परम्परागत ‘त्हस’ र आधुनिक आर्चरी
नमस्कार, म स्वतन्त्र लेखक चोग डीबी गुरुङ हो । यस बल्कपोष्टमा हाल अमेरिका निवासी विद्धान डा. किशोर शेरचनले धनुष (त्हस)को बारेमा लामो अनुसन्धान गरी तैयार गर्नु भएको (परम्परागत ‘त्हस’ र आधुनिक आर्चरी, थासाङदेखि दशरथ रंगशालासम्म)को उत्कृष्ट लेख लिएर पाठकहरु समक्ष उपस्थित भएको छु । यो (लेख थासाङ रिसर्च जर्नल अंक १) सन् २००६ सालमा प्रथम पटक प्रकाशन भएको थियो । बिद्धान पाठकहरुलाइ प्रस्तुत विषय वस्तुको सन्दर्भ, मर्म र भावना समय सापेक्ष रहेको कुरा मनमा लागेमा आफन्तहरुलाइ पनि शेयर गर्नु होला ।
१. परिचयः
त्हस अर्थात (तारा) अग्रेजीमा Archery ऐतिहासिक पृष्ठभूमिमा अति प्राचिन सभ्यता बोकेको खेल हो । जब मानव सभ्यताको सुरुवात भयो तबदेखिनैे मानिसले आफ्नो जीविकोपार्जन लगायत आत्मसुरक्षाको लागि र युद्धमा धनुषवाण प्रयोगमा ल्याए । यही नै मुख्य हतियार थियो, जो मानव सभ्यताले युद्ध, वन्य जनावरहरुको सिकार, खेल महिमामा प्रयोग गर्दै आए । तर, जब राज्य र समाजमा विकल्पहरुको आविष्कार भयो, तब मानव सभ्यताबाट यसको महत्व क्रमिक रुपमा घट्दै गयो । वर्तमान समाजमा विश्व समुदायले यसलाइ हतियारको होडबाजीको रुपमा नलिए तापनि एक आधुनिक खेलको रुपमा विश्व ओलम्पिकमा आर्चरी Archery को नामले खेलिन्छ ।
२. आर्चरीको आदिम र केही ऐतिहासिक विवेचनाः
आर्चरी वा धनुषवाणले एउटा आफ्नै महत्व बोकेको छ । मानव सभ्यताको सुरुवातसंगै आर्चरी मानव विकासको अभिन्न अंग बन्न पुग्यो भन्ने आज भन्दा ६४, ००० वर्ष पहिले अफ्रिका महादेशमा प्राप्त पहिलो शिला वाणको टुपेले देखाएको छ । आदिम सभ्यतामा आर्चरी जंगली जनावरहरुको सिकार, युद्ध र क्रमश पछि खेलको रुपमा सबैभन्दा पहिले इजिष्ट र ग्रिकबाट सुरुभएको इतिहासले देखाएको छ । रामायण र महाभारत जस्ता हिन्दू पौराणिक ग्रन्थमा लडाइको महिमाको साधन धनुषवाणमा भएको पाइन्छ । राजा जनकले आफ्नी छोरी सीतालाइ धनुष उठाउन सक्ने राजकुमारलाइ मात्र विवाह गरिदिने भनी सर्त राखेकोमा अयोध्याका राजकुमार रामले मात्र उक्त धनुष उठाउन सकेको हुनाले सीताले रामलाइ बरमाला पहिराइ दिएको रामायणमा उल्लेख छ । महाभारतमा द्रुपदले आफ्नी छोरी द्रौपतीलाइ माछाको आखामा पानीमा छायाको सहारा लिएर वाणले उल्टो हान्नुपर्ने सर्त राखेका थिए र सो काम पाँच पाण्डवका भाइ अर्जुनले गर्न सकेको हुनाले अर्जुन सबैभन्दा महापुरुष भएको भनी प्रस्तुत गरिएको छ । एकलव्यले द्रोर्णाचार्यलाइ आफ्नो गुरुमानी धनुष विद्यामा निपुर्ण भएको तर, निज अछुत वर्गबाट जन्मिएको भनी गुरुले तिनलाइ आफ्नो बुढीऔंला काटी दान दिन लगाएको महाभारतमा उल्लेख गरको पाइन्छ । त्यस्तै दुर्गा सप्तशक्ति चण्डीमा दुर्गा भगवतीले महिषासुरादी राक्षसहरुलाइ बध गर्दा धनुषवाण चलाएको बारे विस्तृत वर्णन गरिएको पाइन्छ ।
