A lifestyle of Gurung, Nepal.

गुरुङ जातिको जीवन पद्धति र अवस्थाः

Chitra Maya Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, ‘गुरुङ जातिको जीवन पद्धति र अवस्था’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ जातिको जीवन पद्धतिलाई नियालेर हेर्दा, बिभिन्न अवस्था, गाउँ र ठाउँ अनुसार स्थानीय हावापानीमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

गुरुङ जातिको बसाइ सराइँको इतिहासलाई सरसरति हेर्दा, तिब्बतको कुकोँलिँम्हार अर्थात कैलाश पर्वतको फेदमा अवस्थित मानसरोवार तालको पश्चिम क्षेत्रमा अवस्थित तिङयान भन्ने स्थानबाट एउटा च्यान महापरिवार पश्चिम नेपालको ताक्लकोटको घाँटी पार गरेर सपुmँती ख्ह्याल्स आइ स्वतन्त्र राज्य स्थपना गरी बसे । त्यहाँबाट ठिनी ख्ह्याल्स, उइच्हो, मनो, क्होल, ख्होल–सोँ–थरहुदै लमचुँ (लमजुङ) आए ।

गुरुङहरुको वंश परम्पराको कुरा गर्दा, मंगोलियन वंशबाट हुण जातिमा, हुणबाट च्यान परिवारमा, च्यनबाट तुइमामा, तुइमाबाट तमूमा, तमूबाट गुरुङमा समय अनुकूल परिचित हुँदै आए । भारतमा ब्रिटिश साम्राज्यवादको विस्तार भए पछि गुरुङहरुलाई ‘गोर्खा’ उपनामबाट पनि परिचित भए । गुरुङको मूल बासस्थान गण्डकी प्रदेश (तमुवान) हो । त्यहीबाट नेपाल अधिराज्यभर फैलिए । हाल विश्वव्यापीकरणको लहरले गर्दा, गुरुङहरुको बसाइ सराइँ भूगोलको प्रत्येक भूभागमा पुगेका छन् । 
     
गुरुङहरुको सामाजिक संरचना मातृसत्तात्मक, वैचारिक स्वतन्त्रता, कर्म प्रधानता र सामाजिक समानताको आधारमा अंगीकरण गरेको पाइन्छ । नारी पुरुष दुवैले समान अधिकार प्राप्त गरेका हुन्छन् । शासन प्रणालीमा पनि समानताको आधार रहेका छन् । लमजुङमा शासन गर्ने ‘ख्याल्बो रोजा’ उपनाम रहेको पर्सै ख्ह्ले (क्ले) परसुराम घले राजाको शासनकालमा ‘नालछोँज’को उद्देश्य यस्तो थियो ।
१. दाइले भाइलाई नमिच्नु ।
२. धनीले गरीबलाई नमिच्नु ।
३. बलियोले निर्बलियोलाई नमिच्नु ।
४. भलादमीले सर्वसाधरणलाई नमिच्नु ।
५. सर्वसाधरणले भलादमीलाई नमिच्नु ।  
   
घले राजाले स्थापना गरेको ‘नालछोँज’को उद्देश्य समानताको आधारमा आधारित थियो । नालछोँजमा विशेष गरेर जग्गा जमिन, खोरिया, भीर, पाखा, खोला, नाला, पोखरी, वन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, खर्चरी, पुवाघारी, मौरीको भीर, डाँफेचरन, माछाचरन, गौचरन, साँध, सीमाना, थिति बन्देज, रीतिरिवाज, चाडपर्व, संस्कृति, संस्कार आदिको बारेमा छलफल गरेर थिति बाँधिन्थे । यसरी बाँधिएका थितिहरु राज्यका सर्वसाधरण सबैलाई मान्य हुन्थ्यो ।
     
Ghale king of Lamjung.
लमजुङको घले राजाको राज्य क्षेत्रको बारेमा चर्चा गर्नु पर्दा, दशथर डाँडा, पाँचगाउँ, छगाउँ, चौधखोला र बाह्रथर गरी पाँचवटा राज्य क्षेत्र थियो । घले गाउँ राजधानी थियो । राज्य व्यवस्थाका लागि उभौली र उद्यौली गरी वर्षमा दुइ पटक नालछोँज गरिन्थ्यो । मन्त्रीलाई ख्याल भनिन्थ्यो । पाँछाको नाउँमा पाँच जान मन्त्रीहरु चुनिन्थे  
     
