Cause & Effect, the wheel of life.

प्रतित्यसमुत्पादको सिद्धान्तः

Cause & Effect, the wheel of life.
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा प्रतित्यसमुत्पादको महत्व के हो भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला प्रतित्यसमुत्पादबाट उठान गरिनेछ । 

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे पछि सर्वप्रथम पञ्च वर्गिय भिक्षुहरुलाई सारनाथमा धर्मोपदेश गरे । त्यसपछि जम्बुद्धिप अर्थात उत्तरी भारत खण्डमा प्रचलित दार्शनिक मतहरुको शुष्म अध्ययन गर्न थाले । त्यस समय कपिल मुनिद्धारा प्रतिपादित सांख्य दर्शन अत्यन्तै लोकप्रिय थियो । जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूल कारणमा ‘सत्व, रज र तम’ गुण मान्ने त्यो दर्शनको मत थियो । त्यसपछि वेद, जस्मा समाजलाई ‘ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र’ गरी चार भागमा बाँडिएको थियो । त्यसपछि उपनिषद, वैदिक वाङ्मयको उएटा हिस्सा थियो । उपनिषदको मूल भावना ‘ब्रह्मा नै सत्य’ हो । आत्मा र ब्रह्मा एउटै हो । यसलाई ब्राह्मणी दर्शन भनिन्थ्यो । यस बाहेक पनि थुप्रै मतहरु प्रचलनमा थिए । जस्तैः अक्रियावादको संस्थापक पूर्णकाश्यप थियो । उनको मतमा ‘कर्मको आत्मा’मा कुनै प्रभाव हुँदैन भन्ने मान्यता थियो । नियतिवादको संस्थापक मक्खली गौसाल थियो । उनको मतमा ‘घटना घट्छ तर, कुनै पनि घट्ना स्वेच्छले घटित हुदैन’ भन्ने मान्यता थियो । उच्छेदवादको संस्थापक केशकम्बल थियो । उनको मतमा ‘स्वर्ग, नर्क, यज्ञ र होम’ आदिमा केही पनि छैन । यो सबै नाशवान हो भन्ने मान्यता थियो । अन्योन्यवादको संस्थापक पकुध कच्चायन थियो । उनको मतमा सात तत्वबाट प्राणीको सृष्टि हुन्छ । जस्तैः ‘पृथ्वि, जल, तेज, वायु, सुख, दुःख र आत्म ।’ प्रत्येक तत्व आपासमा स्वतन्त्र छ भन्ने मान्यता थियो । विक्षेपवादको संस्थापक सञ्जय बेलट्ठिपुत्र थियो । उनको मत ‘सन्देहवादमा’ आधारित थियो । चातुर्यमंसवरवादको संस्थापक महावीर थियो । उनको मतमा पूर्व जन्मको परिणाम, हिंसा, चोरी, झुटो कर्म र ब्रह्मचर्य ब्रत पालन गर्नु पर्ने मान्यता थियो । यस बाहेक पनि थुपै सानातिन स्थानीय मतहरु थिए । सबै मतहरुको शुष्म अध्ययन गरे पछि कपिल मुनिको सांख्य दर्शन र चातुर्यमंसवरवादका केही अंशलाई स्विकार गरी बाँकी सबै दर्शन र मतहरु मानव कल्याणका लागि उपयोगी ठहर नभएको अनुभव गरे ।
   
सिद्धार्थ गौतमले मनमनै सोच्यो कि मेरो जन्म हुनु भन्दा पहिल नै ब्रह्माण्डमा जीवको उत्पति र मानव सभ्यताको बिकास चरम चुलीमा पुगिसकेको छ । यो संसारको सृष्टि र जीवको उत्पति चाहे ‘ब्रह्मा, विष्णु र महेश’को कारणबाट भयो वा ‘इभ र अडम’को कारणबाट भयो ? वा ‘प्राकृतिक नियम’ अनुसार भयो ? सबै वस्तुहरु अस्तित्वमा छन् । अस्तित्वमा आइसकेका वस्तुहरु माथि विश्लेषण गर्नु भन्दा, त्यसका गुण, विशेषता, हेतु र कारण बारे जान्न आवश्यक ठाने । हिन्दु मत अनुसार त्रेता युगको ‘रामायण काण्डा,’ द्धापर युगको ‘महाभारत युद्ध’को इतिहासलाई नियालेर हेर्दा, मानव सभ्यताको बिकास कति उचाइमा थियो भन्ने कुरा प्रस्ट रुपमा बुझ्न सकिन्छ । यसपछिका ‘ग्रिक सभ्यता, इजिप्ट सभ्यता, सिन्दु घाँटीको सभ्यता, द्राविड सभ्यता, गंगा उपत्यकाको सभ्यता’ ‘नेपाल उपत्यकाको सभ्यता’ले पनि मानव सभ्यताको उत्राव चढाव कसरी भएको थियो भने कुराको स्पष्ट साक्षी दिन्छन् । 
   
