गुरुङको मौलिक संस्कार अनुसार गरिने विवाह (ङेच्याब):
नमस्कार,
म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हो । यो लेखमा गुरुङ जातिको मौलिक संस्कार अनुसार गरिने विवाह (ङेच्याब)को संस्कारलाइ ब्लक मार्फत पाठकहरु समक्ष पस्केको छु । गाउँ र ठाउँ अनुसार संस्कारको अभ्यासमा धेरथोर फरक हुन सक्दछ । तै पनि मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाइ लेखको मर्म र भावना घत लागेमा आफन्तहरुलाइ पनि शेगर गर्नु होला ।
विवाहको नालिबेलीः
गुरुङ जातिको संस्कार अनुसार न्वारन, अन्नप्राशन, चुडा कर्म पछि हुने विवाह हो । विवाहलाइ गुरुङ भाषामा (ङेच्याब) भन्दछ । गुरुङ समाजमा धेरै प्रकारका विवाह हुन्छन् । प्रत्येकमा रीतिरिवाज पनि विभिन्नै तरिकाले गरिन्छ । जसमा माँगि, चोरी, खुसिली, स्वयम्वर, जारी र कानुनी गरी छ प्रकारले विवाह गर्न सकिन्छ ।
माँगी विवाहः
गुरुङको मौलिक परम्पर अनुसार गरिने माँगी विवाहको कुरा चलेपछि आफुसंग कुटुम्ब मिल्ने केटीलाइ रक्सीको सुरे पुङमा पातले छोपेर मुखमा तीनपट्टि ध्यूको सगुन लगाएर घाँटीमा साइतको प्रतिक धजा बाँधेर कलेचारद्धारा केटीको खलगको न्हेस घरमा लगेर झुन्डाइन्छ । (न्हेस घर भनेको आफ्नो खलकमा सुख दुःखमा भेला हुने घर हो)
अब, न्हेस घरका मुलिले फलाना गाउँको फलनले फलनलाइ माग्न आएको छ भनी, खलकका जेठोबाठोलाइ न्हेस घरमा बोलाउछ र छलफल गर्दछन् । यसरी भाइ खलग भित्र छलफल हँुदा कुटुम्ब राम्रो लाग्यो भने सम्बन्धित घरमै गएर छलफल गर्छन् । छलफल गर्दा, कुटुम्बको बारेमा चित्त बुझ्यो भने त्यही समयमा आमा बाबाले वगदान गर्दछ । वगदान भनेको आमा बाबाले आफ्नो मुखबाट प्रथम पटक छोरीलाइ मौखिक रुपमा कन्या दान गर्नु हो ।बाबा आमाबाट यति काम भइसकेपछि साइतको रुपमा आएको सुरेपुङ सगुनको रुपमा बाउ माइतीले पिउँछन् । गुरुङहरुको परम्परामा पुङखाने, हिन्दुमा रातोटीका लाउने र अंग्रेजीमा एङ्गेजमेन्ट भन्ने कुराको भावार्थ एउटै हुन आउँछ ।
कन्या दानः
अब सुरेपुङ पिइसके पछि तोकिएको दिनमा न्हेस घरमा कलेचार आउछ । रोधीँ घरमा पनि माइतीहरु र चेलीहरु मिलेर स्योकैँइ खाएर रमाइलो कार्यक्रम गरी विवाह हुने रोस्योलाइ बिदाइ गर्दछन् । बिहाना दुलहीलाइ सिँगार पटार गरेर चलन चल्ती अनुसार जन्ती आए त्यही मुताबिक नआए त्यही मुताबिक बाबा आमा, माइतिहरु, चेलीबेटीहरु र इष्टमित्रहरुले तामाको ताउलोमा कन्याको गोडा राखी, मुश्रे कटुसको पातमाथि सुनको असर्फी राखी चोखो जलले गोडा धोई उक्त जल शिरमा चढाइ पवित्र बनाइ आफ्नो औकात अनुसार उपहार दिइ कन्या दान गर्ने चलन रहेको छ ।
