Traditional Gurung Bhedi Goth.

गुरुङको परम्परागत ‘भेडी गोठ’     

भेडीगोठ भन्ने वित्तिकै गुरुङहरुको गाउँघर, भीरपाखा, बनजंगल, डाँडा, काँडा, संस्कार संस्कृति, धर्म, कर्मदेखि नालि बेलीसम्मका कुराहरु आउँछन् । आदिम कालदेखिनै संस्थागत रुपमा चलाउँदै आएको भेडी गोठले गुरुङहरुलाइ खाने पिउने, लाउने, ओड्ने र ओछ्याउँनेदेखि लिएर दैनिक जीवनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएको देखिन्छ । साँचो अर्थमा भन्नु पर्दा, भेडी गोठले गुरुङ समुदायको जीवनशैलीलाइ हुबहु चित्रण गर्दछ । तसर्थ, भेडी गोठलाइ गुरुङ समुदायमा ‘नुन, उन र सुन’को व्यवसाय पनि भनिन्छ । 
   
भेडी गोठको परम्परा कृषि युगको प्रारम्भबाट हुन सक्ने अनुमान गर्न सकिन्छ । किनभने, गुरुङहरु कृषि युगमा आएपछि, खेती किसान गर्दा मलको आवश्यक हुनाले भेडा बाख्राको पालन गर्ने कार्य आरम्भ भएको अनुमान गर्न सकिन्छ । खेती किसानको व्यस्त समयमा भेडा बाख्राहरुलाइ उपयुक्त चरनको अभाव महशुस भएको हुँदा, गाउँघरमा सबैले पालेका भेडा बाख्राहरु एक स्थानमा जम्मा गरेर गोठको रुपमा व्यवस्थित गर्न थालेका हुन् । गोठका लागि निश्चित व्यक्तिहरु चुनिए । गोठालो प्रमुखलाइ ‘तियाले’ भन्दछ । 
     
निम्न लिखित उद्देश्यहरुको आधारमा भेडीगोठ स्थापना गरिएको हुन्छ ।   
१. भेडा बाख्राहरु सबै एकै ठाउँमा राख्न सकिने । 
२. चरनमा लाँदा र फर्काउँदा सजिलो हुने । 
३. असल ब्याड पाल्न सजिलो हुने । 
४. पाठा पाठीहरु हुर्काउन सजिलो हुने । 
५. मल मल्न छिठो र सजिलो हुने । 
६. उपचार गर्न छिटो र सजिलो हुने । 
७. बिक्री वितरण गर्न सजिलो हुने । 
८. गोठालोको खर्च न्यून हुने । 
९. कुकुर पालेर सुरक्षा दिन सकिने । 
१०. उभौली र उद्यौलीमा गोठ सार्न सजिलो हुने । 
   
भेडी गोठमा भेडा बाख्राहरु सयौँको संख्यामा रहने भएकाले घाँसिलो, पारिलो र फराकिलो चरनको आवश्यक हुन्छ । नेपालमा भेडी गोठका लागि व्यवस्थित चरन नभएकाले गोठालेहरु चिन्तित रहन्छन् । त्यसैले, भेडी गोठको चरनलाइ ‘उभौली र उद्यौली’ गरी दुइ भागमा विभाजन गरिएको हुन्छ । 
   
उभौली चरन भनेको चैत्रदेखि भदौ महिनासम्मको गरम मौसमलाइ भनिन्छ । यो मौसममा गाउँ घरको आसपासमा खेतीपाती गरिने भएकाले चरनको अभाव रहन्छ । त्यसैले, चैत्र महिनाको प्रथम सातादेखि उभौली जाने तयारीमा रहन्छ । चैत्र महिनाबाट गर्मिको प्रभाव बढना थालेपछि भेडाका मूली माउहरुले राति सुत्ने बेलामा उत्तरतिर मुख फर्काएर सुत्ने गर्दछन् । यसरी, अधिकांश मूली माउहरुले उत्तरतिर मुख फर्काएर सुत्न थालेपछि अब उभौली जाने समय भयो भन्ने कुराको संकेत दिन्छ । यही संकेत अनुसार तियालेले राम्रो दिन वारमा भेडीगोठलाइ उभौलीतिर सार्दै लैजान्छ । 
   
