लामा कर्म ह्रप्तेनको संक्षिप्त जीवनीः
Lama Karma Rhapten. |
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । गुरुङ समुदायमा निङम मतको प्रभाव कसरी र किन हुन आयो भन्ने बारेमा बेसिशहर गुम्बाको प्रमुख लामा कर्म ह्रप्तेनको संक्षिप्त जीवनीबाट थोरै भए पनि जानकारी हुन सक्ने भएकोले, ब्लग मार्फत पाठकहरु समक्ष पस्कने प्रयास गरेको छु । समयको माँग र परिवर्तित अवस्थालाई नियालेर हेर्दा, सकारात्मक र नकारात्मक दुबै पक्षलाई बराबर तोलेर हेर्नु पर्ने हुन्छ । यस लेखमा दुबै पक्षलाई पनि समान न्याया गर्ने प्रयास गरिएको छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।
१. विषय प्रबेशः
धर्मगुरु लामा कर्म ह्रप्तेनको नाम उच्चारण गर्ने बित्तिकै लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर बजारदेखि दक्षिण दिशामा समुन्द्रि सताहदेखि लगभग ११६० मिटरको उचाइमा अवस्थित चण्डि डाँडामा स्थापित ‘ह्युल्स ह्योँ गुम्बा’को स्मरण हुन्छ ।
विक्रम संवत २०३६ सालमा पञ्चायत र बहुदलकोबीचमा भएको जनमत संग्रह पछि सामाजिक चेतनाको बिकासमा उथल पुथल भएको देखिन्छ । यही उथल पुथलको लहरमा गाउँ घरको आफ्नो किलो थलो छाडेर अवसरको खोजिमा शहर बजार झर्ने क्रम तिब्र गतिमा हुन थाल्यो । यही सिलसिलामा लामजुङको विभिन्न गाउँहरुबाट बसाइ सराइँ गर्दै, सदरमुकाम बेसिशहर झर्ने क्रम पनि नियमित हुन थाल्यो ।
रोटी, रोजी र अवसरको खोजिमा बसाइ सराइँ गर्दै, शहर झरे तापनि गुरुङहरुको आफ्नो भाषा, भेषभूषा, धर्मकर्म, संस्कार र संस्कृति पनि छाँया जस्तै संगसंगै आए । शहरिया वातावरणको बाक्लो बस्तिमा साँगुरियर बस्नु पर्ने बाध्यता भित्र बिविध सामाजिक कार्यक्रमहरु गर्नु पर्दा, असुबिधा महशुस भएकोले मालिङ गाउँको अग्रज केहर जङ गुरुङको अध्यतामा प्रथम पटक बेसिशहरमा बसोबास गर्ने गुरुङहरुले सामाजिक हकहितका लागि ‘बेसिशहर गुरुङ समाज’को स्थापना गर्यो । त्यस पछि नाल्मा गाउँ निवासी कप्तान रण बहादुर गुरुङको संयोजनमा ‘चण्डी डाँडा’मा गुरुङ समाजको लागि सामाजिक गुम्बा निर्माण गर्ने परिकल्पना भयो । यस अभियानमा जिल्ला भरका मनकारी दाताहरुबाट चन्दा संकलन गरी, जनश्रमबाट दुइ तल्ले गुम्बा निमार्ण भयो । गुम्बाको नाम ‘ह्युल्स ह्योँ गुम्बा’ नामाकरण गरियो । गुम्बाको भौतिक बिकास र बिस्तारको सिलसिला अझै निरन्तर जारी छ ।
२. लामाको धर्मगद्दीः
