Renunciation of Siddhartha Gautama.

शाक्य संघमा संकटकालः (गृह त्याग)

Renunciation of Siddhartha Gautama.
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । अध्ययनको क्रममा आफुले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको तेस्रो श्रंखलामा शाक्य संघमा संकटकालको घोषणा, सिद्धार्थको गृह त्याग किन र कसरी भयो भन्ने बारेमा संक्षिप्त बाचन गरिने छ । बोधी मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको तेस्रो श्रृंखला शाक्य संघमा संकटकालको घोषणा भएको मूल विषयबाट उठान गरिनेछ । यो बुद्ध वचन बाचन कार्यक्रम हो । 


गृष्म ऋतुको प्रचण्डा गर्मी थियो । 
रोपाइँको समय भएकोले रोहिणी नदीको पानीको बाँडफाँडको सवालमा शाक्य र कोलियाहरुबीच मतभेद भयो । दुबै पक्षमा हातापात भएर कैयौँ किसानहरु घायल भए । यस बिवादलाई सुल्झाउनका लागि सेनापतिले विशेष अधिवेशन बोलायो र कोलिया विरुद्ध युद्ध गर्ने प्रस्ताव गर्यो । यदि कसैलाई प्रस्तावमा विरोध भए आफ्नो मन्तव्य दिन सक्दछ, सेनापतिले भन्यो ।    
   
‘म यो प्रस्तावको विरोध गर्दछु,’ सिद्धार्थले भन्यो ।   
‘किन, के कारणमा बिरोध,’ सेनापतिले कट्केर सोध्यो । 
किनभने, कोलियाहरुसंग युद्ध गरेर एक पटक समाधान खोज्न सकिन्छ । तर, यसबाट सधैका लागि वैरभाव समाप्त हुँदैन । आजका कमजोर कोलियाहरु भोली बलवान हुन सक्दछ । आपासमा द्धन्द भए पछि जनधनको क्षति हुन्छ । रगतको खोलो बग्दछ । यस्तो अवस्थाबाट समृद्ध कपिलबस्तुको पतन हुने निश्चित छ । त्यसैले, युद्ध आरम्भ गर्नु भन्दा पहिले एक पटक कोलियासंग शान्ति संझौताको प्रस्ताव गर्नु उपयुक्त हुन्छ, सिद्धार्थको सुझाव थियो ।     
   
राजकुमार सिद्धार्थको सुझाव अनुसार कोलियाहरुसंग युद्ध वा शान्ति संझौता कुन चाहि प्रस्ताव उपयुक्त हुन्छ भनी शाक्य संघमा मतदान भयो । मतदानमा युद्धको पक्षमा बहुमत देखियो । सेनापतिको प्रस्तावको विरुद्धमा कसैले पनि मतदान गर्ने शाहस गरेन ।
   
भोली पल्टा फेरी संघको अधिवेशन बस्यो । कोलियाहरु विरुद्ध युद्ध गर्नका लागि २० वर्षदेखि ५० वर्षसम्मका शाक्य पुरुषहरु र शाक्य सर्मथक मित्र शाक्तिहरुलाई अनिवार्य सैनिक सेवामा सामेल हुनका लागि संघमा मतदान गर्न सेनापतिले प्रस्ताव गर्यो ।    
   
सिद्धार्थले फेरी पनि प्रस्तावको विरोध गर्दै, विपक्षमा मतदान गर्न अपील गर्यो । राजकुमार सिद्धार्थले थप तर्क दिँदै भन्यो— ‘म यो अनिवार्य सैनिक सेवाको फेरी पनि विरोध गर्दछु ।’ किनभने, यो प्रस्ताव शाक्यहरुको दीर्घकालिन हितमा छैन । त्यसैले, म यो सेवामा सहभागी हुँदैन । दीक्षान्तको समयमा मैले लिएको सपथको पनि पूर्ण स्मरण छ । त्यो सपथ शाक्यहरुको हित, समाजिक समृद्धि र कपिलबस्तु राज्यको सुरक्षाको सवालमा थियो । कसैको विरुद्धमा युद्धको लागि थिएन । युद्ध अन्तिम विकल्प हो । युद्ध भए पछि पूर्णरुपमा बिभाजन हुन्छ । रक्तपात हुन्छ । जनधनको ठूलो क्षति हुन्छ । युद्धमा बीरगति प्राप्त गरेका सैनिकहरुको आश्रित परिवारका लागि भरण पोषण गर्ने राज्यको जिम्म हुन्छ । त्यसैले, त्यो भन्दा पहिले अन्य मार्गहरुको पनि उपयोग गर्न अनिवार्य देखिन्छ । अर्को कुरो, यो बिकराल अवस्था कोशल नरेशको जानकारीमा पुगे पछि शाक्य संघको स्वतन्त्रता र संधीया अधिकारमा थप कटौती पनि हुन सक्ने चेतवनी दियो । 
   
