सेलिब्रेटी लोक बहादुर गुरुङको संझनामा

 सेलिब्रेटी लोक बहादुर गुरुङको संझनामा, 

नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म व्यवसायिक लेखक होइन । तर, कोरानाको लामो लकडाउनमा सोसल मिडिया हेर्ने र ब्लग लेख्ने त दैनिकीनै भैसक्यो । आज हामी सेलिब्रेटी लोक बहादुर गुरुङको छोटो परिचय लिएर पाठकहरु माझ आएका छौं । आशा छ, विद्धान पाठकहरुलाई, हाम्रो कोसेलीले क्षणिक भए पनि सेलिब्रेटीसंग भेटघाट गराउने छ । प्रस्तुत संक्षिप्त जिवनी अमेरिका कोलोराडो निवासी चोग अरुण कुमार गुरुङले लेख्नु भएको सामग्रीमा आवश्यक सम्पादन गरिएको छ । कल्याण मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको कोसेली लोक बहादुरबाट उठान गरिनेछ । 

१. विषय प्रवेशः  सेलिब्रेटी लोक बहादुर गुरुङले विक्रम संवत २०३७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षामा स्नातक गरे पछि  श्री भद्रकाली हाई स्कुल, पोखरबाट शिक्षण पेशा आरम्भ गर्नु भयो । २०४३ सालमा प्रधानाध्यपक पदमा पदोन्नति भए पछि शिक्षण क्षेत्रमा मन, वचन र कर्मले समर्पित भएर शिक्षण क्षेत्रमा लामो समय चेतनाको दियो बाल्ने प्रयत्न गर्नु भयो । उनी कुशल प्रशासक, गीत, संगित, साहित्य र शिक्षा पे्रमि थिए ।  

नेपालको संघीय संरचना अनुसार स्थापित गण्डकी प्रदेशको राजधानी प्राकृतिले सिँगरिएकी सुन्दर नगरी पोखराबाट प्रकाशित हुने ‘तमू संसार त्रैमासिक’ बौद्धिक पाठकहरुको स्वाच्छ भावनाबाट प्रस्फुटित हुने गीत, कविता, गजल, मुक्तक, लेख, रचना, कथा, निबन्ध, प्रबन्ध, चिन्तन, मनन, तर्क, वितर्क, दर्शन, संस्कार, संस्कृति, अभिव्यक्ति, व्यत्तित्व परिचय र समसामयिक सामाजिक परिवेशलाई उत्कृष्ट मानविय चेतनाद्धारा निखार्ने र तिखार्ने साझा मन्च हो । पत्रकारिता भनेको समय अनुकुल निष्पक्ष रुपमा सूचनाको अधिकार आदान प्रदान गर्ने शसक्त माध्ययम हो । समयको उकाली ओरालीहरुको विभिन्न चुनौतिहरुको सामना गर्दै, लगभग एक बिसाको बसन्तमा प्रवेश गर्दै छ । यस पावन अवसरमा ‘तमू संसार त्रैमासिक’ परिवारलाई हार्दिक धन्यवाद ।

२. लोक बहादुरको दृष्टिकोणः  गुरुङ जातिहरु अन्नपूर्ण हिमालको सेरोफेरो बसोबास गर्ने मूल आदिवासीहरु हुन् । प्राकृतिक पथ बोन संस्कृतिमा मौलाएर शान्ति र समृद्धिका लागि बौद्ध मार्गमा ढल्किएका यी जातिका भाषा, भेषभूषा, साहित्य, श्रुति वेद, परम्परा, संस्कार र संस्कृति अत्यन्तै समृद्ध छन् । तर, समय अनुकुल बसाइँ सराइ, गोर्खा भर्ति, अवसरको खोजि, शहरीकारण र भुमण्डलिकरणको प्रभावबाट अलिखित रुपमा रहेको गुरुङको मौलिक संस्कृतिमा तिब्र गतिमा ह्रास हुँदै आएको तितो यर्थाततालाई कसैबाट पनि लुकाउन मिल्दैन । यो ध्रुब सत्य हो । 

