भूपु रापंस पैडी नन्दजंग पैगीलामा गुरुङ, बेलायत ।
![]() |
Former MP Nanda Jang Gurung. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । कास्की जिल्ला ताङतिङ गाउँको ‘नक्षेत्र’ भूपु रापंस पैडी नन्दजंग पैगीलामा गुरुङ, बेलायत । शिर्षकमा उनको संक्षिप्त जीवनीलाई ब्लग मार्फत पाठकहरु समक्ष पस्कने प्रयास गरेको छु । पैडी नन्दजङ गुरुङको जीवनीलार्ई नियालेर हेर्दा, गुरुङ जातिको जीवन पद्धतिलाई राम्रोसंग बुझ्न सकिन्छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।
१. प्रथम दृष्यः
ताङतिङको तारा भूतपुर्व माननीय, पैडी एवं गुरुङ संस्कृतिको मूल स्रोतको रुपमा परिचित नन्दजंग गुरुङको नाम उच्चारण गर्ने बित्तिकै २०५२ सालमा पोखरा माटेपानी स्थित वहाँको निवासमा प्रथम पटक भेट भएको स्मरण हुन्छ । वहाँ ताङतिङबाट पोखरा बसाइ सरे तापनि निवासमा गाउँवासीहरुको आवत जावत बाक्लो देखिन्थ्यो । झट्ट हेर्दा नेपालीहरुको औसत कद भन्दा, अलि अग्लो, बाक्लो शरिर, सरलक्क परेको नाक, उज्यालो मुहार, मृदु भाषी, समाज सेवी, वैचारिक सम्पन्नता, समृद्धिका लागि समय अनुकुल सामाजिक परिवर्तन आवश्यक हुन्छ भन्ने विषयमा अभियन्ता नै थिए । साथै भारतीय, तिब्बती र पार्क ज्योतिषमा पारङगत भएकोले गाउँवासीहरुको बाक्लो उपस्थिति रहेको मेरो व्यक्तिगत अनुमान थियो ।
२०५२ सालदेखि २०७५ सालसम्म अर्थात २३ वर्षको लामो समय वहाँसंग नजिक रहेर काम गर्ने अवसर पाए । नाताको हिसाबले काका भतिजा भए तापनि वहाँ मेरो गुरु थिए । बहाँकै स्रोतबाट आज म यो धरातलमा उभिन सफल भएको छु । सामुदायिक रेडियो मस्र्याङदी ९५ मेघाहर्जमा गुरुङ संस्कृति पुस्त हस्तान्तरण कार्यक्रम मार्फत प्रत्यक्ष रुपमा वहाँको अन्र्तवार्ता प्रसारण गर्ने मेरो प्रयास थियो । तर, प्राविधिक कारणले संभाव भएन । त्यसैले, स्रटा परिचयको रुपमा पाठकहरु समक्ष उनको व्यक्ति विषेश र व्यक्तित्वलाई चर्चा गर्ने प्रयास मात्र गरेको हुँ । यो चर्चा समुद्रबाट एक अंजुली पानी निकालेको बराबर रहेको मैले महशुस गरेको छु ।
२. विषय प्रवेशः
नन्दजंग गुरुङ २०२१ सालमा लमजुङ जिल्लाबाट माननीय पदमा निर्वाचित हुनु भएको थियो । राजनीतिक प्रकृयाबाट सार्वजनिक पद ग्रहण गर्नु वा कुनै पनि पार्टीको सकृय सदस्य भएर काम गर्ने व्यक्तिलाई मात्र राजनीति भन्नु हुन्न । राजनीति भनेको त चेतना हो । जसले राज्यलाई सञ्चालन गर्न आवश्य नीति नियम निर्माण गर्दछ । उनी राजनीतिज्ञ, समाज सेवी र ज्योतिषी मात्र नभएर एउटा कुशल लेखक पनि हुन । ‘गुरुङ जातिको संस्कार र चाडपर्व’ २०६७ नामक पुस्तकमा गुरुङको ‘ल्हो फल’को बारेमा राम्रो ब्यख्या गर्नु भएको छ । यस बाहेक ‘नन्दजङ गुरुङ आत्मकथा’ नामक कृति पनि प्रकाशन गरिसक्नु भएको छ । प्रकाशित कृतिहरुले नेपाली साहित्य भण्डारमा एउटा सुनौलो इटा थप्ने काम भएको छ ।
३. नन्दजङको जन्मः
नन्दजंग गुरुङको जन्म साविक लमजुङ हाल कास्की जिल्ला नामार्जुङ गाउँ विकास समिति वडा नं ४ हाल मादी गाउँपालिका वडा नं १, गैरी गाउँ मावली घरमा पिता रास र माता उदविनीको कोखबाट १९९० साल पुस २१ गते बिहिवार भएको थियो । उनको एक जना भाइ धनबहादुर गाउँमै छन् । उनका पिता पण्डित काम गर्ने भएकोले उनको टोललाई पण्डित टोल भन्दछन् । उनको पालामा गाउँमा स्कूल थिएन । रुद्र सन्यासी गुरुबाट पात्रो, श्लोक, दुर्गा कवाज, भर्पाइ, तमसुक लेख्ने र जग्गा पास गर्ने तरिहरुका सिकीस केपछि बाबाबाटै गुरुङको मौलिक परम्परामा आधारित पैडी काम पनि सिक्नु भयो ।