कन्या दानको कार्यक्रम हुने समयमै रीतिरिवाजमा आधारित सामाजिक संस्कार गर्नु पर्ने हुन्छ । गुरुङ संस्कारमा यस क्रियालाइ (क्षेँगिनेँगी) भन्दछन् । क्ष्येँगिनेँगी भनेको दुलहीको लागि गज, गहना, कपडा, रोधीँको सदस्यहरु, परेमइमै, परेरिँईमै र तेँन कुर्सीको रीतभाँतको लागि तोकिएको रकम दिनु हो । तेँन कुर्सी भनेको कुटुम्व फुकाउने बिधि हो । विवाह गर्ने समयमा तेँन कुर्सीको रीतभाँत जनाइसके पछि घरबार भइसकेका छोरी चेलीलाइ बाउ माइतिको घरमा जुठो पिंण्ड हुँदा कुनै वाधा अडचन हुदैन । यसरी गाउँ र ठाउँको चलन चल्ती अनुसारको रीतभाँत अनुसार ‘क्ष्येँगिनेँगी’ काटिसके पछि फ्होले भनेर केही रकम न्हेस धीँमा बुझाए पछि सामाजिक संस्कारको कार्यक्रम समाप्त हुन्छ ।
गाउँ र ठाउँको चलन अनुसारको रीतभाँत वा मंगलयज्ञ जनाइसके पछि दुलहीको बिदाइ गर्ने कार्यक्रम हुन्छ । बिदाइको समयमा कन्या दान गर्दा, गोडा धुव बापत प्राप्त भएको नगद जिन्सी र धनमाल दुलहीसंगै लैजान तयार पार्छन् । आफ्नो घरानामा चलेको चलन अनुसार कन्यालाइ बाबा वा दाजुले अंगमा बोकी आँगनमा ल्याइ अन्मनाइ सम्स्योहरुका साथ बिदाइ गर्दछन् ।
साँझ जन्ती आउने समयमा आँगनमा गन्य मन्यहरुले केराको सोलामा बत्ती बालेर पूmलपाती र अक्षेता छर्किदै जन्ती पर्साउने कार्य गर्दछन् । त्यस बखत दुइनाल बन्दुक पड्काएर स्वागत गर्ने चलन पनि छ । त्यसपछि, खानपिन गरेर आराम गर्दछन् ।
टिकाटालाः
लग्न अनुसारको शुभ समयमा दुलहीलाइ घरभित्र ल्याइ दुलह र दुलही एकै ठाउँमा बसाइ टीकाटाला गरिदिन्छन् । टीकाटाला गर्दा, सर्वप्रथम पुरोहितले मलँ दिएर टीका लगाइ दिन्छ । आज २०७५ साल मंसीर १५ गतेको शुभ लग्नमा साम्रो गाउँ बस्ने कर्मको छोरा दुर्गले मालिङ गाउँ बस्ने उदुको छोरी मायालाइ विवाह गरेको छ । यो विवाह आजमात्र होइन हिजोको जुनीमा पनि कुरा चलेको थियो । तर, लग्न नजुरेको हुनाले तिमीहरुको विवाह हुन सकेन । आजको शुभ लग्नमा विवाह भएर राम्रो भएको छ ।
तिमीहरु दुबैजनाको आयु संस्कार बराबर होस् । दीर्घायु होस् । चाहे जति सन्तान होस् । सन्तानको उन्नति प्रगति होस् । धनवान, बलवान, बुद्धिवानका साथै मनले चिताएको र आँखाले देखेको प्राप्त होस् भन्दै अशिमलँ दिन्छन् ।
त्यसपछि बाबाले टीका लगाइ दिन्छन् तर, आमा तलको डिलमा गएर लुक्छन् । त्यसपछि क्रमैसंग अग्रजहरुले टीका लगाइ दिन्छन् । टीका लगाउने काम सकिए पछि नयाँ बुहारी सासू बस्ने मूल चौकामा गएर बस्नु पर्छ । चौकामा बस्नु भन्दा पहिले चौकामा बस्ने कोही हुनुहुन्छ कि भनेर सोध्नु पर्छ । त्यसरी सोध्द म छु, भनेर तलको डिलबाट सासूले भन्छे । तपाइँ को हो ? जो भए पनि तल आउनु होस, बुहारीले भन्छे ।
