Oral history of Gurung, part: III.

गुरुङको मौलिक इतिहास, भागः ३

गुरुङको श्रुतिवेद (प्यताँ ल्हुताँ)को आधारमा आधारति मौलिक इतिहास
‘ख्होल–सोँ–थर’मा राजनीतिक बिद्रोह ।

राजकुमार ख्होलच्यन ‘ख्होल–सों–थर’को राजा भएपछि शासन व्यवस्थालाइ व्यवस्थित गर्न उनका भाइ पारच्यनलाइ मन्त्री, जेठो मामा छेकाँलाइ सभाध्यक्ष र कान्छा मामा सताँलाइ सेनापति बनाएर आफु च्यनबाट ‘ख्ह्ले’ अर्थात राज्यको मालिक वा अधिपति घोषणा गरेर रजाइँ गरे । यसरी ‘ख्होल–सोँ–थर’मा च्यन वंशको अर्को रुपमा घले राजाको उदय भयो । यो ‘ख्ह्ले’ भन्ने तमू भाषाको मूल शब्द अपभ्रंश भएर ‘क्ले’ र ‘क्ले’को नेपाली रुपान्तरण ‘घले’ हुन आएको पाइन्छ । यो ‘ख्ह्ले, क्ले वा घले’ भन्ने शब्द समय अनुकुल रुपान्तरित हुँदै आए तापनि यसको अर्थ ‘राज्यको मालिक वा अधिपति’ भन्ने हुन्छ । ‘ख्होल–सों–थर’मा घले वंंशले लामो समय रजाइँ गरे । 
     
राजा अबु ख्याल घलेको तीनवटी रानीहरु थिए । जेठीबाट दबु ख्याल, माहिलीबाट कबु ख्याल र कान्छीबाट पारु ख्याल भन्ने तीनजना राजकुमारहरु जन्मिए । राजकुमारहरु हुर्किएपछि कुलगुरुबाट आवश्यक शिक्षा प्राप्त गरे पछि राजपरिवारको चलन अनुसार दबु ख्याल घलेलाइ युवराज घोषणा ग¥यो । युवराज दबुख्याल घलेको प्रभाव बेजोड हँुदै आएको देखेपछि कबु ख्याल र पारु ख्यालका मामाहरु मिलेर राज्य शक्तिमा चलखेल सुरु ग¥यो । 
     
ख्होल–सोँ–थरमा राजसभा बस्यो । सभामा तत्कालिन अवस्थामा राज्यमा भइरहेको गतिविधि र ध्रुवीकरणको बारेमा छलफल गर्न आदेश दिए । तर, राजसभा पूर्णरुपमा मौन बस्यो । राजसभा मौन बसेको देखेपछि राजाले महामन्त्रीलाइ सत्य कुरा भन्न आदेश दियो । 
     
हे राजन, सत्य कुरा नमिठो हुन्छ । तर, महामन्त्रीले पनि सत्य कुरा भनिन भने राजाले कसरी थाहा पाउने ? राजाले सत्य कुरा थाहा नपाएपछि न्याया निसाफ कसरी गर्ने ? न्याया निसाफ सही नभएपछि राज्य व्यवस्था सुस्ताउँछ ।
     
हाम्रो राज्यको भविष्य युवराज र राजकुमारहरुको काँधमा छ । उनीहरु सुरवीर, बलवान र ज्ञानी पनि छन् । तर, साँझ काल मान्छेको छाँया लामो देखियो भने अब सुर्यास्त हुने समय भैसकेकोछ भन्ने संकेत गर्छ । हिजो साँझ मैले युवराज र राजकुमारहरुलाइ छुट्टाछुट्टै भेटेर कुरा गरे । कुराको सार बुझ्दा, एउटा वनमा दुइवटा बाध मिलेर बस्न नसक्ने कुराको संकेत भयो, महामन्त्रीले भने । 