लमजुङको ख्याल्बो रोजा घले राजाको पतन भए पछि गुरुङ समुदाय हिन्दु संस्कृतिको सम्पर्कमा आए । चतुर ब्राह्मनहरुले हाम्रा अग्रजहरुलाई काखि च्यापेर हिन्दु वर्ण व्यवस्थाको आधारमा गोत्र, मौलो, मासिने जात, नमासिने जात, खुँडा हान्ने जात, तल्लो जात र माथिल्लो जात भनेर कपोल कल्पित वंशवली लेखिदिए । त्यसैको आधारमा आजसम्म गुरुङ समुदाय चल्दै आए । गुरुङ जातिको जीवन पद्धति पनि यसैको वरिपरी झ्यांगिएको देखिन्छ ।        
     
स्मरण गर्नुहोस, २१औँ सताब्दीका पढेलेखेका साक्षर गुरुङहरुले यस्ता कपोल कल्पित र भ्रमक कुराहरुमा विश्वास गर्ने कि नगर्ने ? यदि गर्ने नै हो भने यसको बलियो आधार के छ ? किनभने, मानिस सामाजिक प्राणी भएकाले समुहमा बस्दछन् । समुहलाई व्यवस्थित गर्न नेतृत्वको चयन गरिन्छ । नेतृत्वबाट समुहको व्यवस्थापन हुन्छ । संसारको प्रत्येक समुह यही प्रणालीद्धारा चलेका छन् । 
     
हामी सम्पूर्ण गुरुङहरुले वर्ग के हो र वर्ण के हो भनेर स्पष्टसंग बुझ्नु पर्ने अवस्था छ । किनभने जबसम्म वर्ग र वर्णकोे स्पष्ट भावार्थ बुझ्न सक्दैनौँ, तबसम्म हामीहरु भ्रमको सिकार भैरहेका हुनेछौँ । अहिलेसम्म त्यही भैरहेको छ । के हो ? के हो ? भनेर त्यसैमा अल्झिएका छौं । यसरी भ्रममा अल्झिएको जीवन पद्धतिबाट हाम्रो बृत्तिबिकास गर्न कति संभाव छ ? 
     
यस प्रकारको कपोल कल्पित र भ्रमको खेतीबाट हाम्रो मौलिक पहिचान ओझेलमा पर्न सक्दछ । ओझेलमा परे पछि परतन्त्र हुन्छ । परतन्त्र भए पछि आश्रित हुन्छ । आश्रित भए पछि बैसाखी चाहिन्छ । बैसाखीको सहरामा हामीहरु कतिन्जेल बाँच्ने ? कसरी बाँच्ने ? यो बडो जटिल र पेचिलो प्रश्न छ । यही प्रश्नको उत्तर खोज्नका लागि सर्वप्रथम हामीहरुले वर्ग र वर्णको सही परिभाषा बुझ्न आवश्यक हुन्छ ।

संसारको प्रत्येक समाज र समुहमा वर्ग हुन्छ । विकसित र सभ्य समाज सबैले वर्गलाई स्विकार गरेका छन् । किनभने, वर्ग भनेको धनी र गरीब हो । धनी र गरीबकोबीचमा एउटा निश्चित दुरी हुन्छ । त्यो दुरी भनेको तरलता हो । तरलताको वास्तविक अवस्थालाई मापन गर्न सकिदैन । त्यसैले, समयको माँग र आवश्यकतालाई परिपुर्ति गर्न सकेन भने धनी पनि गरीब हुन सक्दछ । त्यसै अनुरुप समय, परिस्थिति, अवसर र चुनौतिको सामना गर्दै, कठोर परिश्रमकासाथ प्रतिस्पर्ध गर्दै जान सके, गरीब पनि धनी हुन सक्दछ । यसबाट के कुरा स्पष्ट हुन्छ भने, तरलता भनेको प्रतिस्पर्ध हो । यही प्रतिस्पर्धको माध्यामबाट डाक्टर हर्क गुरुङ र डाक्टर चन्द्र प्रसाद गुरुङले कर्मको श्रेष्टता प्रमाणित गरेका थिए । यसैगरी, जनताका छोरा छत्रमान गुरुङ प्रधान सेनापति भए, पृथ्वीसुब्ब गुरुङ मुख्यमन्त्री भए, भाटभटेनी सुपर मार्केटका सञ्चालक र खरबपति शेष घले अब्बल दर्जाका ब्यापारी हुन सफल भए । प्राज्ञ डाक्टर जगमान गुरुङ प्रख्यात संस्कृतिविदको रुपमा परिचित भए । गीतकार एकेन्द्र गुरुङको रेदो थुमै पे्रतन रोधीँरी भन्ने गीत सार्वधिक चर्चामा आए । यी ज्वालन्त उदाहरणहरु वर्ग व्यवस्थाका सकारात्मक परिणाम हुन् ।   
     