विक्रम संवत २०३८ साल माध ११ गतेको दिन गुम्बाको धार्मिक पूजापाठलाई नियमित र व्यवस्थित गर्नका लागि लामा कर्म ह्रप्तेन गुरुङलाई पञ्चेबाजा सहित बिशाल जनसमूहको उपस्थितिमा सम्मानसाथ बिधिवत प्रमुख धर्मगुरुको रुपमा ‘धर्मगद्दी’मा चढाए । राजा, महाराजाहरु राजगद्दी चढनु, राजनेताहरुले सपथ लिनु र धर्मगुरुहरु गद्दी चढ्नु भेनेको एउटै अर्थमा लिइन्छ । यसरी, धर्मगद्दी चढिसके पछि मन, वचन र कर्मले शुद्ध भएर आफ्नो कार्य क्षेत्रमा योग्यता र क्षमताले भ्याएसम्म निष्ठापूर्वक कर्म गर्नु पर्छ । उनले पनि यही आचरण गरे ।
Gunimaya Gurung. |
३. कर्म ह्रप्तेनको दीक्षान्तः
लामा कर्म ह्रप्तेनले २२ वर्षको उमेर पुरानो ‘पोङ्ब’ परम्परा अनुसार पुमा गाउँको लामा सिँ बहादुरसंग दीक्षा लिएर लामा विद्या आध्ययन गरे । ‘पोङ्ब’ भनेको मुखाकर रुपमा वाचन गर्ने गुरुङको ‘प्यताँ ल्हुताँ’मा आधारित श्रुतिवेद हो । तिब्बति भाषामा ‘पोङ्ब’लाई ‘बोनपो’ भन्दछन् । यही ‘बोनपो’लाई अंग्रेजीमा ‘बोन’ भन्दछन् । ‘बोन’ भनेको प्राकृतिमा आधारित उत्कृष्ट शक्तिको अध्ययन, अनुसन्धान र अभ्यास हो । प्रारम्भमा उनले एक वर्ष अध्ययन र अभ्यास गरे पछि एक हप्ता गुफा बसे । बोन संस्कृतिमा ‘गुफा’ बस्नु भनेको आफुले तत्काल अध्ययन गरेको विषयहरुको पुनः अवलोकन गर्नु हो । अर्थात, अहिलेको आधूनिक शिक्षा प्रणाली अनुसार भन्नु पर्दा, परिक्षामा सामेल भएको भन्ने भाव हुन आउछ । यसरी, उनले एक हप्ते, दुइ हप्ते, एक महिने र एक वर्षको गुफा बसेर लामा बिद्यामा प्रबिणता हाँसिल गरे । यस क्रममा उनले मनाङको नारफुमा नङ्फुसंग, बौद्ध गयामा ठि रिन्चेनको स्कूलमा, दाउन्नेमा अहिंसवादी लामा ज्ञान सागरको गुम्बामा र हेटौडामा ठिचेन लामाको गुम्बामा लामो समय अध्ययन र अनुसन्धान गरी, ध्यान र योग साधनाबाट कर्म प्रधानताको मुल्य र मान्यता प्रमाणित प्राप्त गर्नु भयो ।
सुरुसुरुमा उनले आफ्नो गुरुबाट सिकेको संस्कार अनुसार परम्राबाट चलि आएको चलन अनुसार पुरानै ‘पोङब’ अर्थात ‘बोन’ संस्कार अनुसार कर्मकाण्डहरु गर्दै आए । गुरुङहरुको कुलपूजा गर्दा, बाली नगएको छतौरा भेडी काट्ने र पितृ कार्य ‘पए’ गर्दा, ख्होक्यू थोक्यू गर्ने, पलिगाको लागि भैसी काट्ने आदि कार्यहरु गरिन्थ्यो, त्यही अनुसार गर्दै आए । जुन संस्कार गुरुङ समाजमा प्रचलित थिए ।
४. समयको गति र माँगः
समयको माँग, गति र परिस्थिति सधै एक नास हुदैन, गतिशील हुन्छ । गतिशीलको धारले सामाजिक बिकासमा समयको माग अनुसार उथल पुथल गर्ने प्रयास गर्दछन् । गतिशीलको मूल धारले सामाजिक र सांस्कृतिक पहिचानको मुल्य र मान्यताको अस्तित्व जोगाउदै समय अनुकुल परिवर्तन गर्दै लैजाने प्रयास गर्दछन् । मानव समाजले आदिम कालदेखिनै सामाजिक जीवन शैलीलाई परिष्कृत गर्दै, सरल र सहज बनाउनका लागि सधै परिवर्तनको मार्ग र माँग खोज्दै चुन्दै आएका छन् । हाम्रो संस्कारहरु समाजका लागि हाम्रै अग्रजहरुले बनाएका बिधान हुन् । यस बिधानमा समय अनुकुल परिमार्जन पनि गर्दै आएका छन् । यही कारणबाट मानव समाजले बिज्ञान र प्रबिधिको क्षेत्रमा समृद्धिको शिखर चुम्न सफल भएका छन् ।