४. जीवन पद्धतिः
ताङतिङ गाउँ पशुपालनमा अग्रस्थानमा भएकाले कृषिमा आत्मनिर्भर थियो । गाईगोठ, भैसीगोठ र भेडीगोठ भएका मानिसहरु सम्पन्न परिवारमा गनिन्थ्यो । भेडीगोठलाई (उन, नुन र सुन)को ब्यवसाय भनेर मूल स्रोतको रुपमा मानिन्थ्यो । बाबाको भेडीगोठ थिए, उनि पनि गोठमै गए । गोठालो जिवनको स्मरण गराउदै भन्यो, २००२ साल माघको कुरा हो । याङजाकोटमा भेडी गोठ थियो । बाबाले रु. १०मा एउटा ठुलो साँड बेच्नु भयो । भेडीगोठ बसे वापत उनलाई पचास पैसको एउटा मोहर दिनु भयो । एक मोहर हातमा परे पछि उनको खुट्टा भुइमा रहेन । ठुलै सम्पत्ति प्राप्त भए जस्तो लाग्यो । धन सम्पत्ति प्राप्त भए पछि मानिसको मन कस्तो हुँदो रहेछ ? उनले प्रथम पटक अनुभव गरेको थियो ।
एक दिनको कुरा हो, गोठ चौरहोमा थियो । बेलुकी असाध्ये भोक लागेको थियो । अगुवा ढिँडो पकाउदै थियो । उनको दृष्टि ढिँडोको पाप्रामा पर्यो । हत्त न पत्त हात पाप्रामा पुग्न साथ अगुवाले तातो ढिँडोको सानो नाल उनको ह्वात्त हातमा फ्याँकिदियो । हात पोलेर खपिसक्नु भएन । फेरी पनि उनले मुख खोल्न सकेन । त्यहाँबाट भेडी खर्कतिर भागे । त्यही बेस्सरी चिच्याएर रोए ! उनको अन्तर आत्मको चित्कार भेडा, बाख्राहरु र वरपरका भीर पाखले बाहेक अरु कस्ले सुन्ने ? भेडीगोठको प्रशासनमा कतिसम्मको एकाधिकार हुन्छ ? यो एउटा उदाहरण मात्र उनले सुनाए ।
५. पारिवारिक जीवन:
![]() |
Nanda Jang and his families. |
1. जेठी छोरी होमाको कृष्णलाल थकालीसंग विवाह भयो । उनले स्नातकोत्तर गरी ‘विकास परामर्शदाता र लेखिका’को रुपमा कार्यरत छिन् । कृष्णलाल थकालीले दुर्गम विकास समितिको सदस्य, गुम्बा ब्यवस्था समितिको सदस्य सचिव, पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य र राष्ट्रिय सभाको सदस्यमा मनोनित हुदै दुइ पटक मन्त्री पनि भए । उनका एक छोरी डा. रजिना थकाली युकेमा कार्यरत छिन् ।
2. माइली छोरी धनमायाको ताङतिङ निवासी तेजमान गुरुङसंग विवाह भयो । उनी ब्रिटिश आर्मीमा थिए । तर, छोरा नरेन्द्र र उनको अल्पायु मै देहन्त भयो । हाल धनमाया र छोरा गोबिन्द युकेमा छन् । कान्छा सेनामा छन् ।
3. साइली छोरी योगाको पनि ताङतिङ निवासी कुशबहादुर गुरुङसंग विवाह भयो । उनी ब्रिटिश आर्मीका हुन् । छोरा कुमार गुरुङले स्नातक र छोरी शुभेच्छाले हाई स्कूल अध्ययन गर्दै छिन् । उनीहरु सपरिवार बेलायत मै निवास गर्दछन् ।
4. कान्छी छोरी थमन कुमारीको सिक्लेस निवासी यमबहादुर गुरुङसंग विवाह भयो । उनी सिंगपुर पुलिस हुन् । उनका छोरा प्रवेश र छोरी प्रियंका दुबैले उच्च शिक्षा हासिल गरेका छन् । हाल सपरिवार न्युयोर्कमा स्थायी बसोबास गर्दछन् । सबैले आ–आफ्नो योग्यता र क्षमता अनुसार उन्नति प्रगति गर्दै आएका छन् । हामीलाई सन्तोष नै छ, भन्दै नन्दजङ बाबाले परिवारिक विवरणमा बिराम लाउनु भयो ।
६. शिक्षाको उज्यालोः