हिजोसम्म उनको पक्षमा मत दिएका समर्थकहरुले पनि सेनापतिको विरुद्ध मतदान गर्दा, हुन सक्ने भयबाह परिस्थितिको कारण मौन समर्थन दिए । परिणाम, राजकुमार सिद्धार्थ गौतम अल्पमतमा परे ।  

सिद्धार्थले संघको नियम, दीक्षान्तको सपथ र अधिवेशनको बहुमतको अवहेलन गर्यो । त्यसैले, उनलाई पाँचवटा बिकल्प मध्ये एउटा बाटो रोज्न चेतवनी दिन्छु, सेनापतिले ठाडो आदेश दियो ।   
१. अनिवार्य सैनिक सेवामा सहभागी । 
२. फाँसीको सजय । 
३. देश त्याग । 
४. परिवारलाई सामाजिक बहिस्कार । 
५. सम्पत्तिको सर्वस्वहरण ।
   
राजकुमार सिद्धार्थले शाक्य संघको नियम विपरित आचरण गरेको हुनले उनको विरुद्ध यो पाँचवटा बुँदामा ‘पक्ष र विपक्ष’मा मतदान गर्न संघलाई अनुरोध गर्यो । संघले बहुमत दियो । 
   
अब राजकुमार सिद्धार्थ गौतमको लागि एउटा विकल्प रोज्नु बाहेक अरु मार्ग थिएन । 
राजकुमार सिद्धार्थले संघलाई सम्बोधन गर्दै भने— ‘शाक्य संघका प्रमुख सेनापतिज्यू, मान्यजन गुरुवरहरु र सभासदहरु, शाक्य संघले सर्वसम्मतबाट पारित गरेका प्रस्तावमा मेरो कुनै संक छैन ।’ बिकल्प नं १बाट उत्पन्न भएको समस्याको मूल जड म हो । मेरो कारणबाट परिवारलाई कुनै हानी नोक्सानी र अपमान भएको सहन गर्न सक्दैन । त्यसैले, बिकल्प नं २ र ३मा मतदान होस, राजकुमारले पुनः अनुरोध गर्यो । 
   
राजकुमार सिद्धार्थको अनुरोध अनुसार बिकल्प नं २ र ३मा मतदान भयो । बिकल्प नं ३मा बहुमत देखिएकोले राजकुमार सिद्धार्थ गौतमले ‘देश त्याग’ गर्ने अनिवार्य सर्त भयो ।
   
‘हे शाक्य संघ,’ म लामो समयदेखि यही चिन्तामा थिए कि भोग बिलासमा असक्त भएका मानिसले संसारिक त्याग कसरी गर्ने ? तर, आज शाक्य संघमा शक्ति संघर्ष र आपासी मतभेदका कारण मेरो चेतना खुल्यो । अब मेरो सही मार्ग प्रशस्त भएको छ । यस अर्थमा शाक्य संघलाई धन्यवाद दिन चहान्छु । साथै संघलाई बिश्वास दिलाउन चहान्छु कि बिकल्प नं ३ अनुसार एक हप्ता भित्र देश त्याग गर्ने छु । तर, मैले कपिलबस्तु राज्यको सीमाना पार नगरेसम्म कोलिया बिरुद्ध युद्धको घोषणा नहोस् । किनभने, मेरो मतको कारणले शाक्य संघलाई कुनै बाधा नहोस, राजकुमार सिद्धार्थले तर्क प्रस्तुत गर्दै, अनुरोध गर्यो ।     