राजकुमारहरुको राय के छ वृतान्त भन भन्दा, कबु ख्याल र पारु ख्याल घलेले हामीलाइ पनि स्वतन्त्र राज्य चाहिन्छ । राज्य पाएन भने दबु ख्यालको विरुद्ध विद्रोह गछौं, भन्यो । दबु ख्यालको विचार के छ भनेर सोध्दा, म भाइहरुको कुरामा सहमत छैन । किनभने मेरा भाइहरु निर्दाेष छन् तर, भाइहरुको मनमा विष भरेर मेरो विरुद्धमा उचालेर व्यक्तिगत लाभ उठाउँन चाहने उनका दुइजना मामाहरु र मतियारीहरु दोषी छन् । अर्को कुरो, राज्यमा युद्ध भएपछि विभाजन हुन्छ । रक्तपात हुन्छ । जनधनको क्षति हुन्छ । यस्तो अवस्थामा राज्यले उन्नति र प्रगति गर्न सक्दैन, भने ।    
     
महामन्त्रीलाइ कहाँ के भैरहेको छ ? सबै कुराको जानकारी थियो । त्यसैले यस कार्यका प्रमुख मतियारीहरुलाइ राजसभामा उपस्थित गराए । तपाइहरु चारै जना राजसभाको सदस्य हुनुहुन्छ । राज्यलाइ आतंकित बनाएर विभाजन गर्ने कार्य राम्रो होइन । यिनीहरुलाइ कस्तो सजाय दिँदा राम्रो हुन्छ, राजाले महामन्त्रीसंग सोध्यो । 
     
यो कुरा राजकुमारहरु स्वयंलाइ सोध्दा उपयुक्त होला, महामन्त्रीले भन्यो । राजकुमारहरु दुबै जनालाइ सोध्दा कुनै जवाफ आएन । युवराजलाइ सोध्दा, यी चारै जना मानिसहरु मेरो आदरणीय हुन् र राजसभाका सदस्य पनि । अर्को कुरो राज्यमा विद्रोह हुने संकेत देखियो भने, राज्य व्यवस्था र न्याया प्रणाली ठीक भएन भन्ने कुरा राज्य सञ्चालकले बुझ्नु पर्छ । विद्रोह आज रोकिए पनि भोलि हुन सक्दछ । एक पटक उठिसकेपछि विद्रोहको आवाज सेलाउछ मात्र निभ्दैन । त्यसैले, विद्रोहीहरुलाइ एक पटक माफी दिनका लागि राजसभासंग अनुरोध गर्छु, युवराजले भन्यो । चारै जनालाइ माफी दिइयो ।    
     
हे युवराज, राज्यको सुरक्षित व्यवस्थापनका लागि सतर्क हुन आवश्यक छ । शक्ति सन्तुलनको लागि दिव्य शक्ति प्राप्त गर्न आवश्यक छ । त्यसैले, ‘ठ्होँ’ भन्ने गुफामा त्रिकालदर्शी गम्पोपा नम ध्यानमा बसेका छन् । उनको सेवामा जानु, महामन्त्रीले परामर्श दियो ।  
     
युवराज नमको सेवामा गए । नमले युवराजलाइ सोधे । अहिले हाम्रो राज्य संकटकालीन अवस्थामा छ । मलाइ फलामले नकाट्ने, आगोले नपोल्ने, पानीले नभिज्ने र हावाले पनि उडाउँन नसक्ने वरदान दिनु, युवराजले भन्यो ।
     
यो वरदान मैले दिन सक्दैन तर, पूर्णिमाको दिनमा ‘कोँरुँब’ अर्थात कैलाशपतिको नाउँमा दिव्याश्त्र महायज्ञ ग¥यो भने सबै वरदान प्राप्त हुन सक्दछ, गुरुले भन्यो ।   
     
