The history of brave Gorkha.

गुरुङ समाजमा लाहुरे परम्पराः   

Omendra Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, ‘गुरुङ समाजमा लाहुरे परम्परा’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । लाहुरे परम्पराको बास्तविक अवस्थालाई नियालेर हेर्दा, सकारात्मक र नकारात्मक दुबै पक्षलाई बराबर तोलेर हेर्नु पर्ने हुन्छ । यस लेखमा दुबै पक्षलाई पनि समान न्याया गर्ने प्रयास गरिएको छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

लाहुरे परम्परा भन्ने शब्द नेपाली समाजको जनजिब्रोमा राम्रोसंग भिजेको नाम हो । न्यून र मध्यम स्तरसम्म शिक्षा प्राप्त गरेका युवाहरुका लागि नुनपानीका लागि सजिलो र भरपर्दो पेसा पनि हो । यो पेसाबाट लाखौंलाख घर परिवारहरु प्रत्यक्ष्य अप्रत्यक्ष रुपमा आश्रित भएर उन्नति प्रगति गरेका छन् ।

लाहुरे शब्दको व्युत्पति तीनवटा शब्दहरुबाट समास भएको छ । जस्मा ‘लाहुरबाट+आएको+रे’ अर्थात् लाहुर भन्ने स्थानबाट आएको रे भन्दा भन्दै, छोटकारीमा लाहुरे हुन आएको भन्ने भनाइ रहेको पाइन्छ । लाहुरेको इतिहासलाई सरसर्ति हेर्दा, गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा इस्वी १७६३ मा गोर्खाली पल्टन ‘श्रीनाथ गण’ खडा गरेका थिए । इस्वी १७६८ मा स्रोतहरुले भरिपूर्ण हराभरा काठमाडौं उपत्यकालाई आफ्नो अधिनमा पारे पछि, त्यही राजधानी बनाए । गोर्खाली सेनाले इस्वी १७६८ मा अंग्रेजका विरुद्ध गढवाल र काँगडामा, १७८९ र १८५५ मा भोटका विरुद्ध, सन् १८१४देखि १६सम्म र १८६२ मा अंग्रेजसित युद्ध लड्यो । गोर्खाली फौजले १८१४ सम्ममा टिस्टादेखि काँगडासम्मको सम्पूर्ण हिमाली प्रदेश जितिसकेका थिए ।         
   
भारतमा इस्ट इन्डिया कम्पनीले जरा गाडे पछि ब्रिटिश साम्राज्यवादीको उदय भयो । गोर्खाली वीर र बहादुरहरुको युद्धकला देखेर अङ्ग्रेज हच्किएको थियो । त्यसैले, यिनीहरुसंग शत्रुता मोल्नु भन्दा, यिनीहरुलाईनै आफ्नो सेनामा भर्ती गरेर साम्राज्यवादलाई विस्तार गर्ने दूरागामी सोँच राखेर संवत १८१४देखि १८१६बीच विभिन्न चरणमा सम्वाद भए पछि ‘अक्टरलोनी र काजी अमरसिँह थापा’बीच संझौता भयो । उक्त संझौता अनुसार सन् १८१९ अप्रिल २४ तारिकको दिन पाकिस्तान स्थित लाहुर भन्ने स्थानमा एउटा गोर्खाली पल्टनको स्थापना भयो । 
   
काजी अमरसिँह थापाको पतन पछि श्री ३ जंग बहादुर राणा सत्तामा आए । गोर्खाली पल्टनबाट मोटो रकम सलामी आउने पक्का भए पछि राणा सरकारले पनि स्वीकृति दियो । सुगौली सन्धि पछिको नेपाल र अंग्रेजबीचको अप्ठ्यारो सम्बन्ध श्री ३ जंगबहादुर राणाको उदय र उनको १८५०को बेलायत भ्रमण पश्चात् ब्रिटिश साम्राज्यवादप्रति नेपाल पूर्णपक्षमा परिणत भयो ।
   