म तिम्रो सासू हो तर, म बस्ने ठाउँमा तिमी बसिसक्यो अब म कहाँ बस्ने भनेर सासूले भन्ने बेलामा, म त्यसै आएको होइन, तपाइँको छोराले ल्याएको हो । पहिले मेरो जन्म दिने आमा मात्र थियो, आजदेखि कर्म दिने आमा पनि भयो । तपाइँहरु कसैलाइ पनि पक्षपात गर्दिन भनेर वचन दिए पछि तलको डिलबाट सासू चौकामा झर्छिन् । त्यही समय बुहारीले सासूलाइ मोजेत्रो ओडाएर ढोग्नु पर्छ । यति काम भइसके पछि बुहारीको रीतभाँत सकिन्छ । यो रीतभाँत गुरुङको मौलिक संस्कृतिमा आधारित प्राचिन संस्कार हो । आजभोली गाउँ र ठाउँ अनुसार संस्कारको अभ्यासमा धेरथोर फरक पनि हुन सक्दछ । यसलाइ नकार्न मिल्दैन ।
विहाना ‘बाह्रथरी’को प्रीतिभोज तैयार गरिन्छ । जसमाः डाँफेको मासु, असला माछा, प्युराको मासु, रायोसाग, मह, दूध, दही, रोटी, रक्सी, दाल, मासु र भात हुन्छन् । भोजन राख्दा, दुलहलाइ दुइ भाग राख्दछन् । यसरी खाना राखिसके पछि पच्यु, ख्लेप्रे वा लामाले दीर्घायुको लागि मलँ पाठ गर्दछन् ।
प्रीतिभोज पछि आँगनमा झ्याउरे भाषामा गीत गाएर रमाइलो कार्यक्रम् गर्दछन् । झ्याउरे गाउँदा गीत गाउँनेले सबैलाइ सम्बोधन गर्दै, गीतकै भाषाबाट झटारो हान्दछन् । यसरी झटारो हानेपछि ती मानिसहरुले पनि नृत्यकारहरुलाइ पगरी वापत रुपैया लगाइ दिइ बधाई दिन्छन् ।
अन्त्यमा, मूल घरका दाताबाट जन्तीको बिदाइका लागि थालमा दीप प्रज्ज्वलन गरी पूmलपाती र भेटी अक्षेता राखेर रीतिथिति बमोजिम राख्नु पर्ने र दिनु पर्ने मानमिनेत सबै दिइसके पछि गीतकै भाषाबाट दातालाइ पनि अशिमलँ दिइ बिदावारी हुन्छन् ।
गुरुङको मौलिक परम्पर अनुसार विवाह भएको तीन दिन पछि दुलही गाउँ गर्नु पर्छ । दुलहीगाउँ भनेको नव दम्पत्ति प्रथम पटक ससुराली जानु हो । यसरी दुलही गाउँ गर्दा, जन्ती नजाने विवाह भए ससुरालीको रीतिथिति बामोजिम क्रमुँ, क्रेगि र सगुन लैजानु पर्छ ।
गुरुङ भाषामा ङेच्याब भनेको साइपाटा लाउनु हो । साइपाटा लाउँदा दुलही र दुलहको बाबाहरु दुबैजना आम्ने साम्ने बस्दछन् । दुलहको बाबाले यसो भन्छन् —आज मिति २०७५ साल मंगसिर १५ गतेको शुभ लग्नमा सगुन र पगरी लिएर मेरो छोरा दुर्गको लागि तपाइँको छोरी मायासंग साइपाटा लाउँन आएको छु भनेर दुबै सम्दीहरु एक आपासमा हात जोरेर एकले अर्कालाइ टीका लगाइ दिन्छन् । त्यसपछि, साइपाटा लाउन आउने सम्दीले ढोग्नु पर्छ । एक आपासमा ढोगिसके पछि साइपाटा लाउने क्रिया सम्पन्न भएको मानिन्छ ।
गुरुङको परम्परानुसार विवाह भएर प्रथम पटक दुलही गाउँ जाने समयमा दुलहलाइ रोधीँका सम्पूर्ण सदस्यहरुसंग परिचय गर्नका लागि स्वागत कार्यक्रम् गर्दछन् । यसरी स्वागत कार्यक्रममा जाँदा, इज्जत अनुसार दक्षिणा पनि चढाउनु पर्छ ।