विक्रम संवत २०१६ सालमा तिब्बतको धर्म शासक १४औं दलइ लामा भारत निर्वासित हुन बाध्य भए । उनीसंग आस्सी हजार तिब्बतीहरु भारत आए । त्यस बखत भारत जान नसकेका धर्मगुरुहरु बिभिन्न नाकाहरुबाट नेपाल झरे । उनीहरुको लागि पोखरामा शरणार्थी शिबिर स्थापना भयो । हजारौं शरणार्थीहरुको साथमा प्रख्यात लामागुरुहरु पनि आए । ती गुरुहरु निङम मतका थिए । निङम मत भनेको तिब्बतमा गुरुह्रिमोर्छे पद्म संभावले स्थापना गरेको प्रथम स्कूल हो । जस्मा ‘बुद्ध वचन’ वाचन गर्ने र ‘बोन’ परम्परामा आधारित स्थानीय जात जातिहरुको मौलिक संस्कार अनुसार कर्मकाण्ड गर्ने मूल आधार अख्तियार गरिएको थियो । यो ‘निङम’ मतको प्रभाव गण्डकी प्रदेशको पुरानो बोन लामाहरुमा पनि प्रभावित हुन थाले ।
५. निङम मतको प्रभावः
यसै विषयमा छलफल गर्नका लागि लमजुङ जिल्लाको पुरानो ‘बोन’ लामाहरु पनि निङम मतमा प्रवर्जित हुने वा नहुने भन्ने सवालमा विक्रम संवत २०२७ साल पौष १२ गते लामा सिँ बहादुरको नेतृत्वमा एक दर्जन लामाहरु साम्रोँ बेसीमा लामा कर्म ह्रप्तेनको घरमा भेला भए । उक्त भेलाले, पुरानो मत त्यगेर निङम मतमा दीक्षा लिने भन्ने सन्दर्भमा सर्वसम्मतबाट निर्णय लियो ।
यसरी, लमजुङ जिल्लामा निङम मतको पहिलो जग बस्यो । तथागत बुद्धले प्रतिपादन गरेको र तिब्बतको लामावादको पहिलो मतको रुपमा परिचित निङम मतमा प्रवर्जित भएका लामागुरुहरुले बुद्ध वचनको त्रिरत्न, पंचशील, अष्टमार्ग, प्रतित्यसमुत्पाद र महाप्रज्ञपारमिताको बास्तविक चुरी बुझि सके पछि हिजो काटमार गरेर कुल पूजा र पितृ कार्य गर्ने बोन लामागुरुहरु संगठित भएर अहिंस, शान्ति, प्रज्ञा र पारमिताका लागि निङम मतको प्रचार प्रसारमा लागे ।
यहाँहरुलाई स्पष्ट भएकै कुरा हो कि, निङम मत भनेको ‘बुद्ध वचन’को महायान शाखा हो । लामावाद भनेको तिब्बतको बोन संस्कृतिमा मौलाएको बुद्ध दर्शन हो । जस्मा निङम, कग्यु, गेलुक, शाक्य र बोन मत रहेका छन् । गुरुङको माउ भाषामा पुरानो, प्रथम, प्रधान, जेठो, उत्कृष्ट र स्थानीयलाई निङ्म भन्दछन् ।
