नेपालमा बौद्ध धर्मको वर्तमान अवस्थाः

 नेपालमा बौद्ध धर्मको वर्तमान अवस्थाः

नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको साझा मञ्चमा खुला छलफलका लागि हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, खेन्पो, भिक्षु, आचार्य, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेका हुन्छन् । यही अध्ययनको क्रममा मैले अनुभव गरेका कुराहरु सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा नेपालमा बौद्ध धर्मको वर्तमान अवस्थाको बारेमा संक्षिप्त प्रकाशन गरिने छ । कल्याण मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला नेपालमा बुद्ध धर्मको अवस्थाबाट उठान गरिनेछ ।    

Buddhism in Nepal

गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे पछि उर्वरा भूमि काठमाडौँ उपत्यकालाई राजधानी बनाए । राज्यलाई नेपाल भनियो । खस भाषालाई नेपाली भाषा र वर्ण व्यस्थालाई धर्म बनाएर राज्य व्यवस्था चलाए । उनको शेष पछि बहादुर शाहको पालामा ‘थापा र पाण्डे’कोबीचमा राजनीतिक शक्ति शर्घष भयो । यसैको जगम तानाशाही जंगबहादुरको उदय भयो । 

नेपालको इतिहासमा राणा काललाई अन्धकारको युग भन्दछन् । अन्धकारमा अन्यय, अत्यचार, भ्रष्टचार, लुटपाट र जधन्य अपराध जे गरे पनि सिमित शासकहरुलाई बाहेक सर्वसाधरणलाई जनाकारी हुँदैन्थ्यो । यसै कालमा बौद्ध धर्मका अनुयायीहरु माथि शोसन, दमन, हत्या, हिंसा, क्रुर अत्यचार गरी भिक्षुनीहरुलाई जबरजस्ति विवाह गराएको घट्नाहरु पनि बौद्ध साहित्यमा साक्षी छन् ।

यिनै घट्नाहरुको सिलसिलमा महाथेरा धम्मलोक, धर्माचार्या महस्तवीर आदिले थेरापद सम्प्रदायको पुनस्थापनाका लागि अभियान चाल्नु भयो । राणा शासकले उनीहरुलाई देश निकाला गरिदिए । यसरी प्रक्खर विद्धान भिक्षुहरुलाई देश निकाला गर्ने दुःखद घट्ना हुन थाले पछि बुद्ध धर्मको प्रचार प्रसारका लागि प्रवासी भिक्षुहरुले सन् १९४४मा भारतको वनारसमा ‘धर्मोदय सभा’ नामक संस्थाको स्थापना गर्याे । यातायातको हिसाबले वनारस धेरै टाढा भएकाले केही समय पछि कालिङपोङमा सारियो । विक्रम सम्वत २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भयो । १०४ वर्षको जहानिय राणा शासनको पतन पछि, ‘धर्मोदय सभा’ काठमाडौँमा सारियो । 

स्वदेशमा प्रजातन्त्रको स्थापना भए पछि बुद्ध धर्मको अनुयायीहरुलाई अलिकति भए पनि सहज वातारण महशुस भयो । बौद्ध धर्मका अनुयायीहरुबीचमा सुमधुर सम्बन्ध र आपासी समझदारी बृद्धि गर्नका लागि सन् १९५०मा श्रीलंकाले प्रथम ‘विश्व बौद्ध सम्मेलन’को आयोजना गर्यो । त्यसपछि १९५२मा जापानमा दोस्रो, १९५४मा वर्मामा तेस्रो सम्मेलन भयो । उक्त सम्मेलनमा भिक्षु अमृतानन्द महस्थवीर र मणिहर्ष ज्योतिले प्रतिनिधित्व गरेका थिए । सन् १९५६मा काठमाडौँमा चौथोँ ‘विश्व बौद्ध सम्मेलन’को आयोजना गरेर ‘धर्मोदय सभा’ले आफ्नो जग बसाले । यसरी ‘धर्मोदय सभा’ले थेरापद सम्प्रदायको विकासमा महत्वपूर्ण योगदान गरेको कुरा नेपाली बौद्धमार्गीहरुले विर्सन हुदैन । अहिले ‘धर्मोदय सभा’ नेपालको अधिकांश जिल्लाहरुमा स्थापित भैसकेका छन् । यस बाहेक काठमाडौँको स्वयम्भु स्तुपा, बौद्धको विशाल चैत्य र पुण्यभूमि लुम्बिनी नेपाली बौद्धमार्गीहरुका लागि अत्यन्तै गौरबका सम्पदाहरु हुन् । ‘पुण्यभूमि’ लुम्बिनी बौद्धमार्गीहरुको पवित्र तिर्थ स्थल हुन् । यो धर्तीमा पुण्यभूमि कहिकतै छन् भने, यही लुम्बिनी हो भनेर सम्झनु पर्छ । एक पटक भ्रमण गरी आफ्नै अनुभवबाट हेर्नु त ? यो कुरा सही हो भनेर, तपाइँ आफैले वकालत गर्नु हुनेछ । यहाँ विश्वभरबाट लाखौं आचार्यहरु, भिक्षुहरु, खेन्पोहरु, लामाहरु, लमिनीहरु र आस्थावान उपासक, उपासिकाहरुले भ्रमण गर्दछन् । 