सन् १८८६ देखि १९०४ सम्म भारतीय सेनामा भर्ती हुने गोर्खालीहरुको संख्या २७,४२८ थियो । सन् १९०४ देखि १९३५ को दौरानमा यो संख्या १,२८,७७० पुग्यो । प्रथम विश्वयुद्धको अवधिमा भर्ती गरिएको कुल संख्या १,१४,५६५ थियो । भारतीय सेनामा सेवारत गोर्खालीको अलावा अङ्ग्रेजको दृढ समर्थक चन्द्र शमशेर राणाले भारतीय सीमा क्षेत्रहरुको रक्षार्थ १६,००० नेपाली फौज अलगै पठाए । 
     
यसरी गोर्खाली सेनाहरुले ब्रिटिश साम्रज्यवादीको नुनपानी खाएर विभिन्न समय र अवस्थामा बहादुरीका साथ लडाइ लडेकाले भिक्टोरिय क्रसले विभूषित हुनु भएका छन् । डा. चन्द्र बहादुर गुरुङद्धारा लिखित ‘भिक्टारिय क्रस विजेता गोर्खाहरु’ नामक पुस्तक अनुसार, महायोद्ध कुलविर थापा, कर्न बहादुर राना, लाल बहादुर थापा, गजे घले, गुञ्जु लामा, तुल बहादुर पुन, आगम सिँ राई, भानुभक्त गुरुङ, लक्षमान गुरुङ, नेत्र बहादुर थापा, शेर बहादुर थापा, थमन गुरुङ र राम बहादुर लिम्बु भिक्टोरिय क्रसबाट विभूषित हुनु भएको थियो । यस बाहेक बिर्तासिँ गुरुङ ‘रसियन स्टार’बाट विभूषित हुनु भएको थियो ।      
   
महायुद्ध समाप्त भएको दुइ वर्ष पछि ब्रिटिस भारत अन्तर्गतको गोर्खाली भर्ती परम्पराको लामो अध्यायको पनि अन्त्य भयो । सन् १९४७ को भारत स्वाधीनताले गर्दा १, ३, ४, ५, ८, ९ र ११ गोर्खा राइफल भारतीय सेनाको रुपमा भारतमै कायम रह्यो । २, ६, ७ र १० गोर्खा राइफल ब्रिटिस गोर्खा ब्रिगेडको रुपमा विभाजित भएर ब्रिटिशको अधिन भयो । यसरी, एउटा स्वतन्त्र राष्ट्रको नागरिकहरु दुइ विदेशी राष्ट्रका सेनामा अग्रिम रक्षक हुन पुगे । यो अवस्था संयोग भनौ वा बाध्यता, आफैमा मौन रहेको छ ।  
   
Gorkha parade.
यसपछि भारतीय सेनाले सन् १९६२, ६३मा चीनसंग, १९६५मा पाकिस्तानसंग र १९७१ मा बंगलादेशसंग भिषण युद्ध भयो । पाकिस्तानको सिमामा बेलाबखत तनाव भैरहन्छ । हाल काश्मिरको पृथकतावादी समुहका कारण भारतिय सेना तैनाथि अवस्थामा रहन्छन् । 
     
यसैगरी ब्रिटिस फौजमा जानेहरु मलाया, इन्डोनेसिया र ब्रुनाइको युद्धमा संलग्न भए । ब्रिटिस सेनामा संलग्न हुनेहरु मलेसियाको युद्ध समाप्त भए पछि एउटा पल्टनलाई सिंगपुर पुलिसको रुप दिएर हजारौं गोर्खालीहरुलाई रेटेन्सीमा खाली खुट्टा घर पठाए । बाँकीलाई हङकङमा पुनःस्थपना गराए ।
   
सन् १९९७को हङकङ सन्धि पछि ब्रिटिश सरकारले सैनिक संख्यामा भारी कटौति गरेर, बाँकी रहेकालाई बेलायतमा पुनःस्थापना गरे । पुर्व क्षेत्रका लागि गोर्खा भर्ती केन्द्रका रुपमा सञ्चालन भएका धरान क्याम्प बन्द गरे । हाल नेपालका लागि गोर्खा भर्ती केन्द्रका रुपमा पोखरा क्याम्प मात्र सञ्चालनमा रहेका छन् । गोर्खाली सेनाका पारीवारिक सुख सुविधाहरुका लागि ललितपुरको क्याम्पबाट व्यवस्थापन गरिन्छ । 
     
