पितृ कार्य (पए):
![]() |
Gurung language & culture. |
गुरुङको मौलिक संस्कार अनुसार गरिने पितृ कार्य (पए) भागः २
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । संवत २०६९ सालमा प्रकाशित ‘तमू क्योए दे प्यक्ष्या’ नामक पुस्तकको सामग्रीहरुलाई केही संशोधन र परिमार्जन गरी, ‘पितृ कार्य (पए) भाग २’ शिर्षकमा ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गुरुङ संस्कृतिको वर्तमान अवस्थालाई नियालेर हेर्दा, बिभिन्न गाउँ र ठाउँ अनुसार स्थानीय अभ्यासमा धेरथोर फरक हुनु स्वभाविकै हो । तर, मूल भावमा खासै अन्तर छैन । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।
गुरुङको मौलिक संस्कार अनुसार गरिने पितृ कार्य (पए)को मूल अंश भाग १ मा प्रकाशन गरिसकेको छ । अबको बाँकी भागमा फ्ह्रैँ किँब, मबु क्लेब, पए चुँब, प्ल, फ्ल्ह तेँब, अस्योँ प्युरी, खँैचि चिब, फैलु टोँब, अलँ, क्रसा, क्रमूँ क्रेगी, ख्होक्युउ, दौथर नाँब, पए लेब, टचै, अस्योँ फुलब, खेगी फुलब, फ्ह्रै फुलब, भाइ छोँज र ह्योँ खुब आदि कार्यहरु मौलिक विधिविधान हुन । तर, उपरोक्त कार्यको मौलिक अभ्यास समय, गाउँ, ठाउँ र परिवेश अनुसार गरिने भएकाले एक रुपता नहुन पनि सक्दछ । तर, मौलिक भावमा भने खासै अन्तर रहेको पाइदैन । बिस्तृत जानकारीको लागि तमू क्योए दे प्यक्ष्यामा हेर्नु ।
यो पितृ कार्यको अन्तिम भागलाई गुरुङको मौलिक भाषामा (पए) लेब भन्दछ । यसको नेपाली अर्थ पितृ कार्यको विधिवत् समापन गर्ने भन्ने हुन्छ । गुरुङहरुको सामजिक संस्कार अनुसार खुइ पए, रो पए, छ्यु पए र सो पए गरी चार प्रकारबाट गरिन्छ । खुइ पए भनेको एक राते हो । रो पए भनेको दुइ राते हो । छ्यु पए भनेको एक दुइ पुस्ता पछि गरिने हो । सो पए भनेको जिवितै अवस्थामा गरिने कर्मकाण्ड हो । यसरी, एक राते वा दुइ राते जे गरे पनि गर्नु पर्ने बिधिबिधानहरु सबै सम्पन्न भइसके पछि तोकिएको समयमा (पए) समापन गर्ने कार्य हुन्छ । यसो गर्दा, सबभन्दा पहिले पुरेतहरु झ्याली बजाउदै यज्ञ स्थलबाट निस्कन्छन् । त्यसपछि, ज्वाइहरुले अलँ र प्ल उठाएर निस्कन्छन् । ज्वाइहरुले पुरेतहरुलाई व्याङ्ग्य गर्दै दोबाटोमा प्ल नचाउँछन् । यसरी, प्ल नृत्य गर्दा, पुरेतले प्ल छुनु खोच्छ । ज्वाइले प्ल लुकाउँछ । एवंं रितले केही समय नृत्य गरे पछि पुरेतले प्ल छुन्छ र कार्यक्रम समाप्त हुन्छ । ज्वाइहरुले त्यो अलँ र प्ल फोरेर फाल्छन् । यसबाट (पए) लेब कार्य पूर्ण भएको मानिन्छ ।