आदिम मानव इतिहासले आर्चरीलाइ संगीत र अन्य कला जस्तै कौशलकलाको रुपमा ग्रहण गर्ने गर्दथे । मंगोल सम्राट चेङ्गिज खाँ Gernghis Khan १३ औं शताब्दिमा आफ्नो साम्राज्य विस्तार गर्ने क्रममा तिनका सैनिकहरुको धनुष निपूर्णताले नै गर्दा लडाइ सफल भएको इतिहासले देखाउँछ । संसारका ऐतिहासिक युद्धहरुमा धनुषवाण युद्धको कुशल हतियार बन्न पुग्यो । चाहे त्यो इजिप्ट, पर्सियन वा रोमन सभ्यता होस, फ्रान्सको नेपोलियन बोनापार्टको शासनकाल होस् वा अंग्रेज र फ्रान्सको १४औं र १५औं शताब्दीको भीषण युद्ध होस् धनुषवाणनै प्रमुख हतियार थियो ।
आधुनिक इतिहासमा आर्चरीलाइ सर्वप्रथम १६औं शताब्दीमा खेलकुदलको साधनको रुपमा सुरुवात भयो । बेलायतका राजा–महाराजा र तिनका रानीहरुले पनि आर्चरी खेलमा भाग लिने परम्परा बस्न थाल्यो । इस १५३७ मा सबैभन्दा पहिला The Brotherhood of St. George नामक आर्चरी क्लब स्थापना भयो । पहिलो आर्चरी प्रतियोगिता इसंं १५८३ मा बेलायतमा भयो । यस्तै बेलायतमा १६७३ मा स्थापना भएको सबैभन्दा प्राचीन Ancient Scortion Arrow टुर्नामेन्ट आजसम्म पनि खेलाइन्छ । सन् १८४१ मा बेलायतमा Grand National Archery Society क्लबको स्थापना भएको थियो र यसको प्रथम राष्ट्रिय प्रतियोगिता सन् १८४४ मा भयो । तर १५औं शताब्दिको अन्त्यतिर बेलायतमा धनुष खेलको कला क्रमशः विलयन भइरहेको देख्दा बेलाबखतमा फुटबल, गल्फ र क्रिकेटजस्ता खेलहरु निषेध गरेको पनि पाइन्छ ।
इस १९०० मा पेरिसमा सम्पन्न विश्व ओलम्पिक खेलमा आर्चरीले पहिलो पल्ट प्रवेश पायो र सो क्रम १९०४, १९०८ र १९२० सम्म थियोे र १९०४ र १९०८ मा महिलाको पनि सहभागिता थियो । तर त्यसपश्चात ओलम्पिकमा आर्चरीले निरन्तरता लिन सकेन । इसं १९७२ मा मात्र आएर जर्मनीको म्युनिकमा सम्पन्न ओलम्पिक खेलमा यो खेल पुनस्थापित हुन पुग्यो । आर्चरी खेलले विश्व मानचित्रमा अनेक उत्तरचढावका समस्याहरु सामाना गर्दै आएता पनि १९३१ मा पोल्यान्डको Lvov सहरमा अन्तर्राष्ट्रिय आर्चरी महासंघ Federation of International Target Archery or (FITA) विधिवत स्थापना भयो र यस महासंघअन्तर्गत प्रत्येक दुइ वर्षमा विश्व च्यापिम्पयन आर्चरी प्रतियोगिता सञ्चालन गरिन्छ र अहिलेसम्म १३० भन्दा बढि सदस्य राष्ट्रहरुले भाग लिदै आएका छन् ।
विश्व ओलम्पिक खेलमा तक्मा हात पार्ने देशहरुको अग्रपंक्तिमा दक्षिण कोरिया, अमेरिका, जर्मनी र अष्ट्रेलिया आउछन् । महिला आर्चरीमा दक्षिण कोरिया अझै अग्रपंक्तिमा छ । इसं २००१ मा निर्मित अंग्रेजी चलचित्र The Lord of the Rings को प्रथम भाग र क्रमशः २००२ र २००३ को द्वितिय र तृतीय भागमा युद्धमा धनुषवाण प्रयोग गरेको दृश्य प्रदर्शन गरेको पाइन्छ । यी चलचित्रका दृश्यहरुले गर्दा आर्चरीमा खेलाडिहरुको रुचि बढेको र चलचित्रमा प्रयोग भएका बनोटका धनुषको बिक्री बढेको पाइएको छ । यही आर्चरी खेल थकाली समुदायको एक सास्कृतिक र सामाजिक पर्व खेल ‘त्हस’ नामले परिचित छ ।
