गुरुङ समुदायमा खेगी, चोगी र पैडीको भूमिकाः

गुरुङ समुदायमा खेगी, चोगी र पैडीको भूमिकाः

Dr. Jagman Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरु सबैलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । अहिले विश्व मानव समुदाय कोरोनाको महामारीले गर्दा, असहज परिस्थितिको सामना गरिरहेको अवस्था छ । लाखौं मानिसले ज्यान गुमाइ सकेका छन् । लाखौं मानिसहरु संक्रमित छन् । समुहमा संक्रमन रोक्नका लागि सरकारले बन्दाबन्दि गरेका छन् । विज्ञहरुको भनाइ अनुसार अब कोरोनासंग सुरक्षित रहनका लागि सामजिक दुरी कायम गरी स्वयं सुरक्षीत रहनु पर्ने अवस्था सुझाएका छन् । यसै बन्दाबन्दिको सयमयमा गुरुङहरुको माउ संस्था ‘तमू ह्युल छोँजधीँ’ (गुरुङ राष्ट्रिय परिषद) केन्द्रीय कार्यलय काठमाडौंले यही विषम परिस्थितिको सदुपयो गर्दै, ‘तमू जूम सम्वाद’ श्रृंखलावद्ध तरिकाले सञ्चालन गर्दै आएका छन् । यसै क्रममा मिति २०७७ साल असार १३ गते (जून २७, २०२०) शनिबारको दिन अपरान्ह ६ देखि ८ बजेसम्म गुरुङ समुदायमा ‘खेगी, चोगी र पैडी’को महत्व र भूमिका विषयमा श्रोत व्यक्तिको रुपमा “गुरुङ जातिको जिउदो सम्पदा वरिष्ट संस्कृतिविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति प्राज्ञ डा. जगमान गुरुङले गर्नु भएको जूम सम्वादको सम्पादित अंश” यहाँ प्रकाशन गरिएको छ । सम्वाद उचित लागेमा आफन्तहरुलाई पनि शेयर गर्नु होला ।  

प्राज्ञ डा. जगमान गुरुङद्धारा जूम सम्वाद—
आजको यस कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु, आयोजक ‘तमू ह्युल छोँजधीँ’ र सहज कत्र्तालाई हार्दिक छ्याजलो अर्पण गर्दछु । 
गुरुङ समुदायको खेगी, चोगी र पैडी यो तीनवटा विषय बस्तुमा केन्द्रीत रहेर आफ्नो अभिव्यक्ति राख्ने छु । सवभन्दा पहिले खेगी । गुरुङ भाषाको शब्द, खेगी भनेको पुरेत वा पुरोहित हो । तर गुरुङ भाषामा उप्रेत भन्दछ । गुरुङको खेगीहरु पच्यु, ख्लेप्रेँ र लम वा लामा तीन थरीका छन् । विषय र प्रसंगले अर्को अर्थ नलागेमा पच्युलाई कताकति झाँक्री पनि भन्दछन् । तर, हेर हेर भनेर देउ बस्ने झाँक्री होइन । हाम्रो पच्यु भनेको वेद (प्ये) पढेर पितृकार्य गर्ने पच्यु हो । 

१. पच्यु खेगी (उप्रेत):
अहिले बोलिचालिको भाषामा पच्यु भने तापनि प्राचिन वेदको भाषामा पच्युलाई नम भन्दछ । अहिले बिभिन्न थरका गुरुङहरुले पनि पच्यु पढेको पाइन्छ । तर, सृष्टिको पच्यु (नम केतु र नम त्हय) । नम केतु भनेको ल्हेगे पच्यु र नम त्हय भनेको क्रोम्चै पच्यु हुन् । अहिले पच्युहरुले पढने त्होँदमा, पार्चे ल्हेँगे ठ्हो भनेर पच्यु ख्लेपृले पढछन् । ल्हेँगेको न्हेँस भनेकै पार्चे हो । पार्चे ल्हेँगेइ चुँजी भनेको छ । चुँजी भनेको प्रथम स्थापना भनेको हो । ल्हेँगेमा पनि तार्कु र म्लोकु भन्ने दुइ थरी छन् । तार्कुले पच्यु काम गर्दैन । भैसीको मासु खान्छ तर, म्लोखुले पच्युको काम गर्छ र भैसीको मासु खादैन । यसरी, कास्कीको पार्चेबाट ल्हेगे पच्युहरु साखाबन्दी भएको हो । क्रोम्चैहरु चाहि जुनजुन ठाउँमा गएर बसे त्यही ठाउँको नाउँमा उपथर हुदै गएको छ । मैले अस्थिनै पनि भनेको थिए, मेरो गाउँ कास्की जिल्ला, मादी गाउँ पालिका वडा नं २ याङजाकोटमा क्रोँये क्योतर क्रोँम्चै ठ्हु भन्ने ठाउँ छ । अधि त्यहाँ क्रोम्चैको ६ भइ छोराहरु भए । अनि त्यहाँबाट पूर्व दक्षिणतिर नाँदा भन्ने डाँडा छ । नाँदामा गएर बसेकाहरु नाँदा क्रोँम्चै भए । उता पाँच गाउँको कोम्रो जसलाई घाम्रङ भन्दछ । त्यहाँ गएर बसेकाहरुलाई कोम्रो क्रोँम्चै भने । अनि, क्रोँमछै ट्हुबाट कान्छो छोरा कास्कीको नम्चु डाँडामा गएर बस्ति बसाले । नमले बस्ति बसालेको हुनाले सो ठाउँ नमचुँ भनिए । त्यसपछि नमचुँबाट नम्जु भए । नम्जुबाट नार्मजुङ भनिए । त्यो ठाउँ ताङतिङ गाउँबाट माथिल्लो डाँडामा अवस्थित छ ।  