यो टचै भन्ने शब्द गुरुङ भाषाको मौलिक शब्द हो । नेपालीमा यसको अर्थ शुद्ध गरेर जुठो फुकुवा गर्ने भन्ने हुन्छ । गुरुङहरुको सामाजिक संस्कारमा पितृ कार्य (पए) सम्पन्न भैसके पछि टचै वा शुद्धि गर्नु पर्छ । शुद्धि कार्य गर्दा, मावलीबाट पूmलपाती र टीका ग्रहण गरी चोखो भए पछि एक आपसमा मानसम्मानको खातिर पाठ्होँ क्युठ्होँ अर्थात जलपानले मानसम्मान गर्ने र रिपु लाएर स्याइ स्याइ गर्ने परम्परा छ । (स्याइ स्याइ भनेको घाँटीमा रिपु लगाइ दिँदा दुबै हातले छोपेर अब राम्रो हुन्छ । सुस्वास्थ्य, दीर्घायु र मंगलमय हुन्छ भन्नु हो) । यति कार्य भैसके पछि पुरोहितहरु, मावलीहरु, चेलीबेटीहरु र भाइबन्धुहरु सबै एकै हारमा बसेर शुद्धिको चोखो खाना खान्छन् । यस प्रकार गुरुङ संस्कारमा टचैबाट चोख्याउने क्रिया गरिन्छ । गुरुङ जातिको अन्त्यष्टि र पितृ कार्य पएलाई पवित्र गर्ने यो टचै, शुद्धि संस्कार यस जातिको पितृ संस्कारलाई पूर्ण विराम दिने बिशिष्ट क्रिया मानिन्छ ।
अस्योँ फुलब, यो अस्योँ फुलब गुरुङ भाषाको मौलिक शब्द हो । यसको नेपाली अर्थ मावलीलाई मानसम्मान गर्ने भन्ने हुन्छ । गुरुङहरुको मौलिक संस्कार अनुसार पतिृ कार्य पए सम्पन्न भैसके पछि सबभन्दा पहिले ‘मावलीलाई सम्मान’ गर्नु पर्ने हुन्छ । यसरी सम्मान गर्दा, थालमा अक्षेता, पूmलपाती र इज्जत अनुसारको द्रव्य, रोटी र रक्सी राखी चढाउँनु पर्छ । यसरी मावलीलाई सम्मान गर्न गए पछि मावलीले कर्तालाई सुस्वास्थ्य र दीर्घायुको अशिमलँ दिन्छन् र विदा हुन्छन् ।
यो खेगी फुलब गुरुङ भाषाको मौलिक शब्द हो । यसको नेपाली अर्थ पुरेत लामा वा ख्लेब्रेलाई मानसम्मान गर्ने भन्ने हुन्छ । गुरुङहरुको मौलिक संस्कार अनुसार पितृ कार्य (पए) सम्पन्न भैसके पछि पुरेतहरुलाई मानसम्मान गर्नु पर्ने हुन्छ । सम्मान गर्दा, थालमा अक्षेता, पूmलपाती र इज्जत अनुसारको द्रव्य, रोटी र रक्सी राखी चढाउँनु पर्छ । यसरी पुरेतलाई सम्मान गर्न गए पछि प्रमुख पुरेतले कर्तालाई सुस्वास्थ्य र दीर्घायुको अशिमलँ दिन्छन् र विदा हुन्छन् ।
यो फ्ह्रै गुरुङ भाषाको मौलिक शब्द हो । यसको नेपाली अर्थ पाहुँना भन्ने हुन्छ । गुरुङहरुको सामाजिक संस्कारमा पितृ कार्य पएको अन्तिम संस्कार शुद्धिको कार्य सम्पन्न भैसके पछि पाहुँनाहरुलाई विदाइ गर्ने कार्य हुन्छ । पाहुँनाहरुलाई विदाइ गर्दा पनि जलपानले मानसम्मान गरी विदाइ गर्ने गरिन्छ ।
