डाकु अंगुलिमालालाई धर्मोपदेशः
![]() |
Danku Angulimala. |
नमस्कार, म चोग डीबी गुरुङ यहाँहरुलाई गुरुङ स्कुलको ब्लगमा हार्दिक स्वागत गर्दछु । वास्तवमा म बुद्ध धर्मको अध्यता, आचार्य, खेन्पो, लामा, उपासक केही पनि होइन । बुद्ध दर्शनको विद्यार्थी मात्र हुँ । यहाँनिर स्पष्ट हुनु पर्ने कुरा के छ भने, धर्मको अनुयायीहरुले शील र आचारणको पालनमा जोड गर्दछन् । तर, दर्शनको विद्यार्थीले उत्कृष्ट संभावनाहरुको निरन्तर अध्ययन गरिरहेको हुन्छ । यही अध्ययनको क्रममा मैले जाने बुझेको कुराहरु ब्लग मार्फत सबैलाई बाँटन मात्र खोजेको हुँ । आजको श्रृंखलामा डाँकु अंगुलिमाला कसरी अहिंसक भयो ? भन्ने बारेमा संक्षिप्त प्रकाशन गरिएको छ । कल्याण मित्रहरुलाई कार्यक्रम चित्त बुझ्दो भएमा आफन्तहरुलाई पनि शेयर गर्नु होला । आजको श्रृंखला अंगुलिमालाबाट उठान गरिनेछ ।
‘एक दिन तथागतले चक्षुबाट यस्तो देख्नु भयो .....’
तथागत श्रावस्तिको जेतवानमा ध्यानमा बसिरहनु भएको थियो । उनको वरपर भिक्षुहरु पनि थिए । अचानक उठेर पख, पख, म आउदै छु भन्दै, घना जंगलतिर प्रवेश गर्नु भयो । सथमा आनन्द लगाएत केही भिक्षुहरु पनि गए ।
डाँकु अंगुलिमालाको नाम बौद्ध साहित्यमा प्रख्यात छ । उनको बारेमा बौद्ध साहित्यमा बिभिन्न तर्क वितर्क रहेका छन् । बौद्ध विद्धानहरुले आ–आफ्नै तर्कहरु प्रस्तुत गरेका छन् । पूर्वानुस्मृति सुत्रको आधारमा बुद्धले हजार जातक देशना गर्नु भएको छ । त्यस मध्ये कर्म जातक पनि प्रमुख हो । तर, पारमिततको तुलनामा कर्म जातकले त्यति ख्याति कमाउन सकेन ।
अब प्रश्न आउछ, जातक भनेको के हो ? जातकको महत्व के छ ? यसले के भन्छ ? यो किन महत्व छ ? आजसम्म पनि धेरै बौद्ध मार्गीहरुले जातक साहित्यको वास्तविक स्वाद पाउन सकेका छैनन् । जातक भनेको जातजातिहरुको पूर्व जन्मको कर्म, भोग र मरणको अवस्थाको हो ।
तथागत बुद्धले प्राप्त गर्न भएको बोधी ज्ञान मध्येमा पूर्वानुस्मृति प्रथम पद हो भने, जातक साहित्य अन्तिम पद हो । अर्थात साधारण भाषामा बुझ्नु पर्ने कुरा के छ भने, पूर्वानुस्मृति भनेको पूर्व जन्मका कथा र व्यथाहरु हुन् । पुर्व जन्मका कथाहरुलाई चक्षु मार्फत मात्र देख्न सकिन्छ । अहर्तहरु बाहेक श्रमनेरहरु र सर्वसाधारण मानिसहरुले यो अवस्थाको बारेमा देख्न, बुझ्न र अनुभव गर्न सकिदैनन् । त्यसैले, यो साहित्यको महत्व र विशेषताको बारेमा बुद्धले आफै प्रकाशमा नल्याएको हुन सक्ने अनुमान गर्न सकिन्छ । बौद्ध साहित्यमा यसलाई अव्यकृत सूत्र पनि भनिन्छ ।