गुफाबाट फर्किएपछि महामन्त्रीसंग परामर्श भयो । महामन्त्रीको निर्देशनमा पूर्णिमाको दिनमा कोँरुँबको नाउँमा दिव्याश्त्र महायज्ञ सम्पन्न भयो । उक्त महायज्ञबाट युवराजलाइ फलामले नकाट्ने, आगोले नपोल्ने, पानीले नभिज्ने र हावाले पनि उडाउन नसक्ने वरदान प्राप्त भयो । त्यो महायज्ञ के कारणमा गरियो ? युवराज र महामन्त्रीलाइ बाहेक अरु कसैलाई पनि जानकारी थिएन ।
     
युवराजले नमगुरुद्धारा महायज्ञ सम्पन्न गरेको हुनाले त्यसको चर्को विरोध भयो । महायज्ञको विषयमा खुलेर विरोध भएपछि राजसभा बस्यो । विरोधी पक्षकालाइ विरोध हुनुको कारण र  युवराजलाइ महायज्ञ गर्नुको कारण सोधे । 
     
हे राजन, राज्य व्यवस्था सही तरिकाले सञ्चालन गर्नका लागि राज्यमा प्राज्ञ र विद्धानहरुको उपस्थिति हुन अनिवार्य छ । गम्पोपा नम त्रिकालदर्शी हुनुहुन्छ । वहाँले भूत, वर्तमान र भविष्यको कुरा स्पष्टसंग जान्न र बुझ्न सक्नुहुन्छ । त्यसैले, राज्यको भविष्य जान्नका लागि महायज्ञ गरेको हुँ । महायज्ञबाट राज्यको भविष्य उज्यालो देखिदैन । त्यसैले, जनधनको सुरक्षाको लागि विपक्षीहरुको कुनै पनि शर्तमा सन्धि गर्न तयार छु, युवराजले भन्यो ।   
     
आजको सभाले कुनै निष्कर्ष निकाल्न नसकेको हुनाले यो सभामा म एउटा प्रस्ताव राख्न चाहन्छु । अब राज्यमा युद्ध हुने कुरा लगभग निश्चित छ । युद्ध भएपछि जनधनको क्षति हुन्छ । रक्तपात हुन्छ । यो विरोध मलाइ भएको हो । किनभने मलाइ पदच्युत गरेर माइला भाइ युवराज हुन चाहन्छन् । तर, मलाइ पदच्युत गराउँन मसंग प्रत्यक्ष युद्ध गर्नु पर्छ । मैले वीरगति प्राप्त गरेपछि मात्र भाइहरु युवराज हुन सक्दछ । त्यसैले, विद्रोहीहरुलाइ मसंग युद्ध गर्न स्वागत् गर्दछु, युवराजले भन्यो । 
   
हामी युद्ध गर्न तयार छौं, विपक्षहरुले पनि भन्यो । युवराज र राजकुमारहरुको प्रतिज्ञा सुनेर राजाको हृदय गति रोकियो । 
   
भोलि ठीक मध्यान्नमा राजसभाका सदस्यहरु, पञ्च भलादमीहरु, सर्वसाधरण जनताहरु र युद्धको तयारीमा दुबै पक्ष र विपक्ष कोटमा हाजिर हुनु, महामन्त्रीबाट आदेश भयो ।   
     
युवराज बिहानै गुफामा पुगेर नमगुरुको दर्शन गर्न पुगे । तिम्रो विजय निश्चित छ, गुरुले भन्यो । तोकिएको समयमा कोटको ढोका खुल्यो । राजसभाका सदस्यहरु, पञ्च भलादमीहरु, जनसमुह, पक्षको युवराज दबु ख्याल घले र विपक्षका राजकुमारहरुः कबु ख्याल घले, पारु ख्याल घले, नरमान, कबो, मनक्व्रेँ र चसँ गरी ६ जना उपस्थित भए । 
     