आज भन्दा २६०० सय वर्ष अगाडिको सामाजिक संरचना पूर्णरुपमा सामान्तिवाद, एकाधिकारवाद, शोषण, दमन र अन्धकारको युगमा थियो । राजा, महाराजा, क्षेत्री, ब्राह्मन, पण्डित, ठूलाबडा, धनीमानीहरुको एकछत्र शासन चल्दथ्यो । उनीहरुको शासन नमाने शारीरिक यातना सहित मृत्य दण्डको अधिकारी हुन्थ्यो । अज्ञानताका कारण अन्धकारमा रुमलिएको समाजमा धर्मोपदेशबाटै सामाजिक रुपान्तरणका लागि अभियान चाल्ने तथागत बुद्धले अठोट गर्नु भयो ।         
   
उपरोक्त दर्शन र मतहरुमा मानव कल्याणका लागि खासै विश्वसिलो आधार र प्रत्यक्ष अनुभव गर्न सकिने ठोस आधार नदेखिएकाले ‘प्रतित्यसमुत्पाद’को सिद्धान्तलाई प्रतिपादन गर्नु भयो । यो ‘प्रतित्यसमुत्पाद’ संस्कृत भाषा हो । पाली भाषामा ‘पटिच्चसमुप्पाद,’ नेपाली भाषामा ‘भवचक्र वा भवसागर’ र अंग्रेजीमा म्भउभलमभलत यचष्नष्लबतष्यल भन्दछन् । जुनसुकै भाषामा जेसुकै नामबाट उच्चारण गरिए तापनि यसको मूल सिद्धान्त भनेको ‘हेतुवाद’ हो । अर्थात ‘कारण र परिणम,’ अंग्रेजीमा ुऋबगकभ बलम भााभअतु भन्दछन् ।
     
तथागत बुद्धले प्रतिपादन गर्नु भएको बुद्ध धर्मलाई धारणा गर्नु भन्दा पहिले ‘प्रतित्यसमुत्पाद’को मूल सिद्धान्तलाई बुझ्न आवश्यक हुन्छ । जबसम्म यसको मूल सिद्धान्तको बारेमा जानकारी हुँदैन तबसम्म बुद्ध धर्मको चुरी बुझ्न सकिँदैन । नबुझे पछि शंक उपशंक उब्जिन्छ । शंक उपशंकको उचित ढंगले समाधान हुन सकेन भने, मूलबाटोमा हुँदाहुँदै पनि अलमलिएर वास्तविक घरातलबाट अलगिन सक्दछ । यो ध्रुब सत्य हो । 
   
यो ‘प्रतित्यसमुत्पाद’ शब्द ‘प्रतित्य+समुत्पाद’ गरी दुइवट शब्दहरुबाट सन्धि गरिएको छ । ‘प्रतित्य भन्नाले हेतु वा कारण’ र समुत्पाद भन्नाले त्यसबाट उत्पन्न हुने बिभिन्न खालका परिणमहरु भन्ने भावार्थलाई बुझ्नु पर्दछ । ‘प्रतित्यसमुत्पाद’को सिद्धान्त बुद्ध दर्शनको मूल आधार हो । अर्थात नाभि स्थान हो । यहीबाट बुद्ध दर्शन आरम्भ हुन्छ । 
   
यसका लागि सर्वप्रथम ‘कार्य–कारण सिद्धान्त’लाई बुझ्न जरुरी छ । किनभने प्रत्येक कार्य गर्नका लागि वा हुनका लागि कुनै न कुनै कारण आवश्य हुन्छ । बिना कारण कुनै पनि कार्य, घट्ना, निर्माण, उत्पादन वा उत्पन्न हुन सक्दैन । उदाहरणको लागि एउटा माटोको घैटोलाई लिउ । माटोको घैटोलाई तयार पारिएको माटो र चक्काको सहयताबाट कुमालले निर्माण गर्दछ । यस अर्थमा हेर्दा, कुमाल बिना माटोको घैटो निमार्ण हुन सक्दैन । त्यसैले, ‘माटोको घैटो कार्य र कुमाल कारण’को रुपमा रहेको छ । यस प्रकृयालाई हेर्दा, कारण बिना कार्य संभाव हुँदैन भन्ने प्रष्ट हुन्छ । 
   