अहिले, पच्युहरुको गुरुघर ‘फलिप्रोम्हारसोँ’ भनेको छ । पच्यु भनेको हिमाली क्षेत्रको रैथाने उप्रेत हो । यसमा कुनै कृत्रिमता छैन । जस्तैः ख्लेपृ र लामाले उग्र्यान लगाए । त्यो त मानिसले बनाएको कृत्रिम हो । तर, पच्युले यहाँको प्राकृतिले दिएको मौलिकता आँगालेको छ । पच्युको साजबाज के हुन्छ भने, ह्रगै, ह्राल्बो र तेँ भन्ने हुन्छ । ख्लेपृ र लामाले जस्तोरी जामा लाउदैन । आफ्नै साबिकको पोशकमा ठुलठुलो कर्मकाण्डहरु गर्दा, घलेग लाउछन् । हाम्रो दिदीबहिनीहरुले घलेग लाउदखेरी, बाँया काँधमा गाँठो अड्याएर दाँयातिर फेर छोड्छन् । तर, पच्युले दाँया काँधमा गाँठा अड्याएर बाँयातिर फेर छोड्छन् । पच्युले लाउदखेरि घलेग माथि बिभिन्न प्रकारका घन्टिहरु झुन्डाएर एउटा पेटी बाँधेको हुन्छ । पच्युको ह्राल्पो भनेको जटा हो । अब, त्येसमा चाहि भेडाको उनको लट्टालट्टा जस्तो बनाएको हुन्छ । टाउकोमा एउटा चुच्चे टोपि लाउछ । त्यो मुकुटको प्रतिक हो । मुकुट सहितको ह्राल्बो अर्थात जटा । यसलाई तिब्बती भाषामा पनि ह्राल्पा भन्दछन् । अनि, तेँ भनेको कल्कि हो । भनाइको अर्थ, हिमाली क्षेत्रमा सवभन्दा माथि डाफेको बास हुन्छ । त्यस पछि मुनाल हुन्छ । हुनत, हिमालमा सेतो पखेँटा भएको गिद्ध जत्रो चरा हुन्छ भन्ने भनाइ छ । तर, हिमाली क्षेत्रमा सवभन्दा माथि डाँफे हुन्छ । यसलाई गुरुङ भाषामा ‘नक्दो’ भन्दछ । डाँफेको भालेको प्वाख चाहि दाँयातिर र पोथीको बाँयातिर सिउरिन्छ । किनभने, बिज्ञान सम्मत नेगेटिभ र पोजेटिभ मिलाउनु पर्छ । तेँ भनेको कल्कि हो । अब त्यसमा कौडीहरु झुन्डाउने । अनि त्येसपछि बँदेलको दारन, बागको दारा, खास गरी कस्तुरीको दारा चाँहि बिपरित दिशा पारेर दुबै कन्चट माथि ट्याक्क पर्ने गरी झुन्डाइन्छ । यसलाई बाना भनिन्छ । 

गुरुङ भाषामा चैगी भनेको खोट सल्लो हो । त्यसको घेरा बनाउने । घोरलको छालाको ढ्याङ्ग्रो बनाउने । बेतको तन्नाले मोर्ने । कुकुर डाइनाको गजले बजाउने । यो पच्युको ढ्याङग्रो एक पाटे अलि सानो हुन्छ । तर, ख्लेपृको ढ्याङ्ग्रो पनि एक पाटे अलि ठुलो हुन्छ । पहिले सानोको अविस्कार भए पछि अलि ठुलो पनि भएको छ । अहिले हाम्रो कास्कीको ताङतिङ, सिक्लेतिर छ्याँडु भन्छन् । लमजुङतिर स्यर्ग भन्छन् । यो छ्याँडु र स्यर्ग नाच्ने त्हउदु अलि ठुलो हुन्छ । एकापट्टि मजुरा हलेर खरी हालेको हुन्छ । तर, पच्युको त्हउदु सानो हुन्छ र मजुरा राखि खरी पनि हालेको हुदैन । किनभने, मुजुरा र खरी हाल्ने काम त पछि मात्र बिकास भएको हो । यस अर्थमा हेर्दा, पच्युको त्हउदु आदिम भएको देखिन्छ । हुन त अहिले भन्न हुदैन व्यथा साह्रो छ । गाउँबाट पच्युको त्हउदु बोकेर आउन अल्छि लाग्यो । बजारतिरकै छ्याँडु नाच्ने त्हउदु बजाएर कर्मकाण्ड गर्न थाले । बास्तवमा पुरानै त्हउदु बजाउने पच्युहरु यहाँको प्रकृतिवादी एक नम्वरको रैथाने खेगीहरु हुन् ।

२. ख्लेप्रेँ खेगी (उप्रेत):
गुरुङ भाषामा ख्लेपृ, ध्यापृ, क्लेपृ, ल्हौरी आदि भन्दछन् । अहिले बिभिन्न थरका गुरुङहरुले पनि ख्लेपृ पढेका छन् । ख्लेपृको पनि दुइवटा हाँगाहरु छन् । (स्युरु फ्है र पुरु फ्है) । स्युरु फ्है टु ख्लेपृ र पुरु फ्है ?? ख्लेपृ हुन् । अगे म्हिङमरखेये लोबरप्रे भनेको आठ जना शिक्षाहरु थिए भनेको हो । सबैले पढि सके पछि एक एकवटा डाँडा समातेर गए । यसरी अलग अलग डाँडामा याजमानी गरेकाले प्येमा पनि धेरथोर फरक देखिन थाले । त्यसमा म्हौछैको खे अतरसिँ खे चाहि योजा हो । योजको अतरसिँ खेले ख्लेपृ पढेको रहेछ । त्यो अतरसिँ खे चाहि म्हिङमर खेसंग धेरै समयसम्म बस्यो रे भन्ने तोता स्योताँ यस्तो छ । खेलोँ योजाये ठ्हो । अर्थात योजाको न्हेँज खेलोँ हो । म्होछै ख्लेपृहरुको गढ याङजाकोट हो । अब, टु ख्लेपृले पढने प्ये पनि त्यही हो । म्हौछै ख्लेपृहरुले पढने प्ये पनि त्यही हो । तर, टु ख्लेपृ र म्हौछै ख्लेपृको भाषा फरक छ । हामी राम्रोसंग गुरुङ भाषा जानेको भए पनि टु ख्लेपृले पढेको भाषा बुझ्न कठिन हुन्छ । तर, म्हौछै ख्लेपृले पढेको भाषा पचास प्रतिशतसम्म बुझ्न सकिन्छ । किनभने म्हौछै ख्लेपृको पढने बोलिचालिको भाषामा नजिकको सम्बन्ध छ । किन यसरी भेद भयो त भन्दा, टु ख्लेपृ चोँ खेब । चोँ भनेको उपल्लो भाषा हो । लोँ भनेको तल्लो भाषा भएकोले फरक देखिएको हो । 

