Convention of Lama clan at Lamjung.

लम वा लामाभाइहरुको महासभाः 

Gurung language &culture.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई आवश्यक संशोधन र परिमार्जन गरी, लम वा लामाभाइहरुको महासभा शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । लम थरका गुरुङको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय नामाकरणमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

गुरुङहरुको आदिम राजधानी ‘ख्होल–सोँ–थर’को १५औं सताब्दीको मध्यतिर पतन भए पछि गुरुङहरुले कास्कीका तप्राङदेखि लमजुङको इलुमपोखरीसम्म गाउँ बसाले । यसरी गाउँ बसाल्ने क्रममा पैम उँ ग्याल भन्ने एक जना लमले आफ्नो परिवार लिएर साविकको उपल्लो घनपोखरा डाँडाको माथिल्ल्लो डाँडामा आएर बस्ती बसालेको हुनाले त्यस स्थानलाई ‘लमचुँ’ अर्थात (लमले स्थापना गरेको स्थान वा लम बस्ने डाँडा) भनेर भनियो । लमचुँलाई हाल लमजुङ भनेर भनिन्छ । यो लम भन्ने शब्द नमको पर्यायवाची हो ।   
     
पैम उँ ग्याल लमले फिब्रोँ गाउँको लेमको छोरी विवाह गरी तीन भाइ छोराहरु भए । जेठो छोरा बैच्यको दुइ छोराहरु भए । जेठोले विवाह गरे पछि सिक्लेस गइ गाउँको प्रमुख भए । (गुरुङ भाषामा प्रमुख वा प्रधानलाई क्ह्रोँ भन्दछ) । त्यसैले, उनलाई क्ह्रोँगीलम भनियो । क्ह्रोँगीलमको सन्तानहरु सिक्लेसबाट पूर्व दिशा हँुदै याङजकोट, रुम्जाटार, ओखलढुंगा आदि स्थनाहरुमा फैलिए । क्ह्रोँगीलमहरुको प्रमुख व्यक्तित्व प्राज्ञ डा. जगमान गुरुङ सांस्कृतिक विधाको मेरुदण्ड मानिन्छ । वहाँ याङजकोट निवासी हुन् । हिन्दुहरुको गोत्र भनेझै गुरुङहरुको न्हेस भनिन्छ । क्ह्रोँगीलमहरुको न्हेस सिक्लेस, कास्की ।
     
कान्छो मावली गाउँ फिब्रोँमा गए । फिब्रोँबाट त्हङि गाउँमा आए । त्यसैले, उनलाई फिब्रोँ–त्हङिबाट ट्हगी लम भनियो । यो त्हङि गाउँ भनेको घले गाउँ हेच्होबाट तल, लम ङ्होबाट पूर्वतिर, बाह्रबिसे फाँटको सिरमा र सिम्पानी गाउँदेखि पश्चिमतिर फैलिलएको डाँडामा बिशाल गोलो आकारमा सिल्दो थान छ । हाल त्यसलाई नेपालीमा सीता थान भन्दछ । त्यही सिल्दो थानको नजिकै त्हङि गाउँ थियो । त्यहाँ कोट पनि छ । त्यसलाई फिब्रो कोट भन्दछ । त्हङि गाउँमा बसोबास गर्ने फिब्रोँ–ट्हगीलमहरु बाह्रबिसे फाँटमा झरेकाले हाल त्हङि गाउँमा कसैको पनि बसोबास छैन । फिब्रोट्हगी लमको सन्तानहरु ट्हंगी गाउँ हालः (लामा गाउँ)बाट पूर्व दिशा हुदै भाचोक, हिले, सवा, लाँकुरीबोट, चिसापानी, चौथर, श्रीमन्जङ, राइनास, गोर्खा आदि स्थानमा फैलिएर गए । फिब्रोँ–ट्हगीलमहरुको स्रोत व्यक्तिमा लामा गाउँ निवासी भुतपूर्व रापंस युद्धजंग गुरुङ हुन् । युवा पुस्तामा नेत्र गुरुङ, बलराम गुरुङ र दिपेन्द्र गुरुङ हुन् । फिब्राँे–ट्हगीलमहरुको न्हेस (फिब्रो) लमजुङ । फिब्रोँ–ट्हगीलमको र क्ह्रोँगीलमको न्हेस अलग अलग भए पनि दुबै जेठाको सन्तान हुन् । 
     