यस अर्थमा हेर्दा, यहाँनिर दुइवटा कारणहरु देखिएका छन् । ‘एउटा उपदान कारण र अर्को निमित्त कारण ।’ निमित्त कारण भनेको निमार्ण गर्ने शाक्ति हो, जस्ले वस्तुको निमार्ण गर्दछ । उपदान भनेको त्यो वस्तु हो, जसबाट वस्तुको निमार्ण हुन्छ । अब हामीले बुझ्नु पर्ने कुरा के छ भने, उपदान भनेको कच्च पदार्थहरुको समुह हुन् । जस्तैः माटो, सहयोगी साधन, पानी र घुमाउने चक्काको सामग्री आदि । निमित्त कारण भनेको कुमाल हो, जस्ले घैटोको निमार्ण गर्दछ । 
   
बुद्धले चार आर्य सत्यको दोस्रो बुँदामा ‘दुःख, दुःखको कारण र यिनको समुदाय’ भन्नु भएको छ । वहाँले यसलाई ‘कार्य–कारण सिद्धान्त’को आधारमा व्याख्या गर्नु भएको छ । यो सिद्धान्त १२ वटा अवस्थाहरुमा आधारित रहेका छन् । जसलाई ‘दुवादश निदान’ भन्दछन् ।  
   
बुद्ध दर्शनको मेरुदण्डको रुपमा स्थापित ‘प्रतित्यसमुत्पाद’को सम्पूर्ण क्रिया र प्रकृयाहरु ‘कार्यकारण सिद्धान्त’मा आधारित हुन्छन् । प्रतित्यसमुत्पादको उत्पति ‘द्धितीय आर्य सत्य’बाट आरम्भ हुन्छ । द्धितीय आर्य सत्य भनेको ‘दुःखको कारण र यिनको समुदाय’ हुन् । यी समुदायहरु १२ वटा अवस्थाहरुमा उत्पन्न भएका छन् । एउटा अवस्थामा उत्पन्न भएका कारण अर्को अवस्थामा आश्रित हुँदै जान्छ । माथि नै उल्लेख गरिसकेको छ कि ‘प्रतित्यसमुत्पाद’ सन्धि शब्द हो । ‘प्रतित्य+समुत्पाद’ । ‘प्रतित्य’को अर्थ ‘हेतुवाद’ अर्थात एउटा वस्तुको अपेक्षा वा इच्छा गर्दा, दोस्रो अवस्थाको ‘समुत्पाद’ वा उत्पन्न हुने । यो ‘कार्यकारण सिद्धान्त’को मूल प्रकृया हो । 
   
उदाहरणको लागि एउटा दियोलाई लिउ । एउटा कोठामा दियो बले पछि मात्र त्यसबाट प्रकाश उत्पन्न हुन्छ । अर्थात ‘दियोबाट प्रकाश’ । यो प्रकृयालाई हेर्दा, दियोलाई कारण र प्रकाशलाई कार्यको रुपमा स्पष्ट बुझ्न सकिन्छ । अर्थात एउटा वस्तुको जगमा रहेर अर्को वस्तुले अस्तित्व वा उत्पति प्राप्त गर्दछन् । यसलाई आश्रित वा आधारित सिद्धान्त पनि भन्दछ । यसबाट के प्रमाणित हुन्छ भने, एउटा वस्तुको उत्पति गर्नका लागि अर्को वस्तुको आधार आवश्यक हुन्छ । सिद्धान्तत् यसबाट के कुराको पुष्टि हुन्छ भने, कुनै पनि कार्य ‘आकास्मिक वा स्वतन्त्र’ रुपमा उत्पन्न हुन सक्दैन । सबै कारणहरु परतन्त्र छन् । त्यसैले, बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थहरु जस्तैः धम्मपद, प्रज्ञापारमिता, अनीश्वरवाद, अनित्यवाद, आनन्तवाद, क्षणिकवाद, दीर्घनिकाय, मझ्झिम निकाय, अंगुत्तर निकाय, अभिधर्म पिटक र विनय पिटक आदि यिनै सिद्धान्तमा आधारित रहेका छन् ।
   
