ञिङम सम्प्रदाय ll Yingma Sect ll

 ञिङम सम्प्रदायः 

नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको साझा मञ्चमा खुला छलफलका लागि हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, खेन्पो, भिक्षु, आचार्य, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेका हुन्छन् । यही अध्ययनको क्रममा मैले अनुभव गरेका कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा ञिङम सम्प्रदायको बारेमा संक्षिप्त प्रकाशन गरिने छ । कल्याण मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला ञिङम सम्प्रदायबाट उठान गरिनेछ । 

१. बज्रगुरु पद्मसंभावको जन्मः वज्रमहागुरु पद्मसम्भव ञिङम मतको संस्थापक हुन् । उनको जन्म पाकिस्तानको हिमाली क्षेत्रमा अवस्थित धनकोषा तालको कमलबागमा ब्राह्मन परिवारमा भएको थियो । उनको पालन पोषण र शिक्षा दीक्षा उडिसाको नन्दन राजपरिवारमा भएको थियो । उनी युवास्थामै वज्रयान मार्गको प्रखर आचार्य भए । त्यसैले, भारत वर्षको सवभन्दा पुरानो नालन्द विश्वविद्यालयमा वज्रयान मार्गको प्राचार्य भए ।  

२. नालन्दको अवस्थाः सातौं शताब्दीको प्रथम दशकदेखि जम्बु द्धिपमा राजनीतिक हावापानी असहज भयो । हजारौं आचार्य, प्राचार्य र दशौं हजार श्रावकहरुको आस्थाको केन्द्र ‘नालन्द विश्वविद्यालय’ असुरक्षित भए पछि बौद्ध जगतमा हाहाकार मच्चियो । बौद्ध दर्शन र संस्कृतिलाई सुरक्षित राख्न आचार्य, प्राचार्य, भिक्षु र श्रावकहरुको संघायन भयो । आचार्यहरु र प्राचार्यहरु समूह समूहमा विभाजन भएर चारैतिर सुरक्षित स्थानको खोजी हुन थाले । 

३. श्रोङचन गम्पोको राज्यभिषेकः तिब्बतमा राजा श्रोङचन गम्पोको राज्याभिषेक भए पछि सन् ६२४मा नेपालको राजा अंशुवर्माकी सुपुत्री राजकुमारी भृकुटीलाई विवाह गरे । उनले दाइजोमा स्वर्ण बुद्धको प्रतीमा लेगेकी थिइन् । यहीबाट राजदरबारमा बौद्ध धर्मको प्रवेश भयो । राजा श्रोङचन गम्पोले प्राज्ञ ‘थोमि सम्बोथा’को नेतृत्वमा १० जनाको प्राज्ञिक टोलीलाई भारतको नालन्द विश्वविद्यालयमा बौद्ध दर्शनको अध्ययन गर्न पठाए । उक्त टोलीले १० वर्षसम्म नालन्दमा बौद्ध दर्शनको अध्ययन गरेर फर्के पछि सम्भोट लिपिको बिकास ग¥यो ।

४. बज्रगुरु पद्मसंभावलाई राजकीय निमन्त्रणाः राजा त्रिसोन (ठिशेङ) देचेनले तिब्बतमा बौद्ध धर्मको प्रचार प्रसार गर्न नालन्द विश्वविद्यालयको आचार्य पद्मसम्भवलाई राजकीय निमन्त्रणा गरे । सन् ७४३ को गृष्म ऋतुमा आचार्य पद्मसम्भव, शान्तक्षित, कमलशील, दिपंकर र महानन्द तिब्बत पुगे । राजाको परामर्श अनुसार बौद्ध दर्शनको प्रचार प्रसार आरम्भ भयो । 

बौद्ध दर्शनलाई विधिवत रुपमा पठन पाठन गर्न सर्व प्रथम ‘सामलिङ’ गुम्बा स्थापना गरियो । यसबाट बौद्ध दर्शनको जग राम्रोसंग बस्यो । यो ‘सामलिङ’ गुम्ब तिब्बतको सबभन्दा पुरानो स्कूल हो । यो स्कूललाई ञिङम मत भन्दछ । ञिङम मतको स्थापना गर्ने समयमा प्राज्ञिक स्तरमा बृहत छलफल गरी सामाजिक जनजीवनको मुल्य र मान्यतालाई मध्यनजर राखेर बौद्ध दर्शनको वाचन गरी बोन संस्कृति र संस्कारमा आधारित जातीय संस्कारको अभ्यास गर्ने ञिङम मतले मुख्य आधार लियो । त्यसो भएकाले यो मत तिब्बतियन जनजिवनमा लोकप्रियता प्राप्त गर्न सफल भयो । 

