ईश्वरको अस्तित्व कहाँ छ ?

 ईश्वरको अस्तित्व कहाँ छ ?

नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा ईश्वरको अस्तित्व कहाँ छ ? भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । बोधि मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला ईश्वरको अस्तित्वबाट उठान गरिनेछ ।    

‘तथागत श्रावस्तिमा ध्यानमा बसिरहदा यस्तो सुने .....।’                                                                      ईश्वरवादीहरु भन्छन्— ब्रह्माण्डको सृष्टि ईश्वरले गरेका हुन् । तर, यहाँनिर प्रश्न के उठ्छ भने, ईश्वर कहाँ छन् ? कस्तो छन् ? कस्तो रुपरंगमा छन् ? उनको आकार प्रकार कस्तो छन् ? उनको अस्तित्व कहाँ छ ? आजसम्म कसैले ईश्वर देखेको छ वा छैन ? यो प्रमाण कसैले दिन सकेको छैन । यो प्रश्नको उत्तरमा प्रख्यात विद्धान र दार्शनिकहरु पनि सबै मौन बसेका छन् ! अध्यात्मवादका गुरुहरुलाई यस्तो खालको प्रश्न सोध्ने हो भने, सायद मुर्ख, हठि, अहंकारी, महत्वाकांक्षी र पागलनै भन्ठान्ने छन् । त्यस वाहेक आर्को उत्तम विकल्प कसैसंग पनि हुन सक्ने सम्भावना छैन ।

ब्रह्माण्डको प्रत्येक वस्तुको सृष्टि ईश्वरले गरेका हुन भने, सृष्टिको कारण पनि ईश्वर नै हुन् । यसमा बिबाद गर्नु पर्ने कारण नै छैन । किनभने कुनै पनि वस्तुको उत्पति हुन्छ भने त्यसको कारण पनि हुन्छ । वस्तुको उत्पति भए पछि, त्यसको स्वभाव अनुसार गुण, अवगुण, रंग, अवस्था, साधारण वा श्रेष्टताको विशेषता पनि हुन्छ । यो प्राकृतिको गुण हो । 

नेपाली बृहत् शब्दकोषमा हेर्ने हो भने, ईश्वरको परिभाषा यस प्रकार भएको पाइन्छ । ईश्वर— ना० सम्पूर्ण विश्व, ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने र तिनको नियन्त्रण तथा शासन गर्ने, मानिएका परम् पुरुष वा परमात्मका रुपमा पुजिने सर्वप्रधान सत्ता, भगवान परमेश्वर, अधिपति, मालिक र ऐश्वर्यशालीको अर्थमा व्यख्या गरिएको छ । यदि ईश्वर ऐश्वर्यशाली हो भने, यसको प्रत्यक्ष अनुभव कति जनाले गरेका छन् ? कति जनाले ईश्वरलाई भेटे ? कति जनाले देखे ? यसको सही उत्तर कोसंग छ ?  

प्राकृतिक स्वरुपमा देखिएका सम्पूर्ण सृष्टिहरु ईश्वरद्धारा रचिएका हुन भने, रचना कर्ता पनि ईश्वर नै हुन् । यदि रचना कर्ता ईश्वर नै हुन भने, गुण वा दोष दुबैको भागिदार पनि ईश्वर नै हुन पर्छ । तर, ईश्वरले स्वर्ग, नर्क र मुक्तिको प्रलोभन देखाएर संसारिकलाई दुविधामा पारेका छन् । स्वर्गलाई मात्र स्विकार गर्ने हो भने, नरकको भागिदार को हुने ? अर्थात दोषिको भागिदार को हुने ? किनभने एउटा दाम्पतिले सन्तान जन्माए पछि गुण वा दोष दुबैको भागिदार उनीहरु नै हुन्छन् । तर, उपरोक्त प्रसंगमा दोष स्विकार गर्न ईश्वर तयार देखिदैन । के यो सत्य हो ? यदि सत्य हो भने, ईश्वरको अस्तित्व कहाँ छ ? सृष्टि मात्र गर्ने ? उत्तरदायित्वबाट पंक्षिएर बस्ने ? राम्रा गुणहरु आफुले लिने र नराम्रा गुणहरु अरुकै टाउकोमा थुपारिदिने कस्तो नियति हो ईश्वरको ! उपरोक्त भनाइसंग तपाइँको सहमति छ ? 