३. परम्परागत ‘त्हस’ (तारा) खेलको केही विवेचनाः
सम्पूर्ण थकालीलगायत मुस्ताङमा बसोबास गर्ने अधिकांश समुदायको पर्व खेलको रुपमा चिनिने र हिउँदको कठयांग्रिँदो जाडो पश्चात् र वसन्त ऋतुको सुरुवातमा थकालीको सबैभन्दा महत्वपूर्ण चाड ‘तोरन्ल’को शुभअवसरमा पुरुष वर्गले आफ्नो पितृपूजा महिमाको रुपमा ‘त्हस’ खेल्दै आएका छ्न । थकाली र अन्य समुदायको सामान्य नेपाली लवजमा आर्चरी वा धनुषवाणको खेललाइ ताराखेल भन्ने गरिन्छ ।
![]() |
प्रमुख अतिथिद्धारा तोरन्ल पर्वको समुद्घाटन |
थकाली लगायत अन्य समुदायले यसलाइ आफ्नो जीवनशैलीको खेलको रुपमा अँगाल्नु पर्र्ने कारण वनजंगलमा सिकार खेल्ने प्रमुख हतियारको रुपमा रहेबाटनै सुरु भएको इतिहासले देखाउँछ । फुर्सदको समयमा वनमा गइ वन्यजन्तुको सिकार खेल्ने र पछि क्रमिकरुपमा अभ्यासको लागि खेलको रुपमा खेलिने गरेको हाम्रा अग्रजहरुको कथन छ । गर्व यसमा छ, सिंगो थकाली समुदायले महान् पर्व तोरन्लको शुभअवसरमा मनोरञ्जनको लागि विधिपूर्वक खेल खेल्ने परम्परा बसाले । सोम्रा 'त्हस' क्याङ्व, सोम्रा कै क्याङ्व, सोम्रा पन क्याङव अर्थात् तीन दिन तारा खेलौं, तीन दिन गोटी खेलौं, तीन दिन कौडी खेलौं, भन्ने पर्वगीत लाइ आत्मसाथ गरे । सुरुवातमा तोरन्लमा तीन दिनसम्म वनमा गइ धनुषवाणद्वारा सिकार खेल्ने परम्परा रहेतापनि पछि सिकार खेल्ने परम्परा क्रमशः विलीन भएर गयो । गाउँमा सो परम्परालाइ जोगाइराख्न आज पनि थकाली पुरुषहरु वनमा गइ मृग मार्ने अभिनय गर्ने चलन छ ।
थासाङको कोवाङ गाविस निवासी समाजसेवी स्वर्गीय सोमत भट्टचन भन्नुहुन्छ— आजभोली धनुषवाणको सहायताले मृंग मार्ने काम नभए तापनि तोरन्ल पर्वमा गाउँका पुरुषहरु वनजंगल गइ मृंग मार्ने खेलका अभिनय गर्ने परम्परा यथावत् छ । मृग म।र्नको लागि वाणको टुप्पोमा विष दल्नु पर्ने हुन्छ । विष दल्नु अगाडि विष खन्नुको आफ्नै विशेषता छ ।
वयोवृद्ध मुस्ताङ खन्ती निवासी स्वर्गीय उदिम प्रसद गौचन भन्नुहुन्छ, “एक पाइला टेकी खनेको विषको वाणले लागे पछि मृग एक पाइला सर्दा ढल्छ” “भने दुइ पाइलामा खनेकोले दुइ पाइलामा र तीन पाइलामा खनेकोले तीन पाइलामानै मृग ढल्छ ।” यसमा कति सत्यता छ ? यो अनुसन्धानको विषय हो । तर, पाइला सारी खनेको विषको महत्वमा आधुनिक विज्ञानले समेत जिज्ञासा राख्नुपर्ने विषय हुन आउछ । उहाँ भन्नु हुन्छ— उहिले पैसाको बाजीमा तारा खेलिदैन थियो । खाना, मासु र रक्सी खाइ दुइ गाउँबीच