गुरुङको सामाजिक संस्कारमा विवाह हुनु भन्दा पहिलेको रातमा दुलहको घरमा महिलाहरु एकत्रित भएर ‘रुतौली’ नाच्ने परम्परा रही आएको छ । यसरी रुतौली नाच्न आएकालाइ दाताले चियापानका साथै दक्षिणा दिएर सम्मानका साथ बिदाइ गर्दछन् ।
कुर्सीको रितभाँतः
चोरी विवाह गरेको अवस्थामा कुर्सींको संस्कार गर्नु पर्छ । कुर्सीं भनेको रीतभाँत लिएर प्रथम पटक ससुराली जानु हो । यो कुर्सींको रीतभाँत गुरुङको मौलिक परम्पर भएकोले यसको छुट्टै पहिचान रहेको छ । अब कुर्सीं जाने दिनमा सबभन्दा पहिले दुलहको घरमा बर्छमा पूजा गर्नु पर्छ । बर्छ भनेको काठको चार हात लामो लौरोको टुप्पामा फलामको तीनपाटे धारिलो हतियार हालेको हुन्छ । यो हतियार गुरुङहरुको सिकारीकालदेखि प्रयोग गरिने विशेष हतियार हो । यसमा पूजा गरेर साइत गर्नु पर्छ । कुर्सींको सामग्रीहरुमा जाँडको ध्यम्पा, रोटी, रक्सी, क्रेगि, क्रमुँ र पानी पुगेको भेडाको साँड लिएर चार पाँचजना जति मानिसहरु जानु पर्छ । यस बाहेक अन्य सामग्रीहरुको हकमा ससुरालीको माँग अनुसार हुन्छ ।
कुर्सी जादा, त्यहाँका चेलीहरुले तमार्गीको गानाले हानी व्याङ्ग्यत्मक् स्वागत गर्दछन् । भोलीपल्ट बिहाना आँगानमा मान्द्रो ओछ्याएर आफ्नो चलन अनुसार सगुनको भाग बण्डा गर्दछन् । भेडाको साँड काटेर तीन भाग हुन्छ । एक भाग भाइ खलकमा बाँड्छन् । एक भाग घरमा र बाँकी भाग खोले पकाउछन् । खोलेसंग भातेजाँडको ध्यम्पा खोलेर प्रसादका रुपमा खान्छन् । गुरुङको परम्पर अनुसार कुर्सींको संस्कारमा ‘ङ्हाँब पा दे छोब स्य’ अर्थात् मिठो जाँड र स्वादिलो मासु खाने चलन छ । भतेरको समयमा दुलहीको साथिहरुले दुलहलाइ सम्मानका लागि हुने नहुने वस्तुहरु लगाइ दिइ हाँसो र व्याङ्ग्य गर्ने गर्दछन् । यो क्रियाहरु गाउँ र ठाउँ अनुसार केही भिन्नता भए तापनि अनिवार्य संस्कारहरु मध्येको एउटा संस्कार हो । अन्त्यमा, सबै संस्कारहरु सकिए पछि रमाइलो नाचगान गरी बिदावारी हुन्छन् ।
चोरी, खुसिली, स्वयम्वर, जारी र कानुनी विवाह सबैमा माँगी विवाहकै अनुसार रितभाँत गरिन्छ । गुरुङको सामाजिक परम्परामा विवाहमा तेँन वा कुर्सीको संस्कारहरु गर्दा दोष दोखालो मिटाउन सिस्नुको झाडिमा फ्होले फाल्नु पर्छ ।
यो सांस्कृतिक लेख तपाइँलाइ कस्तो लाग्यो ? कमि कमजोरी भएमा बिद्धान पाठकहरुले मन खोलेर प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । घन्यवाद ।
चोग डीबी गुरुङ भाषा, साहित्य र संस्कृतिको विद्यार्थी हुन् ।
January 03, 2020.
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.