उपरोक्त अवस्थाहरुलाई राम्रोसंग केलाएर हेर्दा, तथागत बुद्ध अनीश्वरवादी हुन् । ईश्वरको विरोधी हुन् भन्ने आचार्यहरुको संख्या पनि कम छैन । वास्तवमा यो कुरा सत्य होइन । किनभने उनी स्वयं ‘तुषिता भुवनको स्वेतकेतु बोधी सत्वको अवतार’ हुन् । उनलाई ईश्वरको अस्तित्व कहाँ छ ? वा छैन भन्ने कुरा स्पष्ट थाहा थिए । साँचो अर्थमा भन्नु पर्दा, स्वर्ग र नर्कको कुरा साधारण मानिसहरुले प्रत्यक्ष अनुभूति गर्न सक्दैनन् । त्यसैले, मानविय मुल्य र मान्यताको आधारमा चलि आएको सामाजिक कुरीति र कुसंस्कारहरुमा रुमलिएका मानव समाजलाई दुःखबाट मुक्ति दिनका लागि मानव योनीमा जन्म लिनु भएको हुन् ।   

साचो अर्थमा भन्नु पर्दा, ईश्वरको अस्तित्व छ वा छैन भन्ने विषयमा स्पष्ट हुनका लागि सर्वप्रथम ‘कार्य–कारण सिद्धान्त’लाई बुझ्न जरुरी छ । किनभने प्रत्येक कार्य गर्नका लागि वा हुनका लागि कुनै न कुनै कारण आवश्य हुन्छ । बिना कारण कुनै पनि कार्य, घट्ना, निर्माण, उत्पादन वा उत्पन्न हुन सक्दैन । उदाहरणको लागि एउटा माटोको घैटोलाई लिउ । माटोको घैटोलाई तयार पारिएको माटो, चक्का र चक्कको गतिको सहयताबाट कुमालले निर्माण गर्दछ । यस अर्थमा हेर्दा, कुमाल बिना माटोको घैटो निमार्ण हुन सक्दैन । त्यसैले, ‘माटोको घैटो कार्य र कुमाल कारण’को रुपमा रहेको हुन्छ । यस प्रकृयालाई हेर्दा, ‘कारण बिना कार्य’ संभाव हुँदैन भन्ने प्रष्ट हुन्छ । 

यस अर्थमा हेर्दा, यहाँनिर दुइवटा कारणहरु देखिएका छन् । एउटा ‘उपदान कारण र अर्को निमित्त कारण ।’ निमित्त कारण भनेको निमार्ण गर्ने शाक्ति हो, जसले वस्तुको निमार्ण गर्दछ । उपदान भनेको त्यो वस्तु हो, जसबाट वस्तुको निमार्ण हुन्छ । अब हामीले बुझ्नु पर्ने कुरा के छ भने, उपदान भनेको कच्च पदार्थहरुको समुह हुन् । जस्तैः माटो, सहयोगी साधन, पानी र घुमाउने चक्काको सामग्री आदि । निमित्त कारण भनेको कुमाल हो, जस्ले घैटोको निमार्ण गर्दछ । 

बुद्धले चार आर्य सत्यको दोस्रो बुँदामा ‘दुःखको कारण र यिनको समुदाय’ भन्नु भएको छ । यसलाई ‘कार्य–कारण सिद्धान्त’को आधारमा व्याख्या गर्नु भएको छ । यो सिद्धान्त १२वटा अवस्थाहरुमा आधारित रहेका छन् । जसलाई ‘दुवादश निदान’ भन्दछन् ।  

बुद्ध दर्शनको मेरुदण्ड ‘प्रतित्यसमुत्पाद’ हो । यसको सम्पूर्ण क्रिया र प्रकृया ‘कार्य–कारण सिद्धान्त’मा आधारित हुन्छ । प्रतित्यसमुत्पादको उत्पति ‘द्धितीय आर्य सत्य’बाट आरम्भ हुन्छ । द्धितीय आर्य सत्य भनेको दुःखको कारण र यिनको समुदाय हुन् । यी समुदायहरु १२ वटा अवस्थाहरुमा उत्पन्न भएका छन् । एउटा अवस्थामा उत्पन्न भएका कारण अर्को अवस्थामा आश्रित हुँदै जान्छ ।                               