माहिला छोराको नाम टुव राखियो । उनी वहुभाषी थिए । गुरुङ भाषामा वहुभाषीलाई म्हिक्योए भन्दछ । त्यसैले, म्हिक्योएबाट म्हिगीलम भनियो । टुवको छोराहरु कोसै र नल्वे गए । त्यो ठाउँ कास्कीको पार्चे गाउँ मुनि पर्छ । म्हिगीलमहरु त्यहाँ केही समय बसेर पसगाउँ आए । म्हिगीलमहरुको उन्नति प्रगति पसगाउँमा भयो । म्हिगीलमको सन्तानहरु पसगाउँबाट पाख्रिकोट, पर्वा, कुम्लुङ, मालिङ, व्हासिम्रँें, पुमा, नाल्मा, उखारी, आदि स्थानमा फैलिए । म्हिगीलमहरुको स्रोत व्यक्तिहरु गंजसिँह गुरुङ, वीर बहादुर गुरुङ र गीतकार एकेन्द्र गुरुङ हुन् । म्हिगीलमहरुको न्हेस कोसै र नल्वे । 
     
कान्छा छोराको नाम चसँ राखियो । उनी कर्मकाण्ड गर्ने विद्धान नम भए । (गुरुङ भाषामा त्रिकालदर्शीलाई नम र कर्मकाण्डलाई ‘पएकेए’ अर्थात पए भनेको पितृ कर्म र केए भनेको काण्ड हो) । त्यसैले, उनी कर्मकाण्ड गर्ने वा ‘पएकेए’ गर्ने विद्धान नम भए । कालन्तरमा नमबाट लम र पएकेएबाट पैँगीलम भनियो । चसँ नमचुँ गए । त्यहाँबाट ताङतिङमा झरे । पैँगीलमको सन्तानहरु ताङतिङबाट वाचोक, भाचोक, रिवन चौर, तामागी, आठथर आदि स्थानमा फैलिए । पछि देवह्रो भन्ने एक जना पुर्खा लमचुँ फर्किए । उनका सन्तानहरु थुजुकोँ, पुरनास, हिले, नजरे, लम घरेडी, समाम्रो आदि हँुदै विभिन्न स्थानहरुमा फैलिए । पैँगीलमको स्रोत व्यक्ति ताङतिङ निवासी भुतपूर्व रापंस नन्दजंग गुरुङ हुन् । दोस्रो पुस्तामा तमू संसारका प्रघान सम्पादक लोकबहादुर गुरुङ, श्याम गुरुङ, जसबहादुर गुरुङ, ओम प्रकाश गुरुङ, गोमे बालसिँ गुरुङ, वकिल कृष्ण बहादुर गुरुङ, पदमबहादुर गुरुङ ‘प्रवासी’ झकबहादुर गुरुङ र सुन्दर गुरुङ आदि नन्दजंग गुरुङ पछिका स्रोत व्यक्तिहरु हुन् । पैँगीलमहरुको न्हेस नम्जुँ (नमचुँ) कास्की । 
   
संवत २०५६ साल चैत्र ४, ५ र ६ गते लमजुङ जिल्लाको सिमपानी गाउँ विकास समिति बडा नं ४ भलम चौरमा “क्ह्रोँगी–फिब्रोँट्हगी, म्हिगी र पैँगीलमहरुले प्राज्ञ डा. जगमान गुरुङको अध्यक्षतामा तीन दिने महासभा सम्पन्न ग¥यो” । महासभाको उद्देश्य लम लामाभाइहरुको कुलपूजा गर्ने, वंशवृक्ष र ऐतिहासिक पृष्ठभूमि लेख्ने थियो । त्यही महासभामा लमचुँ प्रतिष्ठान पनि स्थापना भयो । यो ऐतिहासिक पृष्ठभूमि त्यही महासभाको प्रतिवेदनमा आधारित सम्पादित अंश हो ।   