राजा त्रिसोन (ठिशेङ) देचेनको शासनकालमा संस्कृत भाषामा रहेको बौद्ध दर्शन ‘त्रिपिटक’लाई १०८ जनाको प्राज्ञिक समूहले तीन वर्षको समय लगाएर तिब्बतियन भाषामा अनुवाद ग¥यो । यस समूहमा भारत, चीन, काश्मीर र स्थानीय लामाहरुको पनि सहभागिता रहेको थियो । यही अनुवादको कार्यबाट तिब्बतियन भाषा र साहित्यको विकासमा बलियो जग बस्यो । 

तिब्बतमा बुद्ध धर्मको बिकासको लागि गुम्बाहरुको स्थापना हुन थाल्यो । प्रत्येक गुम्बाले नयाँ नयाँ मतको स्थापना ग¥यो । यसरी स्थापन भएका मतहरुमा कग्यु, साक्य र गेलुक हुन् । ‘मार्पाचोकी लोदरो’ सन् १०१२–१०९९, उनी कग्यु मतको संस्थापक थिए । ‘खोन खोन्चोक ग्येल्पो’ १०३४–११४०, उनी साक्य मतको संस्थापक थिए । ‘जे श्रोङखापा’ १३५७–१४१९, उनी गेलुक मतका संस्थापक थिए । दलइ लामा गेलुक मतका वंश परम्पराबाट आएका हुन् । समाग्रमा तिब्बतमा बिकास भएको ञिङम, कग्यु, साक्य र गेलुक मतहरुलाई लामावाद भन्दछन् । महायान सम्प्रदायमा यसको छुट्टै विषेता रहेको छ । 

५. ञिङम भनेको के हो ? यो ‘ञिङम’ भनेको गुरुङहरुले बोल्ने तमू भाषाको माउ भाषा हो । अर्थात ञिङम भन्नाले जेठो, प्रमुख, प्रधान, विशेष, उत्कृष्ट, मौलिक वा स्थानीय भन्ने भावार्थलाई बुझाउदँछ । मत भनेको बज्रमहागुरु ह्रिम्र्पोछे पद्ममसम्भवले तिब्बतमा स्थापना गरेको सबैभन्दा जेठो मत वा स्कुल हो । यो मत बोन संस्कृतिमा आधारित परम्परागत जिवन शैलि र बौद्ध दर्शनको संगमबाट बिकास गरिएको स्थानीय संस्कार हो । 

६. ञिङम सम्प्रदायको विशेषताः यो महायानी मार्ग भित्रको सरल मत हो । यो मतमा प्रवर्जित हुने गुरुहरुले भिक्षुत्व व्रत ग्रहण गर्नु पर्ने बाध्यत्मक अवस्था रहदैन । उनीहरु साधारण अवस्थामै ‘पञ्चशील’ ग्रहण गरेर पारिवारिक जिवनबाटै विद्धता प्राप्त गरी कर्मकाण्ड गर्दछन् । ज्ञानकाण्ड भन्दा कर्मकाण्डलाई प्राथमिकता दिने यो मतको विशेषता हो । यस मतमा बौद्ध दर्शन वाचन गरी स्थानीय जात जातिको संस्कार र संस्कृति अनुसार कर्मकाण्डा गरिन्छ । त्यसैले, यो मत अन्य मतहरु भन्दा सजिलो, मौलिक र लोकप्रिय भएको पाइन्छ ।  

७. पुरानो लामाहरुको अवस्थाः विक्रम संवत २०२७ सालसम्म लमजुङ जिल्लामा बोनवादका लम वा लामा गुरुहरुको परम्परागत संस्कार मौलाउँदै थियो । पुरानो संस्कारको मार्ग अनुसार अन्त्येष्टि कार्य र पितृकार्य ‘पए’ गर्दा काटमार गर्ने र ‘ख्होक्युउ थोक्युउ’ गर्ने चलन थियो । तर, ञिङम मतमा प्रवर्जित भएका लामा गुरुहरुले चार आर्य सत्य, पंचशील, अष्टमार्ग, अष्टशील, दसशील र महाशीलको चुरी बुझिसके पछि हिजो काटमार गरेर ‘पए’ पितृ कार्य गर्ने बोन लामा गुरुहरु पनि संगठित भएर ञिङम मतको प्रचार प्रसारमा लागे ।