राजकुमार सिद्धाथ गौतमको तर्क सर्वमान्य छ, सेनापतिले भन्यो र शाक्य संघले पनि त्यही अनुसार अनुमोदन गर्यो । यसरी, कपिलबस्तु राज्यको शाक्य संघमा अहंकारी राजनीतिक तनाव, व्यक्तिगत स्वार्थ, शक्तिको दुरुपयोग र अज्ञानताका कारण विशेष अधिवेशन दुःखद मोडमा समाप्त भयो । 
   
राजकुमार सिद्धार्थको यस प्रकारको अप्रत्यसित निर्णयबाट राजा शुद्धोधन, यशोधरा, परिवारजन, कुलगुरु, उनका सहयोगीहरु र कपिलबस्तुवासी अत्यन्तै दुःखी भए । तर, यस घट्नाबाट देवदत्त र उनका मतियारहरु सर्वशक्तिमान भएर उदाए । अब कुमार देवदत्त बाहेक शाक्य कुलमा युवराज हुने अरु उम्मेदवार थिएन । राजकुमार सिद्धार्थ गौतमलाई नियोजित ढंगबाट देश त्याग गर्न बाध्य बनाउने षड्यान्त्रमा सफल भएकोमा उनका मतियारीहरुले भोजभतेर खाइ खुसियाली मनाए । राजकुमार सिद्धार्थ गौतमले देश त्याग गर्ने सवालमा प्रवज्य ग्रहण गर्ने बाहेक अरु कुनै बिकल्प थिएन । त्यसैले, माता, पिता, कुलगुरु, यशोधरा सबैलाई सान्तवना दिए । प्रिय यशोधराले केही अप्ठेरो पार्ने पो हो कि, भन्ने मनमा शंक थियो । तर, उल्टै राहुलको पालन पोषणमा तपाइँले कत्ति पनि चिन्त लिनु पर्दैन । तपाइँको मूल उद्देश्य नै ‘बुद्धत्व’ प्राप्त गर्नु हो । ‘बुद्धत्व’ प्राप्त गरे पछि सत्यको ‘अमृत वचन’ सुनाउन वापस आउने वचन दिनु होस, यशोधराले मन दह्रो गरी भनिन् । 

‘हे यशो, तिम्रो वचन पुरा हुने छ ।’ यो संसारमा मानिस मरे पछि उनको सम्पत्तिको उत्तराधिकारी हुने धेरै हुन्छन् । तर, पुण्यको उत्तराधिकारी पाउन अत्यन्तै कठिन छ । म त्यसैको खोजिमा जादैछु, सिद्धार्थले भने र बिदा भए । 
   
यसरी, शाक्य संघ र परिवारजनको उपस्थितिमा असाड पुर्णिमाको दिन २९ वर्षको उमेरमा कपिलबस्तुमा अवस्थित ऋषि भारद्धाजको आश्रममा राजकुमार सिद्धार्थले स्वेच्छाले महाप्रवज्यबाट भिक्षुत्व ग्रहण गर्यो । यो समाचार आसपासका राज्यहरुमा जंगलको आगो झै रातौरात फैलियो ।  
   
