बुद्धको अन्तिम लक्ष्य महापरिर्निवाणः

 बुद्धको अन्तिम लक्ष्य महापरिर्निवाणः


नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा बुद्धको महापरिनिर्वाणको बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला महापरिनिर्वाणबाट उठान गरिनेछ ।   

‘तथागतले बैशालीमा विहार गरिरहदा, यसो भने—’   ‘भिक्षु आनन्द .....’ तथागत एकछिन मौन बसे ।

तथागतले केही नभने पछि भिक्षु आनन्दले तथागतको मुहारमा पुलुक्क हेरे । उनको मुहारमा प्रकाशको किरणहरु छिनछिनमा उदाउने र अस्ताउने भैरहेको थियो । हर्ष र विस्मतका संकेतहरु एकसाथ आउने जाने भैरहेको थियो । यस्तो अवस्था पहिलो पटक देखिएकोले आनन्द एकदमै दुबिभामा परे । तत्काल केही भन्न सकेनन् । 

‘आनन्द, तिमीले के सोँचिरहेकोछ,’ बुद्धले सोध्यो । ‘भन्ते, भन्ते .....’ आनन्द फेरी चुप भयो ।  

‘हे आनन्द,’ यो भाव सागरमा उत्पन्न भएका प्राणीहरु र बस्तुहरु सबै अनित्य छन् । यसमा तिमी र म पनि हो । आज बिहना सबेरै स्वयं काल आएर मेरो कर्म भोगको काल समाप्त भयो भनेर स्पष्ट संकेत दिन आए । मैले उनलाई सय दिनको समय माँगेको छु । अर्थात अब मेरो भोग सय दिन मात्र बाँकी छ, तथागतले भन्यो । 

 ‘तथागतको कुरा सुनेर आनन्द दुःखि भए ।’ ‘हे आनन्द,’ मेरो कुरा सुनेर तिमी दुःखि हुनु पर्ने कुनै कारण छैन । किनभने, तिमी पनि त अनित्य छौं । मानिसको जन्म भए पछि एक दिन मृत्यु हुने त शास्वत सत्य हो । यसमा कसैको दुइ मत हुनै सक्दैन । हाँ, फरक यति मात्र हो कि, अल्पायु, मध्यायु र दीर्घायु । को कहाँ कहिले, कस्तो अवस्थामा कसरी उनको मृत्यु हुन्छ ? त्यो उनको कर्म भोगले निर्धारण गर्दछ । यसको ज्वालन्त उदाहरण भिक्षु देवदत्त हुन् । उनले युवा अवस्थादेखि मुत्यु हुने समयसम्म मसंग प्रतिशोध साँध्न खोजे । तर, मैले उनलाई सधै करुणा दिए । करुणको साथमा प्रेम, प्रज्ञा र त्याग दिए । तर, उनले त्यसलाई चिन्न सकेन । तीन दशक भिक्षुको उपासना गरेर पनि अर्हत प्राप्त गर्न सकेन । उनले अब नयाँ जातक पाउने छन् । त्यो जातकमा स्मृति र प्रज्ञाको अवस्था कस्तो रहन्छ ? त्यसैमा उनको नयाँ जातकले स्वरुप लिने छन् । जातकको कुराहरु साधारण मानिसका लागि जटिल विषय हो । यो जटिल विषय तत्वज्ञान भन्दा धेरै पर छ । सबैले बुझ्न सक्दैनन् । त्यसैले, दुःखि हुन्छन् । जसरी अहिले तिमी दुःखि भएका छौं । तिमीले त अर्हत प्राप्त गरिसकेको छ । किन दुःखि हुन्छौं ? केही दिन अगाडि तिमीले सोधेको प्रश्न पुनः स्मरण गराउन चहान्छु ।

‘त्यो दिन मैले यसो भनेको थिए ..... ।’ ‘ईश्वर छ । ईश्वर छैन । ईश्वर छ वा छैन थाहा छैन ।’ 

इतिहासदेखि वर्तमानसम्म चलि आएका प्रत्येक धार्मिक  सम्प्रदायहरुले आ–आफ्नै मत अनुसार सिद्धान्त प्रकट गरेका छन् । त्यही मतको प्रभाव समाज र समूहमा जिवित रहेका छन् । मैले ईश्वरको अस्तित्व कहाँ छ ? भनेर पटक पटक ठाउँ ठाउँमा उपदेश दिइसकेको छु । तर, पनि मानिसहरुले त्यही प्रश्न पुनः दोहोराउन चाहन्छन् । किनभने, मानिसको मन यति मुलायम हुन्छ कि एक पटक बसिसकेको छाप पुनः मिटाउन कठिन हुन्छ । यही छापको नाम हो आस्था ।