ञिङम मतको प्रचार प्रसारलाई दिगो बनाउनका लागि विक्रम सम्वत २०२७ साल माघ १८ गते लमजुङ जिल्ला बाग्लुङपानी गाविस हाल ख्होलसोँथर गाउँपालिका वडा नं १ न्हजरे बेशी साम्राँे निवासी लम कर्म ह्रप्तेन गुरुङको घरमा पुमा गाउँ निवासी विद्धान लामा सिँहबहादुर गुरुङको अध्यक्षतामा लामाहरुको प्रथम बैठक बस्यो । सो बैठकमा सन्तबहादुर गुरुङ, उमरबहादुर गुरुङ, सन्तोष गुरुङका साथै अन्य लामाहरुको पनि उपस्थिति थियो । त्यही बैठकबाट लमजुङ जिल्लामा ञिङम मतको जग बस्यो ।

पुरानो संस्कारको विरुद्धमा नयाँ संस्कारको प्रचार प्रसार गरे तापनि गुरुङहरुले ञिङम मतको वास्तविक चुरी बुझ्न सकेन । त्यसैले, बोनवादका लामा र ञिङम मतका लामाहरुबीच सैद्धान्तिक रुपमा शितयुद्ध चल्यो । तर, ञिङम मत सामाजिक मुल्य र मान्यता अनुसार रहेकोले गुरुङहरु शहरीयकरण हुने बखतमा अनुकरणीय सावित भयो ।

८. ह्युल्स ह्योँ गुम्बाको स्थापनाः विक्रम सम्वत २०३६ सालको जनमत संग्रह पछि गुरुङहरुमा बसाइ सराइँको लहर चल्यो । समय अनुसार अवसरको खोजीमा शहरीकरण हुन थाल्यो । यसै सिलसिलामा लमजुङ जिल्लाका गुरुङहरु पनि अवसरको खोजिमा सदरमुकाम बेसिशहर झरेर बसोबास गर्न थाले । आफ्नो धर्म, कर्म, संस्कृति र संस्कारहरु जहाँ गए पनि छाँया जस्तै आपूmसंगै हुने भएकोले बेसिशहरमा बसोबास गरेका गुरुङहरुले राम्रो र नराम्रो सामाजिक संस्कारहरु सञ्चालन गर्नका लागि विक्रम समवत २०३८ सालमा चण्डी स्थान डाँडामा ‘ह्युल्स ह्योँ गुम्बा’ स्थापना ग¥यो । बेसिशहरको गुरुङ समाजले लामा कर्म ह्रप्तेन गुरुङलाई सम्मानका साथ गुम्बाका प्रमुख लामाको रुपमा गद्धि चढायो । लामा कर्म ह्रप्तेले २०३८ सालदेखि २०६६ सालसम्म निरन्तर रुपमा ञिङम मतको प्रचार प्रसार गर्नुका साथै लामागुरुको रुपमा रहेर सामाजिक सेवा गर्नु भयो । यसरी २८ वर्षसम्म निरन्तर बुद्ध, धर्म र संघको सेवा गर्दा गर्दै २०६७ साल पौष १० गते ७९ वर्षको उमेरमा बालाजु नर्सिङ गृहमा उपचार गर्दागर्दै परिनिर्वाण लिनु भयो ।

९. बजारीकरणको अवस्थाः समय र परिस्थिति अनुसार गुरुङहरु शहर बजारमा बसोबास गरे तापनि आफ्नो संस्कृति र संस्कारहरु यथावतै राख्न खोजे । तर, शहर बजारको साँगुरो ठाउँमा कतिपय संस्कारहरु अनुकुल हुन सकेन । उदाहरणका लागि साँगुरो ठाउँमा बसेका परिवारहरुले अन्त्येष्टि कार्य र पितृकार्य ‘पए’ गर्दा लामा कहाँ राख्ने ? अलाँ कहाँ गाड्ने ? स्यर्ग कहाँ नाच्ने ? प्ल कहाँ नचाउने ? पाहुँनाहरु कहाँ राख्ने ? यी यावत कुराहरुको समस्याहरुले गर्दा मावली, भाइभतह र घरका चेलीवेटीहरु मात्र सामाजिक घर वा गुम्बामा गएर ‘पए’ गर्ने परम्परा हुन थाले । समय र परिस्थिति अनुसार अन्त्येष्टि कार्य र पितृ कार्य ‘पए’ गर्दा गुरुङहरुले चाहेर वा नचाहेर पनि यो संस्कारको अवलम्बन गर्नु पर्ने बाध्यात्मक अवस्था श्रृजन हुन आयो । यो अवस्थाले गर्दा प्रचलित मतले गुरुङ समाजमा सामाजिक मान्यता प्राप्त ग¥यो । 