यिनै तितो यर्थातताको वस्तविकतालाई मनन गर्दै, गुरुङको भाषा, भेषभूषा, मौलिक संस्कृतिमा आधारित परम्परागत संस्कारको मुल्य र मान्यतालाई संरक्षण, सम्र्वधन र व्यबहरिक रुपमा केहि हदसम्म भए पनि उजागर गर्ने मनासयबाट अभिप्रेरित भएर श्री अमरसिँह हाई स्कूलको प्रधानाध्यापक सेवाबाट अवकास लिए पछि कर्म योद्ध लोक बहादुर गुरुङले वेद बहादुर (श्याम) गुरुङको सहकार्यमा विक्रम संवत २०५८ सालमा ‘तमू संसार’को स्थापना गर्नु भयो । यस यात्राको दौरान ‘तमू संसार’ले के कति तितो मिठो आरोह आबरोहहरुको सामना गर्न पर्यो, त्यो आफ्नै इतिहासको पानामा लेखिएका होलन तर, प्रत्येक अंकले नेपाली समाजको मन छुन सक्ने सामाजिक र समसामयिक विषय वस्तुहरु हुबहु पस्कना सफल भएकोले पाठकहरु माझ लोकप्रियता भएको पाइन्छ । 

यस बाहेक अलिखित रुपमा रहेको गुरुङको समृद्ध संस्कृतिलाई भावि पुस्तामा हस्तान्तरण गर्नका लागि गुरुङको भाषा, भेषभूषा, साहित्य, मौलिक रीतिथिति, संस्कार र परम्परामा आधारित कथा वस्तुको मार्मिक भावना र प्रतिविम्बहरुलाई डिजिटल प्रविधि मार्फत जनमानसमा उजागार गर्नका लागि विक्रम संवत २०५८मा अभियान फिल्मस प्रा.लि.को स्थापना गरे । 

३. लोक बहादुरको प्रतिभा:  प्रसिद्धि स्रष्टा लोक बहादुर गुरुङमा असाधारण प्रतिभा थियो । उनमा चेतनाको दियो पूर्ण रुपमा प्रकाशित भैसकेको थियो । चेतना भनेको मानवको अन्तरात्माद्धारा प्रकाशित हुने अन्तिम प्रज्ञाको प्रज्वलित ज्योति हो । जुन ज्योतिले दूरदर्शीता अपनाउन सक्दछ । सामाजिक चरित्र र जीवनको कर्म क्षेत्रलाई सही दिशामा निर्देशन र मार्गचित्र गर्न सक्दछ । मानविय मुल्य र मान्यताको सही अर्थमा विश्लेषण र शस्लेषण गरी प्रत्येक मनोभावनालाई सही अर्थमा बुझ्ने प्रयास गर्दछ । यसबाट कसले कुन समयमा के काम गर्दा, उपयुक्त प्रतिफल प्राप्त हुन्छ भन्ने कुराको पूर्ण रुपमा जानकारी हुन्छ । समयको गति, माग र आवस्यकता बमोजिम व्यापार, व्यवसाय, उद्योग र उत्पादनशील क्षेत्रमा लगानि गरी स्रोत साधनको बृत्ति विकास गर्नु पर्छ । उत्पादन क्षेत्रले सेवा र रोजगार मुलक वातावरणको सिर्जन गर्दछ । त्यही बृत्ति विकासको जगबाट समृद्ध नेपाली समाजको परिकल्पना गर्न सकिन्छ भन्ने मुल्य र मान्यताको अभियन्ता थिए ।  

४. चलचित्रको यात्राः  उनले ‘डाँफेकला मन्दिर,’ पोखराको सञ्चालक मिन बहादुर गुरुङको निर्देशनमा सहकार्य गर्दै ‘न्हाम्स्यो न्होरी’ फिल्मबाट चलचित्रको अभियान थाल्नु भयो । हरेक समाजका लव्ध प्रतिष्ठित भद्र भलादमीहरुको अनुभव र मौलिक भावनालाई समेटेर चलचित्रको कथा वस्तुलाई ओजपूर्ण वनाउने प्रयत्न गर्नु हुन्थ्यो । उनको कथा वस्तुमा तमूवान क्षेत्रका सवै जसो प्रख्यात गाउँ, वस्ति, हिमचुली, देवचुली, वरचुली, वुकेनी लेक, खर्क, खोरिया, फलफुल, चरा, च्याखुरा, वन, वनस्पति, पाखा, पखेरा, झर्ना, खोला, नदी, नाला, उकाली, ओराली, भञ्याङ्ग, चौतारी, स्थानीय रीतिथिति, घाँटु, सोरठी, रोधीँ, लेकजात्रा आदिको वास्तविक मर्मलाई हुबहु प्रतिविम्ब गर्ने प्रयास गरेको आभास पाइन्थ्यो ।