अब यहाँनिर हामीहरुले बुझ्नु पर्ने कुरा के छ भने, गुरुङ सांस्कृतिको दुइवटा नालहरु छन् । एउटा मस्र्याङदी र आर्को मादी । मस्र्याङदीको सांस्कृतिक केन्द्र ‘पोँजोकोँ’ (यो स्थान लमजुङ घलेगाउँ र नाँयु गाउँकोबीच भागमा जहाँ घले राजाको राजधानी थियो)लाई भन्दछ । मादी नदीको सांस्कृतिक केन्द्र भनेको चिली हो । गुरुङ भाषामा (पोँजोये प्ये, चिलीये प्ये) भन्दछन् । यता चेली सिक्लेसतिर, टु ख्लेपृको स्युरीतुँ क्वेबु, फलिम क्वेबु । स्युरीतुँमा पनि र खोकेम पनि क्वेबु रहेछ । अहिले चेली सिक्लेसतिरको टु ख्लेपृहरु सबैको स्युरितुँ क्वेबु भन्दछन् । उता लमजुङतिर गए पछि एउटा १२ र एउटा २७ रहेको छ । त्यस पछि आर्को, लमजुङको पसगाउँदेखि उत्तर दिशातिर तोँबु भन्ने गाउँ छ । त्यहाबाट उता गए पछि पुरानकोट र गोर्खाको सिरान चोकमा को ख्लेपृहरुको बर्चस्व रहेको पाइन्छ । त्यतातिर को ख्लेपृलाई कोके भन्दछन् । तनहुँतिर प्रु ख्लेपृ भन्नेहरु पनि रहेछन् । प्रु ख्लेपृहरुले आफुलाई नेपालीमा पुलामी भन्दछन् । अब, प्रु ख्लेपृहरुले कर्मकाण्डहरु गर्दा, पच्यु चाहिदैन । पच्यु बिनानै कर्मकाण्ड गर्दछन् । तपाइँहरुलाई थाहानै भएको कुरा हो कि हाम्रो ‘तमू ह्युल छोँजधीँ’को सम्पर्कमा रहेको तनहुँको राम गुरुङ प्रु ख्लेपृ हो । को, टु, म्हौछै सबै ख्लेपृहरुलाई संस्कारिक कर्मकाण्ड गर्दा पच्यु चाहिन्छ तर, प्रु ख्लेपृहरुलाई नचाहिदो रहेछ । किनभने यो कुरा आ–आफ्नो कुल परम्परा र यजमानमा चलेको चलन चल्ति अनुसार चल्दै आएको देखिन्छ । 

३. खेगी (लम वा लामा):
अब लम वा लामाको कुरा गर्दा, अहिले लामा विद्या त सार्वजनिक भएको छ । जुनसुकै थरकोले पनि पढन र सिक्न सकिन्छ । त्यसकारण, अब हामीहरुले थरी लामा र पढि लामा के हो भनेर चिन्नु पर्छ । तामाङमा पनि विशेष गरी ह्योल्मोहरुमा थरी लामा र पढि लामा भन्ने हुन्छन् । 

नम केतु, नम त्हये ल्हेगे पच्यु, क्रोम्छै म्हौछै ख्लेपृ भने जस्तै, अघिको लमचुँ न्हेँज भएको क्ह्रोँगी, फिब्रोँठ्हगी, म्हिगी र पैगीहरु थरी लामा हुन् । अब, हामीले बुझ्नु पर्ने कुरा के छ भने, लमचुँ न्हेँस भनेको कहाँ छ त ? भनेर भन्दा, उहिलेको घले राजाको राजधानी घले गाउँ । अहिले लमजुङको घले गाउँ आन्तरिक पर्यटनको लागि चर्चित गाउँ मानिन्छ । त्यहाँदेखि उत्तरपट्टिको डाँडामा नायु गाउँ र नायुदेखि माथिल्लो थुम्कोमा तल्लो घनपोखरा र तल्लो घनपोखरादेखि माथिल्लो थुम्कामा उपल्लो घनपोखरा छ । गुरुङ भाषामा तल्लो र माथिल्लो घनपोखरालाई  (ख्होयेम्रोँ र कदलेँ) भन्दछ । उपल्लो घनपोखरादेखि माथि एउटा थुम्को छ । त्यसलाई गुरुङहरुले फुलच्हो भन्दछ । कास्कीतिरको पच्युहरुले पढनेलाई ... भने जस्तै, लमजुङतिरको पच्युहरुले पढने प्येलाई बराले प्ये भन्दोरहेछ । त्यसमा के भन्दछ भने, फुलच्हो लमइ चुँजि भन्छन् । लमको जिज्युले आवाद गर्यो भनेको छ । यसरी, लमचुँबाट लमजुँ र लमजुँबाट लमजुङ जिल्लाको नामाकरण भएको हो । केही मानिसहरुले लामो जुंगा पाल्ने मानिसहरु भएकोले लमजुङ भएको पनि भनिन्छ । तर, यो सत्य होइन । 