अब वर्ण भनेको के हो ? वर्ण व्यवस्थाको अर्थ के हो ? यसको सैद्धान्तिक पक्ष के हो, भन्ने कुरा राम्रोसंग बुझ्न अत्यन्तै आवश्यक छ । तितो सत्यमा भन्नु पर्दा, वर्ण भनेको हिन्दु वेद, उपनिषद र मनुस्मृतिको सिद्धान्त अनुसार प्रतिपादन गरिएको ठोस प्रणालीमा आधारित शासन व्यवस्था हो । जस्मा समाजलाई ब्राह्मन, क्षेत्री, वैश्य र शुद्र भनी चार भागमा विभाजन गरिएका छन् । जुन व्यवस्थामा शुद्रले वैश्यसंग प्रतिस्पर्ध गर्न नपाउने, वैश्यले क्षेत्रीसंग प्रतिस्पर्ध गर्न नपाउने र क्षेत्रीले ब्राह्मनसंग प्रतिस्पर्ध गर्न नपाउने ठोस वर्ण व्यवस्था गरिएका छन् । जसलाई अंग्रेजीमा फ्रोजन क्लास भन्दछन् । बस, सबै स्थिर भयो । बिलकुलै जाम भयो । कही कतै कोही पनि हल्लिन नसक्ने अवस्था छैनन् । 
     
उदाहरणका लागि, ब्राह्मन परिवारमा जन्मने वित्तिकै स्कुल नपढे पनि पण्डित भैहाल्ने ! क्षेत्रीको कुलमा जन्मने वित्तिकै काजि भैहल्ने ! जन्मसिद्ध अधिकार प्राप्त हुने वर्ण व्यवस्थाको सिद्धान्त हो । यो व्यवस्थामा कर्मको कुनै महत्व र स्थान छैन । शुद्र र वैश्यले जति ज्ञान हाँसिल गरे पनि पण्डित वा आचार्य हुन पाउदैन ! शुद्रले वेद श्रवण गर्यो भने कठोर यातना दिइन्छ । यही कारणले गर्दा, हस्तिनपुरको महारथी दानवीर कर्णले सामाजिक समानता र कर्मको श्रेष्टता प्रमाणित गर्नका लागि आजिवन क्रान्ति गर्नु भएको थियो । 
     
अब तपाइँ आफै भन्नुहोस त, गुरुङहरु वर्ग र वर्ण कुन व्यवस्थामा जाने ? कुन व्यवस्थामा रहने ? कुन व्यवस्था मान्ने ? कुन चाहि ठिक छ । कुन चाहि बेठिक भन्ने कुराको निर्णय स्वयं आफैले गर्दा उपयुक्त हुन्छ । किनभने, तपाइले यो कुरा राम्रोसंग बुझ्नु भयो भने, तपाइको निर्णय सही हुन सक्दछ । भन्न खोजेको कुरा के हो भने, हाम्रो अग्रजहरुले जुनसुकै मन्त्र फलाके पनि जुन दिन गुरुङ समुदय वर्ण व्यवस्थाबाट मुक्त हुन्छ, त्यो दिनबाट मात्र गुरुङ समुदायले मौलिक पहिचान र जीवन पद्धतिको सवालमा सही अर्थमा मार्ग दर्शन गरी सार्थकता पाउन सक्ने छन् । 
     
हिजोको समयमा गुरुङहरु पढेलेखेका थिएनन् । तर, आजभोली पढेलेखेका विद्धान मानिसहरुको खाँचो छैन । यति धेरै विद्धानहरु हुँदाहुदै पनि वर्ग र वर्णको भेद छुट्याउन सकेनन् वा चाहेनन् । यो अत्यन्तै रहस्यमय विषय हुन आएको छ । हाम्रो अग्रजहरु र प्राज्ञहरुले गोत्र, मौलो, मासिने जात, नमासिने जात, खुँडा हान्ने जात, ठकुरी सरहको माथिल्लो जात, मीर उमरा, वंशवली आदि भनेर दसकौँदेखि वकालत गर्दै आउनु भएका छन् । हाम्रो मौलिक जीवन पद्धतिको सवालमा वहाँहरुको भनाइ कति तर्कसंगत छन् ? कति सत्यता छन् ? कसी लगाउन आवश्यक देखिन्छ ।
     