मनोरन्जन गरिन्थ्यो र जसले जित्यो, उसले खर्च बेहोर्दथ्यो । दुइ गाउँका महिला र पुरुष समूहबीच दोहारी गीत चल्दथ्यो । तर, अहिले पैसाको बाजीमा खेलिन्छ । यही सिकारजन्य खेलनै तोरन्ल पर्वमा थकाली पुरुषको प्रमुख खेल बन्न पुग्यो । तोरन्लमा प्रत्येक गाउँमा पालोबन्दी मनोरञ्जनको रुपमा पूर्णीमालाइ मध्य पारी तिथि र बार हेरी विधिपूर्वक तारा थाप्ने र उखेल्ने गर्नु पर्ने हुनाले तीन दिन भन्दा बढी खेल्ने गरिन्छ । पुरुष गाउँलेहरुले प्रत्येक गाउँमा पालोबन्दी खेल्ने समेत गरिन्छ । निश्चित ठाउ नहुँदा कहिले एक ठाउमा र कहिले अर्को ठाउमा आलोपालो गरी वा समाजका सदस्यहरुको सुविधानको लागि गाउँ टोल सार्दै पनि यो खेललाइ निरन्तरता दिने काम भइआएको छ ।
![]() |
तोरन्ल पर्व गीतद्धारा स्वागतगान |
थकाली समुदाय आफ्नो पितृ थलोबाट विभिन्न कारणवश बसाइसराइ गर्न बाधय भए । आफ्नो महत्वपूर्ण चाड तोरन्ललाइ आत्मसाथ गर्दै लगे । प्रत्येक गाउँ वा सहरमा २÷४ घर थकाली भएमा पनि तोरन्लमा प्रत्येक घरको पुरुषले वर्षमा एकपल्ट तारा हान्नुपर्छ भन्ने मान्यता बोके । बसाइसराइको सिलसिलामा सम्पूर्ण थकालीको ठूलो हिस्सा म्याग्दी र वाग्लुङका विभिन्न क्षेत्रहरुमा पुगे र आफ्नो चाड तोरन्ललाइ निरन्तरता दिने काम गरे । अन्य समुदाय जस्तै त्यहाँका स्थानीय मगर, छन्त्याल र अन्यसंग पनि हातेमालो गरे । २०१४–१५ सालमा खासगरी नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङ बीचका व्यापारिक नाकाहरु बन्द भएपछि पोखरा, बाग्लुङ, भैरहवा र काठमाडौंमा थकाली समुदायको बसाइसराइ तीब्ररुपमा बढ्दै गयो । आफ्नो बन्दव्यापार र जीविकोपार्जनका लागि कालीगण्डकीको सेरोफेरो, धौलागिरी, गण्डकी, लुम्बिनी, बाग्मती अञ्चलहरुमा समेत यो खेललाइ एक विशुद्ध सांस्कृतिक र सामाजिक खेलको रुपमा स्थापित गर्न सफल रहे । स्मरणीय छ, पोखरामा बसोबास गर्दै आएका थकाली समुदायले सन् २०१० सालभन्दा पहिलेदेखिनै तोरन्ल पर्वमा खेल्दै आएको बलियो परम्परा रहेको पाइन्छ ।
चितवन जिल्लाको मुग्लिन जस्तो नाकामा बसोबास गर्दै आएका सीमित थकाली परिवारहरुले पनि २०२९ सालदेखिनै वर्षको एकपल्ट आउने ‘त्हस’ खेलमा सहभागी हुने परम्परा बसालेका हामी स्मरण गर्न सक्छौं । केही वर्षयता माओवादी द्वन्द्वका कारण काठमाडौंमा थकाली लगायत अन्य समुदायको बसाइँसराइ तीब्र रह्यो । मुस्ताङ लगायत मनाङको गुरुङ समुदायको पनि पोखरा, काठमाडौं लगायत अन्य ठाउँहरुमा बसाइसराइको क्रम बढ्न थाल्यो । मुस्ताङको बाह गाउ, मार्फा र तीन गाउँका थकाली र म्याग्दीका मगर र छन्त्याल, मनाङका गुरुङ समुदायले समेत क्रमशः तारा खेललाइ निरन्तरता दिने परम्परा बस्न थाल्यो ।
![]() |
परम्परागत आर्चरी प्रतियोगिता |