बिच जातक साहित्य अनुसार अहिंसकको जन्म कुण्डली अनुसार वास्तविक घट्नाक्रममा यस्तो वर्णन गरेको पाइन्छ । कौशल राज्यको राजा प्रसेनजितको राजदरबारमा रामजी नामक आदर्शवादी ब्राह्मन पुरोहित थियो । जीवनको उत्तरार्दमा उनको पुत्र लाभ भयो । राजगुरुले जन्म कुण्डली तयार गरेर हेर्दा, उनको कुण्डलीमा सैकडौँ मानिसहरुको हत्या गर्न सक्ने, आतंककारी चरित्रको योग देखिएको भविष्य वाणी गरे । त्यसैले, उनको नाम अहिंसक राखियो । त्यस समय कौशल राज्यमा पन्नराम भन्ने गुरुको आश्राम थियो । आठ वर्षको उमेरमा त्यही प्रवेश गरे ।
आश्रममा मारुति, लाल, वष्प, राज, धनपाल, मिष्ठ, वरुण, श्रीकृष्ण, चन्द्र र अहिंसक गरी दश जनाको समुह थियो । उनका समकालीन साथीहरु सबै धनपतिका छोराहरु थिए । अहिंसक निम्न परिवारका थिए । तर, तिक्ष्ण बुद्धिको भएकाले त्यस समुहको प्रत्येक गतिविधिमा अग्र पत्तिंमा हुन्थे । गुरुकुलको अनुशासनमा खरो उत्रिएको हुनाले उनी प्रति गुरुमाताको पनि विशेष कृपा थियो । यिनै कारणहरुले गर्दा, उनका सहपाठीहरु इष्र्यले जल्दथे ।
राजा प्रसेनजितको एकलौटी छोरी थिए । उनको नाम माया थियो । एक दिन उनी सिकार खेल्न जंगल गए । त्यस बखत अहिंसक गुरुभाइहरुसंग जंगलमा दाउरा खोज्न गएका थिए । एउटा घायल सिहँले मानिसहरु माथि आक्रमण गरिरहेको देख्यो । गुरुभाइहरु सबै ज्यान जोगाउन रुखमा चढे । तर, अहिंसक मानिसहरुको सहयोगका लागि जादा घायल सिँहले आक्रमण गर्यो । उनी बलवान, चतुर र मल्ल युद्धमा पनि निपुन भएकाले सिँहलाई परास्त गर्न सफल भए । तर, सिँहको पञ्चले उनलाई गम्भीर चोट लागेको थियो । त्यसैले, राजकुमारी मायाले उनको बहादुरीको प्रशंस गर्दै, शिविरमा लेगेर उपचार गरे । उपचारको दौरान राजकुमारी माया अहिंसकको बीरता प्रति मोहित भए । तर, अहिंसकलाई यो कुरा थाहा थिएन । उपचार पछि उनी फर्किए ।
अहिंसक आश्रममा अनुपस्थित भए पछि उनको बारेमा राम्रा, नराम्रा, चर्चा र परिचर्चाहरु भए । सेनापतिका पुत्र धनपाल उनका प्रतिद्धन्ति थिए । उनैसंग गुरुले अहिंसकको बारेमा सोधे । मेरो प्रतिद्धन्तिलाई समाप्त पार्ने उत्तम अवसर यही हो भनि कपोल कलिपत झुटो आरोप लगाउदै मलाई अभय दान दिनु, अनि मात्र केही भन्न सकिन्छ, धनपालले भने ।
‘अभय दान दिए,’ सत्या कुरा भन गुरुले भन्यो ।
‘अहिंसकको गुरुमातासंग अनुचित ... अनुचित ... सम्बन्घ छ,’ उनले भन्यो ।
अहिंसक प्रति गुरुमाताको विशेष कृपा भएको सत्य कुरा गुरु पन्नरामलाई पनि थाहा थियो । अहिंसकको जन्म कुण्डलीको बारेमा पनि राम्रो ज्ञान थियो । यसैको आधारमा धनपालको कुराले थप बल दियो । अनुचित शब्दको उच्चारणले गुरु पन्नरामको कन्चेट तातेर आयो । उनी बौलाएर बिवेक शुन्य भयो ।