दियोबाट प्रकाशको उदाहरण माथि नै दिइसकेको छ । तर, दियो बाल्नका लागि एउटा दियोमात्र पर्यप्त हुँदैन । यसका लागि प्याला, तेल, बात्ति, बाल्नका लागि माचिस, दियो बल्न सक्ने उपयुक्त वातावरण, पर्यप्त अक्सिजन, हावा नचल्ने र वर्ष नहुने आदि वातावरणमा दियो बाल्न सकिन्छ । अनि मात्र दियोबाट प्रकाश उत्पन्न हुन्छ । उपरोक्त समुहमा भएका एउटा पनि वस्तु ठिक समयमा उपलब्ध हुन सकेन भने प्रकाशले अस्तित्व लिन सक्दैन । प्यालामा तेलको मात्र समाप्त भयो भने वा बात्ति सकियो भने वा उपयुक्त वातावरण भएन भने पनि प्रकाशको अस्तित्व स्वत समाप्त हुन्छ । यसबाट के कुराको ज्ञान हुन्छ भने, प्रकाशको अस्तित्व उनको सहयोगी सामग्रीहरुको मात्रा र सन्तुलन माथि निर्भर रहन्छ । यसैलाई आश्रित सिद्धान्त भनिन्छ । 
   
बुद्धले चार आर्य सत्यको विषयमा भनिसक्नु भएको छ कि यो भवसागर दुःखले भरिएको छ । दुःखको कारण र समुह छ । दुःखबाट छुटकारा पाउने उपाय छ । दुःखबाट मुक्ति हुन सक्ने अवस्था र मार्ग छ । अर्थात निर्वान प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछ । चार आर्य सत्यको वास्तविक अवस्थालाई ‘दुवादश निदान’को श्रंखलावद्ध तरिकाले उदाहरण दिनु भएको छ । जस्तैः जरामरण, जाती, भव, उपदान, तृष्णा, वेदना, स्पर्ष, षडायतन, नामरुप, विज्ञान, संस्कार र अविद्या । यी श्रृंखलाहरु एक पछि अर्को कारणमा आश्रित हुँदै अविद्यामा समाप्त हुन्छ । 
   
१. जरामरण— जरामरणको अर्थ बृद्ध अवस्था हो । किनभने, मानिस जन्म लिन्छ । कर्म गर्छ । भोग गर्छ र मानव शरीर जरजर भएर समाप्त हुने अवस्थामा पुग्दछ । यही हो दुःखका कारण र समुह । चाहे त्यो रोगको कारणा होस् । शोक, भोग र विलासको कारण होस् । अथवा बृद्ध अवस्थाका कारणबाट होस् । सबैको जगमा एउटै कारण छ, ‘दुःख’ । 
   
२. जाति— जातिको अर्थ जन्म लिनु हो । जरामरणको कारणबाट जन्म हुन्छ । मानिसको जन्म भए पछि परिवार अनुसारको संस्कार हुन्छ । क्रमिक रुपमा शारीरिक बिकासका साथसाथै मानसिक विकास पनि हुँदै जान्छ । अवस्था अनुसारको आवश्यक्ता परिपुर्ति गर्न भव, इच्छा, आकांक्षाको चाहना तिब्र रुपमा बढ्दै जान्छ । जातिको सवालमा यही क्रम जारी रहन्छ ।    
   
३. भव— भवको अर्थ इच्छा गर्नु हो । जातिको कारणबाट भव प्रकट हुन्छ । मानिसको जन्म भए पछि क्रमिक रुपमा शारीरिक विकासका साथसाथै मानसिक विकास पनि हुँदै जान्छ । त्यही अवस्थाको परिपुर्ति गर्नका लागि भव प्रकट हुनु वा इच्छा गर्नु वा हुनु स्वभाविक प्रकृति हो । 
   
४. उपदान— उपदानको अर्थ वस्तु प्रतिको मोह हो । भव को कारण उपदान हुन्छ । मानिस प्राणिहरुमा श्रेष्टतम् हो । उनलाई वस्तुको गुण र स्वभावको बारेमा जानकारी हुन्छ । त्यसैले, उत्कृष्ट वस्तु प्रति मोह प्रकट हुनु मानविय स्वभाव हो । यसमा कुनै शंका छैन । 
   
५. तृष्णा— तृष्णाको अर्थ काम र वास्ना प्रति असक्ति हो । उपदानको कारण तृष्णा पैदा हुन्छ । तृष्णाको आत्मा नै अहंकार हो । अहंकारले यो पाए हुन्थ्यो । त्यो पाए हुन्थ्यो । यसो गर्छु । त्यसो गर्छु । सबै राम्रो वस्तु मेरो हुनु पर्छ । सबैले मलाई सेवा सत्कार गरोस् आदि तृष्णाको अहंकार हो ।   
   