यो ‘प्रतित्यसमुत्पाद’ सन्धि शब्द हो । ‘प्रतित्य+समुत्पाद’ । ‘प्रतित्य’को अर्थ ‘हेतुवाद’ अर्थात एउटा वस्तुको अपेक्षा वा इच्छा गर्दा, दोस्रो अवस्थाको ‘समुत्पाद’ वा उत्पन्न हुन्छ । ‘कार्यकारण सिद्धान्तको यो मूल प्रकृया हो । जुन सिद्धान्त प्राकृतिमा आधारित छ । 

उदाहरणको लागि एउटा दियोलाई लिउ । एउटा कोठामा दियो बले पछि मात्र त्यसबाट प्रकाश उत्पन्न हुन्छ । अर्थात ‘दियोबाट प्रकाश’ । यो प्रकृयालाई हेर्दा, दियोलाई कारण र प्रकाशलाई कार्यको रुपमा स्पष्ट बुझ्न सकिन्छ । अर्थात एउटा वस्तुको जगमा रहेर अर्को वस्तुले अस्तित्व वा उत्पति प्राप्त गर्दछन् । यसलाई आश्रित वा आधारित सिद्धान्त पनि भन्दछन् । यसबाट के प्रमाणित हुन्छ भने, एउटा वस्तुको उत्पति गर्नका लागि अर्को वस्तुको आधार आवश्यक हुन्छ । सिद्धान्तत् यसबाट के कुराको पुष्टि हुन्छ भने, कुनै पनि कार्य ‘आकास्मिक वा स्वतन्त्र’ रुपमा उत्पन्न हुन सक्दैन । सबै कारणहरु परतन्त्र हुन्छन् ।

दियोबाट प्रकाशको उदाहरण माथि नै दिइसकेको छ । तर, दियो बाल्नका लागि एउटा दियो मात्र पर्यप्त हुँदैन । यसका लागि प्याला, तेल, बात्ति, बाल्नका लागि माचिस, दियो बल्न सक्ने उपयुक्त वातावरण, पर्यप्त अक्सिजन, हावा नचल्ने र वर्ष नहुने आदि वातावरणमा दियो बाल्न सकिन्छ । अनि मात्र दियोबाट प्रकाश उत्पन्न हुन्छ । उपरोक्त समुहमा भएका एउटा पनि वस्तु ठिक समयमा उपलब्ध हुन सकेन                             

भने प्रकाशले अस्तित्व लिन सक्दैन । प्यालामा तेलको मात्र समाप्त भयो भने वा बात्ति सकियो भने वा उपयुक्त वातावरण भएन भने पनि प्रकाशको अस्तित्व स्वत समाप्त हुन्छ । यसबाट के कुराको ज्ञान हुन्छ भने, प्रकाशको अस्तित्व सहयोगी सामग्रीहरुको सन्तुलन माथि निर्भर रहन्छ । 

बुद्धले चार आर्य सत्यको विषयमा भनिसक्नु भएको छ कि यो भवसागर दुःखले भरिएको छ । दुःखको कारण र समुह छ । दुःखबाट छुटकारा पाउने उपाय छ । दुःखबाट मुक्ति हुन सक्ने अवस्था र मार्ग छ । अर्थात निर्वान प्राप्त गर्न सक्दछ । यसलाई ‘चार आर्य सत्य’ भन्दछ । चार आर्य सत्यको वास्तविक अवस्थालाई ‘दुवादश निदान’को श्रंखलावद्ध तरिकाले उदाहरण दिनु भएको छ । जस्तैः जरामरण, जाति, भव, उपदान, तृष्णा, वेदना, स्पर्ष, षडायतन, नामरुप, विज्ञान, संस्कार र अविद्या । यी श्रृंखलाहरु एक पछि अर्को कारणमा आश्रित हुँदै अविद्यामा समाप्त हुन्छ । अर्थात दियोबाट भैरहेको प्रकाश अविद्यामा समाप्त हुन्छ । यो अवस्था परम् अतिक्रमण हो । अतिक्रमणबाट अन्धकार सुरु हुन्छ । अन्धकार भनेको निराकार हो । जहाँ कुनै आकार प्रकारको अनुभव हुँदैन । अर्थात बिलकुलै शुन्यको अवस्था हुन्छ । यो वास्तविक समाधीको अवस्था हो । जहाँबाट निर्माणपद प्राप्त गर्न सकिन्छ । निर्माण भनेको जरामरणको अवस्थाबाट अलग हुनु हो ।    

