Rodhin Gurung Social Institution.

गुरुङको सामाजिक संस्था रोधीँः  

चित्र माया गुरुङ
रोधीँ भन्ने शब्द गुरुङको आफ्नै मौलिक भाषाबाट रचना गरिएको हो । यो सन्धि शब्द हो । ‘रो’को अर्थ रोव वा बुन्ने र ‘धीँ’को अर्थ घर अर्थात ‘उनको धागोबाट राडी पाखी बुन्ने घर वा सीप विकास गर्ने अभिप्रायले रोधीँको स्थापना गरिएको भन्ने भावार्थ बुझ्नु पर्दछ । जहाँ फुर्सदको बखत युवा, युवतीहरु, प्रौड, महिला एवं पुरुषहरु सामूहिक रुपमा भेला भएर थिति बनेसको बारेमा सभा, भेला, कचहरी गर्ने, कला, कौशलको विकास गर्ने, राडी, पाखी बुन्ने, बुनाउने, उन वा उवाबाट धागो कात्ने, डोको, नाम्लो, थुम्से, स्याखु, भकारी, चित्र बुन्ने, नैतिक शिक्षाको विकास गर्ने, गीति काव्य घाँटु नृत्य, संस्कृतिक कार्यक्रम र रमाइलो नाचगान गरी मनोरञ्जन गर्ने सामाजिक संस्थाका रुपमा ‘रोधीँ’को विकास गरिएको थियो । 
     
परम्परागत चलन अनुसार गुरुङ गाउँहरुमा युवा युवतीहरुको उमेर १२, १३ वर्ष पुगिसकेपछि मनपेट मिलेका दाँैतरीहरु एक आपसमा सरसल्लाह गरी गाउँका नैतिकवान, सम्पन्नशाली र सबैलाइ पायक पर्ने घरको पहिचान गरी नयाँ रोधीँको स्थापना गरिन्छ । रोधीँको सदस्यलाइ ‘रोस्यो, रोधीँ घरको आमालाइ रोस्यो आमा र रोस्यो बाबा’ भनी सम्बोधन गरिन्छ । यसरी, नयाँ रोधीँको स्थापना भएपछि रोधीँका सदस्यहरुलाइ साधारण आवास, चियापान, सुरक्षा, नैतिक शिक्षा दिने र घरेलु उद्योगको लागि आवश्यक पर्ने न्यूनतम सामग्रीहरुको व्यवस्था गराउने रोस्यो आमा र बाबाको नैतिक जिम्मेवारी रहन्छ । त्यसै अनुरुप रोधीँ घरका प्रत्येक कामहरु पनि रोस्योहरुले सधाउने गर्दछन् । 
     
गुरुङ गाउँहरुमा यस प्रकारका रोधीँ जनघनत्व र भौगोलिक अवस्थाको आधारमा एक वा एक भन्दा बढी पनि हुन सक्दछ । निम्न लिखित उद्देश्यको आधारमा रोधीँको स्थापना गरिन्छ । 

१. युवा युवतीहरु भावनात्मक एकतामा संगठित हुने ।
२. प्रत्येक कार्यमा स्वयम् सेवकको भूमिका निभाउने । 
३. चाड पर्वमा रमाइलो कार्यक्रमको आयोजना गर्ने । 
४. हुरी लगाएर सामूहिक रुपमा सजिलोसंग काम गर्ने । 
५. सामाजिक उत्थानमा अग्रगामी भूमिका खेल्ने ।
६. क्षेत्रीय सदभाव कायम गर्न नेतृत्वदायि भूमिका खेल्ने । 
७. गीतिकाव्य घाँटु नृत्यलाइ निरन्ता दिने । 