५. पुरस्कार र अवार्डः  उनी शिक्षा एवं समाज सेवाका पुरस्कार, अन्नपूर्ण म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड र गोर्खाली म्युजिक अवार्डका साथै विभिन्न संघ संस्थाहरुबाट मानसम्मान र अभिनन्दन पत्रद्धारा अभिनन्दित भए । उनको शेष पछि छायांकन भएको युम्पो देउराली गुरुङ भाषाको चलचित्र २०७२ सालको सर्वोकृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड प्राप्त गर्न सफल भए ।

यसको लेखन तथा निर्देशन वेद बहादुर (श्याम) गुरुङ र कथा लोक बहादुर गुरुङद्धारा तयार गरिएको थियो । निर्माताहरुमा एकेन्द्र गुरुङ, सिता गुरुङ, दिलिप सिँ गुरुङ, श्याम गुरुङ, मुक्षेत्र गुरुङ, त्रिलोक गुरुङ, मिलन तमू, प्रेमकाजि गुरुङ, दिनेश गुरुङ र कमल गुरुङद्धारा संयुक्त रुपमा निमार्ण गरिएको थियो ।    

६. लोक बहादुरको चलचित्रहरुः  पूर्व प्रधानाध्यापक, शिक्षाविद, सामाजिक अभियान्ता, लेखक, गीतकार, निर्देशक, निर्माता, वहु प्रतिभाका धनी सेलिब्रेटी स्रष्टा लोक बहादुर गुरुङद्धारा निर्मित चालचित्रहरुको क्रममा न्हाम्स्यो न्होँरी (कुहिरो भित्र)बाट आरम्भ गरि रीँ च्हमी (चेली वेटी), ङ्योए नास ट्हो (हाम्रो गाउँ घर), हेर्बै ट (लेकाली फुल), चोँ (भाउज्यु), क्रमुँ (मुजेत्रो), प्ह्रेँस्यो (दुलही), धीँ (घर) र युम्पो देउराली (ढुङ्गे देउराली) आदि प्रमुख हुन । युम्पो देउराली छायांकन गर्ने कार्यक्रमको तयारी हुँदै गर्दा, विक्रम संवत २०७१ साल भाद्र १९ गते उनले भौतिक संसार छाडे । 

उनको मर्मस्पर्सी गीतहरुमा, मारा चाँदी आचैदी हीरा, मोत आचैदी, पोरे ट थुमिनो ङोलो क्र म्हाजर ख्यामिनो, ताइ ङ्होमा हे म्रोँवा माइ ङ्होमा स्योँ तव, म्हैस्तिनी म्रोंदिमो ओ नासरी, तो तो प्ह्रिस्योम ङए कर्मरी, छ्यावह्रनी ङोल्स्यो, देउरालिरी प्रेनो, खन वोले वोदो ङलाई तारे चु जीन्दगिर, छोह छ्याए वुट्टे क्रमु कुवा, मुरबै मुसारा, गंगारबै क्यु भन्दा चोखो, क्यु फुई भन्दा चोखो माया, म्होररी म्रोब आयोवा सैँमरी त्होल, आयादो ठागु आयादो आच्यों विदेश, आधि माया क्योँल आधि माया ङल र ङ मु परदेशरी आदि हुन । 

यस बाहेक उनले नेपाली गीतहरु पनि रचना गर्नु भएको छ । जस्माः भञ्ज्याङ्ग काटेर नजाउ, दिल तोडेर नजाउ, ल्होछारः वर्ष दिनको यो हाम्रो चाढ, चिसो चिसो हावा छ, चाँदिको च्यादर ओडी झल्की रहने हिमाल, घर त मेरो लम्जुङ हो दाइ र वादलुको घम्टो ओडी सधैं हासिरहने आदि । 

७. लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानः  णडकी प्रदेश, कास्की जिल्ला, मौजा, आँटिघर, लामास्वारामा बाबा जि.मु. डम्वरवहादुर तथा आमा भानु कमारी गुरुङका चार भाई छोरा, पाँच वहिनी छोरीहरु मध्ये माहिला सन्तानको रुपमा २००४ वैशाख २० गते राष्ट्रवादी व्यत्तित्वका धनी स्वर्गीय लोकवहादुर गुरुङको जन्म भएको थियो । उनको एक छोरा र एक छोरी छन् । उनले २०७१ भाद्र १९ गतेका दिन भौतिक देह त्याग गरे । यस्तो असाधारण प्रतिभाको धनी हर युगमा जन्मिन दुर्लभ छ । उनको अभियान र पुरुषार्थको सदा स्मरण गर्नका लागि, ‘लोकदहादुर गुरुङ स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरु मध्ये एक जनालाई रु ३५,००० को नगद सहित सम्मान गर्दै आएका छन् । ‘तमू संसार’को प्रधान सम्पादक रोशनी गुरुङको फेस बुक वालमा प्रकाशित जानकारी अनुसार यस वर्षको चौथो स्मृति दिवासको अवसरमा शिक्षासेवी पम्फा गुरुङलाई सम्मान गरिएको थियो । पम्फा गुरुङ लिटल स्टेप माध्यमिक विद्यालय तथा लिंकन इन्टरनेशनल कलेज, पोखराका संस्थापक प्राचार्य हुनुहुन्छ । कार्यक्रम भदौ १९ गते २०७५का दिन अमरसिंह चोक स्थित लेकाली चुलो घरमा प्रतिष्ठानको अध्यक्ष तथा मादि गाउँपालिकाको प्रमुख श्री वेद बहादुर गुरुङ (श्याम)को अध्यक्षतामा आयोजना गरिएको थियो । 




८. तमू संसारको वर्तमानः  तमू संसार त्रैमासिकको विरासतलाई गत सातौँ वर्षदेखि कर्मष्ट एवं उदियमान तारा एवं रेडियो प्रस्तोता रोशनी गुरुङले हाँक्दै आउनु भएकी छिन । उनको योग्यता, क्षमता, प्रतिभा र लगनशीलताले पत्रिकालाई नियमित सञ्चालन गर्न सफल भएकी छिन् । यस्ती प्रतिभाकी धनी र वहुआयमिक ‘चेली’लाई असल र सक्षम नागरिक बनाउन सफल हुने माता पितालाई हार्दिक नमन ।  

‘तमू संसार’ त्रैमासिकको सत्रौँ वर्षको यात्रामा केही कमिकमजोरीहरु त आवश्य नै रह्यो होला तर पनि यसको निरन्तरताको प्रयास सफलताको प्रतिक हो । २१ औँ सताव्दिको प्रविधि, समयको गति, माँग, आवस्यकता र विश्वव्यपिकरणको प्रभावबाट भुगोलको विभिन्न शहरहरुमा बसोबास गर्ने विद्धान पाठकहरुलाई पनि समय सापेक्ष बौद्धिक खुराक प्रदान गर्नका लागि ‘तमू संसार’ त्रैमासिकले अनलाइन प्रविधि मार्फत सम्प्रेशन गरिरहेका छन । यसको प्रभावकारीता र निरन्तरता विद्धान पाठकहरुमा निर्भर रहने कुरा हो । अनलाइन ‘तमू संसार’ले उत्तरोत्तर प्रगति गरोस् ।       

राजनीतिकर्मी, समाज सेवी, उत्कृष्ट कलाकार, प्रतिष्ठानको संस्थापक श्याम गुरुङ, प्रधान सम्पादक रोशनी गुरुङका साथै पत्रिकालाई यो उचाइसम्म ल्याउन सहयोग गर्नु हुने सम्पूर्ण लेखक, विज्ञापन दाता, विद्धान पाठकहरु र त्रैमासिक प्रकाशन परिवारको उन्नति प्रगतिको लागि हार्दिक शुभकामना ! 

अन्तमा, ‘तमू संसार’को जननी एवं अभियान फिल्मसको संस्थापक सेलिब्रेटी स्रष्टा लोक बहादुर गुरुङको प्रसिद्धि सधै अमर रहुन ! विद्धान पाठकहरुले मन खोलेर प्रतिकृया दिनु होला । यो लेख गुरुङ राइटर्स डट कममा दुइ वर्ष अगाडि प्रकाशन गरिएको थियो । प्राविधिक कारणले वेभसाइट बन्द भएककोले गुरुङ स्कुलको ब्लगमा पुनः प्रकाशन गरिएको छ । धन्यवाद ।  

चोग अरुण कुमार गुरुङ, कोलोराडो, अमेरिका ।                                                                                  9/1/2020

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.