A profile of poetess Gauri Gurung.

स्रष्टा एवं साहित्यकार गौरी गुरुङ, पोखरा ।

Poetess Gauri Gurung.
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई ‘गुरुङ स्कुल’को ब्लगमा स्वागत गर्दछु । पर्यटकहरुको राजधानी उपनामबाट परिचित पोखराकी ‘चम्किला तारा’ स्रष्टा एवं साहित्यकार गौरी गुरुङको संक्षिप्त जीवनीलाई ब्लग मार्फत पाठकहरु समक्ष पुनः पस्कने प्रयास गरेको छु । गौरी गुरुङद्धारा रचना गरिएको ‘समै दर्बानी’ नामक उत्कृष्ट मुक्तक संग्रह एक पटक पढ्नै पर्नै पुस्तक छ । बिद्धान पाठकहरुलाई प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको भन्ने कुरा मनमा लागेमा आफन्तहरुलाई पनि शेगर गर्नु होला ।

नेपालको मध्य क्षेत्रमा अवस्थित पोखरा उपत्यका गण्डकी प्रदेशको राजधानी हो । यसको उत्तरी भागमा प्राकृतिको वरदान स्वरुप बिशाल अन्नपूर्ण हिमश्रृंखला अवस्थित रहेको छ । त्यसैको काखमा अदभूत सुन्दर माछापुछ«े हिमाल गमक्क उभिएको छ । माछापुछे« हिमाल फेवातालमा प्रतिबिम्बित हुँदा, यो दृष्य कल्पनाको परिकल्पना भित्र पनि तरंगित गर्दछ । वास्तवमा यो प्रतिबिम्ब कति सुन्दर हुँदो हो ? शब्दहरुद्धारा गरिने वर्णन सूर्यको प्रकाशमा तारा मण्डलको अस्तित्व जस्तै हुने छ । 
   
पोखरा उपत्यकामा नेपाल अधिराज्यबाट बसाइँ सरेर आएका गुरुङहरुको घना बस्ति भएकाले यसलाई तमूवनको राजधानी पनि भन्दछन् । त्यही राजधानीमा उदाएको चम्किलो ताराको नाम हो ‘साहित्यकार गौरी गुरुङ ।’ 
   
साहित्य भनेको समाजको दर्पण हो । जसले समाजको प्रत्येक गतिबिधिहरुलाई शब्दको माध्यमद्धारा भावलाई प्रस्तुत गर्दछन् । भाषाको माध्यमद्धार लेखेर सम्प्रेशन गरिने प्रकृयालाई सृजना भन्दछौं । साहित्यको धेरै बिधाहरु छन् । जसमा काव्य, उपन्यास, कथा, निबन्ध, गीत, कविता, गजल र मुक्तक आदि हुन् । प्रत्येक बिधाको लेखन शैलीमा फरक फरक हुन्छन् । आज हामी एक जना मुक्तकको स्रष्टाको बारेमा चर्चा गर्न गैरहेका छौं । तर, उनको चर्चा गर्नु भन्दा, पहिला पाठकहरु माझ मुक्तकको धारणा के छ ? भन्ने बारेमा स्पष्ट गरे पछि स्रष्टाको परिचय गरिने छ । 
   
स्रष्टा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को तीन पृष्टे कार्य–पत्रको भाव अनुसार मुक्तक भनेको नेपाली शब्दकोषमा समाहित मौलिक स्रोत अन्तर्गतको तत्सम शब्द हो । संस्कृतको मुच् धातुमा क्तिन (त) प्रत्यय योग भएर मुक्त शब्द बनेको हो भने, यसमा कन् (क) प्रत्यय जोडिए पछि मात्र मुक्तक शब्द निष्पन्न भएको हो । नेपाली साहित्यमा कविताको एउटा लघुतम भेदका रुपमा स्थापित मुक्तक संस्कृतमा प्रयुक्त मुक्तकभन्दा भिन्न प्रकृतिको छ । 
   
नेपाली साहित्य परम्परामा विक्रमीको २०१५, १६ सालतिर भीमदर्शन रोकाले चतुष्पदी ढाँचालाई अवलम्बन गरेर, मुक्तक लेख्न थालेका हुन् । मुक्तक शब्दको प्रयोग गरेर रचना प्रकाशित गर्ने पहिलो व्यक्ति भने कृष्ण प्रसाद पराजुली हुन् । यहीबाट रुवाई वा चतुष्पदी ढाचाका रचनाहरु नेपाली साहित्य बिधामा मुक्तक भनेर परिचित हुन थालेका हुन् ।      
   