स्मरण रहोस् परम्परागत तारा खेलमा ङ्ह्याराम (दुवै तीर लाग्ने), खोल नाभिय केन्द्र, ‘त्हस’ काठको फलेकले बनेको तारा, म्हात्हुङ बराबर भएका, भोल्टो (नाडी रक्षक), ठिन्को फलामे तीरको टुप्पो, ल्ह तोकिएको अंक संख्या, धापन खेलाडिको नाइके, हाउतुङ तेस्रो पटक नाभीय केन्द्रमा हान्ने विजयी खेलाडि, केल्साङ स्वागत गर्ने, मेसर तीर वा वाँण जस्ता केही प्राविधिक शब्दहरुको प्रयोग भएकोले खेलको निरन्तरतामा थकाली समुदायको अग्रिम भूमिका रहेको पाइन्छ । थकाली सेवा समितिको सक्रियतामा विगत दशकमा तोरन्ल पर्वको लगत्तै अन्तरक्षेत्रीय गोल्डकप आयोजना गर्दै तारा प्रतियोगिता आयो । प्रथम अन्तक्षेत्रीय गोल्डकप टुर्नामेन्ट २०४७ सालमा काठमाडौंमा सम्पन्न भयो भने क्रमशः २०४८, २०४९, २०५० र अन्तिम २०५४ मा काठमाडौंमा सम्पन्न भयो । थकाली सेवा समितिलगायत अन्य समाजले आफ्नो समुदायीक सदस्यहरुलाइ मात्र नभइ क्रमशः अन्य इच्छुक खेलाडिहरुलाइ खेलमा सहभागी गराउने परम्परा बसाल्यो । सामाजिक मित्रता, एकता र सद्भावको आधारशीला बन्न पुग्यो । नेपालका समुदायहरुले बाँसबाट बनेको परम्परागत धनुष प्रयोग गर्दै आइरहेकोमा केही वर्षयता विशेष गरी पोखरा र काठमाडौं क्षेत्रमा आधुनिक आर्चरीको सुरुवात हुन गयो । परम्परागत धनुष र वाण क्रमशः धनुबास (Bambusa sp.) र लेकाली निगालो (Drepanostachyum sp.) बाट र आधुनिक धनुषवाँण आल्मुनियम, फाइवर र काठबाट बनेको हुन्छ । तीरको जोडि बनाउदा एकै ठाउँ अर्थात् एउटै ढुंगाले चेपेको ठाउँबाट उम्रेको जोडि छान्नु पर्ने हुन्छ ताकि तीरको जोडि समान रहोस् ।
४. परम्परागत ‘त्हस’ र आधुनिकताको संगमः
तारा खेल एक परम्परागत खेलको रुपमा चिनिए तापनि हिजोआज विश्वव्यापीकरण र राज्यले अंगालेको खेल प्रतिष्ठाको कारण आधुनिकतासंग केही संगम भएको अनुभूति हुन आएको छ । विश्व ओलम्पिकमा यस खेललाइ आर्चरी नामले चिनिन्छ । अहिले ओलम्पिक र अन्तर्राष्ट्रिय तहको आर्चरी खेलमा महिला पुरुष दुवैले भाग लिदै आएको हामी पाउछौं । परम्परागतरुपमा नेपालका आदिवासी तथा जनजातिहरुले आफ्नो विशेष पर्व सामाजिक मूल्य र मान्यता सहित खेल्दै आए तापनि नेपाल अन्तर्राष्टिय ओलम्पिक स्तरमा सहभागी हुन भने सकेको छैन ।
![]() |
आधुनिक आर्चरी निशाना |
त्यसपछि विभिन्न पर्वहरुमा सामुदायकि खेलको रुपमा पोखरा, काठमाडौं लगायत अन्य स्थानहरुमा खेल्न थालियो । परम्परागत ‘त्हस’ र आधुनिक आर्चरीलाइ अहिलेको अवस्थामा ल्याउने काम नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्री रामकाजी वान्तवा र थासाङ स्पोर्टस् क्लबका अध्यक्ष श्री रेशम शेरचनको भूमिका त्यत्ति नै महत्वपूर्ण मानिन्छ । त्यस्तै इस २००४ मा अन्तर्राष्ट्रिय आदिवासी दिवसको शुभअवसरमा नेपाल जनजाति महासंघको आयोजनामा काठमाडौंको दशरथ रंगशालामा थकाली सेवा समिति (थसेस) को संयोजकत्वमा भव्य समारोहबीच यी समुदायहरुको पहिचान आर्चरी खेल विधामा पनि शुभारम्भ भयो ।
