Buddha Awatar at pure land, Lumbini.

१. बुद्ध अवतारः

A symbol of Buddha.
नमस्कार, यो बुद्ध वचन बाचन कार्यक्रम हो । देश विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई, म कार्यक्रम प्रस्तोता चोग डीबी गुरुङ हार्दिक स्वागत गर्दछु । २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ! आज देखि ‘बुद्ध वचन’ बाचन कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्ने प्रयत्न गरिएको छ । कार्यक्रममा देखिएको कमिकमजोरीहरुलाई बोधी मित्रहरुबाट सल्लाह र सुझाव सहित प्रतिकृया दिनु होला । यहाँहरुकै सुझाव अनुसार अगामी कार्यक्रम तय गरिने छ । आजको प्रथम श्रंखला ‘बुद्ध अवतार’बाट आरम्भ गरिने छ ।
       
महाराजको जय होस् !   
शाक्य राजदरबारको एक जना मर्याद पालक सैनिक जवान निर्धारित पोशकमा अनुशासनको पालन गर्दै, ढोकाबाट फिका रंगको हलुंगो पर्दा पन्छाएर भित्र छिरे । ‘के खबर छ ?’ राजाले हातको इशारा गर्दै सोधे । 
‘कुलगुरु बाचस्पति प्रतिक्षमा छ,’ मर्याद पालकले भन्यो । 
‘उनलाई स्वागत छ,’ महाराजले आदेश दिए । 
‘कर्तव्य पालक आफ्नो ठाउँमा फर्किए ।’
त्यस बखत कपिलबस्तुमा शाक्य कुलको सूर्यवंशी महाप्रतापी राजा शुद्धोधन शासन गर्दथे । उनको द्यौतोधन, शुक्लोधन, शाक्योधन र अमितोधन नामक चार भाइहरु थिए । द्यौतोधन महामन्त्री, शुक्लोधन सेनापति, शाक्यधन र अमितोधन महासेनानी थिए । सपरिवारबाटै राज्य सञ्चालन भैरहेको थियो । 
   
महाभारतको युद्ध पछि भारत वर्ष धेरै राज्यमा बिभाजन भैसकेको यर्थातता भारतको इतिहास साक्षी छ । स–साना राज्यमा बिभाजित राज्यका राजा, महाराजाहरु धर्माधिकारी ब्राह्मन गुरुहरुको आदेश अनुसार शासन गर्दथे । त्यसैले, धर्मको नाउँमा भैरहेको एकाधिकार, सामान्तिवाद, अराजकता, असमानता, सामाजिक शोसन, अन्धकार र पाखण्डिपन चारैतिर फैलिएको थियो । यसै विषयमा आपासी छलफल भैरहेको थियो ।       
   
अज भन्दा २६०० वर्ष अगाडि उत्तर भारतको मगध र बैशाली राज्यको छिमेकमा शाक्य बंशको कपिलबस्तु नाम गरेको स्वतन्त्र ‘संघ’ राज्य थियो । त्यस समयको कपिलबस्तु राज्य हाल नेपालको प्रदेश नं ५मा अवस्थित छ । यो क्षेत्र बौद्धमार्गीहरुको तिर्थस्थल ‘पुण्य भुमी लुम्बिनी’को नामबाट प्रख्यात छ । विश्वभरका बौद्ध धर्माबलम्विहरुले लुम्बिनी बिकास क्षेत्र भित्र आ–आफ्नो सांस्कृति झल्किने राष्ट्रिय पहिचानका लागि विशेष कलात्मक बौद्ध स्तुपाहरु निमार्ण गरेका छन् । 
   
राजा शुद्धोधनले देबदह गाउँबाट महामाया र प्रजापती नाम गरेकी दुइ दिदीबहिनीहरु विवाह गरेका थिए । लामो समयसम्म पनि सन्तान भएको थिएन । सायद, यसै सिलसिलामा उनले कुलगुरु बाचस्पतिसंग परामर्श गर्न बोलाएका थिए । 
मर्याद पालकको साथमा कुलगुरु कक्षमा प्रवेश गरे । 
राजा शुद्धोधनले कुलगुरुको हार्दिक स्वागत गरे । 
कुलगुरुले पनि आफ्नो स्थान ग्रहण गरी चारैतिर दृष्टि घुमाएर हेरे, अनि चुपचाप बसे । कुलगुरुको आसय बुझे पछि, यो हाम्रो पारिवारिक छलफल हो । विवाह भएको लामो समय भैसक्यो । तर, कुनै पनि रानीबाट सन्तान हुन सकेन । सन्तानको लागि परामर्श दिनुहोस् । यस विषयमा सबै भाइहरुको पनि सहमती हुन आवश्यक भएकोले एकान्त बस्नु आवश्यक छैन, शुद्धोधनले भने ।      
   