   
यसरी गाउँमा नयाँ रोधीँ स्थापना भए पछि युवा युवतीहरु कलिलै उमेरदेखि आफ्नो मातृ भाषा, साहित्य, भेषभूषा, कला, संस्कृति, संस्कार, परम्परा, धर्म, कर्म र सामाजिक क्षेत्रमा ‘स्वयम् सेवक र सेविका’ भएर काम गर्न समर्पित हुने गर्दछन् । गाउँ घरको कुनै पनि परिवारमा दुःख बिमार भए, हेर विचार गर्न जाने । राति कुरुवा बस्न परे पनि रातभरि रुङने । लामा, झँक्री, पच्यु र ख्लेप्रेँेहरु लिन जान परे तुरुन्त लिन जाने । दुःख बिमारका कारण कुनै परिवारले समयमा खेतीपाती गर्न नसके वा नभ्याए जुनसुकै काम पनि निशुल्क सघाइ दिने । दैवि प्रकोप परी आपतकालीन अवस्था भए उद्धार कार्यमा सकृय सहभागी हुने । चाड पर्वहरुमा संस्कृतिक कार्यक्रमहरु गरी मनोरञ्जन गराउने । खेमा नाँब पर्वमा राडे र लिङ्गे पिङ थापेर मनोरञ्जन गराउने । तिहारमा देउसी भैलो खेलेर मनोरञ्जन गर्दै भैलो उठाउने । तिहारमा उठाएको भैलोबाट पौष १५का दिन ल्होछार मनाउने । शीप विकास गरी पेवापातको बृद्धि विकास गर्ने गराउने । स्थानीय घाट, बजार र जात्राहरुमा आसपासका गाउँका दौँतरी मिल्ने युवा युवतीहरुसंग भाइचारा नीति अपनाउन क्रियाशील हुने गर्दछन् । यसबाट, क्षेत्रीय स्तरमा भावनात्मक एकता कायम गर्नुका साथै आपसी भातृत्व, मैतृत्व र क्षेत्रीय सदभाव कायम गर्न नेतृत्वदायि भूमिका खेल्न सहयोग मिल्दछ । 
     
गुरुङ संस्कृतिको मुहानका रुपमा परिचित रोधीँका प्रत्येक सदस्यहरुले सानै उमेरदेखि संस्कृति र संस्कारहरुसंग गहिरो मितेरी गाँसिसकेका हुन्छन् । रोधीँ परम्परा उनीहरुको जीवनको एउटा अभिन्न दिनचार्य भइसकेका हुन्छन् । यसरी, रोधीँ परम्पराले गुरुङहरुको सामाजिक, आर्थिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले गुरुङ गाउँहरुमा रोधीँ परम्परालाइ महत्वपूर्ण स्थान दिइन्छ । 
     
रोधीँका युवा युवतीहरु आपसमा मिलेर काम गर्ने गर्दछन् । यसरी समूहमा मिलेर पालैपालोसंग काम गर्ने परम्परालाइ ‘हुरी वा नौँगर’ लाउने भन्दछ । हुरी वा नौँगर लाएर समूहमा मिलेर काम गर्दा, स्थानीय लयमा गीत गाउँदै, नाच्दै रमाइलो वातावरणमा राम्रो, छिटो र सजिलैसंग काम गर्न सकिने भएकाले गुरुङ समाजमा यो परम्परालाइ अत्यन्तै सकारात्मक पक्षमा लिने गरिन्छ । 
     
रोधीँमा दाँैतरी मिल्ने युवा युवतीहरु आ–आफ्नो समूहलाइ संगठित गरी फुर्सदको समयमा विशेषतः औसी, पूर्णिमा र बेलुकीको समय पारेर नैतिक शिक्षा अध्ययन गर्ने, महिलाहरुले स्वास्थ्य सम्बन्धी प्राथमिक शिक्षा प्राप्त गर्ने र घरेलु उद्योगको लागि सीप विकास गर्ने गर्दछन् । यसबाट युवतीहरुले पेवापातको रुपमा आय आर्जन पनि गर्दछन् । 
     