यस प्रतियोगितामा ११ टिमले भाग लिए र नेपाल आदिवासी जनजाति महासंघको टिमले विजय हासिल ग¥यो । एकलमा विशिष्ट र अचुक धनुषधरका विजेताहरु क्रमशः किशोर कुमार गुरुङ र अर्जुन शेरचन घोषित भए । पोखरामा इस २००५ सालमा पनि त्यसै शुभअवसरमा (थसेस) पोखराको संयोजकत्वमा दोस्रो पटक सम्पन्न भयो, जसमा ९ टिमले भाग लिए । यस प्रतियोगितामा समूहमा नेपाल मगरसंघ कास्की र एकलमा श्री किशोर कुमार गुरुङले प्रथम स्थान हात पारे । यी सहभागिताले केही थकाली उदीयमान खेलाडिहरुलाइ प्रतिस्थापन गर्न सफल रहेको छ ।
आर्चरीलाइ बढी रोचक र प्रतिस्पर्धात्मक बनाउन संगीत र अन्य खेलमा जस्तै केही क्लबहरु स्थापना भएका छन् । अहिलेसम्म आर्चरी खेलमा तीनवटा क्लबहरु क्रमशः थासाङ स्पोर्टस् क्लब काठमाडौं, अन्नपूर्ण आर्चरी क्लब पोखरा र हिमालयन आर्चरी क्लब काठमाडौं स्थापना भएका छन् । इस २००५को अगस्तमा पोखरामा अन्नपूर्ण आर्चरी क्लबको सक्रियतमा आर्चरी टुर्नामेन्टमा पहिलो पटक क्लबको नियम अनुसार दश टिमले प्रतियोगितामा भाग लिए । जसमा हिमालयन आर्चरी क्लब विजयी भयो । इस २००५ मा नै काठमाडौंमा मुङ्बाटमा क्याफे एन्ड रेष्टुराको आयोजनामा भएको अर्का टुर्नामेन्टमा थासाङ स्पोर्टस क्लब अग्रपंक्तिमा रह्यो ।
यसरी, विभिन्न सामुदायीक खेलाडिहरुले पनि आफ्ना पर्वहरुमा आर्चरी प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । जस्तै, 'थसेस,' काठमाडौंले २०६२ कात्तिकमा अन्तर समाज तारा प्रतियोगिता, म्याग्दी मगर समाजले प्रत्येक वर्ष माघे संक्रान्तिको शुभअवसरमा, नेपाल छन्त्याल संघले चैते दशैं र हाल माघे संक्रान्तिमा र त्यस्तै बाह गाउँ ल्होछुदेन सेवा समितिले बुद्ध जयन्तीमा र थासाङ स्पोर्टस् क्लबले थासाङ महोत्सवमा प्रतियोगिता सञ्चालन गर्दै अएका छन् ।
नेपाल राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्चरीलाइ प्रबद्र्धन गर्ने हेतुले पहिलोपल्ट २००५ मा भारतको नयाँ दिल्लीमा सम्पन्न सार्क आर्चरी प्रतियोगितामा भाग लिन पठाइयो, जसमा दीपक गुरुङ, केके गुरुङ, रमेश भट्टचन र जुलुक चोचाङे पुनले भाग लिने मौका पाए । दक्षिण एसियाली आर्चरी महासंघद्वारा आयोजित ढाकामा २००६ फेब्रुअरी ७–१२ सम्म सम्पन्न दक्षिण एसियाली प्रथम आर्चरी टुर्नामेन्ट च्याम्पियनसिपमा नेपालको तर्फबाट दीपक गुरुङ, केके गुरुङ, जुलुक चोचाङे र योगेन्द्र शेरचनले भाग लिए र तेस्रो स्थान हात पारे ।
५. खेलका केहि कमजोर पक्षहरुः