लामाहरुको जतिसुकै थरी भएता पनि ती सबै थरी लामाहरु हुन् । सबै लमचुँबाटै शाखाबन्दि हुँदै गएका हुन् । त्यसमा जेठो क्ह्रोँगी लामाको न्हेँस कास्की, सिकलेस हो । फिब्रोठ्हगी लामाको न्हेँस लमजुङ, फिब्रो हो । क्ह्रोँगी र फिब्रोठ्हगीहरु जेठोको खलक भएता पनि अलग अलग स्थानमा बसोबास गरेको हुनाले न्हेँस अलग हुन गएको हो । माइला म्हिगी लामाको बसाइ दुइ ठाउँमा भएकोले न्हेँस पनि कास्की, कोसै र नल्वे हुन् । कान्छा पैगीका सन्तन हुन् । उनको न्हेँस कास्की, नम्चुँ, नमचुँ, नौजु हो । यस बाहेक अन्य थरी लामाहरुमा तोला, छ्योलेँ, तितु, क्युबि, बैदि, नौचैँ, हुर्दु आदि छन् । उनीहरुको नालिबेलीहरु अध्ययन हुँदै छ । 

लमजुङको मस्र्याङदी नालका (त्होर्जे फुर्ब हिदम) मान्ने । त्होर्जे फुर्ब हिदम भनेको तिब्बतको अति प्राचिन हिदम हो । गुरुह्रिमोर्छे पद्मसंभवले पनि साधना गर्ने हिदम हो । पूर्वि लमजुङको बार थरतिरका छतरी लगाएर नाच्ने लामाहरु सबैले त्होर्जे फुर्ब हिदम मान्दछन् । यता मादी खोलाको नाल सिक्लेस र याङजाकोटतिर आए पछि महाकाललाई हिदम मान्दछन् । वास्तवमा महाकाल हिदम होइन, धर्मपाल हो । तर, ती धर्मपालहरु मध्येमा पनि (पल येशे गोन्पो छ्याक्सिपा अर्थात श्रीज्ञान चर्तुबहु महाकाल) धेरै शक्तिशाली भएकाले तिब्बतमा (पल येशे गोन्पो छ्याक्सिपा)लाई पनि हिदम मान्ने एउटा सम्प्रदायको बिकास भयो । त्यसकारण, मादी खोलाको आसपासका लामाहरुले महाकालाईनै आफ्नो हिदम मान्दछन् । 

यस पछि आर्को गुरुङ लामाहरुको बारेमा भन्नु पर्दा, अहिले मैले पुरानो कुरा गरिरहेको छु । यसमा के छ भने, (पल्देन ल्हमु फुलब दे महाकाल फुलब) लम भन्ने चलन रहेको छ । महाकाल फुलब भनेको चाँहि महाकाललाई हिदम मान्ने हो । र पल्देन फुलब भनेको पल्देन ल्हमु हिदम मान्ने हो । पल्देन भनेको श्रीदेवी हो । गुरुङ लामाहरुमा तीन थरी हिदम मान्नेहरु छन् । अब यसमा चाँहि यो गुरुङ लामाहरुको पहिचान के हो त भने, ‘खोँक्यए,’ संस्कृतमा विश्वस्त्र विस्तुति भने जस्तै तिब्बतीमा मोलम भने जस्तै, ‘खोँ’ भनेको मन र ‘क्यए’ भनेको सृष्टि हो ।         

साबिकमा पच्यु ख्लेपृले जस्तै मुखाकर पढने ‘खोँक्यए’ गुरुङ लामाहरुको मौलिक पहिचान हो । उहिलेको समयमा अहिलेको जस्तो ‘कङग्यु, त्यङग्युर र दोमाङ’को ठेली कहाँ पाउने त्यस बेला ? पुरानो लामाहरुको कर्मकाण्ड गर्दा पढने पुस्तकलाई (पए छ्योए र त्हेँ छ्योए) भन्दछन् । पए छ्योए भनेको आर्गु गर्दा पढने वेद र त्हेँ छ्योए भनेको पूजाअजा र पैलु गर्दा पढने वेद । त्हेँ छ्योए चाँहि नार गुम्बाबाट ल्याएको ञिङम परम्पराको ठेली हो । जसमा पल येशे गोम्पो छ्याक्सिपा श्री ज्ञान चर्तुबहु महाकालको पूजा गर्ने हो । ‘पए छ्योए’ भनेको ख्होल–सोँ–थरमा आएर बिकास भएको हो । 

अब हाम्रो तोताँ स्योताँ, स्रुति परम्परामा मन्यता के छ भने, ख्होलामा टु ख्लेपृको खे ओनरे ख्लेपृले तमू भाषामा भन्ने र थरी लामाका पुर्खा ख्होइडु लामाले चाँहि उमी लिपि भोटे भाषामा लेख्यो । ओनारे टु ख्लेपृको जिज्युले तमू भाषामा भन्यो, ख्होइडु लामाले चाँहि लेख्यो भन्ने मान्यता छ । त्यसो भए पछि त्यहाँ ओनारे ख्लेपृ र ख्होइडु लामाकोबीचमा मित्रता भयो । त्यसैले, ख्लेपृले जसरी जसरी आर्गु गर्छ, लामाले पनि त्यही अनुसार गर्दै आयो । क्यक्या, तिज्यू, ख्होक्यू, थोक्यू, अलँ, प्ल, ह्रित्येँब, अस्तु ल्याउने, पच्युसंग मिलेर लास सेलाउने, आर्धु सेलाउने गरी ख्लेपृको जस्तो गरी आर्धु हुन थाल्यो । 