रोधीँमा युवा युवतीहरुमात्र नभएर महिला र प्रौडहरु पनि सामूहिक रुपमा भेला भएर सभा, सम्मेलन, कचहरी गर्नुका साथै डोको, नाम्लो, थुम्से, स्याखु, मान्द्रो, चित्रा आदि बुनेर त्यसको बिक्रीबाट आय अर्जन पनि गर्दछन् । त्यसैले, गुरुङ समुदायमा रोधीँलाइ सीप विकास केन्द्रका रुपमा लिइन्छ । 
     
गुरुङको सांस्कृतिक पर्वको रुपमा रहेको गीति काव्य घाँटु नृत्यलाइ निरन्तरता दिने प्रत्येक रोधीँ समूहको नैतिक जिम्मेवारी रहेको हुन्छ । यो गीति काव्य घाँटु नृत्य माघ महिनाको श्रीपञ्चमीको दिनमा स्थापना गरी बुद्ध पूर्णिमाको पूर्व सन्ध्याबाट नाचगान गरी भोलिपल्ट अपरान्ह घाम अस्ताउनु पूर्व देउराली डाँडामा लगि विधिवत रुपमा समापन गरिन्छ । 

यसरी, प्रत्येक वर्ष एउटा रोधीँ परिवारले गीति काव्य घाँटुको आयोजना गर्न जिम्मा लिएको हुन्छ । उक्त घाँटु नृत्यलाइ व्यवस्थित गर्न एउटा योग्य व्यक्तिलाइ व्यवस्थापकको रुपमा चयन गरेको हुन्छ । जसलाइ ‘डिठा’ भनेर भनिन्छ । घाँटुको सम्पूर्ण काम डिठाको निर्देशन बमोजिम गरिन्छ । यसमा भएका आम्दानीबाट असारको हिले काम गर्नु भन्दा पहिले सम्पूर्ण गाउँबासीहरु मिलेर वनभोज वा खुवै खाने प्रचलन रहेको छ ।     
     
गुरुङको प्रचलन अनुसार प्रायः माँगी विवाह हुने भएकाले केटाले केटीलाइ माग्नु पूर्व रोधीँमा गएर केटीको रुपरंग हेर्ने परम्परा पनि रहेको छ । यसरी फलाना गाउँको केटाले फलाना केटीलाइ रुपरंग हेर्न आएका छन् भन्ने कुरा थाहा पाएपछि रोधीँका सदस्यहरुबीच चर्चा परिचर्चा गर्ने नयाँ विषय वस्तुको प्रवेश हुन्छ । कतिपय अवस्थाहरुमा कन्यादान गर्ने अवसरमा दुलहीलाइ रोधीँमै श्रृंगार गरी मूल घरमा लगी कन्यदान पनि गरिन्छ । विवाहमा जन्तीसँग जाने दुलहीको साथीहरुलाइ गुरुङ भाषामा ‘समस्यो’ भन्दछन् । 
     
गुरुङहरुको सामाजिक परम्परानुसार दुलाह र दुलही ससुराली फर्के पछि नव दम्पत्तीलाइ रोधीँका सदस्यहरु, रोस्यो आमा र बाबासंग परिचय गर्न रोधीँमा निमन्त्रणा गरिन्छ । यसरी रोधीँको निमन्त्रणामा जाँदा नव दम्पत्तिले आफ्नो इज्जत अनुसारको सगुन स्वरुप मान सम्मानका लागि रोधीँमा नगद मोहर पनि चढाउनु पर्छ । 
     