सबै पक्ष विपक्षहरु उपस्थित भइसकेपछि राजसभाका सदस्यहरु र पञ्च भलादमीहरुलाइ साक्षी राखेर, आज ‘ख्होल–सोँ–थर’को भाग्य फैसला गर्न युवराज र उनका प्रतिद्धन्दिहरुबीच राज्यशक्तिका लागि कोटमा युद्ध हुदै छ । यो युद्ध हारजित नभइन्जेलसम्म हुने छ । पक्ष र विपक्षले केही कुरा भन्न चाहेमा भन्न सक्छन्, महामन्त्रीले भन्यो ।       
    
हे ख्होल–सोँ–थरका राजसभा सदस्यहरु, पञ्च भलादमीहरु, जनसमुह, मातृ पितृहरु र विपक्षका प्रतिद्धन्दिहरु सबैलाई मेरो सादर प्रणाम । मैले विपक्षीहरुसंग युद्ध गर्न चाहेको थिएन । तर, राज्यमा जनधनको सुरक्षा र सुशासन कायम गर्नका लागि यो युद्ध अनिवार्य भएको हुनाले युवराजको हैसियतले विपक्षीहरुसंग युद्ध गर्न तयार छु, युवराजले भने । तर, विपक्षीहरुले भने केही पनि भन्न चाहेनन् । पक्ष र विपक्षको कुरा केही छैन भने युद्ध सुरु होस, महामन्त्रीले आदेश दिए । 
    
चसँ तरवार विद्यामा निपुन थियो । त्यसैले, तरवार लिएर आए । दाउ हेर्न पर्दैन, सक्छ भने सिधै आएर हान, युवराजले भन्यो । चसँ सुरवीर थियो । सिधै आएर जोडले युवराजको घाँटीमा हान्यो । उनको तरवार कठोर वस्तुमा हने झै ट्ववववाको आवाज आएर दुइ टुक्र भयो । झटपट अर्को तरवार निकाल्न खोज्दा, युवराजले मुला काटे झै च्वाट्ट काटी दियो । एवं रितले बाँकी पाँच जनालाइ पनि काटे पछि कोट रगतम्य भयो । युवराजको शक्ति देखेर सबैले जय जयकार गरे । युवराज विधिवत राजा भए । नमगुरुले कुलगुरुको पदग्रहण गरे । शासन व्यवस्था सुचारु रुपले चलेपछि राज्यले उन्नति प्रगति ग¥यो । 
     
राजा दबु ख्याल घले निसन्तान भएकोले उनको इच्छानुसार नमगुरुले विर्यदान महायज्ञ ग¥यो । अग्निकुण्डबाट दिव्य १६ वर्षे कन्याको जन्म भयो । कन्याको नाम यम ह्याकुती राखे । सो अवसरमा दीपावली गरी जन्मोत्सव मनाइयो । 
   
राजकुमारी यमावतीको विवाह सेनापति अर्सै घलेको छोरा पर्सै घलेसंग राज परिवारको परम्परा अनुसार भयो । विवाहको अवसरमा सम्पूर्ण भलादमीहरु जलपानमा मस्त भएको अवस्था छोपी विद्रोहीहरु लुकिछिपी दरबार पसि नरसंहार गरे । यमावती र पर्सै घले लुकिछिपी कुलगुरुको शरणमा पुग्यो । अब ‘ख्होल–सोँ–थर’को आयु सकियो । तिमीहरु यहाँबाट पूर्व दिशातिर गएर स्वतन्त्र राज्य स्थापना गरेर बस्नु । तिमीहरु दीर्घायु नभए पनि युग युगसम्म अमर हुने छौं, कुलगुरुले आशीर्वाद दियो । यसरी, ख्होल–सोँ–थरको अन्तिम राजा दबु ख्याल घलेको दरबारमा नरसंहार भएको कारणले गुरुङहरुको आदिम राजधानी ‘ख्होल–सोँ–थर’को पतन भयो । क्रमश .....

चोग डीबी गुरुङ 'तमू क्योए दे प्यक्ष्या'को लेखक हुन् ।
12/9/2019

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.