संसारमा उच्च हिमपठारको नामबाट प्रख्यात तिब्बतका १४औँ धर्मगुरु दलइ लामा र चीनका राजनेता माओत्से तुङबीचमा राजनीतिक मतभेद भए पछि दलइ लामालाई देश त्याग्न वाध्य बनाइयो । सन् १९५९मा तिब्बत त्यागेर भारत निर्वासित भए । त्यहाँ उनलाई रानीतिक शरण दिइयो । उनका साथमा साठी हजार शरणार्थीहरु पनि आएका थिए । उनलाई भारतका प्रधानमन्त्री पण्डित ज्वहरलाल नेहरुबाट हिमली जिल्ला धरमशालामा स्थायी बसोबास गर्ने अनुमति दियो ।

१४औँ धर्मगुरु दलइ लामासंग निर्वासन जान नसकेका वा नचाहेका विद्धान लामाहरु त्यही बसे । तर, चीनका लाल सेनाले उनीहरुलाई दमन र शोसन गर्न थाले । यसका विरुद्धमा खम्बा बिद्रोह भयो । यसरी बिभिन्न समय र स्थानहरुमा बिद्रोह भएकाले सामाजिक वातावरण असहज भए पछि विद्धान लामाहरु पनि एक पछि आर्को गर्दै नेपाल झर्न थाले । उनका साथ हजारौँ तिब्बतियनहरु पनि झरे । तत्कालिन पञ्चायत सरकारले अनुमति पनि दिए र पोखरा नगरको पृथ्वीचोक स्थित विभिन्न स्थानमा शरणार्थीहरुको बसोबासका लागि बिशाल शिविर बनाएर न्यूनतम सुबिधाहरु पनि दिए । 

यसरी हिमपठारबाट झरेका तिब्बतियन लामा गुरुहरुको ज्ञान, प्रज्ञा, ध्यान, भावना, साधना र शीलको प्रभावका कारण गण्डकी क्षेत्र अर्थात ‘तमूवान’मा रहेका स्थानीय बोन लामाहरु पनि प्रभावित भए । तमूवानमा बोन लामाहरुको राम्रो प्रभाव थियो । यसरी झरेका तिब्बती लामाहरु ञिङम सम्प्रदायका थिए । ञिङम सम्प्रदाय भनेको गुरु पद्म संभावद्धारा स्थापना भएको तिब्बतको प्रथम स्कूल वा मत हुन । यो मतको विशेषता भनेको बौद्ध दर्शन वाचन गर्ने र स्थानीय संस्कृतिको आधारमा कर्मकाण्ड गर्ने परम्परा रहेको थियो । त्यसैले, बोन लामाहरुले पनि यो मतको वास्तविक चुरी बुझे पछि आँधेरोदेखि उज्यालोतिर, अज्ञानदेखि ज्ञानतिर, जटिलदेखि सरलतिर, वाददेखि दर्शनतिर, हिंसादेखि शान्तिको मार्ग दर्शन गरी चेतनाको ढोका खोल्ने प्रयास गर्यो । यो प्रयासमा कतिपय स्थानीय बोन लामाहरु पनि सफल भए । सफलताका कारण विस्तारै प्रभावित हुन थाल्यो । अन्तत, यसले लोकप्रियता पनि हाँसिल गर्यो । 