कुलगुरुले केही समय चुपचाप मौन धारणा गरे । उनको लामा लामा दाडि मुसार्दै भने— ‘हे राजन, तपाइँ कत्ति पनि विचलित नहुनुहोस् । तत्कालै यस्तो शुभयोग आउदै छ । जब सूर्य उत्तरायणमा प्रवेश गर्ने छ, तब चन्द्रमा कर्क लग्नमा हुनेछ । शुक्र मीन राशीमा र पुनरवसु नक्षेत्र हुनेछ । यो त्यही नक्षेत्र हो, जुन नक्षेत्रमा भगवान श्रीरामको जन्म भएको थियो । यो योगमा पुत्रलाभको अमेष्टि यज्ञ गर्नले महाप्रतापी पुत्र लाभ हुने छ, कुलगुरुले भविष्य वाणी गर्यो । 
   
कुलगुरुको परामर्श अनुसार तोकिएको नक्षेत्रमा आवश्यक तैयारी गरी, शाक्य राजदरबारमा पुत्रलाभको अमेष्टि यज्ञ सम्पन्न भयो । यज्ञको पर्साद ग्रहण गरे पछि विश्राम भयो । रातको मध्य प्रहारमा महामाया देवीले सपनामा यस्तो देख्यो । “चार जना देवदूतहरु आएर उनको खाटलाई उचालेर देवलोगमा लगे । उनलाई ‘मनोकामना देवताल’मा नुहाइ दिए पछि पुष्पासानमा राखे । पुण्य भुमि ‘तुषिता भुवन’मा बास गरेको ‘श्वेतकेतु बोधीसत्व’ सेतो हात्तिको रुपमा आएर महामाया देवीलाई तीन पटक परिक्रमा गरी निबेदन गरे । 

‘हे, महामाया देवी !’ म तुषिता भुवनको ‘श्वेतकेतु बोधीसत्व’ हुँ । मैले ‘बुद्ध अवतार’ लिने समय भैसक्यो । तर, यो अवतारको लागि मनुष्य योनी उत्कृष्ट भएकोले म तिम्रो कोखबाट शाक्य कुलमा जन्म लिन चहान्छु भनी सूँडमा कमलको पूmल समातेर शुष्म अवस्थाबाट रानी महामाया देवीको दाहिने कोखबाट गर्भमा प्रवेश गरे । गर्भमा प्रवेश हुनसाथ शयन कक्षामा दिव्य प्रकाश छायो । त्यही प्रकाशको ज्योतीसंगै रानी महामाया देवी झसंग भएर बिउझियो । त्यस समय उनलाई परम् आनन्दको अनुभूति भैरहेको थियो । 

भोली पल्टा बिहना रानीले राजालाई सपनाको बृतान्त कुरा सुनाए ।
‘अति सुखद् ! अति सुन्दर !’ राजा हर्षले गदगद भए !      
तत्कालै, राजा शुद्धोधनले राज्यको विद्धान पण्डितहरु सहित राजसभा बोलायो । राजसभामा राति रानी महामायाले देखेको सपनाको कुरा बृतान्त भन्यो । 
पुज्यनीय कुलगुरु र विद्धान पण्डितहरु, रानी महामाया देवीको सपनाको अर्थ र परिणाम के हुन्छ ? राजाले सोधे । 
   
यो सपना अत्यन्तै शुभ छ ! सेतो हात्तीको साथमा कमलको पूmल गर्भमा प्रवेश हुनुको अर्थ हो, कुनै ‘दिव्यात्म’को अवतार हुने संकेत छ । यो योगमा जन्म हुने महापुरुष ‘सर्वअर्थसिद्ध, महायोद्ध र चक्रवर्ती’ राजा हुने छ । बधाइ छ सरकार ! भन्दै कुलगुरुले जय जयकार गरे ! त्यही समयमा कुलगुरुले शंखघोष गरे । हल्का भुकम्पकोसाथमा सुगन्धित पुष्प बृष्टि पनि भयो । शाक्य राजदरवारमा हर्ष र उल्लासमय वातावरण छायो !  
   