बेलायत निवासी मेजर एलबी गुरुङ र ओमेन्द्र गुरुङको भनाइ अनुसार सन् २०१८ सालसम्म बेलाएतमा गोर्खाली सेनाको संख्या लगभग ३, १५६ जन रहन आएका छन् । गोर्खाली सेनाले पनि गोरा सरह समान पेन्सन पाउने कुरा सुन्नमा आएका छन् । समानता हुन सक्यो भने, गोर्खालीहरुको सही मुल्याङकन भएको ठहर हुनेछ । 
     
यसैगरी सन् १९९०को दशकसम्म भारतमा गोर्खाली सेनाका लागि ४ वटा प्रशिक्षण केन्द्रहरु र ३८ वटा पल्टनहरु रहेका थिए । यस बाहेक २० वटा भन्दा बढी आसाम राइफल्सका गोर्खाली पल्टनहरु पनि कायमै रहेका छन् । प्रत्येक प्रशिक्षण केन्द्रहरु र पल्टनमा आधिकृतहरु र सैनिकहरु गरेर एक हजारको हराहारीमा हुने गर्दछन् । यसबाट के बुझिन्छ भने भारतीय सेनामा लाखौंको संख्यामा नेपालीहरुले रोजगार पाएका छन् । लाहुरेहरुको दिनचर्याको हकमा मूलतः अनुशासन, शारीरिक व्यायम, सैनिक शिक्षा, हातहतियारहरुको प्रशिक्षण, जंगल प्रशिक्षण र बैरीहरुलाई परास्त गरेर आफ्नो किल्ला सुरक्षित गर्ने विषयमा केन्द्रित रहेका हुन्छन् ।     
   
भारतीय सेनामा भर्ती भए पछि प्रत्येक ४ वर्षमा ४ महिनाको घर बिदाका साथै गण्डकी क्षेत्र तमुवान राज्य भित्र बसोबास गर्नेहरुले २८ दिनको आउने जाने बाटो बिदा समेत गरी १४८ दिन बिदा पाउने हकदार थिए । हालः यातायातको सुबिधा भैसकेकोले आवश्यकता अनुसार वार्षिक रुपमा पनि बिदा लिन सकिन्छ । 

सन् १९९०को दशकबाट लाहुरेको तलबमा अपार वृद्धि भयो । यिनै श्रोतको माध्यमबाट गुरुङहरुले वृत्तिविकास गर्दै गाउँघरदेखि सहर बजारसम्म अलिशान घरहरु बनाएर भौतिक सुख सुविधाको उपभोग गरेका छन् । छोरा छोरीहरुलाई राम्रो शिक्षा दीक्षा दिएर डाक्टर, नर्स, इन्जिनियर, पाइलट, शिक्षक, प्राध्यापक, पत्रकार, लेखक, वकिल, चार्टर एकाउन्टेन्ट, बैंकर्स, सैनिक अधिकृत, निजामति सेवामा, व्यापार, उद्योग र पर्यटन व्यवसायमा प्रवेश गरी उन्नति प्रगति गर्न सफल भएका छन् ।      
   
सुरुमा भारतीय गोर्खा भर्ती केन्द्र गोरखपुरमा मात्र सीमित थियो । त्यस बखत भर्ती हुन लायकका युवाहरुलाई मापदण्ड पुराएर गल्लावाला मार्फत गोरखपुर लगिन्थ्यो । समयको मांग अनुसार त्यसलाई विस्तार गर्दै सवार्तु, देहरादुन, सिलाङ र लखनउँ आदि तालिम केन्द्रहरुमा पनि भर्ती गरिन थाल्यो । अहिले विभिन्न जिल्लाका पेन्सन वितरण कैम्पहरुमा वर्षको एक पटक दौड प्रतियोगिता गराएर गोर्खा भर्तीको व्यवस्था मिलाइएको छ ।
   
भारत र ब्रिटिश सेनामा भर्ती हुने अवसर कम हुन थाले पछि युवाहरुको झुकाव नेपाली सेनातिर बढेको छ । नेपाली सेनाले पनि आवश्यकता हेरेर काठमाडौंमा भर्ती केन्द्र खोल्ने गरेका छन् । त्यही समय पारेर गुरुङ युवाहरु सेनामा भर्ती हुने गर्दछन् । 
   