६. वेदना— वेदनाको अर्थ इन्द्रियहरुको अनुभव हो । तृष्णाको कारण वेदना उत्पन्न हुन्छ । तृष्णाको आत्मा नै अहंकार हो । त्यसैले, इन्द्रियहरुले प्रत्येक वस्तुको अनुभव गर्न चहान्छ । जस्तैः आँखाले दृश्यको अनुभव गर्ने । कानले सुनेर अनुभव गर्ने । नाकले सुँघेर अनुभव गर्ने । जिब्रोले स्वादको अनुभव गर्ने । छालाले स्पर्षबाट अनुभव गर्ने आदि वेदनाका अवस्थाहरु हुन् ।      
   
७. स्पर्ष— स्पर्षको अर्थ इन्द्रियको विषयहरुसंग संयोग हुने अवस्था हो । वेदनाको कारण स्पर्ष भाव प्रकट हुन्छ । माथि वेदनामा उल्लेख गरिए झै आँखाले दृश्यको विषयसंग, कानले श्रवण शक्तिसंग, नाकले सुगन्ध र दुर्गन्धको विषयसंग र जिब्रोले स्वादको विषयसंग संयोग गर्दछन् ।     
   
८. षडायतन— षडायतनको अर्थ पाँच इन्द्रियहरुको केन्द्र मन हो । स्पर्षको कारण षडायतनको अवस्था सिर्जना हुन्छ । माथि स्पर्षमा उल्लेख गरिए झै इन्द्रियहरुले विषयसंग संयोग गर्दछन् । ती सबै इन्द्रियहरुको केन्द्र षडायतन वा मन हो । मनबाट नै सबै इन्द्रियहरुको सञ्चालन हुन्छ । त्यसैले, मन शुद्ध हुनु पर्छ । शुद्ध मनबाट इन्द्रियहरुको शद्धिकरण हुन्छ । 
   
९. नामरुप— नामरुपको अर्थ भौतिक शरीर हो । षडायतनको कारण मन युक्त भौतिक शरीरको अस्तित्व रहन्छ । भौतिक शरीरको विकासका साथसाथै मानसिक अवस्थाको पनि विकास हुन्छ । विकासको पूर्ण भोग सकिए पछि विनास हुन्छ । यही प्राकृतिको नियम हो । 
   
१०. विज्ञान— बिज्ञानको अर्थ चेतना हो । नामरुपको कारण बिज्ञानको बिकास हुन्छ । माथि नामरुपमा उल्लेख भए झै, भौतिक र मानसिक अवस्थाको बिकास नै विज्ञान हो । बिज्ञानको आत्मानै चेतना हो । जहाँबाट सम्पूर्ण ज्ञानको दियो अविराल बल्दछ ।  
   
११. संस्कार— संस्कारको अर्थ जन्म र कर्म हो । बिज्ञानको कारण संस्कारको बिकास हुन्छ अर्थात जन्म हुन्छ, कर्म गर्छ, भोग गर्छ र मृत्यु हुन्छ । यही प्रकृया संस्कारको प्रकृति हो ।   

१२. अविद्या— अविद्याको अर्थ ज्ञानको आभाव हो । संस्कारको कारण अविद्याको अवस्था हुन्छ । अविद्याको कारण के हो ? यहाँनिर कार्य–कारण सिद्धान्त मौन अवस्थामा रहन्छ । किनभने उपरोक्त ११ वटा श्रृंखलाहरु एक पछि अर्को गर्दै अविद्यामा आएर समाप्त हुन्छ । अर्थात दियोबाट भैरहेको प्रकाश अविद्यामा समाप्त हुन्छ । यो अवस्था परम् अतिक्रमण हो । अतिक्रमणबाट अन्धकार सुरु हुन्छ । अन्धकार भनेको निराकार हो । जहाँ कुनै आकार प्रकारको अनुभव हुँदैन । अर्थात बिलकुलै शुन्यको अवस्था हुन्छ । यो वास्तविक समाधिको अवस्था हो । जहाँबाट निर्माणपद प्राप्त गर्न सकिन्छ । निर्माण भनेको जरामरणको अवस्थाबाट अलग हुनु हो ।         
   
प्रतित्यसमुत्पादले मानव जीवनको तीनै काललाई एक आपासमा सम्बन्ध बनाएर राखेका छन् । जस्तैः अविद्या र संस्कार भूत कालसंग, जरामरण र जाती भविष्य कालसंग र भव, उपदान, तृष्णा, वेदना, स्पर्ष, षडायतन, नामरुप र बिज्ञान वर्तमान कालसंग सम्बन्धित रहेका छन् ।

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा बुद्ध युगको आरम्भ किन र कसरी भयो भन्ने विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 
6/19/2020
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.