रोधीँ परम्पराको अर्को रमाइलो पक्ष के छ भने, वल्लो पल्लो गाउँका दौँतरी मिल्ने चेली र माइतिहरु एक आपसमा भेटघाट गरी परिचय गर्ने, मान सम्मान गर्ने र लोक दोहोरी भाषामा गीत गाएर नाचगान गरी रमाइलो गर्ने गर्दछन् । यसरी वल्लो पल्लो गाउँका चेली र माइतीहरुबीच आपसमा घनिष्टता भइसकेपछि रोधीँ परम्परानुसार ‘परे रिँइमए र परे मइमए’ अर्थात सम्मानित चेली र माइतिको सम्बन्धलाइ अझ विस्तार गर्न मौसम अनुसारको फलपूmल जम्मा गरी, माइतिलाइ सगुनका रुपमा पठाउने गर्दछन् । यसरीनै माइतिहरुले पनि असोज महिनाको समयमा गोठबाट दूध संकलन गरी खिर पकाइ चेलीहरुलाइ सगुनको रुपमा पठाउने गर्दछन् । यसरी, खिर पठाउँदा गुरुङ भाषामा ‘खिर तेब वा चोँब’ भनेर भन्दछ । यस प्रकार सगुनको आदान प्रदान गर्नले आपसी सद्भावको विकास गर्न मद्धत पु¥याउदछ । यो खिर पकाउने रोधीँ परम्पराको मौलिक संस्कारमा आधारित विशेष सम्मान कार्यक्रम हो । 
     
रोधीँको सदस्यहरुको उमेरको हकमा प्रायः १२, १३ वर्षदेखिको हुने भएकाले प्रत्येक समूहको कार्यकाल यकिनसाथ भन्न नसकिए तापनि अन्दाजी ५देखि ७ वर्षसम्मको हुन सक्दछ । किनभने युवतीहरुको उमेर १८, १९ वर्ष पुगेपछि विहेवारी हुने, युवाहरु पनि गोर्खा भर्ती, रोजगार र विविध व्यवसायमा संलग्न हुने भएकोले त्यो रोधीँ समुहको कार्यकाल आफै समाप्त भएर जान्छ । फेरि नयाँ रोधीँको स्थापना हुन्छ । यसरी रोधीँ परम्परा गुरुङ गाउँहरुमा अविछिन्न रुपमा चलिरहेका हुन्छन् । 

विक्रम संवत २०५० को दशकदेखि विश्वव्यापीकरणको लहरले गर्दा, अवसरको खोजीमा गुरुङहरु पनि आफ्नो किलोथलो छाडेर सहरमुखी हुँदै गए । परिणामः गाउँ घरमा वस्तीहरु पातलिँदै गयो । युवा युवतीहरुले गाउँ बिर्सिए पछि गाउँ घरहरु प्रायः उजाड हँुदै गए । लमजुङका केही लेकाली गाउँहरुमा बाहेक रोधीँ परम्परा शब्दमा मात्र सिमित रहने अवस्था देखिएको छ । हुन त, सहरमुखी भएका गुरुङहरुले पनि आफ्नो भाषा, साहित्य, भेषभूषा, संस्कृति, संस्कार र परम्परागत मुल्य र मान्यताहरुलाइ जोगाउन विभिन्न सहरहरुमा रोधीँ परिवार सञ्चालन नगरेका होइनन् । तर, रोधीँको वास्तविक भावना र गहिराइको अध्ययन र अभ्यास पूर्णरुपमा नभएको हुनाले सुकिला मुकिला सहरिया वातावरणमा रोधीँ परम्परा खासै मौलाउन सकेनन् । 
     
गुरुङको भाषा, साहित्य, भेषभूषा, कला, संस्कृति, संस्कार, धर्म, कर्म र सामाजिक विकासको क्षेत्रमा स्वयम् सेवक र सेविका भएर सह–यात्रीको भूमिका निभाउने रोधीँका सदस्यहरु सबै पलायनवादको सिकार भएपछि हाम्रो संस्कृति ओझेलमा पर्नु स्वाभाविकै हो । गुरुङको संस्कृतिको मुहान भनेर चिनिने रोधीँ परम्परा नै संकटमा परेपछि त्यसबाट उत्पादन हुने न्यून जनशक्तिले मात्र हाम्रो संस्कृतिलाइ हराभरा गर्न सक्ने अवस्था छैन । तसर्थ, रोधीँ परम्पराको संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दार भएर सोच्नु पर्ने अवस्था रहेको छ ।

लेखक चोग डीबी गुरुङ भाषा, संस्कृति र बुद्ध दर्शनका बिद्यार्थी हुन् ।  
12/15/2019
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.