सन् १९९०को दशक भन्दा पहिले गुरुङ युवाहरुले गोर्खा भर्तीलाई नै जीवनको पहिलो लक्ष्य बनाउने गर्दथ्यो । तर, त्यस पछिको दशकबाट विश्वव्यापीकरणको लहर चलेको हुनाले युवाहरु वैदेशिक रोजगार र उच्च शिक्षा अध्ययनको सिलसिलामा विभिन्न देशहरुमा पनि जान थाले । जस्माः खाडी मुलुकहरु, मध्यपूर्व, दक्षिण कोरिया, जापान, युरोपेली मुलुकहरु, रसिया, बेलायत, अस्ट्रेलिया, अमेरिका र क्यानडा आदि छन् । यस बाहेक सन् १९९७ पछि हङकङमा जन्मेका गोर्खाली लाहुरेका छोरा छोरीहरुलाई त्यही स्थायी रुपमा बसोबास गर्न पाउने अधिकार पाए पछि ठूलो संख्यामा गुरुङहरुले त्यही राम्रो अवसर पाएका छन् । यसरी, अन्य माध्यमहरुबाट पनि राम्रो अवसरहरु पाएका हुनाले अनुपातमा गोर्खा भर्ती प्रतिको अकर्षण कम हुँदै गएको देखिन्छ । 
   
गोर्खा भर्तीको मूल आकर्षण भनेको पेन्सन हो । यो पेन्सन आफ्नो शेष पछि आफ्नो श्रीमती र नाबालक छोरा छोरीहरुले समेत पाउने भएकाले अत्यन्तै भरपर्दो स्रोतका रुपमा लिइन्छ । गाउँ घरमा बस्ने निम्न आय भएका परिवारहरुलाई यो स्रोत वारदान सावित भएको छ । पहिला पहिला खासखास ठाउँहरुबाट मात्र पेन्सन वितरण हुन्थ्यो । हालः विभिन्न केन्द्रहरुबाट पनि यो व्यवस्था मिलाइएको छ । 
     
आदिमकालमा गुरुङ समुदायमा व्यापार व्यवसाय केही थिएन । लाहुरेहरुबाट प्राप्त हुने नगदनै मुख्य आर्थिक श्रोत मानिन्थ्यो । त्यस बखत लाहुरेको मासिक तलब नगन्य रुपमा भए तापनि वस्तु बजारको तुलनात्मक हिसाबले द्रव्य बजार गह्रुँगो थियो । त्यसैले, न्यून रकमले पनि धेरै वस्तुहरु किन्न सकिने अवस्था थियो ।
     
गोर्खा भर्तीको सकारात्मक र नकारात्मक दुबै पक्षहरुलाई समान दृष्टिले शस्लेषण गरी हेर्दा, एउटै सिक्काको दुइ पाटा जस्तो देखिन्छ । गुरुङहरु गोर्खा भर्तीमा सामेल भएकाले, त्यसको श्रोत र साधनबाट हाम्रा शन्ततीहरु डाक्टर, नर्स, इन्जिनियर, पाइलट, शिक्षक, प्राध्यापक, पत्रकार, सैनिक अधिकृतका साथै साहित्य, गीत, संगित, नृत्य, अभिनय, चलचित्र, व्यापार, व्यवसाय आदि अनेकौँ क्षेत्रमा उच्च पदस्थमा पुग्न सफल भएका छन् । यसलाई सकारात्मक पक्षको रुपमा लिन सकिन्छ ।   
     
त्यस्तै गरी, गोर्खा भर्तीका केही नकारात्मक पक्षहरु पनि छन् । त्यो पक्ष भनेको राज्य सत्तको सञ्चालन र निजामति सेवामा ओझेलमा परेका छन् । तर, गुरुङहरु गोर्खा भर्तीमा नगएको भए आजसम्म पनि डाँफे चरणकै आसपासमा रमाउनु पर्ने बाध्यात्मक अवस्था हुन सक्ने थियो । यसलाई नकार्न सकिदैन । 

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् । 
4/17/2020 
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.