गुरुङ भाषाको परिचय र बिकासक्रमः
फ्ह्रिताँ म्हस्यँ प्यक्ष्या म्हम्
अर्थात भाषा हराए साहित्य हराउँछ । साहित्य हराए संस्कृति हराउँछ । संस्कृति हराए पहिचान हराउँछ । भनाइको तात्पर्य, हाम्रो साहित्य तमू भाषामा लेखिएन भने भाषाको मौलिकपन हराउँछ । मौलिकता नभएको साहित्य तिक्खर हँुदैन । तिक्खर नभएको साहित्य दीर्घकालीन हुँदैन । त्यसैले, भाषा भनेको साहित्यको ‘आत्मा’ हो । त्यसैले, लिखित साहित्य छैन भने त्यो संस्कृतिको धरातल अत्यन्तै कमजोर हुन्छ । कमजोर धरातलमा उभिएको संस्कृति दीर्घकालिन हुदैन । अन्तमा, त्यो संस्कृतिमा रमाएका जातिको पहिचान हराएर जान्छ । त्यसैले, यस विषयमा सम्पूर्ण तमूबन्धुहरु एउटै मञ्चमा बसेर छलफल गर्न आजको आवश्यकता रहेको देखिन्छ ।
लमजुङ हिमालको फेदमा समुन्द्री सतहदेखि लगभग ३५०० मिटरको उचाइमा अवस्थित गुरुङहरुको आदिम वासस्थल ‘ख्होल–सोँ–थर’को मानव सभ्यता धेरै पुरानो छ । जहा गुरुङ सस्ंकार र परम्पराहरुको विकास भएको विश्वास छ । गुरुङहरुले आफ्नो भाषा दैनिक रुपमा बोलचाल गर्नु बाहेक लिखित रुपमा भने विकास गरेको देखिएन । भाषा विकासको अभावले गर्दा, गुरुङहरुले साहित्यको रचना गरेको देखिएन । कर्मकाण्डको लागि ‘प्यताँ ल्हुताँ’को आधारमा रचना गरिएका वेदहरु पनि मौखिक परम्परामा मात्र सिमित रहेको हुनाले एकरुपताका साथ विकास एवं विस्तार हुन सकेन ।
भाषाको कुरा गर्दा, यसको विकासक्रमलाइ राम्रोसंग बुझ्नु पर्ने हुन्छ । गुरुङ भाषाको बिकासक्रमलाइ हेर्दा, भोट भाषा (फ्है क्योए), हिमाली भाषा (चोँ क्योए), तल्लो भाषा (लोँ क्योए) हुँदै गुरुङ भाषा (तमू क्योए)को बिकास भएको देखिन्छ । यस बाहेक अलिखित गुरुङ भाषा, भाषी र भाषिकाको रुपमा प्रयोग हुन थाल्यो । ढिलै भए तापनि ‘तमू धीँ’ युकेको ‘त्रि–भाषिय मिलिनियम परियोजना २०१७’ले केही हदसम्म भए पनि मार्ग दर्शन गर्ने छन् ।
अर्को कुरो, प्रत्येक गाउँको स्थानीय लयहरु फरक फरक छन् । कुनै पनि गाउँको भाषा लिखित रुपमा छैनन् । कसरी बोलेमा शुद्ध हुन्छ र कसरी बोलेमा अशुद्ध हुन्छ, भन्ने कुराको कुनै मापदण्ड छैन । त्यसैले, गुरुङ भाषाको बारेमा छलफल र अध्ययन गर्न चाहनु हुने विद्धानहरुले (फ्है क्योए, चोँ क्योए, लोँ क्योए, भाषा, भाषी, भाषिका, प्रभावित, आगन्तुक र स्थानीय लयहरुको समेत मध्ये नजर राखि कुन शब्दले कुन अवस्थाको भाव जाहेर गरेको छ) सो अवस्थाको पहिचान गरी शब्दको चयन र प्रयोग गर्न आवश्यक हुन्छ । तर, गुरुङ भाषाको सवालमा त्यसो हुन सकिरहेका छैन । विद्यमान अवस्थामा गुरुङ भाषामा देखिएका विभिन्न अवस्थाहरु पनि यही नै हो ।