आर्चरी अर्थात् ‘त्हस’ (तारा) खेललाइ सिंगो थकाली समुदायले एक अभिन्न खेलको रुपमा अंकमाल गर्दै आए तापनि केही विकृतिका संकेतहरु पनि देखापर्न थालेका छन् । जस्तो तोरन्लमा निश्चित समयको लागि खेलिनु पर्नेमा आवश्यकताभन्दा बढी खेलिन्छ । तोरन्ल महोत्सव सिर्फ तारा खेलमा मात्र सीमित नरही अन्य खेलहरु जस्तै केही वर्षयता भलिबल, बास्केटबल जस्ता खेलहरु पनि समावेश गरिएकोमा तारा खेलप्रतिको झुकावमा वा यसको सामाजिक महत्वमा केही कमी आउछ कि भनी शंका गर्नुपर्ने ठाउँ रहेको छ । अतः थकालीको तोरन्ल जस्तो महत्वपूर्ण पर्वमा तारा खेल र अन्य परम्परागत विधाहरुमा सीमित रहने हो वा बहुआयामिक महोत्सवको रुपमा जाने हो भन्ने कुराको निक्र्योल थकाली समाज स्वयम्ले गर्नुपर्ने छ । त्यति मात्र होइन, परम्परागत र आधुनिक आर्चरीबीच सामान्यजस्यता नआउँदा र आधुनिक आर्चरीप्रतिको बढी झुकाव र खर्चिलो रमझमले परम्परागत ‘त्हस’ खेलाडिहरुमा नैरस्यता आएको संकेतहरु देखापर्दा आफ्नै मैलिक पर्वलाइ संरक्षण गर्न विशेष सोच र पुनरावलोकन गर्नु पर्ने गुनासो सुन्नमा आएको छ । यदि सही ढंगले ‘त्हस’ विधालाइ अगाडि नबढाउने हो भने हाम्रो सांस्कृकि तथा समाजिक धरोहरको रुपमा रहेको यो खेल ओझेलमा पर्न सक्ने सम्भावना बढी छ भन्दा अत्युक्ति नहोला । अतः 'थसेस'ले यसतर्फ ध्यान पु¥याउनुपर्ने आवश्यक देखिन्छ ।
६. आधुनिक आर्चरीः
आधुनिक आर्चरी अन्तर्राष्ट्रिय खेल जगतको एक अभिन्न अंग हो । तर, यस खेलको लागि समय र लागत त्यत्ति सहज छैन । खेलाडिले आयातीत आधुनिक धनुष (Bow) र तीर (Arrow) खरिद गर्न कमसेकम नेरु १०,००० देखि १५०,००० सम्म खर्च गर्नु पर्ने हुन्छ । राज्यले अहिलेसम्म यस खेलको लागि उल्लेखनीय पहल गर्न सकिरहेको छैन ।
परम्परागत ‘त्हस’ खेलको महत्व आफ्नै छ भने राज्यको जिम्मेवारी त्यत्तिकै महत्वपूर्ण हुनेछ । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल आर्चरी संघ १९८७ मा स्थापना भएको पाइन्छ । आधुनिक आर्चरी खेलको विकासमा निसन्देह यस संघको भूमिका महत्वपूर्ण हुने कुरामा कसैको दुइमत हुने छैन । यद्यपि, विगतका दिनहरुमा उल्लेखनीय प्रगति भएको देख्न पाइएन । नेपाल आर्चरी संघले आर्चरी खेलको विकासका लागि न्यून भएर बस्नुनै नेपालमा आधुनिक आर्चरी खेलको विकास हुन नसक्नु प्रमुख कारण देखापरेको छ । विगतका दिनहरुमा राज्यले आर्चरीलाइ नत एक सामाजिक मानयता दिन सक्यो न त्यस खेलको विकासलाइ राष्ट्रिय खेलकुद परिषले यथेष्ट स्रोत–साधन जुटाउन र लगानी गर्न नै सक्यो । उदीयमान खेलाडि श्री योगेन्द्र शेरचन भन्नुहुन्छ— राष्ट्रिय खेलकुद परिषद अन्तर्गत सन् १९८७ मा स्थापना भएको नेपाल आर्चरी संघ गत वर्षसम्म निष्कृय रहेको कारण तारा खेलका खेलाडिहरुको लागि दुर्भाग्यपूर्ण कुरो रहेको थियो । तर, गत वर्ष यस संघलाइ सक्रिय बनाउन केही व्यक्तिहरुको पहलमा पुनः तदर्थ समिति खडा गरेर यस वर्षको सुरुवातमा स्थायी समिति खडा गरियो । तारा खेललाइ विकास गर्ने तर्फ कदम चालेको खबरले भने खेलाडिहरुले राहतको ठूलो सास फर्ने मौका पाएका छन् ।