अबको प्रशंग के हो भने, उपरोक्त चार भाइहरु बाहेक पनि लमका अन्य थरहरु पनि छन् । ती भाइहरु पनि पैम उँ ग्यालकै सन्तान हुन् भन्ने कुरामा कुनै शंक छैन । तर, कुन अवस्थामा कहिले कहाँ र कसरी छुट्टिएका हुन् । यस बारेमा अलि गहिरिएर छलफल गर्न आवश्यक छ । मेरो जानकारीमा भए अनुसार पुंगी, क्युबी, क्ष्योले, तिुतू, तोलंगी, हुर्दु, बैदी, छै र नौस्यु लमहरु रहेका छन् । यस बाहेक अरु पनि हुन सक्दछ । जो मेरो जानकारीमा आएको छैन । तपाइँहरु कसैलाई पनि यस बाहेकका अन्य थरहरु पनि रहेको जानकारी छ भने मेरो इमेलमा सम्पर्क गर्नु होला । हामीले आपासमा छलफल गरी अध्ययन गर्दै अगाडि बढनु पर्छ । यसबाट कुनै न कुनै निस्कर्ष निकाल्न सकिन्छ । 

अब हामी लमभाइहरुले स्पष्टसंग बुझ्नु पर्ने कुरा के छ भने, हामी लम हो । लामा होइन । किनभने लम भनेको नमको पर्यावाची हो । गुरुङ भाषामा नम भनेको देवता हो । देवता भनेको पवित्र, उत्कृष्ट, प्रधान वा त्रिकालदर्शी भन्ने हुन्छ । किनभने पैम उँ ग्याल लम त्रिकालदर्शी थिए । त्रिकालदर्शीमा नम अंश वा देवताको अंश हुन्छ । यिनै कारणबाट हामी लम भनिएको हो । तर, आजा भोलि सबैले लामा लामा लेखेको पाइन्छ । किन लामा लेखियो ? लामा भनेको त तिब्बतिकरण हो । तिब्बतियन भाषामा आचार्य, प्राचार्य र पण्डितहरुलाई लामा भन्दछन् । तर, नेपाली भाषामा भोटेलाई लामा भन्दछ । यो कुरामा हामीहरु स्पष्ट हुन आवश्यक छ । यो भाषाको कुरामा हामीहरुले कुनै संकोच गर्न वा बादविबाद गर्न आवश्यक पनि छैन । 

अब फेरी त्यही प्रशंग दोहोरिन्छ । उपरोक्त चार भाइहरुः क्होँगीलम, फिब्रोँट्हगीलम, म्हिगीलम र पैगीलमहरुले आ–आफ्नो काम, योग्यता र क्षमता अनुसारको पहिचान गराउदै परिचय गराएका छन् । गुरुङ भाषाको व्याकरण बिधानमा विशेषणलाई नामको अगाडि लेखिन्छ । जस्तैः क्ह्रोँगीलम । यहाँ क्ह्रोँगी र लमलाई सन्धि गरिएको छ । सन्धि गर्दा, विशेषण पहिले लेखेर नाम जोडिएको छ । यस अर्थमा हेर्दा, क्ह्रोँ विशेषण हो र लम नाम हो भन्ने कुरा बुझ्नु पर्दछ ।

यसै गरी, पुंगी, क्युबी, क्ष्योले, तिुतू, तोलंगी, हुर्दु, बैदी, छै र नौस्यु जे जे भए पनि ती सबै विशेषण हुन । तर, यो विशेषण कुन अर्थमा कहाँ, कहिले र कसरी पाएका वा भएका हुन् । यो कुरा ती समूहका मानिसहरुले नै स्पष्ट रुपमा भन्न सक्नु पर्छ । यसका साथै कहाँबाट कसरी छुट्टिएको हो भन्ने कुराको नालिबेली पनि तपाइँ आफैले खोज्नु पर्ने हुन्छ । तपाइँको नालिबेलीमा कहीँ कतै भाषा नमिलेको भए वा कुनै सन्दर्भहरु नपुग भए वा छुट्न गएको अवस्थामा प्राज्ञहरुले थपघट गरी सम्पादन मात्र गर्न सकिन्छ । 

यसर्थ, सबै लम भाइहरुले आ–आफ्नो ठाउँबाट नालिबेली खोजेर, लेखेर तयार गरौ । अनि एक ठाउँमा बसेर समुहिक रुपमा छलफल गरौं । यस प्रकारको छलफलबाट मात्र हाम्रो इतिहास सजिलैसंग लेख्न सकिन्छ ।           

लम थरको गुरुङको नालिबेली लेख्ने क्रम जारी छ । यो क्रम संवत २०५६ सालबाट आरम्भ गरिएको थियो । तर, बिविध कारणले गर्दा उत्कृष्ट नतिजा पाउन सकेको छैन । यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई लम थरका बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।      

चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/9/2020.
Gurung language & culture.

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.