मैले प्रतिपादन गरेको बुद्ध धर्मले अरुको मतलाई त्यागेर बुद्ध धर्मलाई अपनाउ भनेको छैन । आस्थालाई नमान भनेको छैन । तर, जुन मतमा आस्था राखिन्छ त्यो मतको बारेमा राम्रोसंग जानेर, बुझेर, सुनेर, चिन्तन, मनन र विश्लेषण गरेर मात्र स्विकार गर्नु भनेको हो । किनभने, पहेलो रंगको सबै वस्तुहरु सुन हुन सक्दैन । यदि त्यो वस्तुमा सुनको कणहरु छन् भने पनि त्यसलाई केलाएर खारेर मात्र शुद्ध सुन बनाउन सकिन्छ । विद्यमान समाजमा पनि ‘ईश्वर छ, ईश्वर छैन, ईश्वर छ वा छैन थाहा छैन ।’ यही दुबिधाभास तर्क बितर्कमा सम्पूर्ण समाज अलमलिएको छ । अन्धविश्वासमा समाज चलेका छन् । यसैलाई शुष्म रुपमा चिकित्शाह गर्न खोजिएको हो । त्यसैले, ‘अपो दिपो भव’ अर्थात आफ्नो दिपक आफै बन्नु । कसैमा पनि आँखा चिम्लेर भरोसा नगर्नु । आज म छु, तिमी मेरो साथमा छ । तर, सय दिन पछि म हुदैन । अझै पनि केही शंकाहरु छन् भने, सोध्ने समय छ । अब मैले निर्वाण मार्ग प्रशस्त गरिसकेको छु । त्यो मार्ग ग्रहण गर्नु पर्छ, बुद्धले उपदेश दिए । 

‘यो निर्वाण के हो भन्ते,’ आनन्दले दोहोरायो । यो निर्वाण भनेको जिवित अवस्थामा हुदै सम्पूर्ण भाव र क्लेशबाट मुक्त हुनु हो । अर्थात क्लेश वा तृष्णाबाट मुक्त भए पछि मात्र मन शान्त हुन्छ । शान्त भए पछि स्थिर हुन्छ । स्थिर भए पछि ध्यान मार्ग प्रशस्त हुन्छ । ध्यान मार्ग प्रशस्त भए पछि समाधिमा जान सरल हुन्छ । त्यही सरल मार्गबाट परिनिर्वाण प्राप्त हुन्छ । अहर्तहरु र कम्तिमा पनि श्रोतापति फल प्राप्त गरेका उपासक र उपासिकाहरुले पनि परिनिर्वाण प्राप्त गर्न सक्दछन् । यसैगरी, गृहस्तिहरुको हकमा भने शील पालना गरेको तर, निर्वाण मार्ग प्रशस्त गरी नसकेका अवस्थामा भने, स्मृति सहित देहत्याग गर्न सकेमा कम्तिमा पनि तीन जातक पार गरे पछि प्रत्येक जातकमा एकएकवटा पारमिता पार गर्न सकेमा परिनिर्वाण प्राप्त गर्न सक्ने छन् । तर, बुद्धहरुले भने महपरिनिर्वाण प्राप्त गर्ने छन् । म भन्दा पहिलेका बुद्धहरुले पनि महापरिनिर्वाण प्राप्त गरेका थिए । भविष्यमा आउने मैत्री बुद्धले पनि महापरिनिर्वाण लिनेछन् ।   

‘आनन्द,’ यो मेरो भौतिक शरीर पुरानो यन्त्रझै जरजर भैसकेको छ । यसलाई त्याग्ने लायक भैसकेको छ । भिक्षु महासंघलाई कुशी नगरतिर प्रस्थान गर्न सूचना गर्नु । भोलिदेखि हाम्रो यात्रा त्यसै दिशातिर उन्मुख रहने छ, बुद्धले बिस्तारै भन्यो र लामो सास तान्दै ध्यानमा बस्नु भयो ।