विगत केही वर्ष यतादेखि ‘ल्होछार र ल्होसार’ शब्दको विषयमा कुन चहि मौलिक र मूल शब्द हो भनेर चर्चा र परिचर्चा भैरहेको कुरा घाम जस्तै छर्लङ छ । यसलाइ कसैले ‘तत्सम र तत्भव’ भनेका छन् । कसैले ‘चोँ क्योए र तमू क्योए’ भनेका छन् । कसैले ‘मूल शब्द र भाव शब्द’ भनेका छन् । तर, यी शब्दहरु गुरुङ भाषाकै मौलिकता झल्काउने पार्यावाची हुन् । जसले विभिन्न शब्दबाट समान अर्थ र भाव प्रकट गर्दछन् ।
जुनसुकै भाषालाइ पनि क्रमिकरुपमा विकास गर्नका लागि सर्वप्रथम लिपि हुन जरुरी छ । त्यसैले, विक्रम संवत २०४१ सालतिर गुरुङ भाषालाइ लेख्ने कुरा चलेपछि स्याङजा क्होलसरा निवासी खेगि पच्यु पिमबहादुर गुरुङले ‘खेमा’ लिपिको अवधारणा ल्याउनु भयो । त्यही अवधारणालाइ बुटवल निवासी विद्धान बालनर सिँ गुरुङले मूर्तरुप दिएपछि २०५० साल मंगसिर १२ गते बुटवलमा समपन्न “नेपालमा राष्ट्रिय भाषाहरुका समस्या र निराकरणका उपाय” विषयक गोष्ठीमा बालनरसिँ गुरुङले ‘अवधारणा–पत्र’ प्रस्तुत गर्नु भयो । तत्पश्चात, खेमा लिपिको चर्चा भयो ।
संवत २०५२मा काठमण्डौंमा सम्पन्न ‘तमू छोँज धीँ’को प्रथम राष्ट्रिय महाधिवेशन र पोखरामा सम्पन्न द्धितीय राष्ट्रिय महाधिवेशनले पनि गुरुङको माध्यम लिपि ‘खेमा’ लिपि भनेर म्यान्डेट लियो । त्यही म्यान्डेट अनुरुप ‘तमू छोँज धीँ’ सिक्किमले ‘खेमा’ लिपिलाइ राज्य सरकारबाट वैधानिकता प्राप्त गरेर माध्यमिक तहसम्म पठनपाठन गर्दै छन् । देवदह मदरटंग एकेडेमीमा पनि ‘खेमा’ लिपिबाट पठनपाठन हँुदै छ । तमू छोँज धीँ सिक्किम र देवदह मदरटंग एकेडेमीको प्रयासहरु सह्रानीय एवं प्रशंसनीय छन् । भाषामा लिपिको प्रयोग हुन सक्यो भने, विस्तारै एकरुपता कायम हुन सक्दछ । यो भाषा विज्ञानको सिद्धान्त हो ।
भाषाको सवालमा मौलिक शब्दले मात्र पूर्णता र मिठास आउन सक्दैन । साहित्यको विशाल फाँटमा प्रभावित, आगन्तुक र आयतित् शब्दहरुको समिश्रणबाट भाषाको विकास भएको देखिन्छ । उदाहरणको लागि, संसारको सबै भन्दा विकसित एवं परिपूर्ण भाषा अंग्रेजी भाषा हो । जस्माः लेटिन, इटाली, ग्रीक, प्रैmन्च, संस्कृत्, उर्दु, हिन्दी, तिब्बती, नेपाली आदि भाषाको पनि निसंकोच प्रयोग गरिएका छन् । उदाहरणको लागि, गुरुङ भाषामा एयरर्पोटलाइ के भन्ने ? किनभने गुरुङको इतिहासमा औद्योगिक क्रान्ति नदेखिएको हुनाले, तमू भाषामा यो शब्दको सायद विकास नै भएन होला ! त्यसैले, एयरर्पाेट भन्ने शब्दलाइ हुबहु आयत नै गरी पूर्ति गर्नु पर्ने हुन्छ । यो एउटा दृष्टान्त उदाहरण मात्र हो ।