सिद्धार्थ गौतमले महाप्रवज्य लिनको कारणमा फरक फरक मतहरु पनि छन् । त्यस मध्ये केही मत भन्छन कि, दिनदुखी, असक्त, रोगी, बृद्ध र मुर्दा देखेर बैराग्य उत्पन्न भयो । त्यसैका कारण रातको समयमा राहुललाई एक नजर हेरी सन्यास लिएका हुन पनि भन्दछन् । वैराग्यको सवालमा त्यो पनि महत्वपूर्ण कारण थियो । त्यसैको जगमा उभियर शाक्य संघमा छलफल हुँदा, यो परिणाम देखिएको हो । किनभने, वैराग्यको बीज उनको मनमा छदै थियो । तर, घट्नाले बीजबाट अंकुरमा परिवर्तन हुने सुनौलो अवसर दियो । जुन कुरा शाक्य संघको इतिहासले घट्नाक्रमको बलियो साक्षी दिएको छ । प्रवज्यको मूल कारणमा ‘देश त्याग’ गर्ने बाध्यात्मक अवस्थाले शान्तिको खोजिलाई तर्कसंगत र अर्थपूर्ण हुने गरी बलियो आधार दिन्छ । अध्यात्मवादले ऐतिहासिक घट्नाक्रमलाई ओझेलमा पार्न खोजेको छ । तर, यो सत्य होइन । किनभने सिद्धार्थ गौतमको जीवनलाई अध्यात्मवाद भन्दा व्यवहारिक जीवनमा अनुभव गरेर बुझ्न आवश्यक देखिन्छ । 

सिद्धार्थले ८ वर्षसम्म राजकुमारको पदभार निभाएका थिए । यस दौरान कपिलबस्तुको सीमाना भित्र रहेका प्रत्येक नगर र बस्तीको सामाजिक, राजनीतिक, आर्थिक र भौगोलिक अवस्थाको पूर्ण रुपमा जानकारी लिएका थिए । यस दौरान उनले कुनै दिन दुखी, असक्त, रोगी, बृद्ध र मुर्दा नदेखेकै हुन त ? यसबारेमा कुनै जानकारी नभएकै हो त ? कसैले मान्ने वा नमान्ने कुरा अलग हो । तर, यसमा कुनै बलियो तर्क छैन । मानव योनीमा जन्म लिएका ‘श्वेतकेतु बोधीसत्व’लाई आफ्नो जन्मको उद्देश्यको बारेमा पूर्ण जानकारी थियो । तर, सामाजिक मुल्य र मान्यताको आधारमा हुन सक्ने घट्नाक्रमहरुलाई साक्षी दिनु बाहेक अन्य विकल्प थिएन । त्यसैले, शाक्य कुलमा चक्रवर्ती राजा भएर एक पुस्ता शासन गर्नु भन्दा, बुद्धत्व प्राप्त गरेर, सम्पूर्ण मानव जातिको कल्याण गर्न परम् आवश्यक ठानेर महाप्रवज्य लिनु भयो । 
   
यसरी सिद्धार्थ गौतमले महाप्रवज्य लिए पछि पहेलो कपडामा खालि खुट्टा आश्रमबाट प्रस्थान गर्न थाले । उपस्थित जनसमुदायले आश्रु धारा बगाउदै सिद्धार्थको जय जयकार गरे ! सारथी छन्नले उनका प्रिया घोडा कन्थकलाई तयार गरे । छन्नको आग्रहमा कन्थकमा सवार भएर अनोमा नदीतिर प्रस्थान गरे । कपिलबस्तुको अन्तिम सीमाना अनोमा नदीको किनारमा पुगे पछि कन्थकलाई लिएर फर्कन छन्नलाई अनुरोध गरे । 
   
छन्नले नाना प्रकारका विलाप गरेर आश्रु धारा बगाउदै भने— ‘यो विधिको विडम्बना पनि कस्तो ? ऐश्वर्यको नाउँमा दरिद्रता, समृद्धिको नाउँमा भिक्षाटन, राजमहलको नाउँमा बनबास !’ यो बैराग्य भन्ने जीवन पनि कस्तो अचम्मको हो ? छन्नले मनको भाव पोख्दै थिए । सिद्धार्थले केही नबोली उनको काँधमा एक दुइ पटक थप्थपाए । मातृभुमिको माटोलाई एक पटक ढोग गरेर अनोमा नदी पार गरी कपिलबस्तुको अन्तिम सिमाना पार गरे । यहीबाट सिद्धार्थ गौतमको सत्यको यात्रा आरम्भ हुन्छ ।
   
आजको तेस्रो श्रृंखला यही समाप्त हुन्छ । चौथो श्रृंखलामा बुद्धत्वको खोजि कसरी भयो भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।  
5/16/2020
               
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

If you have any doubt, please let me know your message to help.