अधिकांश स्रष्टाहरुको भनाइ अनुसार मुक्तकको व्युत्पति पार्सीमा भएको विश्वास गरिन्छ । त्यहीबाट उर्दु, हिन्दी हुँदै नेपाल प्रवेश गरेको भन्ने गरिन्छ । यो मुक्तक चोटिलो, पोटिलो र रसिलो पनि भएको हुँदा, छोटो भावमै थुप्रै कुराहरु एकसाथ भन्न सकिने र स्रोताहरुले पनि प्रष्ट बुझ्ने भएकाले नेपाली समाजमा पनि लोकप्रियता प्राप्त गर्न सफल देखिएका छन् । तर, यसको रचनालाई हेर्दा, दुइ पंक्ति, तीन पंक्ति, चार पंक्ति, सात पंक्ति आदि पनि देखिएको हुँदा, रचना बिधानको कुनै मापदण्ड नरहेको देखिन्छ । यिनै छाडापनको रचनालाई एक सुत्रमा बाँधेर बिधिवत बिकास गर्नका लागि संवत २०७० सालमा मुक्तकको महारथीहरुद्धारा नेपाल मुक्तक प्रतिष्ठानको स्थापना भएको बुझिन्छ ।
   
नेपालको सफल व्यवसायि एवं प्रतिष्ठानको अध्यक्ष रामकाजि गुरुङ कोनेको भनाइ अनुसार मुक्तक भनेको ‘गागरमा सागर अटाउने, बिन्दुमा सिन्धु अटाउने’ छोटो छन्दको एउटा साहित्यिक प्रणाली हो । यसकासाथै नेपालमा तिब्र गतिमा छरिएर बिकास भैरहेको मुक्तकलाई रचना बिधान अनुसार बिकास गर्दै लैजाने उद्देश्यले प्रतिष्ठानको स्थापना भएको बताउनु हुन्छ ।                
   
गण्डकी प्रदेशको राजधानी पोखरामा संवत २०७० सालको माध १६, १७ र १८ गते तीन दिनसम्म सञ्चालन गरिएको सम्मेलनबाट प्रस्ताव गरिएको पाच बुँदे घोषणा–पत्र अनुसार उप्रान्त, नेपाली मुक्तक बिधामा चार पंक्तिय मुक्तकको रचनालाई प्रमुख आधार बनाएर मुक्तकको रचना बिधान बनाइएको कुरा उल्लेख छ । चार पदिय वा पंक्तिय रचना बिधान अनुसार प्रथम पदले विषयको उठान गर्दछ । दोस्रो पदले विषयको पूर्ण विकास गर्दछ । तेस्रो पदले विषयलाई परिपक्का बनाउछ र चौथो पदले विषयलाई निर्णयक मोड दिन्छ । 
   
उदाहरणको लागि, स्रष्टा गौरी गुरुङद्धारा रचना गरिएको ‘समै दर्बानी’ नामक उत्कृष्ट मुक्तक संग्रहको तीन नम्बरमा यस्तो भाव उदृत गर्नु भएको छ—
‘अजम्बरी हुने भए मान्छे कस्तो हुन्थ्यो होला
कवाडीको मुल्य भन्दा जीवन सस्तो हुन्थ्यो होला
हराए मानवता संवेदना र इमानदारी
आफु मात्रै बाँच्न खोज्ने हिटलर जस्तो हुन्थ्यो होला’ 
   
Samai Darbani Muktak.
वहा ! वहा ! उपरोक्त मुक्तकको छन्दलाई विश्लेषण गरी हेर्दा, प्रथम पंक्तिले विषय वा भावलाई उठान गरेको छ । दोस्रोले पूर्ण बिकास गरेको छ । तेस्रोले परिपक्का बनाएको छ र चौथो पंक्तिले निर्णयक मोड दिएको छ । यसरी चार पंक्तिको मुक्तकले एउटा विषय वस्तुको सम्पूर्ण भावलाई स्पष्ट रुपमा सन्देश दिएको छ । यही सन्देश मुक्तकको मौलिक विशेषता हो ।  
   