भाषाको विकासक्रमलाइ सरसरती हेर्दा चिनिया भाषाको विकास १५०० इसा पूर्व, ग्रीक भाषाको १२०० इसा पूर्व, संस्कृत् भाषाको ७५० इसा पूर्व, फ्रैन्च भाषाको ३३८ इसा पूर्व, लेटिन भाषाको ७५ इसा पूर्व, नयाँ एवं विकसित अंग्रेजी भाषाको ५औं शताब्दीमा, जापानी भाषाको ९औं शताब्दीमा, सम्भोट भाषाको ९औं शताब्दीमा र कोरियन भाषाको १४औं शताब्दीमा विकास भएको देखिन्छ । यसैगरी, नेपाली भाषाको प्रारम्भ १२औं शताब्दीबाट उठान भएको मानिन्छ । गुरुङ भाषाको बारेमा पनि धेरै विद्धानहरुले अध्ययन अनुसन्धान गर्दै छन् । एकदिन यसको पनि निचोड आउने छ ।
गुरुङ भाषा र संस्कृतिको बारेमा विद्धान लेखकहरुबाट विभिन्न समयमा दर्जनौं लेख रचनाहरुका साथै पुस्तक पुस्तिकाहरु प्रकाशन भैसकेका छन् । उपरोक्त प्रयासहरुलाइ हेर्दा, अब गुरुङ भाषा पनि विस्तारै व्युँउझिन लागेको हो कि जस्तो आभास हुन्छ । तर, त्यतिले मात्र गुरुङ भाषाको साहित्य भण्डार पूर्ति हुन सक्दैन । हालसम्म प्रकाशित पुस्तक पुस्तिकाहरुमा भाषिक समस्याहरु प्रशस्तै देखिएका छन् । भाषिक समस्याहरुलाइ समाधान गर्न प्राज्ञहरुद्धारा निरन्तर अभ्यास र प्रयास भइरहन आवश्यक छ । निरन्तरता दिन सकेमा मात्र भाषिक समस्याहरु विस्तारै समाधान हुँदै जाने देखिन्छ ।
तमू भाषा एकदमै सरल, मिठो र मौलिक छ । यसलाइ सही तरिकाले विकास गर्न सकेमा समृद्ध हुन सक्दछ । एउटै शब्दको धरै अर्थ लाग्ने, धेरै अर्थको एउटै शब्द हुने र गन्ती गर्दा पनि विभिन्न वस्तुहरुको विभिन्नै तरिकाले गन्ती गरिने यो भाषाको मौलिक विशेषता रहेको छ ।
यर्थाथमा भन्नु पर्दा, गुरुङ भाषाको मुहान भनेको तल्लो मनाङ, उत्तरी कास्की, उपल्लो लमजुङ र पश्चिम गोर्खा हुन् । उपरोक्त क्षेत्रहरुमा रहेका मौलिक भाषा र शब्दहरुलाइ कच्चा पदार्थको रुपमा संकलन गरी वैज्ञानिक ढंगबाट सम्पादन गरी त्यसबाट प्राप्त भएका शब्दहरुले भाषिक दूरीभित्र मलम लगाउन सकेमा भाषामा एकरुपता कायम हुनुका साथै भाषा विकासमा पनि ठूलो फट्को मार्न सकिने अवस्था देखिन्छ ।
समग्रमा भन्नु पर्दा, म भाषा विशेषज्ञ होइन । गोठमा जन्मिएको गुरुङ भाषा र संस्कृति प्रेमी गुरुङको छोरो मात्र हुँ । यसैमा मलाइ ‘गौरव र आत्मा सम्मान’ भएको ठान्दछु । तितो सत्यमा भन्नु पर्दा, भाषा र साहित्य जस्ता जटिल विषयमा कलम चलाउनु त्यति सजिलो विषय होइन रहेछ । तैपनि लेखकहरुबाट सामुहिक प्रयास हुन सकेमा यो असम्भाव पनि छैन । त्यसैले https://gurungschool.blogspot.com/ ब्लक मार्फत यो अभियन चलाएको हुँ ।
यो साझा मन्चमा यहाँहरु सबैलाइ स्वागत छ । यसमा देखिएका कमीकमजोरीहरुलाइ विद्धान पाठकहरु र भाषा प्रेमीहरुबाट लिखित रुपमा टिका टिप्पनी एवं सुझाव सहित मन खोलेर प्रतिकृया पठाउनु होला । तपाइको प्रतिकृया महत्वपूर्ण हुने छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.