तमूवानका प्रभावित क्षेत्रमा रहेका जनजातिहरु विशेष गरेर गुरुङ समुदायका ठूलो संख्याले ञिङम मतमा अस्था राख्दछन् । ञिङम मतमा प्रवर्जित भएका लामा गुरुहरु सबैले भिक्षुत्व ब्रतमै रहनु पर्छ भन्ने वाध्यत्मक अवस्था पनि छैन । परिवारका साथमा रहेर पनि कर्मकाण्डहरु गर्न सक्दछन् । त्यसैले, गुरुङ समुदायमा कग्यु, गेलुक र शाक्य भन्दा ञिङम मत लोकप्रिय रहेको पाइन्छ ।

विक्रम संवत २०७७ सालको वरिपरी हेर्दा, नेपालको प्रत्येक नगरहरु र गाउँहरुमा बौद्ध गुम्बाहरुको निर्माण गरेर बुद्ध धर्मको प्रचार प्रसार र संरक्षण गर्ने कार्य निरन्तर भैरहेका छन् । यो अत्यन्तै खुशिको कुरा हो । भगवान बुद्धको सत्य वचन र दर्शनको बारेमा प्रत्येक मानवले बुझ्न र जान्न अति आवश्यक छन् । यसबाट मानव जिवनमा ‘सुख, शन्ति र समृद्ध’ ल्याउन सक्दछ । 

स्मरण रहोस, प्रत्येक आस्थावान बौद्धमार्गीहरुले पञ्चशील र आर्य अष्टाङगिक मार्गको शील पालना गर्नै पर्छ भन्ने वाध्यत्मक अवस्था छैन । तर, चार आर्य सत्यको बारेमा जानकारी राख्नै पर्छ । खास गरी बुद्ध धर्मको मूल सिद्धान्त प्रतित्यसमुत्पादको हेतुवाद अर्थात ‘कारण र परिणाम’ वा कार्य कारण सिद्धान्तको बारेमा बुझ्न अति आवश्यक छ । किनभने, प्रतित्यसमुत्पादको १२ वटै श्रृंखलाहरु प्राकृतिमा आधारित छन्  । कम्युनिस्टहरु यसलाई द्धन्दात्मक भौतिकवाद भन्दछन् । यही वादबाट कार्य दिशाको मार्ग चित्र तय गर्न सकिन्छ । 

भगवान बुद्धले प्रतिपादन गर्नु भएको धर्म हेतुवादमा आधारित प्रतित्यसमुत्पाद हो । जन्मको आधारमा मानिने ‘ब्राह्मन, क्षेत्री, वैश्य र शुद्र’ भनिने ‘वर्ण’ व्यवस्थाको विपरित हो । साँचो अर्थमा भन्नु पर्दा, के तपाइँ ‘वर्ण’ व्यवस्थामा विश्वास गर्नु हुन्छ ? वा ‘वर्ग’ व्यवस्थामा ? ‘वर्ण’ व्यवस्था भनेको ठोस प्रणाली हो । जस्मा कुनै परिवर्तन हुन सक्दैन । ‘वर्ग’ व्यवस्था भनेको तरलता हो । जसमा समय अनुकुल परिवर्तन भैरहन्छ । यो कुरा संसारको सबै सभ्य समाज, वर्ग र समूहले स्विकारेका छन् ।

अब नेपाली बौद्धमार्गीहरुसंग एउटा ‘खरो प्रश्न’ राख्ने अनुमति चाहन्छु । आदिम कालमा भारतिय संस्कृतिमा आधारित ‘वर्ण’ व्यवस्थाको प्रभाव नेपाली समाजमा पनि अझै ताजै रहेको छ । किनभने, नेपाली शासकहरुले पनि यही ‘वर्ण’ व्यवस्थाको आधारमा शासन गर्ने चेष्टा गरे । तर, अबको २१औं सताब्दीको नेपाली बौद्धमार्गीहरुले यसलाई कसरी लिन्छ ? मनन गर्नु पर्ने कुरा के छ भने, नेपाली जनजातिहरु जस्तैः गुरुङ, मगर, तामाङ, थकाली, शेर्पा, नेवार आदिले स्थापना गरेका बौद्ध गुम्बहरुमा शुद्रहरुको लागि प्रवेश दिइन्छ वा दिइदैन ? यदि दिइन्छ भने नेपाली बौद्धमार्गीहरुमा सत्यता रहेछ भन्ने कुराको बोध हुन्छ । यदि दिइदैन भने, ‘वर्ण’ व्यवस्था र बौद्धमार्गीहरुबीचमा के अन्तर रह्यो त ? फरक त केही पनि देखिएन ? यदि धर्मले पनि कुनै मानव वा सम्प्रदायलाई विभेद गर्छ भने, त्यो धर्मको औचित्य के ? 