अहिंसक आश्रम फर्किए पछि गुरुभाइहरुसंग छलफल भयो । यस दौरान धनपाल र अहिंसककोबीचमा चर्काचर्की भएर हातापात भयो । यसै हातापातमा धनपालको मृत्यु भयो । यही घट्नाले गर्दा, उनलाई तुरुन्तै आश्रम छड्ने आदेश भयो । तर, अहिंसकले गुरु दक्षिणा नदिइ आश्रम नछाड्ने अडान लिए पछि, एक हजार जना मानिसको अंगुलिको माला लिएर गुरु दक्षिणा दिन आउनु, गुरुले भन्यो ।
आर्को कुरो, यस घट्नामा हत्यारा सावित भए पछि उनलाई सेनाले खोज्न थाल्यो । आश्रम त्यागेर उनी लुक्दै छिप्दै घर गए । घरमा पिताले पनि तिरस्कार गरे । जीवनमा अप्रत्यशित घट्नाका कारण उनी समाजबाट तिरस्कृत भएको महशुस भयो । मनभरी त्यही तिरस्कारको उपहास लिएर उनी जंगल पसे ।
श्रावास्तिको धना जंगलमा आश्रय लिए पछि गुरु दक्षिणाको वचन र सामाजिक तिरस्कारको बदला लिने उद्देश्यले आसपासका गाउँका मानिसहरु जो जंगलको बाटो हुँदै आउने जाने गर्थे, उनीहरुको हत्या गरेर कान्छी औला काटी माला लगाउने गर्दथे । यस्तो कुकृत्यबाट आसपासमा आतंक फैलियो । त्यसैले, उनको नाम अंगुलिमाला रहन गएको भन्ने बौद्ध साहित्यमा पाइन्छ । यो धट्नको बारेमा तथागत पूर्ण जानकारीमा थियो ।
बाटोमा जादै गर्दा, गोठाला र खेतालाहरु भेटे । उनीहरुले तथागतलाई नमस्कार गर्दै भने, जुन दिशातिर तपाइँ जादै हुनुहुन्छ, त्यो क्षेत्र डाँकु अंगुलीमालाको हो । त्यो क्षेत्रको मानिसहरु धेरै जसो डाँकुबाटै मारिए । बचेकाहरु सबै त्यहाँबाट बिस्तापित भइसकेका छन् । त्यतातिर नजानुहोस, आग्रह गरे । तर, तथागत केही नबोलीकन निरन्तर बढदै गयो । बाटोमा विशाल सेना सहित राजा प्रसेनजितसंग पनि भेट भयो ।
राजा प्रसेनजितले बुद्धको चरणमा ढोगे अनि भने, तथागत, यस्तो घना जंगलतिर आउनुको कारण सोधे ?
‘सेना सहित तपाइँ किन नि ?’ तथागतले प्रतिप्रश्न गरे ।
यस क्षेत्रको घना जंगलमा लुकेर डाँकु अंगुलिमालाले आतंक मच्चाइ रहेको छ । उनलाई तह लगाउन सेना सहित आएको हुँ, राजा प्रसेनजितले भन्यो ।
एउटा डाँकुलाई तह लागाउनका लागि यति धेरै सेना ? तपाइँ दरबार फर्कनुहोस । म तह लगाएर आउछु, बुद्धले भन्यो । उनका साथमा गएका भिक्षुहरुलाई पनि फर्कन आदेश दिए र निर्धारित दिशातिर अगाडि बडनु भयो । बुद्धको यो कठोर निर्णय के अर्थमा किन र कसरी भयो ? भन्ने बारेमा कसैले पनि केही भन्न सकेन । सबै अलमलमा परे । भिक्षु आनन्दले तत्काल केही सोँच्न सकेन । कन्चट तातेर आयो तर, त्यसै अवक्क भए ।
‘केही समय पछि बुद्ध घना जंगलको मध्य भागमा पुगे ।’
‘पछाडिबाट पख, पख,’ भन्ने आवाज बुद्धले सुन्यो ।
आज यो साधु कालको मुखमा आफै आएको छ । यो बडो सुनौलो अवसर छ । यसको हत्या पछि मेरो मालामा हजार जनाको अंगुलि हुनेछ । यसबाट मेरो गुरु दक्षिणाको वचन पूर्ण हुने छ, भन्दै बुद्धको पछिपछि दौडिन्दै आए तर, बुद्धलाई भेट्टाउन सकेन !