सेनापति शुक्लोधनको महानाम र अनुरुद्ध नाम गरेका दुइ छोराहरु थिए । अमितोधनको आनन्द नामको छोरा थियो । दिदी अमिताको देवदत्त नामक छोरो थिए । कुमार देवदत्त उनीहरुमा सबभन्दा जेठो थिए । 

शाक्य संघको बिधानमा जेष्टताको क्रम अनुसार शाक्यहरु पालैपालो राजा हुने गर्दथे । यदि राजाबाट कुनै सन्तान भएन भने, राजाको दिदीबहिनीहरु र भाइहरुबाट जन्मिएको जेष्ट छोरा नै युवराज हुने शाक्य परम्परा रहेको थियो ।        
   
अमिता राजा शुद्धोधनको दिदी थिए । उनी अत्यन्तै महत्वकांक्षी स्वभावकी थिइन् । उनलाई राजदरबारको आन्तरिक सुरक्षाको जिम्म दिइएको थियो । कुमार देवदत्त अमिताको छोरा थिए । उनी हुर्किसकेको थियो । राजा शुद्धोधनबाट कुनै सन्तान नभए उनको छोरा देवदत्त नै शाक्य बंशमा युवराज हुने निश्चित थियो । तर, पुत्रलाभको अमेष्टि यज्ञको कारण, रानी महामाया देवीबाट सन्तान हुने लगभग निश्चित भैसकेको थियो । यही चिन्तबाट उनी अत्यन्तै ग्रसित थिए । उनको लागि पलपल भारी भैरहेको थियो । समय र परिस्थिति मिलाएर एक दिन रानी महामाया देवीको विशिष्ट भोजन खीरमा विष मिलाएर गर्भ नष्ट गर्ने योजना पनि बनाए तर, सफल हुन सकेन । 
   
शाक्य दरबारको मारी भन्ने भान्सेरीले यस घट्नाको पर्दाफास गरे पछि शुद्धोधन अत्यन्तै चिन्तित भए । उनी कुनै पनि कुराको निर्णय गर्न नसक्ने अवस्थामा पुग्यो । यस्तो बिकराल अवस्थामा आफ्ना हितौसीहरुसंग परामर्श गर्नु बाहेक अन्य उपाए सुझेन । त्यसैले, कुलगुरु र महामन्त्रीसंग परामर्श गर्नका लागि बोलावट पठाए । 
‘महामन्त्री र कुलगुरु बिषेश कक्षामा उपस्थित भए ।’ 
‘दरवार भित्रै विष काण्डा,’ के यो सत्य हो ?
‘सत्य हो महाराज,’ महामन्त्रीले नरम स्वरमा भन्यो ।
‘शुद्धोधन एक छिन अनकनायो ।’
अनुशासित रुपमा पालेको दाही मुसार्दै फेरी एक छिन घोरियो । त्यसपछि महामन्त्री र कुलगुरुको मुखमा पालैपालो नजर घुमाए । उनको ठूलठुलो आँखामा प्रतिशोधको अग्नी दन्दनी बलिरहेको आभास हुन्थ्यो । त्यसैले, महामन्त्री चुपचाप सास दबाएर बसिरहेको थियो ।  
   
मेरो विरुद्धमा यति घातक षड्यान्त्र कस्ले गर्न सक्दछ ? विरोधीहरुको पहुँच दरबारसम्म कसरी आउन सक्दछ ? अर्थात दरबार भित्रका कुनै पनि मानिसले प्रमुख भूमिका नखेलिकन यो षड्यान्त्र हुन सक्दैन । यसबाट के कुराको पुष्टि हुन्छ भने, भित्रकै कुनै मानिसलाई स्वर्ण मुद्रको प्रलोभन दिएर यो निच कार्यमा सहभागी गराउन सक्दछ । राजदरबार भित्र त यो हालत छ भने जनपथमा सर्वसाधरण मानिसको कस्तो हालत होला ? सत्ताको मात र मोहमा मानिसले जे पनि गर्न सक्दछ । विष काण्डले यही सन्देश दिन्छ । 

महामन्त्री, दरवारमा कडा निगरानी राख्नु, राजाबाट ठाडो आदेश भयो । तर, कुलगुरु भने मौन रहे । किनभने उनलाई गुप्तचरहरुबाट यो कुराको पूर्व सूचना प्राप्त भैसकेको थियो । तर, सबुत प्रमाण सहित पुष्टि भैसकेको थिएन । त्यसैले, उनी उचित समयको प्रतिक्षमा थियो ।  
   