यसरी, गोठ सार्दै लाँदा तियालेले प्रत्येक खर्कमा भारी बिसाए पछि पूजा गर्नु पर्छ । यो पूजा गर्ने क्रियालाइ गुरुङ भाषामा ‘सिल्दोनाँब’ भनेर भन्दछ । यो पूजा गर्दा यसरी फलाक्दछन्— ह्रिसिदोओओ..... आज २०७६ साल चैत्र शुक्लपक्ष बुधवारको दिनमा म काल्सिँ तियाले भुजुङ गाँउको भेडी गोठ लिएर पात्ले खेतबाट डाँडा खर्कमा आएको छु । कोँरुँब र नम्रुँलाइ धूप, पानी र अक्षेता चढाउँछु । यो डाँडा खर्कमा बस्ने सिल्दो, नाल्दो, साक्षी, थाने, माने, देवी, देवता, देउराली, भयारी, नाग, नागिनी, ल्ह, ल्हु, भूत, प्रेत सबैलाइ धूप, पानी र अक्षेता चढाएको छु । यो धूप, पानी र अक्षेता खाएर मेरो गोठ माथि रक्षा गर्नु, दुःख विमार हटाइदिनु, जिवत नलाइदिनु, उभौली खर्कमा राम्रोसंग फलिफाप गरी दिनु भनी फलाक्दछन् । यसरी उद्यौली र उभौलीको प्रत्येक खर्कहरुमा ‘सिल्दो नाँब’ कार्य गरेपछि गोठको उन्नति र प्रगति हुन्छ भन्ने परम्परागत् मान्यता रहिआएको छ ।
   
यसरी, गाउँदेखि भेडी गोठको खर्क सार्दै लगेपछि भदौं पूर्णिमाको समयमा समुन्द्री सताहदेखि लगभग ३५०० मिटरको उचाइमा अवस्थित ‘नाँग’मा पुग्दछन् । रुखपात रहित नाँगमा बुगी पूmलको साथसाथै विविध प्रकारका जडिबुटीहरु ढकमक्क भएर फुल्दछन् । ती जडिबुटी मिश्रित घाँसपातहरु खाएपछि भेडा बाख्राहरुको स्वास्थ्य राम्रो र निरोगी हुन्छन् । निरोगी भएपछि धेरै बेत व्याउन सक्दछ र गोठको उन्नति प्रगति हुन्छ । 
   
भदौ पूर्णिमाको समयमा गाउँका रोधीँ समूहको युवा युवतीहरु दूध पोखरी नुहाउन आउँछन् । यसरी आउँदा, गोठालोहरुलाइ रोटी, रक्सी, चुरोट, सुर्ती, तमाखु, खैनी, खुर्सानी, मकैच्युरा, भट्टा आदि कोसेलीका रुपमा लगेर गोठमा बास बस्न पुग्छन् ।  पूर्णिमाको बिहान दूधपोखरी नुहाए पछि खिर र क्ष्युर्पी खान्छन् । दिउँसो बुगीको पूmल र डाँफे हेर्न नाँगमा पुग्दछन् । त्यहाँको स्वाच्छ वातावरणमा आनन्द मनाएपछि साँझ गोठालोहरुसंग दोहोरी गीत गाएर रमाइलो गर्ने गर्दछन् ।
   
भोलि पल्ट बिहानै यात्रीहरु फर्कने तयारी गर्दछन् । त्यस बखत गोठालोहरुले पनि रोधीँका युवा युवतीहरुलाइ बुगीको पूmल, क्ष्युर्पी, सल्लाको धूप, निरमसी, पाँचऔले आदि कोसेलीका रुपमा दिएर आपसी सदभाव प्रकट गर्दछन् । यसरी, रोधीँ समूहका युवा युवतीहरु र गोठालोहरुबीच मानसम्मानको खातिर कोसेली साटासाट गरेर आपसी समझदारी भात्रृत्व, मैत्रित्व र स्थायीत्व कायम गर्ने रोधीँ समूहको मौलिक परम्परा हो । 
     