तथागत बुद्धले सय दिन पछि देह त्याग गर्ने घोषणाको सूचना जम्बु द्धीपमा जंगलको आगोझै चारैतिर फैलियो । कुशी नगरतिर सोजिदै यात्रा गरिरहदा, बाटोमा उनका आफन्त, प्रियजन, यशोधरा, माता प्रजापतिलाई पनि भेटिन । लामो यात्रामा भण्ड गाउँ, हट्टी, भोग नगर आदि पार गरी पावामा विश्राम गरे । पावामा चुन्द नामक उपासकले भोजन दान गरे । तथागतको जिवनमा त्यही अन्तिम भोजा थियो । त्यसपछि बिस्तारै कुशी नगरको क्षेत्रमा प्रवेश गरे । कुशी नगरको शालाबागमा बिशाल दुइ शाला बृक्षकोबीचमा बैसाख पूर्णिमाकै साँझ अन्तिम धर्मोपदेश गर्नु भयो । त्यस बखत तथागतले ‘अप्पो दीप भव,’ सत्य कुरा भन्नु पर्दा, मेरो वचन सुन्नु हुने सबै प्रत्येक बुद्ध हुन् । यहीनै बुद्धको अन्तिम वचन थियो । त्यसपछि रातको तेश्रो प्रहरमा भिक्षु महासंघको उपस्थितिमा तथागत बुद्धले महापरिनिर्वाण प्राप्त गर्नु भयो ।

तथागत बुद्धले कुशी नगरमा महापरिनिर्वान प्राप्त गरेको सूचना जम्बु द्धीपमा जंगलको आगोझै फैलियो । भिक्षु महासंघ शोकमा चुर्लुम्म डुबेको थियो । फेरी पनि तथागतको लागि रात दिन प्रार्थना भैरहेको थियो । शोकमा डुबेको कारण बुद्धको दाह संस्कार कसरी गर्ने भन्ने विषयमा आनन्दलाई केही सुझेको थिएन । त्यसै अलमलमा थिए । त्यस बखतका अहर्तहरुमा सारीपुत्र, मौदगल्यान, कौण्ड्या, राहुल आदिले देह त्याग गरिसकेको थियो । 

त्यही समय तीन दिन तीन रात लगातार हिँडेर महाकाश्याप पनि टुप्लुप्क आइ पुगे । अहर्त महाकाश्याप भिक्षु महासंधको मूल आधार थिए । उनी आए पछि मात्र आनन्दको होस खुल्यो । महाकाश्यापको परामर्श अनुसार तीन जना भिक्षुहरुलाई कुशी नगरको मल्ल राजालाई तथागतले महापरिनिर्वान प्राप्त गरेको सूचना दिन पठाए । मल्ला राजा बुद्धको प्रिय उपासक थिए ।      

‘तात्कालै मल्ला राजपरिवारहरु आइ पुगे । मल्ला राजपरिवारले तथागत बुद्धलाई आदर सहित बन्दना गरे पछि, उनको दाह संस्कार कसरी गर्ने भन्ने विषयमा भिक्षु आनन्द र महाकाश्यपसंग परामर्श गरे ।

‘आनन्द र महाकाश्यप आपासमा हेराहेर गरे ।’ ‘यस बारेमा तपाइँहरुको के राय छ ?’ राजाले सोध्यो ।  

भिक्षु आनन्दले केही भन्न खोजेको थियो । तर, अभिभावक बिहिन भएको अवस्थाले गर्दा, अब के हुन्छ ? के गर्ने ? कसो गर्ने ? उनको ओँठ मात्र हल्लियो, वाक्य फुटेन । 

महाकाश्यप अहर्त मात्र होइन, त्रिकालदर्शी पनि भएकोले सबैको मनोभाव बुझ्न सक्दथे । आनन्दको मर्म र पिडा बुझे पछि, तथागत बुद्ध महामानव हुन् । उनले धर्मको सही व्याख्या र विश्लेषण गरी एउटा नविन विचारको सही अर्थमा जग बसालेका छन् । उनको उपदेशले मानव मात्र हैन, देवताको पनि कल्यान गरेका छन् । उनी भगवत हैन शास्त हुन् । यस्तो दुर्लभ महामानवको दाह संस्कार राजपरिवारको निर्णय अनुसार गरेमा उपयुक्त होला, महाकाश्यपले सुझाव दियो ।