डाकु अंगुलिमाला, बुद्धको पछाडि दौडिन्दै गर्दा, लखरन्न भए पछि, पख, पख, रोक, रोक भन्दै कराउदै आए ।
‘हे अहिंसक,’ म त पैहिले नै रोकिसकेको छु । अब तिमी रोकिनु पर्छ । तिम्रो हत्या र हिंसाको मार्ग रोकिनु पर्छ । यदि तिमीले मेरो कुरा सुन्यौ भने, तिमीले पनि शान्ति पथ प्राप्त गरेर निर्वाण प्राप्त गर्न सक्दछ, बुद्धले भन्यो ।
अहिंसक शब्द सुन्ने बित्तिकै उनको मनमा अचम्मको तरंग फैलियो । तर, उनले आफ्नो मन काबुमा राख्दै, शान्ति पथ ? निर्वाण ? यो के भन्दै छौ तिमीले ? तिमी को हौँ ? मेरो नाम सुनेर सबै मानिसहरु भयभित हुन्छन् । के तिमीलाई म देखेर भय लाग्दैन ? अंगुलिमालाले भन्यो ।
‘हे अहिंसक,’ म गौतम बुद्ध हुँ । तिमीलाईनै उद्दार गर्न यहाँसम्म आएको हुँ । फेरि तिमीसंग केको भय ? मैले देखिरहेको छु, तिमी आफै भयमा छौँ । जो हत्या तिमीले गर्दै आएकाछौं, त्यसैको कारण भय र चित्कार प्रतिबिम्बित भएर तिमीतिर फर्किएर आउछ । त्यसैको, तिमीलाई भय छ । त्यसैबाट आतंकित छ । अशान्त छ । अब हिंसाको मार्ग त्याग । आजदेखि तिमी त्यति अहिंसक हो, जो पहिले थियो । म सत्य भन्दै छु, बुद्धले भन्यो र डाँकु अंगुलिमालालाई दिव्य दर्शन गरायो ।
बुद्धको दिव्य दर्शन भए पछि अंगुलिमालाको चेतना खुल्यो । आफुले गरेको अपराधको कारण हिनता बोध भयो । पश्यताप गर्दै, आफ्नो अंगुलिको माला बुद्धको चरणमा फाल्यो । यदि यो सत्य हो भने, अब मैले के गर्नु पर्छ ? अहिंसकले नरम स्वरमा भन्यो ।
अब, हत्याको मार्गलाई त्यागेर, शान्तिको मार्गमा जाने । घृणाको मार्ग त्यागेर प्रेमको मार्गमा जाने । यही मार्गबाट मात्र तिमीले निर्वाण प्राप्त गर्न सक्दछ, बुद्धले भन्यो र जेतवनतिर फर्कियो ।
बुद्धको दिव्य दर्शन पछि बुद्धम् शरणम् गच्छामी । धर्मम् शरणम् गच्छामी । संघम् शरणम् गच्छामी भन्दै श्रावस्ति नगरतिर गए । नगरमा उनलाई देख्ने बित्तिकै नगरवासीहरु भयभित, त्रासिद र आतंकित हुँदै भागाभाग भए ।
‘अहिंसक नगरको बीच भागमा उभिए भने—’
‘हे नगरवासी हो !’ म अहिंसक थिए । परिस्थितिले अंगुलिमाला बनायो । अब पुनः अहिंसक भइसकेँ । नगरवासीहरु समक्षा क्षमा याचना गर्न चाहन्छु । हत्याबाट पश्चतापमा, घृणाबाट प्रेममा र हिंसाबाट शान्तिको मार्गमा जान चहान्छु । त्यसैले, मेरो अतीतका कारणमा नगरवासीहरुले जे जस्तो सजय दिन चहानु हुन्छ, मलाई स्विकार छ, अहिंसकले अनुरोध गर्यो ।
आक्रोसित नगरवासीहरुले उनी माथि ढुंगा मुँढाले हाने । तर उनले कुनै प्रतिकार गरेनन् । त्यसै बखत राजकुमारी माया र गुरुमाता पनि टुप्लुक्क आइपुगिन । दुबैले अहिंसकको कारण हामीहरु हौँ । हाम्रो अन्धविश्वास र अतिवादी समाज हो भन्दै, उनि माथि भैरहेको ढुंगा मुढालाई छेक्न खोजे । तर, तीनैजना सख्त घायल भए । त्यही समय बुद्धको पनि पर्दापण भयो । तीनै जना बुद्ध, धर्म र संघको शरणमा आए ।
यसरी, मानव हत्यमा उत्रिएको अंगुलिमाला पुनः अहिंसक बनेर अर्हत बने । उनले निर्वाण प्राप्त गरे पछि श्रावस्तिको महाउपासक अनाथपिण्डकले उनकै महल अगाडि अंगुलिमालाको स्मरणमा विशाल स्तुपा निर्माण गरे । स्तुपाको अवशेष आजसम्म पनि बाँकी छ । त्यो अवशेषलाई अंगुलिमाला गुफाको नामबाट चर्चित छ ।
यसबाट के शिक्षा प्राप्त हुन्छ भने, उत्कृष्ट गुण भएको मानिसहरुको अप्रत्यक्ष रुपमा धेरै प्रतिद्धन्दिहरु हुन्छन् । समय र परिस्थितिले साथ नदिने अवस्थामा सबै बिपरित धारमा हुन्छन् । यस्तो अवस्थामा प्रतिकार बाहेक सामाजिक मान्यताको कुनै अर्थ रहदैन । अहिंसकसंग पनि यही अवस्था भएको थियो ।
आजको श्रृंखला यही समाप्त हुन्छ । अगामी श्रृंखलामा अम्रपालीलाई धर्मोपदेश गरेको विषय लिएर फेरी भेटघाट हुनेनै छ । तबसम्मलाई बिदा दिनुहोस् । बुद्धम शरणम् गच्छामी ।
चोग डीबी गुरुङ बुद्ध दर्शनको विद्यार्थी हुन् ।
7/26/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.