Gurung traditional ritual, part: I.

पितृ कार्य (पए):

गुरुङको मौलिक संस्कार अनुसार गरिने पितृ कार्य (पए) भागः १
  
Gurung language & culture.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, ‘पितृ कार्य (पए) भाग १’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ संस्कृतिको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय अभ्यासमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

गुरुङको मौलिक संस्कार अनुसार गरिने पितृ कार्य (पए) अरु जातिको भन्दा अलि पृथक रहेको पाइन्छ । यो (पए) भनेको मृतकका नाउँमा गरिने अन्तिम पितृ कार्य हो । यसलाई स्यर्ग, ख्लेप्रेँ र लामा संस्कार गरी तीन संस्कारमा विभाजन गरिएको छ ।
   
१. स्यर्ग संस्कारः 
गुरुङहरुको मौलिक संस्कार अनुसार दाह संस्कार गर्दा, मृतकले मृत्युको समयमा के संस्कार पाएका छन् ? जोखाना हेरेर, त्यही अनुसार कर्म गर्ने परम्परा रहेको थियो । जस्माः माटो पाए गाड्ने, आगो पाए जलाउने, पानी पाए बगाउने र आकाश पाए उडाउने संस्कार रहेको थियो ।   
   
यो (स्यर्ग) भनेको गुरुङको माउ भाषा अनुसार सामुहिक रुपमा मृतकलाई भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु हो । स्यर्ग संस्कार रातको समयमा गरिन्छ । घरको नजिक कुनै खुला स्थानमा आगो बालेर, त्यसको वरिपरी परिवारजन, इष्ट, मित्र, नाता, कुटुम्ब, युवा, युवती, बुद्ध र महिला सबै गोलाकारमा गोलबन्द भइ, त्यो मानिसको जन्मदेखि मृत्युसम्मका कथा व्यथालाई जीवन सारको रुपमा राग प्रस्तुत गरी, गोलाकारको ढोल (त्हउदु), झ्याली, लाठी, मुङ्ग्र आदि हातमा लिइ, तालमा ताल मिलाइ नाच्ने र गाउने गरिन्छ । 

स्यर्गमा अठाह्र ताल र छत्तिस पार्क हुन्छ । प्रत्येक तालको ‘फोदोँ म्होदोँ’ अर्थात भाले पोथि गरी दुइ पार्क हुन्छ । प्रत्येक पार्क पोथिबाट आरम्भ गरी भालेमा समाप्त गरिन्छ । ताल उठाउदा, गुरुले एक चरण बजाइ सके पछि समूहले पुनः दोहोराउने गर्दछन् । यसरी दोहोराउदा, राग पनि संगसंगै उठान गरिन्छ । रागको उठान वंश, जन्म भूमि, युवा अवस्था, विवाह, कर्म, पराक्रम, अतिरिक्त क्रियाकलप, मृत्यको कारण र स्वर्ग वासको कामना गर्दै, विहनाको प्रथम सूर्य किरणको आगमनसंगै राग समापन गरिन्छ । समापन पछि उपस्थित सहभागीहरुलाई ‘पलिग’ अर्थात सगुनको साथमा जलपानले स्वागत गरी विदाइ गरिन्छ ।
   
२. ख्लेप्रेँ संस्कारः 
ख्लेप्रेँ संस्कार भनेको ‘ख्होल–सोँ–थर’मा गुरुङ राज्य स्थापना गरे पछि घले राजाको प्रथम पटक विधिवत रुपमा पितृ कार्य (पए) सम्पन्न गरे । त्यही संस्कारको आधारमा विकसित 
हँुदै आएको गुरुङहरुको मौलिक संस्कार हो । 
   
३. लामा संस्कारः 
लामा संस्कार भनेको ‘ख्होल–सोँ–थर’ पतन भए पछि अन्नपूर्ण हिमालको पानीढलोमा बसोबास गर्ने बोन लमहरुद्धारा विकास गरिएको गुरुङको तेस्रो संस्कार हो । यसलाई लामा संस्कार भन्दछ । गुरुङहरुले विद्यमान अवस्थामा अवलम्वन गर्दै आएको धर्म ‘बोन संस्कृतिबाट विकास भएको गुरुङ संस्कार र बुद्ध दर्शन’को मार्गबाट अभ्यास गरिने त्रिरत्नको उत्तम मार्ग हो । अर्थात् तिब्बतमा विकास भएको निङ्म मत हो । यो मत शान्तिको दर्शनमा आधारित भएको हुनाले गुरुङ समुदायमा लोकप्रियता प्राप्त गर्न सफल भएको छ । 
   