२००७ सालमा प्रजातन्त्रको उदय भए पछि शिक्षाको उज्यालो प्रकाश देशभरी फैलियो । सर्वप्रथम ताङतिङ गाउँमा २०१३ सालमा कहुँडाँडाको स्वर्गीय मेजर वीरसिँह गुरुङको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट थोसोकोँ डाँडामा ‘श्री हिमालय मिलन प्राथमिक विद्यालय’को सथापना भयो । श्री टेकसाइ गुरुङ र सिहवीर गुरुङद्धारा कक्षा सञ्चालन गरिएको थियो । विभिन्न कालखण्डमा संकटमोचन गर्दै २०३१ सालमा निम्न माध्यमिक र २०५७ साल देखि माध्यमिक विद्यालय सञ्चालन भैरहेको छ । उनले २०२८ देखि २०५४ सालसम्म १८ वर्ष विद्यालय सञ्चालक समितिको अध्यक्ष पदमा रहेर लामो संधर्ष गर्नु भयो ।
७. राजनीतिक यात्राः
२०१८ सालमा नेपालको राजनीतिक सिमांकन भयो । लमजुङ जिल्लामा ६० वटा ग्राम पञ्चायत तोकियो । त्यसमा ताङतिङ, नामार्जुङ, ध्याम्राङ, रोही र भालु गौडा मिलाएर ‘नामार्जुङ देउराली ग्राम पञ्चायत’ तोकियो । निर्धारित समयमा निर्वाचन टोली आए । आफन्ताहरुको विरोध हुदा हुदै पनि उनले वडा नं ५ को वडा सदस्यमा दर्खास्त दिएर निर्वाचित पनि भए । यसैगरी प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य, अञ्चल पञ्चायत सदस्य हुँदै २०२१ साल मंगसिर २१ गते राष्ट्रिय पञ्चायत सदस्य पदमा निर्वाचित हुनु भयो । यसरी छोटो समय भित्र राजनीतिक यात्रा गरेको स्मरण पनि गराउनु भयो ।
ताङतिङ गाउँको सामाजिक परम्परा अनुसार आपासमा जिम्मेवारीहरु बाँडफाँड गरिएको थियो । जस अनुसार पैगीलामाको जेठाको सन्तानले बिउ छर्नेदेखि पुलि लिने काम, कान्छाको सन्तानले (सजिया) दिन हेर्ने काम, पच्युको सन्तानले प्ह्रो फाल्ने काम र प्लहेको सन्ताले भूमिपूजा गर्ने काम गर्दै आएका छन् । बाबाको शेष पछि (सजिया) दिन हेर्ने कार्य उनले गरे । हाल यो कार्य पैडी जसबहादुरले गर्दै आएको छ ।
८. बिदेश भ्रमणः
२०७२ सालमा कान्छी छोरीको परिवारलाई भेटना बेलायतबाट न्यूयोर्क, अमेरिका आउनु भएको थियो । त्यसबखत मैले सोधेको थिए— “तपाइँ त गुरुङको मौलिक संस्कृतिलाई संरक्षण गर्नु पर्छ भन्ने अभियन्ता नै हुनुहुन्छ ? तर, तपाइकै पहलमा ताङतिङ पंडित टोलमा महायानी गुम्ब पनि स्थापना गर्नु भएको रहेछ,” भनेर जिज्ञास राख्दा— “सामाजिक परिवर्तन समयको माग र आवश्यकता हो । यसलाई समय अनुकुल स्वीकार्न सक्नु पर्छ । यदि यसो हुन सकेन भने, समाजिक अवस्थामा अमूल परिवर्तन संभाव छैन ?” मैले गुरुङको मौलिक संस्कृति छाडेको होइन । आँधेरोबाट उज्यालोतर्फ, जटिलबाट सरलतिर, नदीबाट सागरतिर र बोनबाट बौद्धमार्गमा आस्था मात्र राखेको हुँ । जिवनको उत्तराद्र्धमा अध्यात्मिक चिन्तन र झुकाव हुने त मानविय स्वभाव नै हो नि ? यो कुनै नयाँ नौलो र आश्चर्यजनक कुरा होइन ! प्रष्टसंग भन्नु भयो ।
![]() |
84th Birthday party. |
२०७३ साल माघ २८ देखि फालगुन १ गतेसम्म ‘बौद्ध अर्धो सदन,’ रामघाट, पोखरामा खेन्पो श्री लामाबाट ‘चौरासी पूजा’ पनि गर्नु भयो । चौरासी पूजा भनेको मानव जीवनको सबभन्दा अन्तिम पूजा हो । यो पुण्य यज्ञ गरे पछि बौद्ध मार्गको सिद्धान्त अनुसार पञ्चशिल अनुमोदन भएको ठहर हुन्छ । परिवर्तन मानव जिवनको नियमित प्रकृया हो । तर, मानिसको जन्म कहाँ हुन्छ ? कर्म कहाँ हुन्छ ? मृत्यु कहाँ हुन्छ ? कसैले पनि केही भन्न सकिन्न । माननीय नन्दजङ पनि ताङतिङमा जन्मिएर त्यही कर्म गरे र ८७ वर्षको उमेरमा बेलायत स्थित एउटा नर्सिङ गृहमा अप्रिल २०, २०२० का दिन जीवनको अन्तिम सत्य स्विकार गरे । उनले निर्वान प्राप्त गरुन् । ॐ मणि पदमे हुँ ।
यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/21/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.