय पर्वकै रुपमा मनाउँदै आयो ।
हिमाली भेकमा बसोबास गर्ने शेर्पा, तामाङ र ह्योल्मो जातिहरुको भाषा, भेषभूषा, संस्कृति र संस्कारहरु तिब्बतीयन संस्कृतिसंग धेरै नजिक छ । त्यसैले, तिब्बतमा मनाइने सोनाम र ग्याल्पो ल्होछारको प्रभाव पनि यी जातिहरुमा बढी प्रभावित भएको देखिन्छ । तिब्बतीयन संस्कारमा माघ महिनाको शुक्लपक्षमा सोनाम र फागुन महिनाको शुक्लपक्षमा ग्याल्पो ल्होछार मनाउने प्रचलन रहेको छ ।

लेखक चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनका विद्यार्थी हुन् ।
12/12/2019
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.