४. शिकारी कुकुरको कथाः 
यो शिकारी कुकुरको कथा कुनै अलौकिक र दन्त्य कथा होइन । यर्थाथ घटनाको आधारमा आधारित सत्य कथा हो । गुरुङहरुको मौलिक कथा हो । यो कथा गुरुङहरुको पितृ कार्य (पए)को मूल बीज हो । यो कथाको मूल सार यस प्रकार रहोको छ । 
   
आदिमकालमा ‘ख्होल–सोँ–थर’को घले राजाको दरबारमा तीन जना फ्लेँ थरका गुरुङ दाजुभाइले शिकार खेल्ने जागिर पाएका थिए । तिनको दैनिक कार्य के थियो भने, प्रत्येक दिन एउटा चारखुट्टे जिवातको शिकार गरेर राजदरबारमा बुझाउँनु पर्दथ्यो । त्यसले गर्दा, ती भाइहरुले कुकुरलाई मृगको शिकार गर्ने प्रशिक्षण दिए । प्रशिक्षित् कुकुरले मृगको पाइला खेत्दै जाने र तीनै भाइहरु गौडामा बसेर मृगको शिकार गर्ने उद्योग चलाएका थिए । यसबाट फ्लेँ भाइहरुको दिनचार्यमा दिन दुगुना रात चौगुना उन्नति प्रगति भइरहेको थियो । 
   
एक दिन मूली शिकारी कुकुर शिकार खेल्दै जाँदा शिकार सहित भीरबाट खसेर मृत्यु भयो । मूली शिकारी कुकुरको मृत्युमा फ्लेँ भाइहरुले धेरै शोक प्रकट गरे । किनभने, त्यही कुकुरको पौरखमा फ्लेँ भाइहरुले उन्नति र प्रगति गरेका थिए । त्यसैले, मूली कुकुरले मानिसको जन्म लिन सकोस भनेर अन्त्यष्टि कार्य गरी पितृ कार्य (पए) ग¥यो । कुकुरको (पए) गरेको हुनाले फ्लेँ भाइहरुले राजदरबारमा शिकार पु¥याएनन् । समयमा शिकार नपुगे पछि राजदरबारबाट खोजी भयो । खोजी गर्दै जाँदा, फ्लेँ भाइहरुले कुकुरको (पए) गरिरहेको देखे । यस्तो अचम्मको कुरा सुनेर देखेर खोज्न गएका मानिसहरु तुरुन्त राजदरबार फर्केर घट्नाका वृतान्त कुराहरु सुनाए । राजाले सबै कुरा बुझे पछि फ्लेँ भाइहरुलाई शिकारीको जागिरबाट मुक्त गरिदिए । 

५. घले राजाको पितृ कार्य (पए):
ख्होल–सोँ–थरमा राजपिताको स्वर्गबास भए पछि घले राजाले राजसभा बोलायो । राजसभामा पितृ कार्य (पए) गर्ने वा नगर्ने भन्ने बारेमा लामो छलफल भयो । अन्तमा, (पए) गर्ने भन्नेमा सर्वसम्मत भए पछि ‘ख्होल–सोँ–थार’मा प्रथम पटक घले राजाको ख्लेप्रेँ गुरुद्धारा विधिवत रुपमा पितृ कार्य (पए) सम्पन्न भयो । त्यसपछि ‘ख्होल–सोँ–थर’मा (पए) गर्ने संस्कारको विकास हुँदै आयो । यो संस्कार गुरुङ समुदायमा अबिछिन्न चल्दै आएको छ । यो पितृ कार्य (पए)को परम्परागत संस्कार निम्नलिखित आधारहरुमा आधारित रहेको छ ।