राजाको आदेश अनुसार महामन्त्रीले निगरानी बढाउन थाले ।  निगरानीको निउमा आफ्नो स्वार्थ पनि सिद्ध गर्न थाले । शाक्य दरवारका शक्ति केन्द्रहरुमा उदाउदै आएका आफ्ना विपक्षीहरु माथि पक्षपात, दमन र विभेद गर्ने कार्य चरम् चुलीमा पुग्यो । यसको प्रतिफल दरबारका भारदारहरुमा मतभेद र अन्र्तद्धन्दका कारण आफ्ना अस्तित्व बचाउनका लागि गुट उपगुटमा बिभाजन हुन थाले । 
   
समयको गति अबिराल हुन्छ । दिन, हप्ता र महिना गर्दै समय बित्दै गयो । त्यस समयको सामाजिक परम्परा अनुसार प्रथम बालकको जन्म माइतीमा गराउने संस्कार रहेकाले रानी महामाया देवीको गर्भ दश महिना पुग्न लागे पछि माइत जाने इच्छा प्रकट गरिन । राजाले सबै बन्दोवस्त मिलाई दिए पछि सहयोगीहरु र मजबुत सुरक्षा घेरामा आफ्नो माइत देवदह गइन् । बाटोमा जादै गर्दा, कपिलबस्तु र देवदह गाउँकोबीचमा अवस्थित लुम्बिनी शालाबागमा रानी महामाया देवीले एक छिन विश्राम गर्ने इच्छा प्रकट गरिन । 
   
त्यस समय लुम्बिनीको शालाबाग अत्यन्तै मनमोहक देखिन्थ्यो । मन्द गतिको हावा सरर चलिरहेको थियो । हावाको वेगसंगसंगै पात पतिङ्गरहरु आपासमा लुकामारी खेल्दै मस्तसंग हल्लिरहेका थिए । स–साना चराचुरङगीहरु पनि चिरबिर चिरबिर गर्दै अ–आफ्नै संसारमा रमाइरहेका थिए । बसन्त ऋतुको दिन भए तापनि त्यो दिन सूर्यको तापक्रम सरद ऋतुकै हराहरीमा अत्यन्तै मुलयम थियो । लगभग दिन ढल्किसकेको थियो । तर, अबको केही क्षणमा लुम्बिनी शालाबागमा ‘दिव्यात्मले बुद्ध अवतार’ लिने कुरा सूर्यदेवलाई पूर्व जानकारी थियो । त्यही क्षण हेर्नका लागि उनी व्याकुल थिए । 

सूर्यदेव स्वयं समय भएर पनि समय उनको वशमा थिएन । उनको लागि पनि प्रतिक्ष बाहेक अरु उपाए थिएन । तर, प्रतिक्षको घडी कति चोटिलो, पेचिलो र असहज हुन्छ भन्ने कुरा प्रतिक्षकले मात्र सही अनुमान लगाउन सक्दछ । फेरी पनि उनी प्रतिक्षमै थिए । उनी मात्र हैन, देवलोकको देवताहरु, यक्ष, गन्दर्भ र नागहरु मात्र नभएर ब्रह्मा, विष्णु र महेश्वर समेत लुम्बिनी शालाबागको ‘दिव्य दृष्य’ हेर्न आफ्नो आसन छाडेर हातमा पूmलपाती लिएर प्रार्थन गरिरहेका थिए ।  
   
रानी महामाया देवी शालाबागमा प्रवेश गरी केही समय विश्राम गरिन् । विश्राम गर्दा गर्दै, उनलाई प्रसावको वेदना भयो । प्रसावको समय भुइमा नबसेर उनले शालाबागको एउटा हाँग समतिन् । रानीको अवस्था बुझे पछि सेविकाहरुले कपडाले छेकिन । त्यही अवस्थामा ६२३ इसा पूर्वमा लुम्बिनी शालाबागमा बैसाख पुर्णिमाको दिन महामाया देवीको कोखबाट दिव्यात्मले ‘बुद्ध अवतार’ लियो । देवगणले पारीजातको सुगन्धित पुष्प बृष्टि गरी लुम्बिनीलाई पवित्र गरे । ‘दिव्यात्मको बुद्ध अवतरण’को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै देवलोकमा समेत उत्सव मनाए !   
   