७. सारंशः
राज्यले नेपालका आदिवासी तथा अन्य जनजातिहरुको सांस्कृतिक तथा यो सामाजिक सम्पत्तिलाइ त्यति सहज तारिकाले मूल प्रवाहमा स्वीकारयोग्य समीकरण गर्न सकिरहेको पनि छैन । आर्चरी नेपाली समाजको एक परम्परागत खेल हो र यसको पहिचान राष्ट्रिय खेलकुद परिषदद्वारा खेलकुद नीतिमा समेटिएको देखिदैन । राज्यद्वारा समेटिन नसक्नुमा केही महत्वपूर्ण दृष्टिकोणहरु हुन सक्छन् ।
1. आर्चरी स्वयम् एक महगो खेल भएको र सामान्य खेलाडिको पहुचभन्दा बाहिर हुनु ।
2. आर्चरी अति प्राचीन र आदिम संस्कृति बोकेको खेल भएकोले त्यसलाइ आधुनिक मनोविज्ञानले हेर्न नसक्नु ।
3. नेपालका जनजातिहरुको सांस्कृतिक र सामाजिक खेलको धरोहरको रुपमा रहेको खेल प्रति स्वयम् राज्यले सम्भवतः केही अवहेलना वा तिरस्कारको दृष्टिले हेर्नु ।
4. स्वयम् जनजातिहरुले यसको महत्वलाइ राज्यले सञ्चालन गरेको खेल जगतमा पर्याप्त पहुच दिन नसक्नु ।
विगत केही वर्षयता विभिन्न समयमा सम्पन्न भएका अन्तर सामुदायीक परम्परागत र आधुनिक आर्चरीका चरणबद्ध विकासले गर्दा, राज्य र राष्ट्रिय खेलकुद परिषदले आफ्नो दृष्टि पु¥याउनु पर्ने बाध्यता विकसित भएको देखिन्छ ।
८. निष्कर्षः
विश्व खेल जगतमा (FITA) ओलम्पिक र केही राष्ट्रिय प्रतियोगितामा वाहेक आम नागरिकले अन्य प्रचलित खेलहरु जस्तै गरी प्रतिस्थापना गर्न सकेका छैनन । यद्यपि, केही देशहरु जस्तै भुटान, म्यानमार, भारत, चीन र नेपालका केही समुदायहरुले सांस्कृतिक एवम् सामाजिक खेलको रुपमा लिएको सन्दर्भमा हामी थकाली समुदायले एक गौरवको रुपमा लिनु साथै नेपाली खेल जगतकै एक महत्वपूर्ण खेल बनोस् भन्ने चाहना राख्नु पनि स्वाभाविकनै देखिन्छ । त्यस्तै थकाली समुदायले यस खेललाइ आज यो स्थितिमा पु¥याउन महत्पूर्ण योगदान दिंदै आएको छ । र आगामी दिनहरुमा अझ सशक्त ढंगले सक्रिय योगदान पु¥याउने कुरामा विश्वस्त रहेकाछौं ।
यो लेख तपाइँलाइ कस्तो लाग्यो ? कति सान्दर्भिक छ ? यसलाइ कसरी परिमार्जन गर्न सकिन्छ ? लेखन शैलि र विषयगत प्रस्तुतिमा रहेका कमि कमजोरीहरुलाइ बिद्धान पाठकहरुले मन खोलेर सल्लाह र सुझाव सहित प्रतिकृया लेख्नु होला । तपाइँको प्रतिकृया महत्वपूर्ण हुनेछ । लेखक ।
डा. किशोर शेरचन लेखक, निजमति तथा अर्ध सरकारी सेवाबाट प्रथम श्रेणीमा अवकास, कृषिविद, वातारणविद, पश्चिमी बुद्ध दर्शनको प्रक्खर विद्धान र सामाजिक अभियान्ता हुन् ।
2/15/2020
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें
If you have any doubt, please let me know your message to help.