Review, A moon on the earth.

मनका तरङ्गहरु र धर्तीमा जून, पाठकीय समिक्षा । 
     
Geetkar Ekendra Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाइ ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । गीतकार एकेन्द्र गुरुङद्धारा रचना गरिएका ‘मनका तरङ्गहरु र धर्तीमा जून’ नामक उत्कृष्ट पुस्तकको पाठकीय समिक्षा पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । बिद्धान पाठकहरुलाइ प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।

नेपालमा ‘फोटो जेनेटिक’ नामले प्रसिद्ध पसगाउँ समुद्री सतहबाट लगभग १५०० मिटरको उचाईमा अवस्थित छ । साविक पसगाउँ, हाल क्होलसोँथर गाउँपालिका वडा नंं ६, लमजुङ घर भै हाल बेलायत निवासी गीतकार एकेन्द्र गुरुङद्धारा लिखित “मनका तरङ्गहरु र धर्तीमा जून” नामक गीत संग्रह ‘तमू साहित्य मञ्च’ पोखराले प्रकाशन गरेको समाचार सामाजिक सञ्जाल मार्फत जानकारी पाएको थिए । गत हप्ता उनै स्रष्टाबाट उपहार प्राप्त भएकोले उत्सुक्ताका साथ पढने अवसर जुर्यो । पुस्तक पढीसके पछि पाठकीय समिक्षाको रुपमा केहि शब्दहरु लेख्न मन लाग्यो । 
     
हुन त म पत्रकार, शिक्षक, प्राज्ञ, कवि, समलोचक र समिक्षक केहि होइन । लमजुङको लेकाली गाउँमा जन्मिएको भाषा प्रेमि निक्खर गुरुङको छोरो मात्र हुँ । मेरो अनुभवमा गुरुङको भाषा, साहित्य, गीत, संगित, संस्कार र संस्कृति अत्यन्तै समृद्ध छन् । यसका लागि खालि रोधीँ साँझ मात्र हेरेर पर्यप्त हुँदैन । मोतीका दानाहरु टिप्नका लागि समुद्रको गहिराइमै प्रवेश गर्नु पर्छ ।  
     

मनका तरङ्गहरुमा समय अनुकुल विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, रचनाहरुको संगालो रहेका छन् । त्यसमा गुरुङको भाषा, साहित्य, इतिहास, परम्परा, चाड, पर्व, संस्कार, संस्कृति, आदिवासी जनजातिको अवस्था, ग्रामीन पर्यटन, नमुना घले गाउँ, गुरुङ भाषाको गीत, चलचित्र, कर्मयोगी शेष घले, कर्मनिष्ठ सुर्य गुरुङ, सिक्लेस, ताक्लेकोट र गिलुङ गाउँको सटिक रुपमा हुबहु चित्रण गर्नु भएको छ । यस बाहेक प्रवासमा स्थापना भएका गुरुङको संघ संस्थाहरुको पनि विस्तारमा चर्चा गर्दै तमू एकतामा प्रज्जवलित तर्क दिनु भएको छ । 


तमू एकताः आजको आवश्यकताको शिर्षकमा ‘कतिथ जातीय विभेद’को अनुच्छेदमा वहाँले लेख्नु भएको छ— “गोर्खा राज्य विस्तारको सुरुवातसंगै तमूहरुलाई शुभलाभको प्रलोभनमा पारेर ठूलो र सानो जातको सिमाङ्कन गरी राज्यसत्ताले जातीय विभेद सिर्जन गरिदिएको हो । राज्य सत्ताबाट गरिएको यो कुटिल षड्यन्त्र हो । तमूहरुमा कथित ठूलो र सानो जात भनेर छुट्याउनु पर्ने तर्क र आधार कहीँ कतै पाइँदैन । तमूहरुमा सांस्कृतिक समानता र भाषिक एकरुपता छ । सबै तमूहरु “जिउदोको जन्ती र मर्दाको मलामी” हुन् । भात भान्छा एउटै हुन्छ । तमूहरु मङ्गोल नश्लका जनजातिहरु हुन् । तसर्थ, आर्यन संस्कृतिमा आधारित हिन्दु वर्णाश्रमको (ठूलो र सानो) विभेद तमूहरुमा हुनु भनेको विशेष स्वार्थको लागि पर्दाभित्रबाट सञ्चालित षड्यन्त्र मात्र हो ।”
     
यस अनुच्छेदमा लेखिएको प्रज्जवलित तर्कसंग मेरो पूर्णरुपमा सहमति छ । वहाँको सटिक लेखको भाव विश्लेषण— हामी तमूहरुले ‘वर्ग र वर्ण’ व्यवस्थाको बारेमा राम्रोसंग जानकारी हुन आवश्यक छ । हामी सम्पूर्ण गुरुङहरुले वर्ग के हो ? र वर्ण के हो ? भनेर स्पष्टसंग बुझ्नु पर्ने आवश्यक छ । किनभने जबसम्म “वर्ग र वर्ण”कोे स्पष्ट भावार्थ बुझ्न सक्दैनौँ, तबसम्म हामी भ्रमको सिकार भैरहेका हुनेछौँ । अहिलेसम्म त्यही भैरहेको छ । के हो ? के हो ? भनेर त्यसैमा अल्झिरहेएका छौं । 
     