यो चतुष्पदी वा रुवाई मुक्तकको मौलिक स्वरुप हो । यसमा काफिया, हाइकु र रद्धिपको पनि प्रयोग हुन्छ । यसैको आधारमा स्रष्टा गौरी गुरुङले समसामयिक विषयहरुको सन्दर्भ मिलाएर ‘समै दर्बानी’ नामक मुक्तक संग्रह रचना गरी प्रकाशन गर्नु भएको छ । दोश्रो संस्करणमा कवि एवं साहित्यकार केयरसिँह गुरुङद्धारा गुरुङ भाषामा पनि अनुवाद गरिएको छ । गुरुङ भाषामा अनुवाद गरिएको यो मुक्तकले गुरुङ भाषाको साहित्य भण्डारमा सुनौलो इटा थपेको अनुभूति भएको छ ।   
   
स्रष्टा गौरी गुरुङको जन्म विक्रम संवत २०३९ सालमा साविक लुम्बिनी अञ्चल, नवलपरासी जिल्ला गैडाकोट गाउँ विकास समिति वडा नं ३ तातरीबासमा बाबा टेक बहादुर गुरुङ र आमा छलि माया गुरुङको कोखबाट माहिली छोरीको रुपमा भएको थियो । उनी पाँच दिदीबहिनीहरु र तीन दाजुभाइकी धनी लाहुरे परिवारमा जन्मिए पनि बाबा पेन्सन आए पछि मात्र जन्मिएकीले बाल्यकालमा बाबाको धेरै माया, साथ र मार्ग निर्देशन पाए । उनको बाबा समाजसेवी र राजनीतिज्ञ थिए । उनकै प्रेरणाले गर्दा, सानैदेखि दयालु, सहयोगी र जीवनमा केही गरेर देखाउनु पर्छ भन्ने स्वभावकी भए । उनले जुन उमेरमा विद्यालय जानु पर्ने थियो, त्यो अवसर पाएन । कारण नजिकै विद्यालय नभएको र खोला तरेर जान वर्ष याममा कठिन हुने भएकोले नौ वर्षको उमेरमा मात्र आफ्नै बाबाले स्थापना गर्नु भएको गाउँकै पञ्चकन्या प्रा.वि.मा कक्षा १मा भर्ना भएर प्रारम्भिक शिक्षा आरम्भ गर्नु भयो । 
   
उनी सानै उमेरदेखि तीक्ष्ण बुद्धि र निडर भएकाले प्रखर वक्ताका रुपमा उदाए । स्वभाव अनुसार बाबाको हात समाउँदै विभिन्न कार्यक्रमहरुमा नविन सृजनाहरु सुनाउँदै हिँड्न थाले । अलि ठूली भएपछि २०५५÷५६ सालतिर कक्षा ७ देखि १० कक्षासम्म पढ्दापढदै जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा लगातार पाँच पटकसम्म प्रथम भए । अब, अरु उदियमान भाइ बहिनीहरुलाई पनि पालो दिनु पर्छ भन्ने मनासायले जिल्ला बाहिर मात्रै प्रतियोगितामा सहभागी भए । कक्षा ८ मा पढ्दै गर्दा, नागरिकता बनाइ गाउँकै ‘नमुना युवा क्लब’को संस्थापक सचिव भएर काम गर्नु भयो । कक्षा १० मा पढ्दै गर्दा, गाउँकै छिमेकी भाउजुहरुले सारी लगाइदिए पछि पहिलो पटक स्टेज कार्यक्रम ‘चितवन महोत्सव २०५७’ सञ्चालन गर्ने अवसर जुरेको थियो, वहाँ उत्सुकतासाथ भन्नु हुन्छ ।   
                                  