गुरुङहरुको संस्कार अनुसार कुनै पनि मानिसको पितृ कार्य (पए) गर्नु पर्ने भए पछि मूल घरमा भाइहरुको छोँज हुन्छ । त्यो छोँजले (पए) कहिले गर्ने ? भन्ने कुराको निर्णय गर्दछ । त्यो निर्णय अनुसार गाउँका प्रमुख भलादमीको घरमा एउटा सानो सुरे पुङ रक्सी लिएर (पए) गर्ने दिनको जानकारी गराउँछ । सोही मुताविक भलादमीले कटुवाललाई उर्दी गर्न आदेश दिन्छ । कटुवालको उर्दी सुने पछि गाउँलेहरु सबै त्यो घरमा एकत्रित हुन्छन् । भलादमीहरुले त्यही घरमा छोँज गर्छ र आवश्यकता अनुसार मावली, पुरोहित र पाहुनाहरुलाई खबर गर्न दुइ दुईजना मानिसहरु खटन पटन गर्छन् । ती मानिसहरुलाई गुरुङ भाषामा टेल्कु भन्दछन् ।

लसीँ भनेको (पए) गर्ने घरमा आवश्यक पर्ने पात र दाउराको बन्दोबस्त गर्नु हो । आदिमकालमा पाहुनाहरुलाई खानपान गराउँदा थाल बटुकोहरुको अभाब भएको हुँदा, पातमा भात खाने चलन थियो । त्यसैले, खानका लागि पात र बाल्नका लागि दाउराको व्यवस्था गर्न गाउँका मानिसहरु घरैपिच्छे एक एकजनाले (पए) थाल्ने अघिल्लो दिनमा वनमा गएर पात र दाउरा टिपेर मूल गर्ने घरमा पुराइ दिन्छन् । त्यसैलाई ‘लसीँ’ भन्दछन् ।   
   
खेगि त्यैँब भनेको पुरेतलाई सूचना दिन जाने भन्ने हुन्छ । ‘लामा र ख्लेप्रेँ’ गुरुङको मूल पुरोहितहरु हुन् । पुरोहितलाई लिन जाँदा पनि दुइजना टेल्कुहरु रक्सीको सानो पुङ लिएर जान्छ र ती टेल्कुहरुलेनै पुरोहितको सामग्रीहरु पनि बोकेर ल्याउछन् ।
   
अस्योँ त्यैँब भनेको मावलीलाई निम्तो दिन जाने भन्ने हुन्छ । सबभन्दा पहिले टेल्कुहरु रक्सीको सानो पुङ लिएर मावलीको मूल घरमा जान्छन् र फलन मानिसको फलन दिनमा पितृ कार्य (पए) गर्ने भएको छ भनेर निम्तो दिन जान्छ । यसैलाई अस्योँ त्यैँब भन्दछ ।

६. अस्योँ प्युरीको कथाः
आगे ख्होल–सोँ–थरमा ह्रिल गुरुङको जेठो छोरा चिमिविडु ख्ह्रोँ पदमा नियुक्त भएर राज्यको सेवा ग¥यो । राज्यको तर्फबाट कर उठाउँदा उनको सहोदर ‘मामा ल्हेए र माइजू ग्याल्खु’लाई अप्ठेरो पर्न गयो । परिणाम, मामा माइजूको श्रीसम्पत्ति सर्वस्व हरण भयो । मामा माइजूले उनलाई श्राप दिए । 
   तिमी चिमिविडुको भलो नहोस् ।
   तिमी चिमिविडुको सम्पत्ति छिटै सकोस् ।
   तिमी चिमिविडु रोगी भएस् ।
   तिमी चिमिविडु छिटै मरोस् ।
   तिमी चिमिविडु नर्कबास होस् ।
   
मामा माइजूको श्रीसम्पत्ति सबै हरण भए पछि अब कसो गर्ने ? भनेर सरसल्लाह हुँदा, पानीबाट चल्ने (क्ष्यदो) अर्थात् पानी घट्टाको उद्योग गरौं भन्ने निर्णय भए पछि राजालाई निवेदन गरे । तिमीहरुले चिताएको उद्योग सफल होस् भनेर राजाबाट वचन पाए पछि ‘ल्हेए र ग्याल्खु’ गाउँ नजिकैको खोलामा पानी घट्टाको उद्योग गरे । श्रापले गर्दा चिमिविडुको पनि छिटै मृत्यु भयो । 
   