यो भाइ छोँज गुरुङ भाषाको मौलिक शब्द हो । यसको नेपाली अर्थ भाइहरुबीच सभा, सरसल्लाह, छलफल आदि भन्ने हुन्छ । पाहुँनाहरुको विदाइ भैसके पछि भाइ खलकका गन्यमान्यहरु बसेर पितृ कार्य पएको विविध पक्षमा छलफल गर्दछन् । यसरी छलफल गर्नुको अर्थ के हो भने, यस पटकमा कमी कमजोरीहरु के कस्तो भयो ? त्यसलाई अगामी कार्यहरुमा सुधार गर्दै लानु पर्छ भन्ने कुरामा सहमत जनाए पछि छोँज समाप्त हुन्छ । छोँज समाप्त भए पछि कर्ताले भाइहरुलाई पनि मानसम्मान गर्दछन् । भाइहरुले पनि कर्तालाई रिपु लगाइ स्याइ स्याइ गर्दछन् । यसरी आपसमा मानसम्मान गर्ने गुरुङहरुको मौलिक परम्परा रही आएको छ ।
यो ह्योँ खुब गुरुङ भाषाको मौलिक शब्द हो । यसको नेपाली अर्थ द्रव्य यज्ञ गर्ने भन्ने हुन्छ । गुरुङहरुको सामाजिक संस्कारमा शुद्धि गरेको तीन दिन भित्र द्रव्य यज्ञ गर्नु पर्छ । यसरी, द्रव्य यज्ञ गर्दा, हिन्दु संस्कारमा लक्ष्मीको पूजा, तिब्बतियन संस्कारमा ताराको र गुरुङ संस्कारमा मणि ह्योँखारा पाँङग्रेस्योको पूजा गरिन्छ । भोलि पल्ट एक दिन घर बार्नु पर्छ ।
यसरी, ख्होलसोँथरमा प्रथम पटक घले राजाको विधिवत रुपमा पितृ कार्य (पए) गरिएको थियो । त्यही संस्कार गुरुङ समुदायमा अविछिन्न चल्दै आएको छ । हाल निङम मतका लामा गुरुहरुले गर्ने (पए)को विधिविधानमा केही भिन्नता देखिए तापनि मूल सार यही नै हो ।
प्रवासको विशेषता भनेकै विलासित वस्तुहरुको उपभोग गर्नु हो । यस अर्थमा भन्नु पर्दा, विलासित वस्तुहरुको उपभोगका लागि दक्ष जनशक्तिका लागि सरल र सहज भए तापनि, साधारण स्तरका कामदारका लागि आकासको तारा जस्तै हुन्छन् । आम्दानी र खर्चको अनुपात बराबर जस्तै हुने भएकाले, यस्तो जटिल परिस्थितिमा पितृहरुको नाउँमा नगरी नहुने कर्मकाण्डहरु गर्दा, चाहेर वा नचाहेर पनि अनुकुलता हेरी, गुम्बामा गएर साधारण अवस्थामा धूप बात्ति बालेर आत्म सन्तुष्टि गर्नु बाहेक अरु विकल्प छैन । किनभने, तत्काल आवश्यक पर्ने समयमा हाम्रो मौलिक पुरोहितहरु ख्लेप्रेँ र लामा गुरुहरु पनि उपलब्ध हुन कठिन अवस्था छ । यस्तो जटिल अवस्थालाई प्रवासमा रहेका सामाजिक संघसंस्थाहरुले बेलैमा सचेत हुन आवश्यक ठान्दछु ।
म लेखक स्वयं पनि यस विषयमा चिन्तित छु । किनभने, मैले छ दसकको मध्य बसन्त पार गरिसकेको छु । कालको गति कसलाई थाहा छ र ? यस्तो परिस्थितिमा गुरुङको मौलिक संस्कारको आधारमा गरिने पितृ कार्य पए, प्रवासको सवालमा भनाइ, कागज र अडियोमा मात्र सिमित रहेने मैले निश्चित गरिसकेको छु । वास्तवमा पितृ कार्य भनेको उनले जीवनमा मन, वचन र कर्मले गरेका भोगेका असुद्ध कर्महरुलाई सुद्धिकरण गरेर