साँचो अर्थमा भन्नु पर्दा, ‘बुद्ध दर्शन’ भनेको मानव कल्याणका लागि प्रतिपादन गरिएको दर्शन हो । नेपालीमा यसको अर्थ ‘बोध हुनु वा जान्नु’ भन्ने भाव हुन्छ । दर्शन भनेको जीवनको मूल मार्ग हो । सारमा भन्नु पर्दा, जीवनको अस्तित्वलाई बुझि सके पछि राम्रो वा नराम्रो ? सरल वा कठिन, आँध्येरो वा उज्यालोको बास्तविकता के हो ? आफै स्पष्ट हुन्छ । स्पष्ट भए पछि उपयुक्त मार्ग चुन्न सजिलो हुन्छ । यसबाट ढिलो वा छिटो गन्तव्यमा पुग्न सकिन्छ । कर्तव्य पथमा अडिक रहनु, प्रत्येक यात्रिको नैतिक दायित्व रहन्छ । यो दायित्वकै आधारमा उनले पुण्यको लाभांश प्राप्त गर्दछन् ।
पुरानो बोन संस्कारको विरुद्धमा निङम संस्कारको प्रचार प्रसार गरिए तापनि गुरुङहरुले निङम मतको वास्तविक चुरी बुझ्न सकेनन् । त्यसैले, बोनवादका लामा र निङम मतका लामाहरुबीच सैद्धान्तिक रुपमा शितयुद्ध चल्यो । तर, निङमा मत सामाजिक मुल्य र मान्यता अनुसार रहेको हुनाले गुरुङहरु शहरीयकरण हुने बखतमा अनुकरणीय साबित भएकाले समाजमा यो मतले बाक्लो स्थान र बिश्वास प्राप्त भयो ।
यसरी, धर्मगुरु लामा कर्म ह्रप्तेले २०२७ सालदेखि निङम मतको अनुयायी र २०३८ सालदेखि २०६६ सालसम्म निरन्तर रुपमा निङम मतको प्रचार प्रसार गर्नुका साथै गुम्बाको प्रमुख लामागुरुको पदमा रहेर सामाजिक सेवा गर्नु भयो । यसरी, २८ वर्षसम्म निरन्तर बुद्ध, धर्म र संघको सेवा गरी २०६६ साल पौष १० गते ७९ वर्षको उमेरमा काठमाडौं स्थित बालाजु नर्सिङ गृहमा उपचार गर्दा गर्दै निर्वाण लिनु भयो । ॐ मणि पद्ममे हुँ ।
६. परिवारिक जीवनः
लामा कर्म ह्रप्तेको तीन छोरा र तीन छोरी भए । छोराहरुमा डीबी गुरुङ, मोहन गुरुङ, ओमेन्द्र गुरुङ; छोरीहरुमा चिनीमाया गुरुङ, टिका गुरुङ र रजनी गुरुङ हुन् । जेठा छोरा चोग डीबी गुरुङको सपरिवार अमेरिकामा, माइला मोहन बहादुर गुरुङको सपरिवार पोखरामा, कान्छा ओमेन्द्र गुरुङको सपरिपार बेलायतमा, जेठी छोरी चिनी माया गुरुङको सपरिवार बेलायतमा, माइली टिका गुरुङको सपरिवार बेसिशहरमा र कान्छी रजनी गुरुङको सपरिवार काठामण्डौंमा बसोबास गर्दछन् । रजनी गुरुङ परिवारमा कान्छी भए तापनि दीर्घजिवी हुन सकेनन् !
Tej Bahadur & Chinimaya Gurung, UK. |
हाल उक्त गुम्बामा उनको उत्तराधिकारीको रुपमा दाह्रि लामा प्रमुख लामाको रुपमा गद्दिसिन रहेका छन् । गुम्बामा दुइ दर्जन जति विद्यार्थीहरु पठन पाठन गरिरहेका छन् । उप्रान्त गुम्बाको अवस्था कस्तो रहने ? कस्तो बनाउने ? भन्ने कुरा, प्रमुख लामा, लामागुरुहरु, उपासकहरु, उपासिकहरु, ङ्युनी समूह, स्थानीय बुद्धिजिबिहरु र सञ्चालक समितिको व्यवस्थापनमा निर्भर रहने गर्दछ । आशा गरौं, गुम्बाको यथोचित बृद्धिबिकास हुनेछ ।
यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।
4/22/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.