यस प्रकारको कपोल कल्पित र भ्रमको खेतीबाट हाम्रो मौलिक पहिचान ओझेलमा पर्न सक्दछ । ओझेलमा परे पछि परतन्त्र हुन्छ । परतन्त्र भए पछि आश्रित हुन्छ । आश्रित भए पछि बैसाखी चाहिन्छ । बैसाखीको सहरामा हामीहरु कतिन्जेल बाँच्ने ? कसरी बाँच्ने ? यो बडो जटिल र पेचिलो प्रश्न छ । यही प्रश्नको उत्तर खोज्नका लागि सर्वप्रथम हामीहरुले ‘वर्ग र वर्ण’को सही परिभाषा बुझ्न आवश्यक हुन्छ ।
     
संसारको प्रत्येक समाज र समुहमा ‘वर्ग’ हुन्छ । विकसित र सभ्य समाज सबैले ‘वर्ग’लाई स्विकार गरेका छन् । किनभने, ‘वर्ग’ भनेको धनी र गरीब हो । धनी र गरीबकोबीचमा एउटा निश्चित दुरी हुन्छ । त्यो दुरी भनेको तरलता हो । तरलताको वास्तविक अवस्थालाई मापन गर्न सकिदैन । त्यसैले, समयको माँग र आवश्यकतालाई परिपुर्ति गर्न सकेन भने धनी पनि गरीब हुन सक्दछ । त्यसै अनुरुप समय, परिस्थिति, अवसर र चुनौतिको सामना गर्दै, कठोर परिश्रमकासाथ प्रतिस्पर्ध गर्दै जान सके, गरीब पनि धनी हुन सक्दछ । यसबाट के कुरा स्पष्ट हुन्छ भने, तरलता भनेको प्रतिस्पर्ध हो । यही प्रतिस्पर्धको माध्यामबाट डा. हर्क गुरुङ र डा. चन्द्र प्रसाद गुरुङले कर्मको श्रेष्टता प्रमाणित गरेका थिए । यसैगरी, जनताका छोरा छत्रमान गुरुङ प्रधान सेनापति भए, पृथ्वीसुब्ब गुरुङ मुख्यमन्त्री भए, भाटभटेनी सुपर मार्केटका सञ्चालक र खरबपति शेष घले अब्बल दर्जाका ब्यापारी हुन सफल भए । प्राज्ञ डा. जगमान गुरुङ प्रख्यात संस्कृतिविदको रुपमा परिचित भए । एकेन्द्र गुरुङ चर्चित गीतकार भए । उनको गीत सर्वाधिक चर्चामा आए । यी ज्वालन्त उदाहरणहरु ‘वर्ग’ व्यवस्थाका सकारात्मक परिणाम हुन् । 
     
अब ‘वर्ण’ भनेको के हो ? ‘वर्ण’ व्यवस्थाको अर्थ के हो ? यसको सैद्धान्तिक पक्ष के हो ? भन्ने कुरा राम्रोसंग बुझ्न अत्यन्तै आवश्यक छ । तितो सत्यमा भन्नु पर्दा, ‘वर्ण’ भनेको हिन्दु वेद, उपनिषद र मनुस्मृतिको सिद्धान्त अनुसार प्रतिपादन गरिएको ठोस प्रणालीमा आधारित शासन व्यवस्था हो । जस्मा समाजलाई ‘ब्राह्मन, क्षेत्रि, वैश्य र शुद्र’ भनी चार भागमा विभाजन गरिएका छन् । जुन व्यवस्थामा शुद्रले वैश्यसंग प्रतिस्पर्ध गर्न नपाउने, वैश्यले क्षेत्रिसंग प्रतिस्पर्ध गर्न नपाउने र क्षेत्रिले ब्राह्मनसंग प्रतिस्पर्ध गर्न नपाउने ठोस ‘वर्ण’ व्यवस्था गरिएका छन् । जसलाई अंग्रेजीमा ‘फ्रोजन’ क्लास भन्दछन् । बस, सबै स्थिर भयो । बिलकुलै जाम भयो ! कही कतै कोही पनि हल्लिन सक्ने अवस्था छैन । 