अर्को कुरा विद्धानहरुको भनाइ के छ भने, जुनसुकै जात जातिको पनि भाषा, साहित्य, इतिहास, गीत, कविता, कथा, काव्य, संस्कृति र मौलिक परम्पराहरु त्यही जातिको विशेषज्ञद्धारा लेखिनु पर्छ । त्यसो हुन सकेमा मात्र मौलिकता झल्किन्छ । किनभने यसैको आधारमा हाम्रो जीवन चलेको हुन्छ । तर, गुरुङको मौलिक संस्कृति भनेर परिचित घाँटुको गीति काव्य कुन गुरुङले लेखेका हुन् ? भ्रमक र कपोल कल्पित वंशवलीहरु कुन गुरुङले लेखेका हुन् ? गुरुङ जातिको जीवन पद्धतिसंग मेल नखाने इतिहासदेखि वर्तमानसम्मका विषयहरुमा देखिएका भ्रमक कुराहरुलाई कसरी समाधान गर्न सकिन्छ ? यसको सही उत्तर के हुन सक्दछ ? यिनै विषयको विश्लेषण एवं संष्लेशण खोज्नका लागि गुरुङ स्कुलको ब्लग मार्फत हाम्रो समुदायलाई सचेत हुन अनुरोध गरिएको हो ।      
     
A Ghantu dance.
गुरुङ समुदायको आफ्नै किसिकका मौलिक रीतिरिवाजहरु छन् । जस्तैः रोधीँ परम्परा, गीति काव्य घाँटु, खेमा नाँब, ल्होछार, पुटपुटे, गुन्युचोली, ठ्होत्हेँ, कुर्से, पितृ कार्य पए गर्ने गुरुङ समुदायको परम्परागत् मौलिक संस्कारहरु हुन् । यस बाहेक गुरुङहरुको धेरै चाड पर्वहरु पनि छन् । त्यसमध्ये खेमा नाँब राष्ट्रिय पर्व, ल्होछार नयाँ वर्ष र गीति काव्य घाँटु सांस्कृतिक पर्व हुन् । यस बाहेक रिँईम्ह्युँ पर्व दुदे, नौगी, खिसरी, ठ्होत्हेँ र क्यसो पर्व आदि अतिरिक्त पर्वहरु हुन् । 
     
गुरुङको भाषा, भेषभूषा, खानपिन, रहन, सहन, परम्परागत संस्कार र जीवन शैलि अन्य जातिको भन्दा अलि पृथक रहेको देखिन्छ । यी जातिहरु तामसी भोजन गर्ने, फुपुचेला मामाचेलामा विहेवारी चलाउने, रोधीँ परम्परामा झ्यामिने र गीति काव्य घाँटु नृत्य प्रर्दशन गरी संस्कृतिक परम्परामा रमाउने गर्दछन् । यो शैलि गुरुङ पद्धतिको विशेषता हो ।  
     
गुरुङहरुको मूल बासस्थान लेकाली भेगमा भएकाले कृषि र पशुपालन सामाजिक जीवनका प्रमुख आधारशीला हुन् । खेति किसानका लागि मसथर भूभाग अत्यन्तै न्यून भएकाले भिरालो पाखा, पखेरो र खोरियामा पनि खेति गर्ने गरिन्छ । समथर भुभागको आभाव भए पनि भेडीगोठ, भैसीगोठ र गाईगोठको मलका कारण उत्पादन राम्रो लिन सकिन्छ ।  
     
सम्वत २०३६ सालको जनमत संग्रह पछि गुरुङहरु पनि आफ्नो किलोथलो छाडेर अवसरको खोजिमा शहरमुखि हुन थाले । तर, सुकिला मुकिला शहरिय वातावरणमा गुरुङको समाजिक मुल्य र मान्यतामा आधारित मौलिक संस्कारले उचित स्थान पाउन प्रतिकुल अवस्था देखिएको छ । अतः सम्पूर्ण अग्रज र प्राज्ञिक वर्गले यस वारेमा सचेत हुन आवश्यक ठान्दछु । 

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/15/2020 
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.