उद्यौली चरन भनेको असोजदेखि फागुण महिनासम्मको चिसो मौसमलाइ भनिन्छ । यो मौसममा गाउँ घरका आसपासमा खेतीपाती उठाइ सक्ने भएकाले चरनको अभाव रहँदैन । त्यसैले, असोज महिनाको प्रथम सातादेखि उद्यौलीतिर झर्ने तयारीमा रहन्छ । भदौ महिनाको अन्तबाट चिसो हावा चल्न थालेपछि भेडाका मूली माउहरुले राति सुत्ने बेलामा दक्षिणतिर मुख फर्काएर सुत्ने गर्दछन् । यसरी अधिकांश मूली माउहरुले दक्षिणतिर मुख फर्काएर सुत्न थालेपछि अब उद्यौलीतिर झर्ने समयको संकेत दिन्छ । यही संकेत अनुसार तियालेले राम्रो दिनमा गोठलाइ उद्यौलीतिर झार्दै ल्याउँछन् ।   
     
भेडाबाट उद्यौली र उभौली गरी दुइ पटक उन प्राप्त हुन्छ । उनबाट ओड्ने बक्खु र ओछ्याउने राडी बनाइन्छ । बक्खु र राडी गुरुङ समुदायमा अत्यन्तै मुल्यवान वस्तु मानिन्छ । राम्रो नराम्रो जुनसुकै पारिवारिक वा सामाजिक काममा पनि यसको प्रयोग गरिन्छ । 


भेडा बाख्राको मल अति उत्तम हुन्छ । उत्तम मलको प्रयोगबाट खेतीपातीहरु पनि राम्रो भएकाले जीविका चलाउन सजिलो हुन्छ । यसबाट आर्थिक स्तर वृद्धि भएर उन्नति, प्रगति र समिृद्ध हुन्छ । गोठमा दुहुना भेडा बाख्राहरुको संख्या धेरै हुने भएपछि प्रशस्त मात्रमा दूध ध्यु प्राप्त हुन्छन् । भेडा बाख्राको दूध, ध्यु, क्ष्युर्पी र कुराउनी असाध्यै तिक्खर र पोसिलो हुने भएकाले गुरुङ समाजमा यसको खपत राम्रो हुन्छ । 
   
गुरुङ समाजमा चाड पर्वहरुका साथै परम्परागत सामाजिक संस्कार र मान्यताहरु पनि छन् । जस्तैः कुल पूजा, कुर्सीँ र पितृकार्य ‘पए’ आदि । गुरुङहरुको कुलपूजा ‘फैलु’ गर्दा, छतौरी भेडाले पूजा गर्नु पर्छ । यो पुरानो चलन हो । तर, आज भोली अधिकांश गाउँहरुमा यो चलन लोप भइसकेका छन् । यसैगरी, चोरी विवाहमा प्रथम पटक ससुराली मान्नका लागि ‘कुर्सि’मा सौगात लिएर जाँदा पानी पुगेको भेडाको साँड अनिवार्य रुपमा लिएर जानु पर्छ । यो चलन अझै विद्यमान छ ।   
     
भेडा बाख्राहरुलाइ जंगली जीवतहरुबाट खतरा नहोस भन्नाका लागि ४, ५ वटा भोटे कुकुरहरुलाइ राम्रो खान्की र तालिम दिएर पाल्दछन् । कुकुरसंग शुक्ष्म गन्ध लिन सक्ने शक्ति भएकाले जंगली जीवतहरु नजिकै भएको संकेत पाउँनसाथ भुक्दछन् । कुकुरको संकेत अनुसार गोठालोहरु पनि त्यतै गएर हह होहो गरेर सुसेलो हाली आवाज दिने गर्छन् । यसरी गोठालो र कुकुरको आवाज सुनेपछि जीवतहरुले नोक्सान गर्न सक्दैनन् । 
   