पितृलोक जाउन भन्ने मान्यतामा आधारित हुन्छन् । किनभने, पितृ कार्य गरेर स्वर्ग गएको, नगरेर स्वर्ग नगएको वास्तविक यर्थातता कसैले पनि भन्न सकेको छैन । त्यसैले, आफ्नो भोगइलाई बोध गर्न सक्ने मानिसहरुले जीवनको उत्तराद्र्धमै आफ्नो कर्मको सुद्धि गरेर बस्न सकेमा, मृत्यु पश्चात परिवारजनबाट गरिने साधारण पूजापाठबाट पनि पितृलोक भोग गर्न सकिन्छ । भगवान बुद्धले प्रतिपादन गर्नु भएको कार्यकारण प्रणालीमा आधारित प्रतित्यसमुत्पादको सिद्धान्तले पनि यही मान्यतालाई स्विकार गरेको छ । तसर्थ, यस पद्धतिको मूल भावलाई आत्मसाथ गर्न सकेमा पितृ कार्यमा अमूल परिवर्तन हुन सक्ने प्रवल संभावना देखिन्छ ।
गुरुङ जातिको मौलिक संस्कार अनुसार मृतकका लागि गरिने अन्तिम पतिृ कार्य पए हो । यो संस्कार गुरुङ समुदायमा आदिम् कालदेखि निरन्तर चल्दै आएको छ । निरन्तर चल्दै जानु पनि पर्छ । निरन्तरता भएन भने ओझेलमा पर्छ । ओझेलमा परे पछि संस्कार हराउछ । तर, हामिहरुले राम्रोसंग बुझ्नु पर्ने कुरा के छ भने, कुनै पनि संस्कारहरु सामाजिक रुपमा सरल र आर्थिक रुपमा लचिलो हुनु पर्छ । त्यसो भएमा मात्र सर्वसाधरण सबैले सजिलैसंग अवलम्वन गर्न सक्दछन् । त्यस्तो अवस्थामा रहेको संस्कारहरु दीर्घायु पनि हुन सक्दछन् ।
त्यसैले, सारांशमा भन्न खोजिएको सार कुरा के हो भने, हामीहरुले आफ्नो जातीय संस्कार अनुसार नगरी नहुने अन्तिम अन्त्येष्टि क्रिया र पितृ कार्य (पए) अनिवार्य क्रिया हो । तर, शुदि गर्ने बेलामा आफन्तहरुबाट तडक र भडक गर्नु पर्ने किन ? सुनको औँठी र रुपैयाँको मुठो थालमा राखेर कर्ताको अगाडि देखाउनु पर्ने किन ? कर्तालाई पगरी गुथाउने किन ? कर्ताले त, सामाजिक संस्कार अनुसार नगरी नहुने पितृहरुको अन्तिम क्रिया (पए) पो गरेको हो त ! पए गरेर कुनै बहादुरी कमाएको त हैन ? यदि (पए) गरेर बहादुरी नै कमाएको हो भने ठिकै छ । होइन भने यो तडक, भडक, देखासिकी, रुपैयाको मुठो र पगरी गुथाउने क्रिया किन ? यसको औचित्य के ? यो कार्यशैली विकृतिको रुपमा देखिएको छ । यो प्रश्नको जबाव हामीहरु आफैले आफ्नै अन्तर आत्मसंग सोध्न सकेमा सही उत्तर पाउन सक्ने धेरै सम्भावना छ । यही सम्भावना पएको मूल सारांश हो । पितृम् शरणम् गच्छामी ।
गुरुङको मौलिक संस्कार अनुसार गरिने पितृ कार्य (पए), भागः २मा प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन ।
4/8/2020
![]() |
Gurung language & culture. |
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.