गुम्बा निर्माण गर्नाका लागि शुद्रहरुबाट श्रम पनि लिन मिल्ने ? आर्थिक सहयता पनि लिन हुने ? तर, पूजापाठ गर्नाका लागि प्रवेश गर्न नपाउने ? लामा गुरुहरुले शुद्रहरुको पितृ कार्य र कर्मकाण्ड गर्न किन नहुने ? यो कस्तो सामाजिक विभेद हो ? यो खरो प्रश्नको उत्तर प्रत्येक बौद्धमार्गीहरुले आफै भित्र खोज्नु आवश्यक छ । यदि तपाइँ साँचो अर्थमा बौद्धमार्गी हो भने, तपाइँसंग यसको सही उत्तर छ । किनभने, तपाइँ र ममा के फरक छ त ? यदि फरकै छ भने, कर्मको आधारमा फरक हुन सक्दछ । ज्ञानको आधारमा फरक हुन सक्दछ ? धनी र गरिबमा फरक हुन सक्दछ । मोटो र पातलोमा फरक हुन सक्दछ । कालो र गोरोमा फरक हुन सक्दछ । अग्लो र होचोमा फरक हुन सक्दछ । तर, मानिस मानिसकोबीचमा श्रेष्ट र साधरण, ठूलो जात र सानो जात भन्ने कुरा कस्ले बनायो ? वा कस्ले भन्यो ? २१औं सताब्दीको सभ्य समाजले पनि यस्तो अन्धविश्वासको कुरा सुन्न र मान्न सकिन्छ र ? बौद्धमार्गीहरुले यस्तो कपोल कल्पित कुराहरुलाई कसरी मान्ने ? यो त हुनै सक्दैन ? यदि कुनै बौद्धमार्गीहरुले यो कुरा स्विकार्यो भने, त्यो त देबदत्त नै हो । 

अब नेपाली बौद्धमार्गीहरुले बुझ्नु पर्ने महत्वपूर्ण कुरो के छ भने, भगवान बुद्ध जन्मेको ‘पुण्यभूमि लुम्बिनी’ विश्व भरीका बौद्धमार्गीहरुको आस्थाको केन्द्र विन्दु अर्थात तिर्थस्थल हो । यसको भौतिक विकासका लागि सम्वत २०४२ सालमा ‘लुम्बिनी विकास कोष’को स्थापना गरिएको थियो । यसले गुरु योजनामा के कस्ता कार्यहरु गर्ने वा गराउने भन्ने निर्णय गर्दछन् । स्वदेशी र विदेशी दातृ संस्थाहरुबाट आउने मोटो रकम पनि यिनै कोषले व्यवस्थापन गर्दछन् । यहाँनिर स्पष्ट नभएको कुरा के छ भने, पञ्चायत कालमा दरवारियाहरु कोषको अध्यक्ष हुने गर्दथे । अहिले मन्त्री परिषदका सदस्यहरुबाट हुन्छन् । बुद्ध धर्मको विकासका लागि स्थापना ‘गरिएको लुम्बिनी विकास कोष’मा गैर बौद्धमार्गी अध्यक्ष कसरी हुन सक्दछ ? मन्त्री नै अध्यक्ष हुनु पर्ने कारण के छ ? बाध्यात्मक अवस्था के छ ? अथवा जुन मानिसलाई बुद्ध धर्मको बारेमा जानकारी नै छैन भने, त्यो मानिसले त्यो धर्मको संरक्षण कसरी गर्न सक्दछ ? यसबारेमा ‘धर्मोदय सभा’ किन मौन बसेको छ ? नेपाली बौद्धमार्गीहरु किन मौन बसेको छ ? कोषको अध्यक्ष हुन सक्ने योग्यता र क्षमता भएका मानिसहरु बौद्धमार्गीहरुमा कोही छैनन् कि के हो ? यसबारेमा बौद्धमार्गीहरुले गम्भीर भएर सोच्नु पर्ने समय भएको छ । यो हाम्रो मौलिक अधिकारको सवाल हो । 

आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा बौद्ध धर्मको पवित्र ग्रन्थ दोमाङको बारेमा फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।

चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।                                                                                     9/30/2020 

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

If you have any doubt, please let me know your message to help.