यसरी ख्होइडु लामाले तिब्बती लामा बुद्ध धर्मलाई अध्ययन गरी आफ्नोपनमा ढालेर कसरी संस्कार गरेका छन् त ? त्यसलाई राम्रोरी बुझे पछि मात्र गुरुङ बुद्धिजम भनेको के हो भन्ने बारेमा जानकारी हुन्छ । तिब्बती बुद्ध धर्म अनुसार लामा गुरुहरुले गर्ने कर्मकाण्डहरुलाई सर्लक्क अपनायो भने, त्यो गुरुङ बुद्धिजम होइन । तर, तिब्बतियन बुद्धिजमलाई गुरुङको मौलिक संस्कार अनुसार गरिने कर्मकाण्डलाई गुरुङ बुद्धिजम भनिन्छ । ख्होलामा यही संस्कारको बिकास भएको थियो । 

त्यसकारण (पए छ्योए त्हेँ छ्योए)को सवालमा अहिले पच्यु र ख्लेपृले पुकार्ने क्रममा, ख्होइडु लामा भालाछे भनि ख्होइडु लामाको पनि जय पुकारेको छ । त्यसकारणले, कतिपय ख्लेपृको प्रभाव लामामा परेको छ । लामाको प्रभाव ख्लेपृमा परेको छ । यसबाट के कुरा बुझ्नु पर्छ भने, ख्लेपृ र लामाकोबीचमा समन्वय भएको पाइन्छ । यो पुरानो कुरा हो । अब यसमा कुरा के हुन्छ त भने पच्यु, ख्लेपृ लम लामाको बारेमा बास्तवमा भन्ने हो भने, थरी लामाहरुको मात्र उप्रेत लामा हो । अरु सम्पूर्ण गुरुङहरुको उप्रेत चाँहि ख्लेपृ हो । घले, घोताने, लमछाने र सबै कुगीहरुको उप्रेत ख्लेपृ नै हो । त्यस्तै गरी, गाउँको भूमि पूजाको पुजारी पनि ख्लेपृ हो । यो कुरा हामीले राम्ररी बुझ्नु पर्छ । जस्तैः म लामा हुँ । लामामा पनि जेठो घरानाको क्ह्रोँगी लामा हो । छ गाउँ याङजकोटको मिर उमराको वंशज हुँ । धर्म गद्धीमा बसे पछि धर्म छाडन हुँदैन । जस्ताको तस्तै भन्न सक्नु पर्छ । त्यही कुरा मैले भनेको हुँ ।   

४. पैडी (ज्योतिषी): 
यस पछि आयो पैडी । जसरी पढेलेखेका विद्धानहरुलाई मात्र पण्डित भन्छन् । हाम्रो गाउँ घरको बाहुनहरुले पनि पण्डित नभनि पडित भन्छन् । कछाडतिरका गुरुङहरुले पनि पडित भन्दछन् । लेकाली गुरुङहरुले त्यसैलाई पैडी भन्दछन् । पैडी भनेको पडित र पडित भनेको पण्डित हो । तर, यो पण्डित चाँहि चौकामा बसेर भगवत गीता बाचन गर्ने पण्डित होइन । पैडी भनेको ज्योतिषी र ज्योतिषीलाई पैडी भन्दछन् । यही पैडीबाट गुरुङ समाजमा हिन्दु संस्कृति भित्रिएको छ । अब, पैडीको योग्यता के त भन्दा, देवनागरी लिपिमा लेखपढ गर्न जान्ने, हिन्दुहरुको ज्योतिष शास्त्र, तन्त्र र मन्त्र शास्त्र जान्ने, बिभिन्न जात वंशको नालिबेली र वंशवली जान्ने, बिभिन्न राजवंशको वंशावली जान्ने, आवश्यक कुराहरु लेखेर सुरक्षित राख्न सक्ने, सत्य, द्धापर र कलीको विशेषता जान्न सक्ने, चार युगको लक्षण जान्न सक्ने त्यस्ता व्यक्तिलाई पैडी भन्दछन् ।

यस बाहेक पैडी भनेको दिनये ख्ले अर्थात साइत हेर्ने हो । गाउँलेको लागि पनि साइत हेर्ने । बालक जन्मियो भने, चिना टिप्पनी बनाइ नाम जुराउने, चुडा कर्म, क्षेवर, पुटपुटे, गुन्यू चोली, विवाहको दिन हेर्ने, लग्न जुराउने, उभौली र उद्यौली गोठ सर्नका लागि साइत हेर्ने । त्यो सम्पूर्ण कार्यका लागि दिन हेर्ने दायित्व रहेको हुन्छ । कुनैकुनै गाउँमा त एउटा थरलाईनै सुम्पेको हुन्छ । कुनै गाउँमा जसले जान्यो उसैले गरेको हुन्छ । जस्तै, ताङतिङमा (पैडीमै ठ्हो) पण्डित टोल भन्ने छ । पूर्व माननीय नन्दजंङ गुरुङ, युकेमा हुनुहुन्थ्यो अहिले बित्नु भयो । उनले पैडीको काम गर्नु भएको थियो । अहिले उनको शेष पछि मास्टर जस बहादुर गुरुङले पैडीको कार्यभार धानेका छन् । गुरुङको चलन अनुसार पैडीहरु दिनये ख्ले, खेगीहरु हेँदोये ख्ले (यजमान) । अहिलेको नयाँ लामाहरुले त यजमानलाई (च्हिन्दा) भन्दछन् । यो च्हिन्दा होइन । दातालाई पो च्हिन्दा भन्दछ । यजमानलाई हिन्दा । तिब्बती भाषामा दातालाई च्हिन्दा र यजमानलाई हिन्दा भन्दछन् । 