महाकाश्यपको सुझाव अनुसार, मल्ला राजाले तथागतको देहलाई पुष्पासनमा राखेर सैनिक सुरक्षा घेरामा सात दिनसम्म सर्वसाधरण सबैले दर्शन गर्न सक्ने व्यवस्था मिलाए । आठौं दिनको मध्यान्नमा आनन्द र महाकाश्यपले दाग बत्ति दिए । यसै दौरान, मगध नरेश अजात शत्रु, बैशालीको लिच्छिबी राजप्रतिनिधि, कपिलबस्तुको शाक्य प्रतिनिधि, बज्जिया प्रतिनिधि, पावाको प्रतिनिधि पनि उपस्थित भए ।

त्यहाँ उपस्थित सबै प्रतिनिधिहरुले आदर सहित बुद्धम् शरणम् गच्छामी भनी बन्दना गरे । सबै प्रतिनिधिले अस्ति धातुमा आफ्नो अधिकार भएको जिकीर गर्यो । आपासमा भनाभन र हनाहन हुन सक्ने अवस्था भयो । परिस्थिति बडो तनावपूर्ण भयो । कसैको कुरा कसैले पनि नसुन्ने भयो ।

यही अवस्थामा द्रोण नामक ब्राह्मणले भन्यो ।‘हे, प्रजा पालक क्षेत्रीय महावीर,’ तपाइँहरु सबै बुद्धको उपासक हुनुहुन्छ । फेरी यो तनाव किन ? हामी सबैलाई ज्ञान भएकै कुरा हो कि, तथागत बुद्ध शान्तिको अग्रदूत हुन् । हुन त मैले बुद्धको महासंघमा दीक्ष पनि लिएको छैन । तथापि, मैले उनको धर्मलाई राम्रोसंग बुझेको छु । उनको धर्म भित्र अमृतको रस छ । यस्तो प्रेम, शान्ति र करुणाले भरिएको महामानवको ‘अस्तुधातु’को लागि फेरी आपासमा युद्ध किन ? अशान्ति किन ? यस सम्बन्धमा म एउटा प्रस्ताव राख्न चहान्छु, द्रोन ब्राह्मणले अनुरोध गर्यो । 

तथागत बुद्ध हामी सबैको ह्रदयमा बसेको छ । त्यसैले उनको ‘अस्तुधातु’ मगध, बैशाली, लिच्छिबी, शाक्य, बज्जिया, पावा र कुशी नगरको प्रतिनिधिहरु सबैमा बराबर भाग बाँडिने छ । यहाँहरुलाई कुनै अपत्ति नभएमा द्रोणले पनि एक भाग लिने छ । यस कार्यबाट तथागत प्रति हामी सबैले नैतिक जिम्मेवार भएको ठहर हुनेछ । साथै, सबै राजा महाराजाहरुले आ–आफ्नो राज्यमा बुद्धको ‘अस्तुधातु’ राखि महाचैत्य निर्माण गर्न सकेमा, यसबाट सर्वसाधरणका लागि दैनिक पूजापाठ गर्न पनि सहज हुन सक्ने छ, द्रोण ब्राह्मणले अनुरोध गर्यो ।

उनको प्रस्ताव तर्क संगत भएकोले, सबै सहमत भए । त्यही सहमति अनुसार बुद्धको ‘अस्तुधातु’ आठ भागमा बराबर बिभाजन गरियो । द्रोणको परामर्श अनुसार सबै राज्यहरुमा महाचैत्य निमार्ण गरियो । यी सबै चैत्यहरु अष्टमहाचैत्यको नामबाट प्रख्यात भए । अष्टमहाचैत्यको वर्णन पाली पिटकमा उल्लेख गरिएको छ ।     

यसरी, तथागत बुद्धले २९ वर्षको उमेरमा प्रवर्जित भइ, ३५ वर्षको उमेरमा बोधि लाभ गर्नु भयो । बोधि लाभ गरे पछि ४५ वर्षसम्म बिभिन्न स्थान र अवस्थामा धर्मोपदेश गरी ८० वर्षको उमेरमा बैसाख पूर्णिमाकै दिन, कुशी नगरको पवित्र शालाबागमा दुइ शालाबृक्षबीच महापरिनिर्वाण प्राप्त गर्नु भयो । बुद्धम शरणम गच्छामी । 

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा ञिङम मतको बारेमा फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।                                                                                      9/10/2020

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.