१०. गुरुङको मौलिक संस्कारः गुरुङहरुको पितृकार्य ‘पए’ गर्दा लामा गुरुहरुले बौद्ध दर्शनमा आधारित सूत्रहरुको पाठबाट स्वस्ति शान्ति गरी मृतकको जीवात्मलाई पितृलोकको कामना गर्दछन् । तर, संस्कारको हकमा भने तमू संस्कार अनुसार गर्ने गर्दछन् । जस्मा ‘मावली हुनु पर्ने, मबु चिरेर सगुन हेर्नु पर्ने, छोरी चेली, ज्वइ, क्रशा गर्ने, क्रमू, क्रेगी गर्ने, प्लको ठाउँमा फोटो राख्ने, स्यर्ग नाच्ने, सुद्धि गर्ने’ आदि गरिन्छ । यसरी स्थानीय संस्कारहरुको आधारमा कर्मकाण्डा गर्दा, गुरुङकरण भएको देखिए तापनि मूल सार ञिङम मत नै हो । 

११. गुरुङहरुको धार्मिक अवस्थाः गुरुङहरुको मूल धर्म बोन र पहिचान धर्म बुद्ध भनि ‘तमू छोँज धीँ’ले २०५२ सालमा ललितपुर स्थित भूतपुर्व सैनिक संघको सभा भवनबाट उदघोष गरेका थिए । त्यसै अनुरुप आज विक्रम सम्वत २०७७ सालको वरिपरी हेर्दा, गुरुङको आधा जनसंख्या ञिङम मतमा प्रवेश गरिसकेका छन् । यो अत्यन्तै सकारात्मक अवस्था हो । तर, गुरुङहरुले बुद्ध धर्मको बास्तविकतालाई कसरी बुझेका छन् ? कति बुझेका छन् ? यो तितो सत्यको सही उत्तर पाउन त कठिन छ । किनभने, लामा गुरुहरुले सम्भोट लिपिमा अनुवाद गरिएको बुद्ध वचनलाई तिब्बतियन भाषामा बाचन गर्दछन् । तिब्बतियन भाषा गुरुङहरुले कति प्रतिशत बुझेका छन् ? यो भाषा प्रति लेखक आफै पनि अनभिज्ञ छु । त्यसैले, पाली, संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी भाषाबाट अध्ययन गरी नेपालीमा यो साहित्य सरलिकरण गरिएको हो । 

१२. सारंशः मैले यहाँनिर गुरुङ समुदायलाई सचेत गराउन खोजेको कुरा के हो भने, बुद्ध धर्ममा आस्था राख्नु श्रेष्ठतम् हो । किनभने, बुद्ध धर्म भनेको विज्ञानको आधारमा प्रतिपादन गरिएको श्रेष्ठतम् धर्म हो । तर, स्मरण गर्नु पर्ने कुरा के छ भने, कर्ताले कुनै पनि कर्मकाण्ड गर्दा, त्यसको मूल भावना र त्यसबाट प्राप्त हुने फलको बारेमा स्पष्ट जानकारी राख्नु पर्छ । किनभने, बुद्ध धर्मको मूल चुरी भनेको ‘प्रतित्यसमुत्पाद’ हो । अर्थात कार्यकारण सिद्धान्त हो । कार्यकारण सिद्धान्त भनेको ‘कारण र परिणाम’ हो । के कारणबाट यो पूजा गरिएको छ ? भन्ने कुरा कर्तालाई स्पष्ट जानकारी हुन पर्दछ । आस्थाको भरमा गरिएको कुनै पनि कर्मको परिणाम कस्तो हुन्छ प्रष्ट भन्न सक्ने अवस्था हुँदैन । बुद्ध दर्शनको मौलिक सिद्धान्त प्रतित्यसमुत्पादले पनि यही कुरा भन्दछ । 

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा नेपालमा बौद्ध धर्मको अवस्था बारेमा फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् । 9/202/2020 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 टिप्पणियाँ:

If you have any doubt, please let me know your message to help.