५. चोगी वा म्हिक्रेँचोगः
यसैगरी म्हिक्रेँचोगहरु (सये ख्ले, त्होये ख्ले) हो भनि बुझ्नु पर्दछ । चोगी भनेको म्हिक्रेँचोगको छोटो रुप हो । जस्तैः म्हि भनेको मानिस र क्रेँ भनेको भारदार अर्थात भद्रभलादमी हो । र चोग भनेको खेगी, पैडी र गुरुङको संस्कार र संस्कृति जान्ने मानिस भन्ने अर्थ हुन्छ । म्हिक्रेँ चोगको योग्यता के त भन्दा, पच्युको वेद र मौलिक संस्कार के हो ? ख्लेपृको वेद र संस्कार के हो ? लामाको वेद र संस्कार के हो ? कुन बेलामा कस्ले कस्तो संस्कार र कर्मकाण्ड गर्नु पर्ने हो भन्ने बारेमा सम्पूर्ण जानकारी राख्न सक्नु पर्छ । गाउँमा जोगी आए, जोगीसंग मिलेर कुरा गर्न सक्नु पर्छ । बाहुन आए, बाहुनसंग कुरा गर्न जान्न र सक्नु पर्छ । कर्मचारी आए पाँच भाग ऐनको व्याख्या गर्न सक्नु पर्यो । खर्क, खर्चरी, मोहा भीर, साँद, सिमाना, डाँफे चरण, माछा चरणको बारेमा जान्नु पर्यो । राज मामला जान्नु पर्यो । उनले एउटा संरक्षकको दायित्व वहन गर्न सक्नु पर्छ । म्हिक्रेँचोग कस्तो हुनु पर्छ रे भने, (म्रुँदि फोँलखाँब, म्हैदि छैलखाँब) अर्थात (म्रुँ) भनेको राजासंग प्रतिवाद गर्न सक्ने र (म्है) भनेको खससंग जिकिर गर्न सक्ने यस्तो दायित्व रहन्छ । अब एउटा हाँसोको कुरा गरौं, गाउँधरमा वारी डाँडा पारि डाँडाका ठिटा तन्नेरीहरुमा, लसपस भयो, त्यस पछि जारी डाण्डा तिर्नु पर्ने भए पछि आफ्नो पक्षका केटाहरुको बिराम भए पनि होइन भन्ने पार्छन् । पार्न सकेन भने पनि धेरैको थोरेमा मिलाउन सक्छन् । तर, आफ्नो चेलीबेटीको हक अधिकार भने पूर्ण रुपमा उठाउन सक्ने हुन्छन् । उहिले म्हिक्रेँचोगको दायित्व यस्तो हुन्थ्यो । 

उहिले म्हिक्रेँचोगको खटनमा पैडीले दिन हेर्ने, चोगीले कर्मकाण्डको लागि व्यस्थापन गराउने, अह्राउने पराउने कार्य हुन्थ्यो । गाउँ र ठाउँको चलन अनुसार काम गरिन्थ्यो । तर, अहिले त गाउँधरमा यस्तो रीतभाद र संस्कार जान्ने म्हिक्रेँचोगी पनि छैन । त्यसैले, पच्युले जे भन्यो त्यही ठिक । ख्लेपृले जे भन्यो त्यही ठिक । लामाले जे भन्यो त्यही ठिक । जसोजसो बाहुन बाजे उसै स्वाहा । हाम्रो सामाजिक संस्कार संस्कृत र बिकृत रुपमा यसरीनै चलि आएको छ । 

उता लमजुङ दस थरतिरको संस्कारमा केही फरक छन् । जस्तैः पच्युले र ख्लेपृले आर्गु थाल्नु भन्दा पहिले, गुन्द्री र काम्लो ओक्ष्याएर म्हिक्रेँचोगलाई त्यहाँ उच्च सम्मान दिएर उनको आज्ञा अनुसार मात्र काम गर्ने मान्यता रहेको छ । तपाइँहरु थलगत निरीक्षणमा जानुहोस् त ? त्यहाँ तपाइँहरुले, म्हिक्रेँचोगको मौलिक मुल्य र मान्यतालाई नजिकबाट हेर्न र बुझ्न सक्नु हुन्छ । यसरी, म्हिक्रेँचोगको खटन पटनमा खेगी, पैडी र गाउँ गैह्रा सबै चल्नु पर्ने हुन्छ । 

तर, यहाँनिर अलिकति नमिठो कुरा छ । यो कुरा मैले नचहद नचहदै पनि भन्नु परेको छ । किनभने, उहिले यस्तो रहेछ है, हाम्रो बाउ बाजेको पालामा भन्ने बुझ्नु पर्छ । अहिलेको युगमा हेर्ने हो भने, महिला शसक्तिकरणको कुरा आएको छ । महिला दिदीबहिनीहरुलाई पेच पर्ला । तर, कुनै बेला, (न्हामस्यो न्होर, पोडेतुँये न्होर) अर्थात बादलको मुन्तिर र लालिगुराँसको फेदमा, त्यो जंगली अवस्थामा, महिलालाई संरक्षण गर्ने त पुरुषले नै हो नि ? भन्दाखेरि, (म्ह्युँइ अकुँब रिँई) माइतिले तह नलगाएको चेली ठाडो वा छाडा हुन्छ रे । (ख्होरइ अकुँब क्ल्या) हलोले नदाएको गोरु पनि छाडा हुन्छ । (म्हिक्रेँचोगइ अकुँब खेगी) भद्रभलामीले तह नलगाएको उप्रेत पनि ठाडे हुन्छ, भन्छन् । यो हाम्रो (तोताँ स्योताँ) हो । मैले कसैलाई घोचपेच र छेडखान गर्न यो कुरा भनेको होइन । तर, हाम्रो खेगी, चोगी र पैडीको बारेमा कुरा गर्दा, हाम्रो गुरुङको (तोताँ स्योताँ)लाई जस्ताको तस्तै भन्न सक्नु पर्छ । यही कुरा मैले भनेको हुँ ।  