दिव्यात्मले पृथ्बीमा अवतरण गर्ने वित्तिकै सात पाइला टेके । तर, आठौं पाइला भने कसैले पनि देखेन । किनभने आठौं पाइला उनको आधिनमा थियो । उनको प्रत्येक पाइलामा कमल उत्पन्न भयो । अन्तिम पाइलामा चारै दिशातिर फर्केर हेरी, दाहिने हात उठाएर एउटा औला ठडाए । यसको अर्थ, प्रथम पाइला पवित्र भुमि लुम्बिनीलाई मोक्ष प्रदान गर्न टेकेको हुन् । दोश्रो पाइला माता र पिता, जसका कारण उनले धर्तीमा अवतार लिने अवसर प्राप्त गर्यो । तेश्रो पाइलाको संकेत त्रिकाल, चौथो पाइलाको चार आर्य सत्य, पाँचौँ पाइलाको पञ्चशील, छैठोँ पाइलाको छैठोँ भाग्य, सातौँ पाइलाको सप्त ऋषी, आठौं पाइलाको अर्थ अष्ट मार्ग र एउटा औला ठडाएको अर्थ ‘मैले बुद्धत्व प्राप्त गरेर देवता र मानव सहितको कल्याण गर्ने छु भन्ने गुढ संकेत थियो । यसरी, कमल उत्पन्न हुनुमा मुचलिन्द नागको भूमिका थियो । किनभने दिव्यात्मलाई मुचलिन्दले अंगमा राखेका थिए । मुचलिन्द नाग तुषिता भुवनबाटै दिव्यात्मको अंग रक्षकको रुपमा खटिएका थिए । उनी अदृष्य थिए । सधै अदृष्य रहन्थे । तर, महामाया देवीले यो सबै दृष्य स्पष्ट हेरिरहेकी थिइन । किनभने, दश पारमिता पार गरिसकेकाहरुले मात्र मुचलिन्दको गतिविधि देख्न सक्दथे । यो अत्यन्तै रहस्यमय छ । यसलाई बुझ्नका लागि नाग सुत्रको अध्यान गर्नु पर्छ । 

तर, भरखरै मात्र आमाको गर्भबाट जन्मिएको बालकको यस्तो असाधरण गतिबिधि देखेर सबै अश्चर्यमा परे । कसैले पनि केही भन्न र अडकाल गर्न सकेन । तर, सबैको मनमा भने एउटा अचम्मको कोतुहलले सधै बास जमायो । अब के हुन्छ ? कसैलाई थाहा थिएन ? कुलगुरुलाई यो गुड रहस्यको बारेमा उनको असाधारण समाधीले पूर्व सूचना दिइसकेको थियो । रानी महामाया देवीको साथमा देवदह जाने उनको प्रवल इच्छा भए तापनि पदिय मर्याद र नैतिक आचरणको हिसावले खुलेर भन्न सकेन । त्यसैले, आफ्नो समाधीको बलले शालाबागमा भैरहेको दिव्य गतिबिधिलाई सयन कक्षाबाटै नियालेर हेरिरहे । यसरी, दिव्य दृष्यको दर्शन लिए पछि दिव्यात्म, महामाया देवी, मुचलिन्द नाग र पवित्र शालाबागलाई कोटी कोटी बन्धना गरी समाधीबाट उठे । 

कपिलबस्तुको शाक्य राजदरबार ध्वज, पटका र नौरंगी पूmलहरुले अन्तपुर जस्तै सजिएको थियो । प्रात कालको समय भएकोले, सूर्य पनि उकालो गतिमा थियो । तै पनि शाक्य दरबारमा केके हुदै छ भनि नजिकबाट चियाउदै यात्रा निरन्तर गरिरहेका थिए । त्यही सजिएको मण्डपमा शाक्य कुलको परम्परा अनुसार पाँचौँ दिनमा बालकको नामाकरणका लागि दरबारियाहरु, भारदारहरु, नगरका प्रबुद्ध महापण्डितहरुको जमात भेला भएका थिए । नामाकरणको लागि आठ जना महापण्डितहरुले तयार गरेको जन्म कुण्डली अनुसार ‘सर्व+अर्थ+सिद्ध’ अर्थात ‘सिद्धार्थ’ र गौतम थर भएको हुनाले ‘सिद्धार्थ गौतम’ घोषण गरियो । 
   