चिमिविडुको मृत्यु भए पछि ‘ख्होल–सोँ–थर’मा ‘रोरोपिपीँ, सिसीम्होमो, ङ्हङ्हाँत्हुतुँ’ गरेर दःुख दिने ‘असर्फीमोँ’लाई मायावी ढंगले वशमा पारेका प्रसिद्ध स्योलि पच्युले पितृ कार्य गर्ने भए पछि मामा माइजूनिर अस्योँ प्युरी माग्न गयो । हिजो चिमिविडु मन्त्री हुँदा, आफ्नो श्रीसम्पत्ति सबै सर्वस्व हरण गरिदिएको अत्यन्तै तितो पीडा मनभित्र ताजै रहेको हुनाले मामा माइजूले अस्योँ प्युरी दिन इन्कार गरे । अस्योँ प्युरी नदिए पनि पितृ कार्य सम्पन्न भयो ।  
   
त्यसको तेश्रो रातमा चिमिविडु दिशामा डुबिरहेको, शरीरै भरी खटिरै खटिरा भएर किरा परेको र झुत्रोमुत्रो अवस्थामा बाटो मुनी बसेर रोइरहेको राजाले सपनामा देख्यो । यस्तो सपना देखे पछि चिमिविडु नर्कमै भएको कुरा राजालाई विश्वास भयो । त्यसैले, राजाले राजसभा बोलाएर सपनाको कुरा बृतान्त सुनायो । सभामा छलफल भयो । छलफलमा ख्लेप्रेँ गुरुहरु बोलाइ चिमिविडुको पुनः पितृ कार्य गरिदिने कुरामा सहमति भयो । मावलीकोमा पुनः अस्योँ प्युरी लिन गए ।
   
यस पटकमा पनि मामाले साफ इन्कार गरे तर, माइजूले भनिन्— ‘हामीसंग दिन लायकको वस्तुहरु केही पनि छैन’ । यस पटक पनि केही दिएन भने हामीलाई राजाले अप्ठेरो पार्न सक्दछन् । त्यसैले, घट्टाको मुखबाट दुइ चार दाना मकै र घट्टा पुछ्ने टालो लिएर जानु, भने पछि त्यही अनुसार ल्याएर चढाए । पितृ कार्य सम्पन्न भयो । अस्योँ प्युरी पाए पछि चिमिविडुप स्वर्गलोक पुगे ।  
   
गुरुङको संस्कारमा अस्योँ प्युरीमा राम्रो नराम्रो जे जस्तो भए पनि चार हातको सेतो कपडा र एक माना अक्षेता आउनु पर्छ । यसरी अस्योँ प्युरी आए पछि त्यो प्युरी मृत शरीरलाई सुनाउनु पर्छ । सुनाउँदा यसो भन्नु पर्छ— ‘यो अस्योँ प्युरी कपडा र माना चामल तपाईको फलना मावलीबाट आएको हो ।’ यो प्युरी भोक लाग्दा खानु, तिर्ख लाग्दा पिउँनु, जाडो हुँदा ओडनु, आँधेरो हुँदा उज्यालो गर्नु, डरलाग्दा साथी गर्नु, बाटो माथि बाटो मुनी नपसी सरर गएर पितृहरुसंग स्वर्गलीन हुनु अप्रुक्षे भनेर सुनाए पछि माना चामल मृतकको शिरनिर झुन्डाउने र कपडा मृत शरीरमाथी ओडाइदिन्छ । उपरोक्त कथाको आधारमा गुरुङहरुको परम्परामा अस्योँ प्युरीको महत्वपूर्ण स्थान रहन गएको हो भन्ने विश्वास गरिन्छ । बाँकी अंश भाग २मा हेर्नुहोला । 

गुरुङको मौलिक संस्कार अनुसार गरिने पितृ कार्य (पए), भाग १मा प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन । 
4/7/2020 
Gurung language & culture.
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.