मैले हामी गुरुङहरुको बारेमा बारम्बार भन्दै आएको छु, कि हामीहरु आदिवासीमा पनि गणजाति हो । किनभने, कुनै पनि सभा समरोह वा कचहरी हुँदा, त्यहाँ गणपुरक संख्या हुनु पर्छ । अर्थात सम्पूर्ण गाउँ गैह्राको उपस्थिति हुनु आवश्यक हुन्छ । चोगीले गणपुरकको दायित्व निभएको हुन्छ । जस्तै आर्गुको दिन हेर्न पर्यो भने पैडीको कुरा आउछ । तर, उनले म जान्ने पैडी हुँ भनेर यो दिनमा यसो गर्नु, उसो गर्नु भनेर खटन पटन गर्न पाउदैन । जस्तो कि, कुनै गाउँमा चार पाँचवटा टोल हुन्छन् । एउटै टोलमा पनि दुइ तीनवटा मुखियाहरु हुन्छन् । तालुकदार र मुखियाको झुत्तामा रहेको हुन्छ । त्यसैले कुनै लिखत लेख्न पर्यो भने, फलन जिमुको झुत्ता भित्रको फलन भनि लेखिन्छ । जस्तैः त्यो झुत्ता भित्र आर्गु वा विवाह गर्दा, दिन हेराउनु पर्यो भने, त्यो भुत्ता भित्रको घरै पिच्छे एकएक जना मानिस उपस्थित हुनु पर्छ । 

यसरी उपस्थित भए पछि त्यो गणपुरक संख्या भयो । म्हिक्रेँचोग पनि बसेको छ । पैडीले पनि दिन हेराइ सके पछि फलन दिनमा यसोउसो गर्नु भनेर भन्न मिल्दैन । सबै ठिक्क भए पछि, फलनको आर्गुको दिन हेरम त, पाँछा परमेश्वर ? भनेर पैडीले पञ्च भलादमीसंग अनुमति लिनु पर्छ । लौ हेरहेर, भनेर म्हिक्रेँचोग र म्हिन्कुचुले आज्ञा दिए पछि पैडीले दिन हेर्छ । अनि, लौ फलन दिनमा दिन जुरेको छ, समाजले काम दिन सक्छ त भनेर सोध्छ । सक्छ, सक्छ, भनेर भने पछि, लौ त मैले दिन किटान गरेँ है त भनेर मृतकलाई आर्गुको सूचना दिन्छ । यसरी, ख्याल, समुदायको आज्ञा लिएर फलन दिनमा फलनको आर्गु गर्ने निधो भयो भनेर, कास्कीतिर सिमीथोब र लमजुङतिर, छोँस गर्ने चलन रहेको छ । यसरी म्हिक्रेँचोगको आज्ञाले मात्र हुदैन । ह्युलको समुदायको अनुमति पनि चाहिन्छ । यसरी, गुरुङ समुदायमा खेगी, चोगी, पैडी र म्हिनकुचुको गणपुरक संख्याबाट कर्मकाण्डहरु गरिने सामुदायिक परम्परा रहेको पाइन्छ । 

मैले बारम्बर भन्ने गरेको छु कि, गुरुङ समुदायको परम्परागत मौलिक संस्कारहरु पुरेतवाद र कर्मकाण्डले जकडिएको संस्कार होइन । अहिले त लामा राखेर ढ्याङ्ग्रो बजाएर विवाह गर्ने चलन चलेको छ । बास्तवमा भन्ने हो भने, गुरुङको मौलिक विवाहमा (खेगी) उप्रेत चाहिदैन । गुरुङको विवाह कसरी हुन्छ त ? भने, मैले अघिनै पनि भने कि, कुन झुत्ताको केटी पाँचेको हो ? त्यो झुत्ताको मानिसहरु धरैपिच्छे एकएक जना अनिवार्य उपस्थित हुनु पर्छ । त्यो हो गणपुरक संख्या । त्यहाँ वर्ष गाड्नु पर्यो । अहिले शाही ठकुरीहरुको विवाहमा ढाल तरवार लिएर जान्छन् । तर, हाम्रो त वर्ष लिएर जानु पर्छ । वर्ष गाड्ने र मान्द्रो ओक्ष्याउने । मान्छे मर्दाखेरी मान्द्रो घोप्टो पारेर ओक्ष्याउने तर, विवाहमा उत्तानो पारेर ओक्ष्याउनु पर्छ । मान्छे मर्दा छ्युट । विवाह गर्दा ङट । विवाह गरे पछि त जयजन्म हुन पर्यो नि । त्यो दुलाहको पक्षका जतासुकै फर्कियोस, दुलही पक्षका पिडीको आडमा बस्छन् । छ सुकी दस्तुर लगाउने । क्ष्योँगीनेगी सबै त्यहाँ राख्ने । त्यहाँ पुरेत हुदैन । अब त्यहाँ बगदान कसले बोल्ने त भन्दा, आमा बाबाले होइन । त्यो झुत्ताको तालुकदारले बगदान बोल्छ । बगदान बोल्दा, आजदेखि फलनको छोरी फलन, फलनको स्वास्नी भयो । यहाँ बसेको पाँछा परमेश्वर सबैले थाहा पायो । (ङ्होर्बै ताँग) भनेको रह भित्रको माछाले पनि थाहा पायो । (मुर्बै निमी) आकासको चराले पनि थाहा पायो भनेर बगदान बोल्छ । किनभने, अहिलेको चलन अनुसार वडामा विवाह दर्ता चाहियो । रहदानी लिदा पनि प्रमाण चाहियो । भोली मुद्ध मामिला चलाउन पर्यो भने, त्यस समय तालुकदार, पाँछा र गाउँ समाज सबैले साक्षी सरजिमिन बोल्नु पर्ने हुन्छ । यस अर्थमा हेर्दा, त्यस समयका तालुकदार अहिलेको पञ्जिकाधिकारीको रुपमा रहेको कुरा तर्क संगत देखिन्छ । यो उहिलेको कुरा हो । त्यस समयमा पनि गुरुङहरुको शासन प्रणाली कस्तो बैज्ञानिक थियो भन्ने कुरा उपरोत्त घट्नाहरुले बलियो आधार दिन्छ । 