महाराज ! सिद्धार्थको कुण्डली अनुसार चक्रवर्ती राजा हुने वा सन्यास लिए ‘बुद्धत्व’ प्राप्त गर्न सक्ने योग भएको सातै जना पण्डितहरुले एकै स्वरमा घोषणा गरे । तर, सबभन्दा कन्छो पण्डित कोण्ड्यले भने सिद्धार्थले सन्यास नै लिएर ‘बुद्धत्व’ प्राप्त गर्ने छन्, ठोकुवा गरेर भने । तर, उनी परम् विद्धान भए तापनि कन्छो भएको हुनाले त्यस समय उनको कुरामा खासै महत्व दिएन ।     
   
सिद्धार्थ गौतम जन्मिएको दशौँ दिनमा रानी महामया देवीको दुःखत निधन भयो । उनले देह त्याग गर्ने समयमा राजा शुद्धोधनको उपस्थितिमा आफ्नी सहोदार बहिनीलाई भनिन् । 
‘हे, प्रजापती !’ मैले दिव्यात्मको बुद्ध अवतार दिएर दश पारमिता पार गरी सकेँ । अब मेरो देह त्याग गर्ने समय भैसक्यो । किनभने मेरो मूल उद्देश्य भनेको दिव्यात्मको बुद्ध अवतरण गर्नु थियो । सो कार्य पूर्ण भयो । यो दरबारको सुख सयल र भौतिक सुबिधा त क्षेणिक मात्र हो । अब मैले साथमा लिएर जाने भनेको त ‘पुण्य’ मात्र हो । अब मेरोमा कुनै तृष्णा बाँकी छैन । सिद्धार्थ गौतमको पालन पोषण तिमी आफैले गर्नु भनि बचनवद्ध गराए । 
‘तपाइँको वचन म पालन गर्ने छु,’ प्रजापतिले भनिन् । 
‘यति सम्वाद भए पछि उनले देह त्याग गरिन ।’
   
केही दिन अधिसम्म हर्ष र उल्लासमय वातावरणमा रमाएको शाक्य राजदरबार एकाएक शोकमा डुबे । प्राकृतिको अकट्य नियम कसले पो परिवर्तन गर्न सक्छ र ? फेरी, मानव जीवनको अन्तिम सत्य नै मुत्यु हो । तर, चेतनशील मानिसहरुले यो सत्य कुरा किन स्विकार्न सक्दैन ? यसको वास्तबिक रहस्य कहाँ लुकेको छ ? यावत कुराहरु दश दिन अधि मात्र बुद्ध अवतार लिएका दिव्यात्मको मन भित्र उथल पुथल भैरहेको थियो । तर, प्राकृतिको नियममा बाँधिएको हुदा, उनले आफ्नो बाँणीबाट यावत कुराहरु वाचन हुन सक्दैनथे । समयको गतिलाई पर्खनु बाहेक उनीसंग पनि कुनै विकल्प थिएन । यहीनिर मानव बिकासको निरन्तर क्रमले समयको गति अनुसार अर्ध विराम लगाएको थियो ।      
   
राकुमार सिद्धार्थ गौतमको पालन, पोषण, सेवा र सत्कार सानी आमा प्रजापतीले गरिन । उनी शाक्य कुलको उत्तराधिकारी भएकोले सेवाको सवालमा कुनै कमि थिएन । पछि प्रजापतिबाट पनि सन्तान भए । उनको नाम नन्द गौतम राखियो । आजको प्रथम अध्याय यही समाप्त हुन्छ । दोश्रो अध्यायमा सिद्धार्थ गौतमको दीक्षान्त समरोहको विषयमा छलफल गरिने छ ।  

मैले विगत एक दसकदेखि बुद्ध दर्शनको विद्यार्थीको रुपमा अध्ययन गर्दै आएको छु । अध्ययनको क्रममा मैले अनुभव गरेको सत्यलाई ‘बुद्ध वचन’ बाचन कार्यक्रम मार्फत यहाँहरुलाई पनि बाँट्न मात्र खोजेको हुँ । बुद्ध दर्शन महासागर हो । मैले त्यहाँबाट एक अंजुली सुद्ध पानी पिउन खोजेको हुँ । भवतु सर्व मंगलम् । बुद्धम शरणम् गच्छामी । 

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 
5/5/2020    
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.