उदाहरणका लागि, ब्राह्मन परिवारमा जन्मने वित्तिकै स्कुल नपढे पनि पण्डित भैहाल्ने ! क्षेत्रिको कुलमा जन्मने वित्तिकै काजि भैहल्ने ! जन्मसिद्ध अधिकार प्राप्त हुने वर्ण व्यवस्थाको सिद्धान्त हो । यो व्यवस्थामा कर्मको कुनै महत्व र स्थान छैन । शुद्र र वैश्यले जति ज्ञान हाँसिल गरे पनि पण्डित वा आचार्य हुन पाउदैन ! शुद्रले वेद श्रवण गर्यो भने, कठोर यातना दिइन्छ । यही कारणले गर्दा, हस्तिनपुरको महारथी दानवीर कर्णले सामाजिक समानता र कर्मको श्रेष्टता प्रमाणित गर्नका लागि आजिवन क्रान्ति गर्नु भएको थियो । 
     
अब तपाइँ आफै भन्नुहोस, गुरुङहरु ‘वर्ग र वर्ण’ कुन व्यवस्थामा जाने ? कुन व्यवस्थामा रहने ? कुन व्यवस्था मान्ने ? कुन चाहि ठिक ? कुन चाहि बेठिक ? भन्ने कुराको निर्णय स्वयं आफैले गर्दा उपयुक्त हुनेछ । किनभने, तपाइँले यो कुरा राम्रोसंग बुझ्नु भयो भने, तपाइँको निर्णय सही हुनेछ । अनि मात्र गुरुङ समुदायले मौलिक पहिचानको सवालमा सही अर्थमा मार्ग दर्शन गरी सार्थकता पाउन सक्दछ । 
     
अर्को कुरा विद्धानहरुको भनाइ के छ भने, जुनसुकै जात जातिको पनि भाषा, साहित्य, इतिहास, गीत, कविता, कथा, काव्य, संस्कृति र मौलिक परम्पराहरु त्यही जातिको विशेषज्ञद्धारा लेखिनु पर्छ । त्यसो हुन सकेमा मात्र मौलिकता झल्किन्छ, भनेर भनिन्छ । गीतकार एकेन्द्रजीले पनि यही सन्देश दिन खोज्नु भएको छ ।  
     

गीतकार एवं स्रष्टा भन्नु हुन्छ, लेखन शौख सानै देखिको हो । उनको दर्जनौँ गीतहरु रेकार्ड भैसकेका छन । तर, “रिमै थुमै प्रेतना रोधीँरि” बोलको गीत सर्वाधिक चर्चामा रह्यो । यो गीत यति धेरै चर्चामा आउलन भनेर कल्पना पनि गरेको थिएन । तर, गीतकार भन्ने विशेषण पनि यहीबाट महसुस भयो, उनको अभिव्यक्तिले यही सन्देश दिन्छ । 
     
गुरुङ भाषी चलचित्र निर्माणले गुरुङ भाषा, संस्कार, संस्कृति, कला, साहित्यको संरक्षण र सम्वद्र्धन हुन्छ भन्ने मान्यताले गर्दा, तमू चलचित्र निर्माणमा आकर्षित भएको हँु भन्नु हुन्छ । भविश्यमा पनि तमू भाषी चलचित्र निर्माण गर्ने चाहना राख्नु भएको छ । ‘क्रमू, प्ह«ेस्यो, धीँ, र युम्पो देउराली’ जस्ता उत्कृष्ट तमू चलचित्र निर्माण गरिसकेका छन् । उनकै शब्दमा आधा दर्जन भन्दा बढी गीतको भिज्युअल भैसकेका छन् । एक दर्जन भन्दा बढी गुरुङ भाषामा गीत रेकर्ड गराइ सक्नु भएका छन् । 
     

यसैगरी, ‘धर्तीमा जून’ गीत संग्रहमा २०वटा गुरुङ गीत र ८५वटा नेपाली गीत समावेश गर्नु भएको छ । गीतको प्रत्येक शब्दको कोषा कोषामा नेपालीपन प्रतिबिम्बित भएको आभास हुन्छ । यस्तो उत्कृष्ट कृतिहरुले नेपाली साहित्य भण्डारमा सुनौलो इटा थप्ने कुरामा हामीलाई विश्वास छ । यस्ता अब्बल दर्जका स्रष्टाहरु धर्तीमा विरलै उदाउने गर्दछन् । गीतकार एकेन्द्र गुरुङको संक्षिप्त जीवनी यहाँबाट पढनुहोस् । 

मनका तरङ्गहरु र धर्तीमा जून नामक पुस्तक अत्यन्तै उत्कृष्ट छन् । यस पुस्तकको पाठकीय समिक्षा तपाइँलाइ कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? उत्कृष्ट रचनाहरुको सृजना कसरी गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाइ बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

यो पाठकीय समिक्षा गुरुङ राइटर्स डट कममा २०७५ साल जेष्ट १२ गते प्रथम पटक प्रकाशन भएको थियो । तर, प्राविधिक कारणबाट वेभसाइट बन्द रहेकाले आज कोरन्टाइन्मा बसिरहदा बसिबियालोका लागि गुरुङ स्कुलको ब्लगमा पुनः प्रकाशन गरिएको छ । 

चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् ।
4/5/2020.     

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.