गुरुङ जातिको यस किसिमको विवाह चाँहि साँचै भन्ने हो भने, अहिलेको कम्युनिस्टहरुको गणवदी विवाह जस्तै थियो । साँचै भन्ने हो भने, गुरुङहरुको (रही  व्या रही किर्या) । अहिले चाँहि १३ दिन र ४५ दिन हिन्दुको । ७ दिन र ४९ दिन नयाँ लामाहरुको । गुरुङहरुको त (रही व्या रही किर्या) हो । विवाह र आर्गु जहिले गरे पनि हुन्छ । कस्तो सजिलो । अहिलेको नयाँ लामाहरुले चाँहि, ७ दिन नपुगेसम्म (च्याङबर) पोल्न हुदैन, मुर्छमा बस्छ भन्छन् । बाउ आमा र आफन्त बिमारी भए पछि बिदेशबाट अपरझट आउछन् । ७औं दिनमा फर्कने फ्लाइट छ । वहाँ जागिर जोगाउन फर्कनु पर्यो । बाउ मर्यो वा आमा मर्यो तर, ७ दिन नपुगेसम्म च्याङबर जलाउन हुदैन भने पछि त जकडिए बस्नु पर्यो नि ? उस्को फ्लाइट क्यान्सिल हुन्छ । जागिर गुम्छ । कस्तो आपत ? 

परम्परागत रुपमा हेर्दा, गुरुङको तीन दिनमा जुठो उम्कन्छ । उहिलेका धनीमानी मानिसहरुले मेरो बाबा आमालाई एक दिन पनि भोको राख्दिन भनि, दहा संस्कार गरेको चिहान डाँडाबाटै, आर्गु उठाएर ल्याउछ र तीन दिनको दिनमा त जुठो शुद्ध हुन्छ । अहिले त ७ दिन भन्दा पहिले च्याङबर पोल्न हुदैन र ४९ दिन पछि पनि कता जान्छ कता ? भनेर धार्मिक बन्देज लगाएर राखेको छ । यस अर्थमा हेर्दा, यो बन्देज व्यवहारिक देखिदैन । के यो कुरा बुद्ध दर्शनमा आधारित हो ? वा कुनै मत वा सम्प्रदायको भनाइ हो ? यो कुरामा खुलेरै छलफल हुन आवश्यक देखिन्छ । किनभने, कुनै पनि धर्मले अव्यवहारिक परिस्थिति सृजन गर्न हुदैन । कुनै पनि  धर्मले यस्तो विषम परिस्थिति सृजन गदर्छ भने, त्यो धर्मको नैतिक मुल्य र मान्यतामा सोच्नु पर्ने अवस्था हुन सक्दछ ।   

अहिलेको हाम्रो गुरुङ समुदायको अवस्था कस्तो छ भने, बैदेशिक रोजगारमा नगइकन सम्पत्ति अर्थन गर्न सकिदैन भन्ने मान्यता रहेको छ । घरमा आफन्तहरु फलनको मृत्यु भयो भने पछि फर्कनु पर्यो । मोटो रकम तिरेर बिदेशमा गएको छ । अबैधानिक रुपमा बसेको छ भने, फर्कनु पनि सक्दैन । यदि फर्कियो भने पनि इमिग्रेशनको कानुन लाग्छ । जेलनेल पनि हुन सक्दछ । यस्तो जटिल अवस्थामा मानसिक तनाव र शक हुन सक्दछ । त्यसैले, हाम्रो गुरुङ परम्परामा त (रही व्या रही किर्या) जुन समयमा अनुकुल हुन्छ, त्यही समयमा गर्न सकिन्छ । गुरुङ जातिको (रही व्या रही किर्या) भनाइको अर्थ, जस्तै, केटाकेटी मिलेर गयो । बाआमाले पनि पछडि राम्रो गरौला भनेर अगाडि लगाइ दियो । छ सुकी दस्तुर लगाएको छैन । तर, भित्र हजुर आमाको लास लडेर बसेको छ । अहिलेको नयाँ लामालाई त अस्यो टाला भए पनि नभए पनि केही मतलब छैन । अब मान्नुहोस् सबै काम ठिक भयो । तर, अस्योँ क्वेँ नभइकन ख्लेपृले पढ्दैन । छ सुकी दस्तुर नलगाएकोले माइतिले अस्योँक्वेँ दिदैन । भित्र लास लडिरहेको छ । बाहिरा छ सुकीको दस्तुर लगाउछ र अस्योँक्वेँ दिन्छ । (रही व्या रही किर्या) भनेको यो हो । खेगीवाद र कर्मकाण्डमा नजकडिएको कस्तो सजिलो, व्यवहारिक, मौलिक संस्कार र रीतिरिवाज छ हाम्रो ? यसलाई हामी सबैले राम्रोसंग मनन गर्न आवश्यक छ । 

प्रस्तोता चोग डीबी गुरुङ भाषा, साहित्य र बुद्ध दर्शनको विद्यार्थी हुन् । 
7/7/2020 
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

2 टिप्पणियाँ:

If you have any doubt, please let me know your message to help.