आर्को अर्थमा बुद्धले हाम्रो मानव शरीर ज्ञान र विज्ञानको उत्कृष्ट संयोग भन्नु भएको छ । अर्थात शरीर विज्ञान हो भने, चेतनालाई ज्ञान भन्नु भएको छ । यो सत्यलाई अध्यात्मवाद र भौतिकवादले पनि स्विकारेका छन् । शारीरिक बिकासको साथसाथै चेतनाको पनि बिकास हुँदै जाने बिज्ञानको नियम हो । 

बुद्धले प्राप्त गरेको ज्ञानको सार न त कुनै शास्त्रमा, न शब्दमा, न त सिद्धान्तमा आधारित छ । यो त मानव चेतनामा बसेको छ । चेतना भनेको मन्दिर हो, त्यहाँ भित्र परमात्मले बास गरेको छ । त्यसैलाई जगाउनु पर्छ । त्यहीबाट ज्ञानको ज्योती प्रकाशित हुन्छ । प्रत्येक मानिसमा बुद्धत्व प्राप्त गर्न सक्ने क्षमता छ । त्यसैले, बुद्धले भन्नु भएको छ, यदि ईश्वर कही कतै छ भने त्यही चेतना भित्र छ । त्यही उनको अस्तित्व हो । त्यही हाम्रो ईश्वर हो । जसले हामीलाई आदेश दिनुकासाथै भरोसा, आस्था, कर्म, ज्ञान, प्रज्ञा, प्रेम, करुणा, माया, मोहा, तृष्णा, घृणा, अहंकार सबैका लागि प्रेरणा दिन्छ र एकलौटी शासन गर्दछ । 

यदि यो भनाइमा तपाइँको पनि सहमति छ भने, तपाइँले इश्वरको अस्तित्वको बारेमा स्पष्टसंग बुझ्नु भयो भन्ने कुराको अर्थ सिद्ध हुन्छ । यस सुत्रले तपाइँलाई धार्मिकता बनाउछ । धार्मिकताबाट निर्वाण पद प्राप्त हुन्छ । यही पद जीवनको अन्तिम लक्ष हो । अर्थात निर्वाण मार्ग हो ।        

स्मरण गर्नुहोस, हाम्रो चेतनाले गरेको एकलौटी शासनको प्रतिफल सकारात्मक वा नकारात्मक कस्तो अवस्थामा छ ? शुष्म रुपमा गहिरिएर हेर्ने हो भने, यो कुराको हामी आफैले प्रत्यक्ष अनुभव गर्न सक्दछौं । तर, यसका लागि शान्तसंग एकाग्र मुद्रको ध्यानमा अभ्यास्त हुन जरुरी हुन्छ ।       

त्यसैले, बुद्धले बारम्बार दोहोराउनु भएको छ कि, धर्ममा वैराग्य श्रेष्ट, सत्यमा चार आर्य श्रेष्ट, मार्गमा अष्टमार्ग श्रेष्ट, शीलमा पञ्चशील श्रेष्ट र प्राणिमा मनुष्य श्रेष्ट भन्नु भएको छ । किनभने मनुष्यमा स्मरण गर्न सक्ने चेतना छ । चेतना भित्र ज्ञान र विज्ञान छ । विज्ञान छैन भने, चेतनाको कुनै स्थान हुदैत । तर, चेतना बिनाको विज्ञान अन्धो हुन्छ । त्यसैले, ज्ञान र विज्ञानबाट नयाँ अविष्कार हुन्छ । अविष्कारले सामाजिक समृद्धिको अभिबृद्धि गरेको छ । २१औं शताब्दीको विज्ञानले यही विषयमा अध्ययन र अनुसन्धान गर्दै आएका छन् । सभ्य मानव समुदायको इच्छा, चहना र आवश्यकता यसको वास्तविक गति हुन् ।                             

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा अनित्यवादको बारेमा फेरी भेटघाट हुनेनै छ, तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 8/26/2020                                                

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.