भरखर व्याएका पाठा–पाठीहरु माउसंगै चरनमा जान सक्दैन । त्यसैले, ती पाठा–पाठीहरुलाइ गोठमै भकारीले बारेर राख्दछन् । दुइवटा कुकुरहरु त्यसलाइ कुरेर गोठमै बस्छन् । बाँकी कुकुरहरु भेडा बाख्राहरुसंगै सुरक्षाको निम्ति अगाडि पछाडि हुँदै चरनमा जान्छन् । बेलुकि भेडा बाख्राहरुको निगरानी गर्दै फर्कन्छन् । भेडी गोठको कुकुरले गोठालोको निर्देशन मात्र पालन गर्दछन् । अरुले लाठी मुङग्रा गरेर बल प्रयोग गरेमा सिधै झम्टिन आउँछन् । यसरी झम्टिन आउँने भेडी गोठको कुकुरको विशेषता हो ।                 
   
गोठमा भएका भेडा बाख्राहरु मध्ये कम्तिमा २५ प्रतिशत तियालेको व्यक्तिगत हुन्छ । बाँकी भाग गाउँलेहरु सबैको धेरथोर मिसिएका हुन्छन् । उनको सहयोगीका रुपमा ४, ५ जना ठिटाहरु हुन्छन् । ती ठिटाहरुले गोठमा परिश्रम गरे वापत तियालेले वर्षमा एक एक वटा भेडाका छतौरा व्याडको रुपमा दिन्छन् । सहयोगीहरुले यही व्याडबाट बडिबढाव गर्दै उन्नति प्रगति गर्दछन् । 
   
असोज महिनाको प्रथम साता उद्यौली झर्दै भेडी गोठ गाँउको आसपास आइपुगेको हुन्छ । त्यही समय ‘खेमानाँब’ पर्व आउछ । गाउँले र व्यवसायीहरु गोठमा खसी, बोका र साँडहरु लिन आउछन् । यस समयको विक्री वितरण गोठाको लागि महत्वपूर्ण रहन्छ । यस बाहेक जडिबुटीबाट पनि आय अर्जन गर्दछन् । भेडी गोठबाट केही बेफाइदहरु पनि छन् । भेडा बाख्राहरुले कलिला टुसाहरु सबै खाएर सिध्याउछन् । टुसा हुर्कन नसकेपछि जंगल पात्लो हुँदै जान्छ । यसबाट पर्यावरणको समस्या हुन सक्ने कुरालाइ नकार्न मिल्दैन ।  
   
खोरन्ड भनेको भेडा बाख्राहरुको खुट्टाको कापोमा लाग्ने एकदमै नराम्रो सरुवा रोग हो । यो रोग लागेपछि खुट्टाको कापो सडेर वा पाकेर झर्छ । झरे पछि भेडा बाख्रा सखाप हुन्छ । त्यसैले, खोरन्ड आएको शंका हुने वित्तिकै त्यसलाइ गोठबाट टाढा राखी उपचार गरिन्छ । यो रोग प्रायः गर्मीको मौसममा मात्र हुने भएकोले यस समय गोठालोहरु सजग भएर बस्दछन् । आज भोलि गुरुङहरुले आफ्नो किलो थलो छाडेर अवसरहरुको खोजीमा सहरमुखी हुन थालेपछि गाउँ घर पात्लियो । परम्परादेखि संस्थागत रुपमा चल्दै चलाउँदै आएको भेडी गोठको अवस्था पनि न्यून हुँदै आयो । समयको माँग अनुसार भेडीगोठलाइ आधुनिकीकरण गरेर पनि सञ्चालन गरेका छन् । यसबाट बजारको माँग अनुसार मासु र उनको पुर्ति भएकाले आर्थिक उन्नति गर्न सफल भएका छन् । 
   
परम्परादेखि संस्थागत रुपमा चलाउँदै आएको भेडीगोठले गुरुङको सामाजिक अवस्थालाइ राम्रोसंग प्रतिविम्ब गर्दछन् । भेडी गोठले गुरुङहरुको दैनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दै आएकाले यो व्यवसाय गुरुङ समुदायमा सम्मानित दृष्टिकोणले हेर्ने गरिन्छ ।
     
लेखक चोग डीबी गुरुङ भाषा, साहित्य, संस्कृति र बुद्ध दर्शनको विद्यार्थी हुन् । 
 12/17/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

If you have any doubt, please let me know your message to help.