त्यतिबेला व्यवसायिक रुपमा पारिश्रमिक दिने लिने चलन थिएन । तैपनि देशका प्रमुख शहरहरुमा स्टेज कार्यक्रम सञ्चालन गर्न थाल्नु भयो । कक्षा ९÷१० मा पढ्दादेखि नै विद्यालयमै भित्ते पत्रिका र गाउँकै साथीहरुसँग मिलेर विभिन्न लघु साहित्यिक पत्रिका निकालेको उनले बताइन् । यसरी सानो उमेरबाटै बहुमुखी प्रतिभाको धनी भन्ने परिचय बनाइसक्नु भएको थियो । उनले ६० को दशकमा पोखराको रेडियो नेपाल, क्षेत्रीय प्रशारण केन्द्रमा आएर गुरुङ गीतहरु खोजेर लगी सबैभन्दा पहिले तराई मधेसको कालिका एफल.एम. भरतपुर चितवनमा गुरुङ भाषाको कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यो नै उहाँको गुरुङ समुदायलाई पु¥याएको पहिलो योगदान थियो । उक्त कार्यक्रम हालसम्म (१५ वर्षसम्म) पनि निरन्तर सञ्चालन भइरहेको छ । यही ६०को दशकतिरनै उनले ‘नेपाल तमू विद्यार्थी छोँज धीँ’को केन्द्रिय प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी सम्हालेर सामाजिक सेवाको यात्रा आरम्भ गर्नु भएको थियो । 
   
संवत २०६४ सालमा वैवाहिक बन्धनमा बाँधिए पछि पोखरालाई मूल कर्म थलो बनाउनु भयो । उनले आमाको जिम्मेवारीले बाँधिएकै बखत मास्टर्स डिग्री र कानुनमा स्नातक गर्नु भयो । छोरीहरु हुर्केसँगै पुनः साहित्यिक र स्थानीयदेखि राष्ट्रियस्तरको पत्रपत्रिकामा समसामयीक लेखनमा उदाउन थाल्नु भयो । यस्तैमा स्वदेश तथा विदेशमा रहेका गुरुङ कविहरु, साहित्यकारहरु र लेखकहरुलाई एउटै छातामा आवद्व गर्ने र लेखन पद्वतिमा गुरुङ युवा युवतीहरुलाई समेट्नका लागि उनकै अध्यक्षतामा ‘गुरुङ साहित्यिक मञ्च नेपाल’को स्थापना भयो । यहीबाट उनको अब्बल दर्जको साहित्यिक यात्रा आरम्भ भएको देखिन्छ ।  
   
हाल यस मञ्चले साहित्यिक प्रशिक्षण कार्यक्रम, नियमित रचना वाचन शृङ्खला, पुस्तक प्रकाशनको काम गरिरहेको देखिन्छ । उनले तमू लेखन पुरस्कारका लागि रु. १ लाख ११ हजार १सय ११ रुपैयाँको अक्षयकोषको स्थापना गर्नु भएको छ । यसरी यस मञ्चमा, उनी र उनको समुहले नेपाली र गुरुङ दुवै भाषा र साहित्यका लागि अमुल्य योगदान दिएका छन् । २०७४ सालमा उनले गुरुङ समुदायका लागि र नेपाली साहित्यको मुक्तक विधाका लागि नेपाली–गुरुङ भाषाको मुक्तक सङ्ग्रह ‘समै दर्बानी’ प्रकाशन गरी दुवै भाषाको साहित्यमा अर्को महत्वपूर्ण योगदान समेत पु¥याउनु भएको छ ।
   
Samai Darbani Muktak.
पेशाको हकमा उनी शिक्षिका हुन । उनी गुरुङ साहित्यिक मञ्च नेपालको संस्थापक अध्यक्ष, तमू संसार त्रैमासिकमा भाषा सम्पादक, लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपालको विशिष्ट सदस्य, राष्ट्रिय नारी साहित्य परिषद् नेपालको सचिव, मुक्तक मञ्च पोखराको कोषाध्यक्ष र गजल सन्ध्या पोखराको पनि सदस्य हुन । यस्ती वहुप्रतिभाशाली स्रष्टा धर्तीमा विरलै जन्मिने गर्दछ । उनको पारिवारिक जीवन सुखद रहोस् । साहित्यिक यात्रा निरन्तर रहोस् । यही मेरो शुभकामना छ !  

यो लेखबाट तपाइँलाई के अनुभूति हुन्छ ? प्रस्तुत गरिएको सामाग्रीहरु तपाइँलाई कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाई केही परिमार्जन गर्न आवश्यक छ कि ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमिकमजोरीहरुलाई बिद्धानहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक । 
     
चोग डीबी गुरुङ ‘तमू क्योए दे प्यक्ष्या’को लेखक हुन् ।       
4/20/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.